दशैंको मासु कसैको दशा नबनोस् !
डा. ईश्वर सुवेदीराष्ट्रिय चाडको रुपमा मानिने बडादशैंं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विशेष रुपले मनाउँछन् । दशमीको दिनमा मान्यजनको हातबाट शक्तिको पुजाको प्रसाद स्वरुप अक्षतामा अबिर हाली रातो टिका र जमरा ग्रहण गरिन्छ । नेपाललगायत दक्षिण एसियाका अन्य धेरै देशहरुमा विशेष गरी भारत, भुटान र म्यान्मारमा समेत यो पर्व विभिन्न प्रकारले मनाउने गरेको पाइएको छ ।
आफ्ना वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो पर्व पुर्णिमासम्म मनाउने गरिन्छ । आफ्ना मान्यजनहरुबाट टिका–जमरा लगाई आशीर्वाद प्राप्त गर्ने, नयाँ नयाँ कपडाहरू लगाउने, क्षमता अनुसार विभिन्न मिठा मिठा खाना खाने/ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउबस्ती सफा राख्नेजस्ता कार्यहरुबाट यस चाडलाई विशेष उत्साहका साथ मनाउंदै आइएको सर्वबिदितै छ । यदि शत्रुले राष्ट्र, समाज, आदि सिध्याउन आँटे भने हातहतियारसमेत चलाउनु पर्ने हुन्छ भन्ने मान्यताअनुरुप विभिन्न हातहतियारहरुको पुजा समेत दशैंंमा गर्ने गरेको पाइन्छ ।
दशैंंको जमरा
दशैंंको समयमा निधारमा बिजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ साथै विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् भन्ने भनाइहरुसमेत रहेको छ । बडादशैंंमा टीकासँगै शिर र कानमा सिउरिने जमराको बहुउपयोगिताको चर्चा पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका–प्रसाद ग्रहण गरेपछि बचेका अंकुरित जमराको रस बनाएर पिउनाले विभिन्न रोगहरू समेत निको हुने वनस्पति तथा खाद्य विज्ञहरूको तर्क रहेको छ ।
शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता पनि बढ्दै गएको हो । अंकुरित अन्नहरुको जमरामा रहेको विभिन्न शुक्ष्म पोषक तत्वहरु जस्तै भिटामिन र क्याल्सियम साथै यस वनस्पतिमा प्रोटिन समेत रहेको हुनाले यसलाइ आहारपूरक खाद्य पदार्थको रुपमा स्वास्थ्यको दृष्टिले महौषधिको संज्ञा दिनु पनि अनुचित देखिंदैन ।
पशुपक्षीको बली
काम–बासनाको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मात्सर्यको प्रतीक हाँसकुखुरोलाई मानेर दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै सयौं राङ्गा, बोका, हाँस कुखुराहरुको बलि चढाउने थालनी भएको कुरा नौलो भने होइन । यी पशुपक्षी प्रतिनिधि पात्रहरूलाई प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावनाहरुको प्रतिक मानी त्यस्ता दुर्भावनाहरूलाई मन्दिरमा लगेर चढाऔ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यतानुरुप मानिसले ती यिनलाई नै बलिका रूपमा चढाइ पछीपछि आफैं खान थाले ।
