खर्बुजा फल, प्रशस्त जल !

होलिस्टिक संवाददाता

गर्मी मौसममा खर्बुजा कम मिठो हुँदैन । मिठो मात्र होइन, शरीरका लागि यसको फाइदा पनि राम्रो छ । खर्बुजालाई अङ्ग्रेजीमा ‘वाटरमेलन’ भनिन्छ । यसलाई वाटरमेलन भन्नुको पनि अर्थ छ । खर्बुजामा झन्डै ९२ प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले यो मानव–स्वास्थ्यका लागि उपयोगी फल हो ।

खर्बुजाको एउटा रोचक प्रसङ्ग छ । गोलो–अण्डाआकारमा फल्ने खर्बुजा गुडेर जापानीहरू हैरान भएपछि एउटा ‘आइडिया’ निकालेछन्– वर्गाकार भयो भने त गुड्दैन । त्यसपछि फल लाग्न सुरु गर्दाखेरि नै वर्गाकार भाँडामा राख्न सुरु गरेछन् । फल बढ्दै जाँदा खर्बुजा वर्गाकार ‘सेप’ मै आएछ । त्यसपछि खर्बुजा गुडेर हैरान हुने जापानीहरूको ‘समस्या’ हट्यो । जापानलगायतका देशमा खर्बुजा बढ्ने क्रममा वर्गाकार भाँडामा राख्ने चलन आज पनि कायमै छ ।

पाइने तत्त्व र फाइदा

खर्बुजामा मुख्यरूपमा ‘भिटामिन– सी’, ‘भिटामिन– ए,’ ‘क्यारोटिनोइड्स’, ‘लाइकोपिन’, ‘पोटासियम’, ‘म्याग्नेसियम’ जस्ता तत्त्व पाइन्छन् । त्यति मात्र होइन, यसमा दर्जनभन्दा बढी अरु भिटामिन तथा शरीरलाई आवश्यक एवम् लाभदायक सूक्ष्म पोषक–तत्त्व समेत पाइन्छन् ।

यसमा पानीको मात्रा प्रशस्त हुने भएकाले सन्तुलितरूपमा खर्बुजा खानाले शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यसैले गर्मी मौसममा खर्बुजाको स्वाद र शारीरिक लाभ दुवै लिन सकिन्छ । खर्बुजामा पाइने ‘भिटामिन– सी’ ले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरमा भएका अनावश्यक विकार–तत्त्वलाई शरीर बाहिर निकालिदिन्छ । शरीरमा भएका विकार–तत्त्व बाहिर निस्कनाले समग्र शरीर स्वस्थ त रहन्छ नै, छालामा भएका विकार–तत्त्व समेत बाहिर निस्कनाले छालाको सुन्दरता समेत बढ्छ । यसरी छाला तथा अनुहारमा चमक बढाउन मद्दत पुग्छ । यसले कपाल समेत स्वस्थ हुने भएकाले केही हदसम्म भए पनि झर्ने क्रम रोकिन पनि मद्दत पुर्‍याउँछ ।

अध्ययनअनुसार खर्बुजामा पाइने ‘क्यारोटिनोइड्स’, ‘लाइकोपिन’ जस्ता तत्त्वले क्यान्सर लाग्ने सम्भावनाबाट समेत बचाउँछन् । यसमा पाइने ‘सिट्रुलाइन’ तत्त्वले शरीरको सुन्निएको माङ्शपेशी बसाउन सहयोग मिल्छ । खर्बुजामा पाइने ‘पोटासियम’ तथा ‘म्याग्नेसियम’ तत्त्वले शरीरमा रक्त–प्रवाहका लागि सहयोग गर्छ, जसले व्यक्ति स्वस्थ रहन महत्त्वपूर्ण भूमिका खेल्छ ।

खर्बुजामा पानीसँगसँगै फाइबरको मात्रा पनि हुन्छ । त्यसैले सन्तुलितरूपमा खर्बुजा खाएको अवस्थामा पाचन प्रणालीमा सहजता भई कब्जियत हुने सम्भावनाबाट पनि बच्न सकिन्छ । सुगरको समस्या भोगिरहेका व्यक्तिका लागि पनि यो फल लाभदायक हुन्छ ।

खासै छैन साइड–इफेक्ट

खर्बुजाको नकारात्मक असर (साइड–इफेक्ट) अत्यन्तै न्यून हुन्छ । खासै नकारात्मक नभई फाइदा नै फाइदा भएकाले गर्मी मौसममा निर्धक्क खर्बुजा खान सकिन्छ ।

खर्बुजा फर्सी तथा काँक्रो परिवारको भएकाले यसलाई तरकारीका रूपमा समेत लिइए तापनि मूलतः फलफूलकै रूपमा प्रयोग गरिन्छ । खर्बुजा २५ देखि ४० डिग्री सेल्सियससम्मको तापक्रममा राम्रोसँग फल्छ । यसलाई खासै मल पनि आवश्यक पर्दैन; खोलाको बगरमा समेत राम्रोसँग फल्छ । गर्मी मौसममा खानका लागि तयार हुने यो फलको तौल औषतमा २० किलोसम्मको हुन्छ ।