जिन्सेङ : प्रकृतिको रोचक उपहार
डा. डीबी सुनुवार‘जिन्सेङ’ उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुण भएको वनस्पति हो । यो वनस्पति ‘पानेक्स’ प्रजातिअन्तर्गत पर्छ । जिन्सेङका विभिन्न प्रजाति हुन्छन्, जसमध्ये कोरियन, चिनियाँ र अमेरिकन जिन्सेङ बढी प्रसिद्ध छन् । कोरिया, जापान, चीन, अमेरिकाजस्ता मुलुकका उच्च पहाडी भूभागमा गुणस्तरीय जिन्सेङको प्राकृतिकरूपमा उत्पादन हुन्छ । आजकल व्यावसायिक रूपमा समेत यसको राम्रै उत्पादन हुन थालेको छ ।
प्रकृतिको रोचक उपहार
औषधीय गुण भएको वनस्पति जिन्सेङको प्रयोग परम्परागतरूपमा हुँदै आएको पाइन्छ । यो वनस्पति एसियन मुलुकमा नै बढी पाइन्छ । त्यसैले स्वभावतः एसियन मुलुकमा परम्परागत प्राकृतिक जडीबुटीका रूपमा यसको प्रयोग हुँदै आएको थियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पतिका रूपमा यसको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ । अध्ययनअनुसार यसको प्रयोग चीनबाट सुरु भएको पाइए पनि लिखित इतिहासमा भने युरोपियन मुलुकबाट यसको व्यवस्थितरूपमा प्रयोग र विकास भएको देखिन्छ ।
ग्रीक भाषमा ‘पानेक्स’ को अर्थ हुन्छ– सर्वोत्तम । जिन्सेङको व्यवस्थित प्रयोगको सुरुआत पनि ग्रीसबाट भएको हुनाले यसको वैज्ञानिक नामकरण ‘पानेक्स’ गरिएको पाइन्छ । यसर्थ, नामले नै थाहा पाउन सकिन्छ कि जिन्सेङ कति गुणकारी वनस्पति हो । यसरी ग्रीसबाट व्यवस्थित प्रयोग सुरु भएको जिन्सेङको अठारौं शताब्दीको सुरुआततिर व्यावसायिक खेती सुरु भएको देखिन्छ । अहिले संसारका धेरै मुलुकले यसको व्यावसायिक खेती गर्न थालेका छन् ।
सामान्य भाषामा भन्नुपर्दा जिन्सेङ ‘मुला’ प्रजातिको एक वनस्पतिको जराको भाग हो । त्यसैले यसको जरा उखेलेर हेर्दा मुलाजस्तै देखिन्छ । झट्ट हेर्दा जिन्सेङको जरा नौनीजस्तो रङ्गमा हातका औंला फिँजाएजस्तै देखिन्छ । कतिपय त मानिसको शरीरकै आकारमा, खुट्टातर्फ हात झारेर हात बाँधी बसेजस्तो पनि देखिन्छ । चिनियाँ भाषामा ‘रन’ को अर्थ ‘मानिस’ र ‘सङ’ को अर्थ भगवानको उपहार (गड–गिफ्ट टु म्यान) भन्ने हुन्छ । त्यसैले, जिन्सेङ चीनमा भने ‘रन्सेङ’ का नामले समेत प्रसिद्ध छ ।
मिठो स्वादसँगै मगमग बासना
जिन्सेङ दक्षिण कोरियाबाट अझ बढी प्रसिद्ध हुँदै गएको इतिहास छ । दक्षिण कोरियाका हरेकजसो खानाका साथ सलाद र सुपका रूपमा यसको प्रयोग गरिन्छ । नेपालका विभिन्न खाद्य परिकारमा धनियाँ तथा जिराको प्रयोग गरिएजस्तै कोरियाली परिकारमा जिन्सेङको प्रयोग प्रायः छुट्दैन ।
चिया र अल्कोहलजस्ता पेय पदार्थमा समेत यसको प्रयोग गरिन्छ । यसलाई पखालेर मुला काटेजस्तै स–साना टुक्रा बनाएर पनि यसको उपभोग गर्न सकिन्छ । हल्का तितोसहित गुलियो स्वाद हुने जिन्सेङ परिकारमा हालेर खाँदा सो परिकार निकै स्वादिष्ट हुन्छ । यसको स्वाद मात्रै होइन, बासना पनि त्यत्तिकै सुगन्धित हुन्छ । परिकारमा प्रयुक्त जिन्सेङको मगमग बासनाका कारण ती परिकारले जिब्रो मात्र होइन, नाकलाई समेत लोभ्याउँछन् ।