हिजोआज धर्मको नाममा अत्यधिक पशुपक्षीको बली र व्यापारसमेत यति दुषित भयोकी हामीले आफ्नो आहारविहार र स्वास्थ्यलाई नै वेवास्ता गर्न थाल्यौं । विभिन्न रोगका शिकार भई ग्रसित हुन थाल्यौं ।
धेरैजसोले मासु कहाँ र कस्तो ठाउँमा काटिन्छ भन्ने वास्तै नगरि मासु खरिद गर्ने गरेको पाइन्छ । अझसम्म पनि विभिन्न हाटबजारका साथै गाउँघरमा राँगा, खसी, सुँगुर र कुखुराका मासु साइकल र गाडामा हालेर नछोपिकनै बाटैभरी रगत चुहाउँदै लैजाने गरेको दृष्य देख्न सकिन्छ । त्यस्तै, चौबाटोमा केहीले पनि नछोपी झिंगा भन्काएरै मासु बेच्ने पसलहरु पनि अनगिन्ती छन् । यसको उचित व्यवस्थापन हुन नितान्त आवश्यक छ ।
मासु खानु वा नखानु मानिसको नितान्त व्यतिगत विषय हो । दशैंंमा मासु नै नखानु भन्नेपनि होइन तर कति मात्रामा, कसरी र कस्तो खाने भन्ने कुरा महत्वपुर्ण रहन्छ । बजारदेखि उपभोक्ताको घरसम्ममा आइपुग्दा स्वास्थ्यका दृष्टिकोणले मासु कतिको उपयुक्त रहन्छ, कसैलाई हेक्का हुँदैन । अझ कतिपय स्थानहरुमा त कुहिन लागेर अलिअलि गनाएको मासु नखाउञ्जेल दशैंं नै आएको जस्तो नलाग्ने पनि सुनाउँछन् । मासु खानेका लागि दशैंमा मासु साँच्चै नै ठुलो महत्वको विषय हुन्छ किनकी हाम्रोजस्तो गाउँ नै गाउँले भरिएको देशमा मासु खान दशैं–तिहारजस्ता चाडवाड पर्खनुपर्ने बाध्यता पनि एकातिर छँदै छ ।
पोषणको दृष्टिले मासु
पोषणको दृष्टिले हेर्ने हो भने मानव शरिरमा मांसपेशीको वृद्धि गर्न प्रोटिनको नै आवश्यकता पर्दछ । प्रोटिनको श्रोत भनेको वनस्पति र प्राणी दुवै हुन । स्वास्थ्य रहन वनस्पति श्रोतको प्रोटिन र प्राणी श्रोतको प्रोटिन दुवै नितान्त आवश्यक हुन्छ । जुनसुकै श्रोतको प्रोटिन भएतापनी प्रोटिनलाई शुक्ष्मरुपमा अध्ययन गर्ने हो भने यसमा दुई प्रकारका उपयोगी एमिनो एसिडहरु हन्छन् ।
जसरी हाम्रो घरको पर्खाल वा भित्ता इँट र सिमेन्टले बनेको हुन्छ; त्यस्तै प्रोटिन पनि इँटजस्तै एमिनो एसिडहरुले बनेका हुन्छन् । कुनै एमिनो एसिडहरु हाम्रो शरिरमा आफै बन्छन् भने कुनै एमिनो एसिडहरु बन्दैनन् । ति दुवै प्रकारका एमिनो एसिडहरु शरिरलाई नभई नहुने तत्वहरु हुन् । अझ, शरिरमा आफै नबन्ने एमिनो एसिड शरिरका अंगका तन्तु बन्नका लागि नभई हुँदैन । तसर्थ, हामीले शरिरमा नबन्ने एमिनो एसिडहरु बाह्य दैनिक खानाबाटै अनिवार्य लिनुपर्ने हुन्छ । हाम्रो शरिरभित्र नबन्ने त्यस्ता एमिनो एसिडहरु वनस्पति श्रोत जस्तै दाल तथा गेडागुडीहरुमा पाइँदैन, तर माछा, मासु, दुध तथा अण्डाहरुमा भने प्रशस्त मात्रामा पाइन्छ । तसर्थ, स्वस्थ्य शरिर निर्माणका लागि माछामासु नखाई पनि हुँदैन ।
