व्यक्तित्वमा नामको प्रभाव

गोपाल ढकाल

अनुमान गरौं त– यदि कुनै पनि वस्तु र व्यक्तिको नाम नै थिएन भने के हुन्थ्यो होला ! तर, संसारमा नाम नभएका कुनै चिज वा वस्तु र व्यक्ति नै छैनन्/हुँदैनन् । कुनै नयाँ वस्तु पत्ता लाग्दा वा आविष्कार हुनासाथ सवैभन्दा पहिले त्यसको नामकरण गरिन्छ । र, मानिस जन्मेपछि गरिने सवैभन्दा पहिलो ‘कर्म’ नै नामकरण वा ‘न्वारन’ नै हो । विभिन्न सामाजिक–सांस्कृतिक समुदाय र धर्म–संस्कारहरू समेतमा न्वारनको महत्व निकै उच्चरूपमा दर्शाइएको पाइन्छ ।

हिन्दू धर्म–संस्कारका ‘सोह्र संस्कार’ मध्ये नामकरण संस्कार वा न्वारन एक हो । सामान्यतः शिशु जन्मेको एघारौं दिनमा न्वारन गरिन्छ । हिन्दू प्रचलनअनुसार ज्योतिषशास्त्रअनुरूप नामकरण गरिन्छ । र, मानिसको नामकरण गर्ने ज्योतिषशास्त्रको आफ्नै तरिका छ । यो शास्त्रअनुसार नामले निकै ठूलो महत्व बोकेको हुन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार नामबाट नै ‘राशि’ बन्दछ र राशिकै आधारमा ‘ग्रह–दशा’, ‘भाग्य’ र ‘भविष्य’ समेत निर्धारित हुन्छ । सोही आधारमा मानिसको भविष्यबारे अनेकौं पूर्वानुमान (फलादेश) गर्न सकिन्छ । यसरी नामकरण गर्दा शिशु जन्मिएको वर्ष, महिना, गते, बार, समय, स्थान आदिको विश्लेषण गरी नामको सुरु अक्षर निरूपण गरिन्छ । र, सोही अक्षरमा अरु अक्षरहरू भने बाबु–आमाको रुचिअनुसार थपेर पूरा नाम निर्धारित गरिन्छ ।

हिन्दू धर्म–संस्कारमा मात्र होइन, बौद्ध, किराँत, मुस्लिम या अन्य विभिन्न जाति–जनजातिहरूमा पनि न्वारन र नामकरणका आ–आफ्नै विधि, मान्यता र परम्परा प्रचलित छन् । तर, सबै जात–जातिका भिन्न–भिन्न विधि–परम्परा भए तापनि प्रायः सबैले ‘भगवान्’ अर्थात् ‘देवी–देवता’ को नामबाट बालबालिकाको नाम ‘सापटी’ लिने गरेको पाइन्छ ।

नाम जो–कसैलाई चिनाउने र इङ्गित गर्ने यस्तो साङ्केतिक कुरा हो, त्यो नै उसको पहिचान बन्दछ । सरसर्ती हेर्दा ‘नाम’ भन्ने कुरा सामान्य नै हो जस्तो लाग्दछ तर गहिराइबाट बुझ्दा यसले निकै ठूलो महत्व राख्दछ । मान्छे जीवनभर त्यही नाम बोकेर बाँच्दछ र आफू मरेपछि पनि उक्त ‘नाम’ चाहिँ बाँचिरहोस् भन्ने आकाङ्क्षा राख्दछ ।

व्यक्तित्व र नाम: अर्थ र प्रभाव

मनोवैज्ञानिकरूपमा पनि नामले जीवनमा गहिरो प्रभाव पारिरहेको हुन्छ । नामले व्यक्तित्व निर्माणमा समेत असर पारिरहेको हुन्छ । अरूले आफूलाई हेर्ने दृष्टिकोण समेत नामका आधारमा पनि निर्धारित भइरहेको हुन सक्दछ । नामका कारण जीवनमा सकारात्मक वा नकारात्मक दुवै किसिमका प्रभाव परिरहेका हुन सक्दछन् ।