यसर्थ, जिन्सेङलाई विभिन्न परिकारमा प्रयोग गर्दा स्वाद र बासना त हुने नै भयो, यसको नियमित तथा सन्तुलित उपभोगले स्वास्थ्यमा समेत निकै राम्रो फाइदा पुग्छ । यसबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले विभिन्न किसिमका रोगको सङ्क्रमणबाट समेत बच्न सकिन्छ ।
शारीरिक–मानसिक लाभैलाभ
जिन्सेङमा मुख्यतः ‘जिन्सेनोसाइड’, ‘स्याकराइड’, ‘सापोनिन’ जस्ता शरीरलाई अत्यावश्यक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछन् । शरीर सुन्निएको र पोलेको अवस्थामा जिन्सेङको उपभोगले ती समस्या समाधान हुन्छन् ।
जिन्सेङको सन्तुलित तथा नियमित उपभोग गर्नाले रगत सफा हुन्छ । रगत सफा हुँदा शरीरको रक्त–प्रवाहमा सहजता मिल्छ, जसका कारण रक्त–प्रवाह सन्तुलित भई रक्तचाप पनि सन्तुलित हुन्छ । रक्तचाप सन्तुलित भएको अवस्थामा हृदयाघातको सम्भावनाबाट समेत बच्न सकिन्छ । मधुमेह, क्यान्सरजस्ता समस्याबाट बच्न समेत जिन्सेङ निकै उपयोगी हुन्छ ।
जिन्सेङ शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि समेत लाभदायक छ । यसको नियमित तथा सन्तुलित प्रयोगले मस्तिष्कमा अनावश्यकरूपमा विकार–तत्त्व जम्न पाउँदैनन् । यसो हुँदा मस्तिष्कमा रक्त–प्रवाह सहज हुन्छ । फलतः पक्षाघात तथा मस्तिष्काघातबाट बच्न सकिन्छ । जिन्सेङको उपभोगले बिर्सने समस्याबाट समेत बच्न सकिन्छ । पाको उमेरमा हुने अल्जाइमर्सजस्ता समस्याबाट बच्न समेत जिन्सेङ निकै लाभदायी हुन्छ ।
जिन्सेङमा हुने ‘एन्टी अक्सिडेन्ट’ गुणले शरीरमा हुने विकार–तत्त्व बाहिर निकाल्दछ । यसमा पाइने ‘फाइटो न्युट्रास्युटिकल’ जस्तो भिटामिनले शरीरमा पोषण तत्त्व पुर्याउने भएकाले जिन्सेङ शारीरिक तथा मानसिक स्वास्थ्यका निम्ति निकै लाभदायी हुन्छ । यसमा पाइने भिटामिन तथा मिनरल्सका कारण शारीरिक तथा मानसिकरूपमा स्फूर्त तथा सक्रिय रहन सहयोग मिल्छ । यसको नियमित प्रयोगले छालामा समेत पोषण–तत्त्व पुग्ने भएकाले छाला स्वस्थ भई सुन्दरता वृद्धिमा समेत सहयोग पुग्छ ।
यौन सक्रियताका लागि ‘वरदान’
जिन्सेङको नियमित उपभोग गर्नाले यौनजन्य समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । यसको उपभोगले यौनमा हुने अरुचि अर्थात् यौनजन्य वितृष्णा, यौन–उत्तेजनामा समस्या, यौन जोडीप्रतिको सामिप्यतामा कमी, यौन दुर्बलताजस्ता समस्या समाधान हुन्छन् । यौन सम्पर्कका क्रममा केही मिनेटसम्म वीर्यस्खलन रोक्नका लागि पनि यो लाभदायी छ ।
यसो हुँदा यौनजन्य क्रियाकलापमा सबलता मिल्छ । यौनजन्य समस्या भएको अवस्थामा प्राकृतिक चिकित्सकको परामर्शमा जिन्सेङलाई भियाग्राका रूपमा समेत प्रयोग गर्नु उचित हुन्छ ।
छैन साइड इफेक्ट
सामान्यतः सबै उमेर समूहका व्यक्तिले जिन्सेङ उपभोग गर्न सक्छन् । पाको उमरेका व्यक्तिलाई त रोग प्रतिरोधात्मक क्षमता कायम गर्न यो वनस्पति अत्यन्तै उपयोगी हुन्छ । वयस्क व्यक्तिलाई पनि शारीरिक तथा मानसिकरूपमा स्वस्थ भई स्फूर्त र सक्रिय रहन निकै आवश्यक वनस्पति हो– जिन्सेङ ।
बालबालिकाले पनि विभिन्न परिकारमा हालेको जिन्सेङ खान सक्दछन् । यसको ‘साइड इफेक्ट’ नहुने भए पनि बालबालिका तथा दीर्घ रोगीले भने प्राकृतिक चिकित्सकको सल्लाहमा मात्रै खानु उचित हुन्छ ।