तर विढम्वना, वानस्पतिक श्रोतभन्दा प्राणी श्रोतको प्रोटिन धेरै नै महँगो छ । एक केजी खसीको मासु दशैंको समयमा अधिकतम करिब रु १५०० सम्म पर्छ भने दाल तथा गेडागुडी करिब रु २५० प्रति केजी जति पर्न जान्छ । यो मुल्यअनुसार दैनिकरुपमा मासु खान निम्न वर्गहरुलाई उनीहरुको आर्थिक अवस्थाले दिन सक्दैन । निम्न आय भएका उपभोत्ताहरुले आफ्नो शरिर स्वस्थ्य राख्न एकातिर माछामासु खानै पर्ने बाध्यता छँदैछ भने अर्कोतर्फ बजेटले पुग्दैन । ग्रामिण क्षेत्रमा यो समस्यालाई निवारण गर्न पनि कृषिबाहेक अन्य पेशा केही देखिंदैन ।
माछा मासुमा १८ देखी २५ प्रतिशतसम्म प्रोटिन पाइन्छ भने गेडागुडिहरुमा २० देखि ४० प्रतिशतसम्म पाइन्छ । यस्तै, अण्डामा ११ प्रतिशत र दुधमा करिब ४ प्रतिशत प्रोटिन पाइन्छ । एक नवजात शिशु आफ्नो आमाको दुधमा रहेको करिब १.५ प्रतिशत प्रोटिनले ६ महिनासम्म बाँचेको हुन्छ । उसको जन्मँदाको तौल भन्दा छ महिनापछीको तौल दोब्बर पनि भएको हुन्छ तर ६ महिनापछी शिशुको शारीरिक वृद्धिका कारण आमाको दुध अपर्याप्त भएकोले दैनिक दुधसँगै अन्य ठोस पदार्थहरु पनि खुवाइन्छ ।
यसको मतलब, हामी सबै वयस्कहरुलाई पनि प्राणी श्रोतको प्रोटिन अत्यावश्यक हुन्छ । सामान्य हिसाबले गेडागुडीहरुमा माछा–मासुभन्दा धेरै प्रोटिन पाइएता पनि गुणस्तरको हिसावले माछा मासुको प्रोटिन धेरै राम्रो हुन्छ किनकी माछा मासुमा भएको प्रोटिन शरिरले प्राय सबै ग्रहण गर्नसक्छ भने गेडागुडीबाट प्राप्त प्रोटिन एक वयस्क अवस्थाको स्वस्थ्य जवानले करिब ७० प्रतिशतमात्र ग्रहण गर्न सक्छ ।
शरिरले सबै ग्रहण गर्न नसक्ने प्रोटिन जस्तै वनस्पति श्रोतको प्रोटिन हामीले धेरै मात्रामा खायौं भने पाचन प्रकृयालाई अनावश्यक भार मात्र हुन्छ र पछि त्यसको असर मृगौलालाई पर्न जान्छ । शरिरबाट वायुमात्र निष्काशन हुन्छ । विस्तारै मृगौलाको असरबाट शरिरमा युरिक एसिडको समस्या आउन थाल्छ । तसर्थ, दुवै श्रोतको प्रोटिन मिलाएर खानु उचित हुन्छ ।
कुनै पनि श्रोतको एकग्राम प्रोटिनले करिव ४ किलो क्यालोरी शक्ति दिन्छ । स्वस्थ रहन हामीलाई दैनिक औषतमा ८५ ग्राम प्रोटिन चाहिन्छ तर गर्भवती, स्तनपान गराउने महिला र अत्यधिक शारिरिक मेहनतको काम गर्ने मानिसहरुमा भने त्योभन्दा बढी प्रोटिनको आवश्यकता हुन्छ ।
मासु कति र कस्तो खाने ?