सबैको चाहना आफ्नो नाम अरू जो–कसैको भन्दा पृथक् या छुट्टै होस् भन्ने नै हुन्छ । हरेक व्यक्ति आफ्नो बेग्लै पहिचान (नाम) बनाउन चाहन्छ । अतः नाम जीवनभर रहने स्वपहिचानको सवैभन्दा महत्वपूर्ण आधारस्तम्भ हो । यदि मानिसको कुनै पहिचान नहुने हो भने परिचयको सङ्कट खडा हुन्छ । परिचयकै सङ्कट परिसकेपछि त व्यक्तिले आफ्नो कुनै अस्तित्व नै देख्दैन । यस्तो अवस्थामा नैराश्यताजस्ता मनोवैज्ञानिक समस्याहरू देखा पर्न सक्दछन् ।

अमेरिकी मनोवैज्ञानिक जीन टेवङ्गीको नेतृत्वमा सन् २००० मा भएको अध्ययनले आफ्नो नाम नरुचाउने व्यक्तिहरूमा मानसिक तनाव व्यवस्थापनको क्षमता कमजोर भएको र आत्मविश्वासको अभाव देखिएको निष्कर्ष निकालेको थियो ।

बेइजिङ इन्स्टिच्युट अफ साइकोलोजीका हुवाजिन चाई र उनका सहकर्मीहरूले पनि अपराध पुष्टि हुने या दोषी ठहर हुने सम्भावनायुक्त दसौं हजार व्यक्तिका नामको परीक्षण गरेका थिए । उक्त अध्ययनले समेत कम चल्तीमा रहेका वा बढी नकारात्मक अर्थ दिने नाम भएका व्यक्तिहरू अपराधमा बढी सङ्लग्न भएको निष्कर्ष निकालेको थियो ।

घरपरिवार, समाज, नजिक र चिनजानका व्यक्तिहरूबीच एउटै नाम भयो भने पनि उनीहरूमा परिचयको सङ्कट पर्न जान्छ । यस्तो अवस्थामा उपनामको आवश्यकता महसुस गरिन्छ । यसैकारण मानिसहरू ‘प्रचण्ड’, ‘बादल’, ‘भूतको साथी’, ‘बैरागी’, ‘यात्री’, ‘चट्याङ मास्टर’ आदिजस्ता उपनाम राखेर फरक चिनारी बनाउन प्रयासरत देखिन्छन् । यस्ता नामले आफू अरुभन्दा फरक रहेको आत्मविश्वास सिर्जना गर्दै सफल र चर्चित बनाउन योगदान पुर्‍याइरहेको विश्वास गरिन्छ ।

नामका सन्दर्भमा सर्वसाधारणभन्दा ‘सेलीब्रिटी’, कलाकार, साहित्यकार, नेता आदिजस्ता ‘विशिष्ट व्यक्तित्व’ हरू नै बढ्ता समवेदनशील रहेका पाइन्छन् । एउटै दल, समूह, सङ्घ–संस्था आदिमा आबद्ध व्यक्तिहरूबीच नाम जुधेर परिचयको सङ्कट नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न पद सिर्जना गरेर पनि एकार्काबीच फरक परिचय कायम राख्ने प्रयास गरिन्छ । एउटा संस्थामा सामान्यतः किन एक जना मात्र अध्यक्ष वा सभापति हुन्छ ? देशका प्रधानमन्त्री किन दुईजना हुन सक्दैनन् ? यसो गरिनुको मुख्य र मनोवैज्ञानिक कारण भनेकै परिचयको सङ्कट हुन नदिनु हो ।

