डेङ्गु: लक्षण, जोखिम र सावधानी

डा. शेरबहादुर पुन

यस वर्ष काठमाडौं उपत्यकामा डेङ्गु सङ्क्रमणको प्रकोपले धेरैलाई अत्यायो । राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा डेङ्गु सङ्क्रमितको चाप बाक्लो छ । यहाँको बेडमा भर्ना भएका कूल बिरामीमध्येका करिव ७० प्रतिशत त डेङ्गु सङ्क्रमित नै छन् । डेङ्गु सङ्क्रमितको चाप अझै केही समय बढी नै हुने देखिन्छ ।

यस अस्पतालमा स्वास्थ्य जाँच गर्न आउनेमध्ये ज्वरो आएका अधिकाङ्श बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ । टेकु अस्पतालको ओपीडीमा मात्र नभई आकस्मिक कक्षमा आइपुग्ने बिरामीको चाप समेत थेगिनसक्नु छ । स्वास्थ्य जाँच गर्नका लागि यहाँ डेङ्गु सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी दैनिक ६० जनाभन्दा बढी आइपुग्ने गरेका छन् । यी पङ्क्ति लेखिरहँदासम्म दैनिक सरदर ४० जना डेङ्गु सङ्क्रमित यस अस्पतालको आकस्मिक कक्षमा आउने गरेको देखिन्छ । टेकु अस्पतालमा साउनको पहिलो सातादेखि नै डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या एकपछि अर्को गर्दै बढेको हो ।

सामान्यतया अस्पतालमा केही दिन औषधोपचारपछि डेङ्गु सङ्क्रमित बिरामी डिस्चार्ज हुने गरेका छन् । विशेषतः ज्वरो आएको र शरीरका विभिन्न अङ्ग (माङ्शपेशी) दुखेको अवस्थामा डेङ्गु सङ्क्रमण लक्षण मान्न सकिन्छ । ज्वरो आएर शरीर दुख्ने लक्षणसहित अस्पताल आएका बिरामीमध्ये करिव ७० प्रतिशतमा डेङ्गु पुष्टि हुने गरेको छ ।

यस्तो छ सङ्क्रमणको तथ्याङ्क

नेपालमा पहिलो पटक सन् २००४ मा एक विदेशी नागरिकमा डेङ्गुको सङ्क्रमण आधिकारिकरूपमा पुष्टि भएको थियो । त्यसयता नेपालमा हरेक वर्ष नै डेङ्गु सङ्क्रमणले केही नागरिकलाई दुःख दिँदै आइरहेको छ ।

७ सेप्टेम्बर, २०२२ सम्मको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा व्यापकरूपले डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ । महाशाखाको १ जनवरी, २०२२ देखि ७ सेप्टेम्बरसम्को तथ्याङ्कअनुसार ६ हजार ७ सय ७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

२२ भदौसम्मको तथ्याङ्कअनुसार प्रदेश– १ मा २ सय ५६, मधेश प्रदेशमा १ सय १९, बागमती प्रदेशमा ५ हजार ६६ जना (सबैभन्दा बढी) मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यसै अवधिमा गण्डकी प्रदेशमा १ सय २८, लुम्बीनी प्रदेशमा ९ सय ३३, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १ सय ६६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाअन्तर्गत पनि ललितपुरमा डेङ्गु सङ्क्रमणको सङ्ख्या सबैभन्दा बढी देखिन्छ । २२ भदौसम्मको तथ्याङ्कअनुसार ललितपुरमा २ हजार ४ साय ७९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा काठमाडौंमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १० र भक्तपुरमा १ सय ३४ जना पुगेको छ ।

जोखिम कहिलेसम्म त ?

सामान्यतः मनसुन सकिएलगत्तै डेङ्गुको प्रकोप देखिँदै आएको छ । मनसुनको समयमा समेत डेङ्गु देखिँदैन भन्नेचाहिँ हुँदैन तर फाट्टफुट्ट मात्र हुने गरेको देखिन्छ । डेङ्गु असोज–कात्तिकमा बढी देखिँदै आएकाले यही मौसममा बढी जोखिम हुने देखिन्छ ।

सामान्यतया भदौदेखि कात्तिकसम्म पानी परेपछि गर्मी हुन्छ र यही समयमा प्रकोपकै रूपमा डेङ्गु सङ्क्रमण देखिँदै आएको छ । गर्मी मौसममा जमेको पानी लामखुट्टेका लागि फुल पार्ने उपयुक्त वातावरण भएकाले यो मौसममा डेङ्गुको जोखिम बढी हुने भएको हो । जमेको फोहोर मात्र नभई सफा पानीमा समेत लामखुट्टेले फुल पारी सङ्ख्यात्मक वृद्धि गर्ने भएकाले पानी जम्न दिनु हुँदैन । सवारी साधनका फालिराखिएका थोत्रा टायरमा जमेको पानीमा त लामखुट्टेले सबैभन्दा बढी फुल पार्ने गरेको पाइएकाले यसरी टायरमा पानी जम्न दिनै हुँदैन ।