हाम्रो देशमा प्रतिव्यत्ति वार्षिक मासुको औषत खपत करिब १० केजीमात्र रहेको देखिन्छ जुन अत्यन्तै न्युन हो । यसबाट के देखिन्छ भने मासु खाने मनको चाहनालाई तृप्त पार्न दशैंं तिहार नै पर्खने वाध्यता यसबाटै देखिन्छ । एकै चोटी धेरै खानु पनि उचित होइन । तसर्थ, हामी जे जति खान्छौं राम्रोसँग पकाएर मात्रै खाऔं भन्ने कुरा भुल्नु हुँदैन ।
दशैंंको समयमा मासुको प्रयोग तथा खपत अधिक हुने भएकाले मासुको छनौट तथा परिकार निर्माणमा पनि विशेष ध्यान दिन अत्यावश्यक रहन्छ । कम मात्रामा चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा सेचुरेटेड फ्याटी एसिड कम हुन्छ । ग्रिल, बेक गरि मासु पकाइएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । किनकि छालाले मासु नरम राख्नुका साथै सेचुरेटेड फ्याटी एसिड पनि हट्ने हुन्छ । यसैगरी विभिन्न भित्रि अंगहरुजस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ । तर सकभर यिनलाई मासुसंग मिसाएर नखाँदा नै राम्रो हुन्छ, यिनलाई छुट्टै तयार गरि विभिन्न परिकार बनाई खाँदा उचित हुन्छ ।
सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै अन्य रातो मासुको दाँजोमा यसमा चिल्लो पदार्थ पनि कम हुन्छ । मासु खाँदा चिल्लोमा पनि विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरुमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । दशैंंमा मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । स्वस्थकर र सफा वातावरणमा उत्पादन भएको चराचुरुङ्गीको मासु उपभोग गर्न सकेमा अस्वस्थकर मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।
मासु धेरै खाएमा पेट गडबडी हुने, दुख्ने, श्वास–प्रश्वासमा कठिनाइ हुने, बेचैनी आदिजस्ता शारिरिक अस्वस्थताका लक्षण देखा पर्न सक्ने हुनसक्छ । दशैंंतिहार जस्ता चाडपर्व रक्सी पिउनेहरूका लागि राम्रो बहाना पनि हुनसक्छ । रक्सीले पार्ने नराम्रो असर त छंदैछ, दशैंंमा खाइने चिल्लो, तारेको, पोलेको, भुटेको परिकार, नुनिलो जङ्क फूड र बट्टामा राखिएका खानेकुराले हाम्रो शरीरलाई थप नराम्रो असर पार्छन् ।
अत्यधिक बोसो तथा चिल्लोयुक्त पदार्थ सेवन गर्ने र व्यायाम पनि नगर्नेको रगतमा कोलेस्टरलको मात्रा बढ्छ । रक्तवाहिनी नलीमा अतिरिक्त कोलेस्टरल जम्मा हुँदा रगत बग्ने बाटो अवरुद्ध हुन जान्छ । मुटुमा रगत पुर्याउने नली थुनिंदा हृदयघात हुन्छ भने मस्तिष्कमा रगत लैजाने नली अवरुद्ध हुँदा मस्तिष्कघात हुन्छ ।
सफा र स्वस्थ मासु
राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु विशेष गरी साल्मोनेलाले साल्मोनेलोसिस अथवा टाइफाइड रोग निम्त्याउँछ । त्यस्तै विभिन्न जुका वर्गका वर्महरु जस्तै टेपवर्म (पाटे जुका) आदिको उपस्थिति मासुको माध्यमबाट जिउँदै शरीरभित्र पस्ने र हानी गर्ने कुरामा दुईमत नै छैन । रोगी जनावरहरुमा जिवाणु तथा जुका समेत अधिक हुने भएकोले अर्ध–पाक्वान जस्तै कचेलालाई उच्च जोखिमयुक्त परिकारका रुपमा लिन सकिन्छ । तसर्थ, पशुपक्षीलाई बली दिनुअघि रोगी छन् वा छैनन्, भौतिक रुपमै भएतापनि अवलोकन, निरीक्षण गर्नु उचित हुन्छ ।
तपाइँ हाम्रो गाउँ–घरहरुमा पशु–चिकित्सक नहुन पनि सक्छन्; सामान्य रुपमा नै जनावरहरु रोगी भए/नभएको भौतिक अवलोकन गरेर पनि यकिन गर्न सकिन्छ । साधारणतया रोगी पशुपक्षीहरु हेर्दै कमजोर, न्याउरो वा पखाला लागेको, पुच्छर लुकाएको, नाकबाट तरल पदार्थ चुहाइरहने, खपटे, आखाँभरि कचेरा, घुम्ने वा जुका परेको, पातलो दिसा गर्ने आदि हुने भएकाले पशुवध गर्न अघि निरीक्षण तथा भौतिक अवलोकनबाट विश्वस्त हुन सकिन्छ । यदि ति जनावरहरु रोगी भएको थाहा भए बलीको लागि उपयुक्त हुदैंनन् र पशुचिकित्सकसंग सम्पर्क गरी उपचाराको लागि जुट्नु नै उपयोगी हुन्छ ।
गाँउघरमा साधारणतया प्राय हाम्रो कस्तो बानी हुन्छ भने रोगी जनावर यसै मरिहाल्छ त्यसै मरिहाल्छ वरु यही दशैंंमा तुरुन्तै काटकुट गरेर व्यवस्थापन गर्न सकियो भने टन्टै साफ ! तर यसबाट हामी रोगका शिकार बन्न सक्छौं । यसप्रकारको सस्तो मनोस्थितिले हाम्रो दशैंं दशामा परिणत हुनसक्छ । त्यसैले सचेत र सुरक्षित रहौं । दशैंं त पुनः आउछ तर स्वास्थ्य र मानव जीवन नआउन सक्छ ।
हिजोआज शहरीकरणले गर्दा शहरवजारमा सबैको घरमा मासु तथा दुधजन्य उत्पादनको लागि पशुपक्षी नहुन पनि सक्छ । चाडवाडको समयमा वजारबाट मासु दैनिक खरिद गर्नुपर्ने बाध्यता त छँदैछ । तसर्थ, राज्यले पशु वधशाला तथा विक्रीवितरणमा समेत अनिवार्य नियमन गर्नुपर्ने हुन्छ । अनुगमन गरेपनि चाडवाड लक्षित मात्र नभई नियमित हुनुपर्छ । यसको लागि वर्तमान पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई सक्रिय पार्नु आवश्यक देखिन्छ ।
पशु वधशाला र मासु जाँच ऐन, २०५५
सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थहरुमा मिसावट रोक्न र मासुको प्राकृतिक गुण विग्रन नदिई उपयुक्त स्तर कायम राख्नको लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, राजा विरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा संसदबाट यो ऐन पास भएको थियो ।
बि. सं. २०५५।१२।८ गते विधिवत रुपमा ल्याइएको यो ऐन पछिल्लोपल्ट २०७५।११।१९ मा संसोधन समेत भएको थियो तर सम्बन्धित सरकारी निकायहरुले यो ऐन लागू गर्न नसक्नु वा एक आपसमा मुख ताकेर बस्नु चाँहि आमउपभोत्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्नु हो र हाम्रो दुर्भाग्य पनि हो । के आम उपभोत्तालाई पशुपतिनाथले नै बचाउनुपर्ने ? कानून बनेन वा थिएन त्यो एउटा कुरा ! तर बनेको कानून कार्यन्वयन नहुनु त बिडम्बना होइन र ?