सबैलाई आफ्नो नाम प्रिय नै लाग्छ । उनीहरू अरूको मुखबाट आफ्नो नाम पटक–पटक उच्चारण होओस् भन्ने चाहन्छन् । जो–कसैले नाम लिएर बोलाउँदा गर्वबोध हुन्छ । नाम लिएर सम्बोधन गर्दा मानिसमा गहिरो मनोवैज्ञानिक प्रभाव पर्न जान्छ । त्यसैकारण यति महत्वपूर्ण कुरा (आफ्नो नाम) लाई अरूले मन पराएनन् र नाम लिएरै आलोचना गरे भने त्यसले मानिसमा मनोवैज्ञानिक असर पर्न सक्दछ ।

यस विषयमा हाम्रो समाजले भने त्यति ध्यान दिएको पाइँदैन । न्वारन गर्दा ‘पण्डित’ ले राखिदिएको नामलाई नै ‘आधिकारिक नाम’ मानिन्छ र सकेसम्म त्यसलाई परिवर्तन गरिँदैन । नेपाली समाजमा नागरिक स्वयम् हुर्केर आफ्नो नाम परिवर्तन गर्न नचाहेसम्म अधिकाङ्शले न्वारनका बेला दिइएको नामबाटै काम चलाइरहेका हुन्छन् ।

नामकरण गर्दा ध्यान दिऔं

नेपाली समाजमा प्रायः मान्छेको नाम देवी–देवताको नाम सापटी लिएर राख्ने क्रममा राम, सीता, हरि, लक्ष्मी, सरस्वती, शिव, भगवती, गणेश, कुमार, गोपाल… आदि धेरै प्रचलित नाम हुन् । यस्ता नामअन्तर्गत धेरै व्यक्तिको एउटै नाम हुन जाँदा अनेकौं व्यावहारिक समस्याहरू पर्ने गरेको पाइन्छ । यो प्रवृत्तिका कारण मान्छेमा परिचयको सङ्कट नै पर्ने गरेको देखिन्छ ।

अबको युवापुस्ताले भने यस्ता नामहरू कमै मात्र मन पराउने गरेको पाइन्छ । एलिसा (न्वारनको नाम भगवती भएकी) लाई कसैले ‘भगवती’ भनेर बोलायो भने पटक्कै मन पर्दैन; बरु उनलाई रिस उठ्छ ।

कसैको नामलाई अपहेलना र घृणापूर्वक अपमानित गरेर बोलाउँदा उसको आत्मसम्मान, आत्मविश्वासमा ह्रास आएको महसुस हुने नै भयो; उसले आफूलाई समेत नजानिँदो किसिमले त्यही रूपमा हेर्न र आत्मसात् गर्न समेत थाल्दछ । सबैले स्वीकार्ने र मन पराउने नाम भयो भने व्यक्तिले आफ्नो नामप्रति गौरवबोध गर्दछ र ऊ नाम अनुसारको काम गरेर आफ्नो नामलाई सार्थक बनाउन प्रयत्न गर्दछ । नाम नै अपहेलित भएमा भने त्यस्तो व्यक्तिमा हीनताबोध हुन्छ ।

कतिपय अवस्थामा भने बाबु–आमाले माया गरेर बोलाउने नामले समेत हीनताबोध गराउन सक्दछ । मोटी, काली, डल्ली, फुच्ची, पुड्की; मोटे, काले, डल्ले, पुड्के, डेरे आदि नाम व्यक्तित्वभन्दा ठ्याक्कै उल्टो हुने हुँदा आफूलाई गिल्ला गरेजस्तो र जिस्क्याएजस्तो भान हुन सक्छ । ‘जुन गोरूको सिङ छैन, उसकै नाम तिखे’ भने झैं व्यक्तित्वसँग ठ्याम्मै मेल नखाने नामबाट कसैले बोलाउँदा अपमानबोध हुनु स्वाभाविकै हो । माया गरेर या जिस्क्याएर प्रयोग हुँदाहुँदै मान्छे यिनै नामले चिनिन थाल्छ । भेटघाट, जमघट या सभा–समारोहमा आफ्नो नाम भन्न नै अप्ठ्यरो महसुस हुन्छ । सारतः नामले जीवनमा गहिरो र मनोवैज्ञानिक समेत प्रभाव पार्ने हुँदा नामाकरणमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

लेखक मनोविद् हुन्