लामखुट्टेले डेङ्गु सङ्क्रमितलाई टोकेपछि त्यसले फेरि अर्को व्यक्तिलाई टोकेमा डेङ्गु सर्ने गर्दछ । सुरु–सुरुमा तराई र उपत्यकामा मात्रै डेङ्गु सङ्क्रमण हुने गरेको देखिए तापनि आजकल भने तराई, पहाड र हिमाली– सबै क्षेत्रमा यसले सताउने गरेको देखिन्छ ।

यसरी निम्तन्छ जटिलता

डेङ्गु सङ्क्रमित लामखुट्टेले टोकेको दस दिनसम्ममा डेङ्गुका लक्षण देखिने गर्दछन् । एक्कासि उच्च ज्वरो आउनु तथा माङ्शपेशी कटकटी खानु नै डेङ्गुका मुख्य लक्षण हुन् । अधिकाङ्श डेङ्गुपीडितलाई यसका लक्षण देखिएको सातासम्म ज्वरो आउने सम्भावना हुन्छ । डेङ्गु सङ्क्रमण भएमा आँखाका गेडी दुख्ने, टाउको दुख्ने, छालामा स–साना राता डाबर आउनेजस्ता लक्षण देखिन्छन् ।

डेङ्गु सङ्क्रमणका सुरुआती दिनहरूमा हाडजोर्नी र माङ्शपेशी अत्यधिक दुख्छन् । कसै–कसैलाई भने वाक्वाकी लाग्ने र बान्ता हुनेलगायतका थप लक्षण पनि देखिन्छन् । डेङ्गु सङ्क्रमण फैलिएर लामो समयसम्म लक्षण देखिइरहेमा भने गिजा र नाकबाट रक्तश्राव हुने जोखिम पनि हुन्छ । डेङ्गुका सङ्क्रमितमा पिसाब रातो हुने र दिसा कालो हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।

डेङ्गु सङ्क्रमणले कडा रूप लिएमा मिर्गाैला, कलेजो, मुटु, स्नायुजस्ता अङ्गमा नकारात्मक असर पर्नुका साथै थप स्वास्थ्य जटिलता निम्तिएर ज्यानै जानेसम्मको जोखिम हुन्छ । अतः पहिलो कुरा त सङ्क्रमण हुनबाट बच्नु नै सवैभन्दा बुद्धिमानी हुन्छ । सङ्क्रमण भइहालेमा भने चिकित्सकसँग परामर्श लिनुपर्छ या स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

तारन्तार बान्ता हुने, पेट दुख्ने, शरीर आलस्य हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिएमा उपचारका निम्ति ढिलो नगरीकन स्वास्थ्य संस्थामा पुग्नुपर्छ । यद्यपि डेङ्गु सङ्क्रमणका कारण हुने मृत्युदर एक प्रतिशत भन्दा कम छ; त्यसैले आत्तिइहाल्ने अवस्था नभए पनि सतर्क भने हुनैपर्छ ।

डेङ्गुबाट बच्ने यसरी…

डेङ्गुबाट बच्ने सवैभन्दा राम्रो उपाय भनेकै लामुखुट्टेको टोकाइबाट बच्नु हो । यसका निम्ति झुल लगाएर सुत्नुपर्छ र शरीर पूरा ढाक्ने किसिमका कपडा लगाउनुपर्छ । डेङ्गुको मुख्य कारक मानिएको ‘एडिस’ जातको लामखुट्टे दिउँसो बढी सक्रिय हुन्छ । त्यसैले दिउँसो हिँडडुल गर्दा वा काममा व्यस्त रहँदा पूरा शरीर ढाक्ने लुगा लगाएर यसको टोकाइबाट बच्नुपर्छ ।

लामखुट्टेको नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रवाई’ विधि अपनाउनुपर्छ; लामखुट्टेका लार्भा तथा लामखुट्टे नस्ट गर्नुपर्छ; घर या कार्यस्थल वरिपरि पानी जम्न दिनु हुँदैन । टिनका डम्बा, रङ्गका खालि डब्बा, टायर, ट्युब र खालि ड्रममा पानी जम्मा हुन दिन हुँदैन । फूल रोप्ने गमला, फूलदानी, एयरकन्डिसनर, पानीका ट्याङ्की आदिलाई राम्ररी सफा गरेर लामुखुट्टेको वृद्धिमा रोक लगाउन सकिन्छ ।

डेङ्गु सङ्क्रमण भइहाले यसको उपचारका लागि विशेष औषधि छैन । त्यसैले डेङ्गु भएका बेला लक्षणको आधारमा उपचार (सिप्टम्याटिक ट्रिटमेन्ट) गरिन्छ अर्थात्, जे–जे लक्षण देखिएका छन्, सोही किसिमको उपचार विधि अपनाइन्छ । डेङ्गु सङ्क्रमण भएमा झोलिलो किसिमका र रसिला खाद्य पदार्थ सेवन गर्नुपर्छ र मनग्गै मनतातो पानी पिउनुपर्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुको क्लिनिकल रिसर्ट युनिटका संयोजक हुन्