मासु त सबैले खान्छन् तर पनि सम्बन्धित निकायहरुको दृष्टी नपुग्नु भनेको आजको तीतो यथार्थ हो । वर्तमान दुषित बजारमा आम उपभोत्ताहरुले बजारमा बिक्री गर्न राखेको दशैंंको मासु खरिद गर्दा स्वास्थ्यकर छ छैन भन्नेमा कसरी यकिन हुने ? आखिरमा स्वास्थ्य त सबैको लागि महत्वपूर्ण नै हुन्छ र कुनैपनि हालतमा स्वास्थ्यसँग सम्झौता गर्न सकिदैंन र गर्नु पनि हुँदैन । तसर्थ, दशैंंमा हामीले खरिद गर्दा खसी, भेडा, कुखुरा, राँगा स्वस्थ भए नभएको यकिन गरि मात्र खरिद गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
स्वच्छ मासु उपभोत्ताको अधिकार
यदि स्थानिय पसलहरुमा हामी मासु खरिद गर्दैछौं भने मासु पसलको अवस्था, मासु बेच्ने बिक्रेताको व्यक्तिगत सरसफाई, कोठाको भुँई/भित्ता/सिलिंग, बाह्य तथा भित्री वातावरण आदिको सर्सती स्थलगत निरीक्षण गर्ने बानी हामी क्रेताले पनि बसाल्नुपर्छ । प्रतिकुल अवस्था पाइएमा अथवा गुणस्तर प्रति चित्त नबुझेमा खरिद नगर्ने विकल्प हामीसंग रहन्छ । तसर्थ, आमउपभोत्ता जवसम्म सचेत हुँदैनन् तवसम्म यो दुषित व्यापार निरन्तर चलि नै रहन्छ र राज्य पनि कानमा तेल हालेर बसिरहन्छ । जनता सचेत हुदाँ निष्क्रिय रहेको कानून पनि सक्रिय हुन करै लाग्छ ।
यस अर्थमा जनता-जनार्दन भन्दा शक्तिशाली कोही पनि छैन । यसको लागि बिशेष त स्थानिय सरकार नै सक्रिय हुनुपर्ने देखिन्छ । उपभोत्ताले सरकारलाई खवरदारी गर्नसक्नुपर्छ । मासु खरिद गर्ने समयमा पसलमा प्रत्येक क्रेताले त्यहाँ प्रयोग भएका भाँडाकुँडा तथा औजारहरु, मासु राख्न प्रयोगमा ल्याइएको टेवल, ढकतराजुको अवस्था, पानीको अवस्था, चिस्यान विधि, भण्डारण तापक्रम, हुनसक्ने मिसावट आदि कुराहरुमा सचेत हुन सक्नुपर्छ । विक्रेतासँग प्रश्न गर्न पनि हिचकिचाउनु हुँदैन ।
वास्तवमै मानिसका लागि मासु सेवनले कति फाईदा गर्छ र कति वेफाईदा गर्छ, त्यो बहसको लागि बेग्लै विषय हो । तर विश्व जनसंख्याको ९० प्रतिशत मानिसको रुची मासुमा हुनु, विकसित देशका नागरिकहरुको आहारामा ३० प्रतिशत हिस्सा मासुले ओगट्नु र मासुसँगै जोडिएको पशुपक्षी पालन, त्यसका लागि आहारा र यसको पनि व्यवसाय, पशुपक्षीको औषधि–उपचार तथा मासुको कारोबारले ओगट्ने अर्थतन्त्रको ठूलो हिस्सामा मासु खानु र नखानुले विशेष महत्व राख्छ ।
अरुले खरिद गरि खाईदिएको मासुले कति मानिसको गुजारा चलिरहेको हुन्छ र मासु नखाँदा पशुपक्षी पालन केका लागि गर्ने भन्ने सामान्य तर गम्भीर विश्लेषण गर्न पनि हामी चुक्नु हुँदैन ।
स्वच्छ मासु लगायत सन्तुलित भोजन सेवन गरौं । प्रशस्त मात्रामा फलफुल खाने बानी गरौं, साथै दशैंमा जमरालाइ पनि खेर फाल्न नदिऔं । यसको विविध महत्वलाई हृदयंगम गरी नियमित जमरा जुसको सेवनबाट हुने लाभहरु (जस्तै आँखाको ज्योति बढ्ने, आन्द्रामा घाउ नहुने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने तथा पाचन शक्तिलाई सन्तुलित तुल्याउन योगदान दिने) एंव उपयोगितालाई समेत आत्मसात् गर्दै जाऔं । हाम्रो खानेबानीले यसपटकको दशैं दशामा परिणत नहोस् । दुर्गामाताले हाम्रो देश नेपाल र हामी सबै नेपालीको रक्षा गरुन् ।
डा. ईश्वर सुवेदी
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्ला