ड्रेसिना कम्प्याक्ट
घरभित्र सजाइने आकर्षक बिरुवा
अनिता सुनुवारघर–कोठा र परिसर सजाउने तथा स्वच्छ–स्वस्थ हावा र वातावरण सिर्जना गर्ने फूल, बगैंचा र वनस्पतिसम्बन्धी यस स्तम्भको यो अङ्कमा ‘ड्रेसिना कम्प्याक्ट’ बारे चर्चा गरौं । ड्रेसिना विभिन्न प्रकारका हुन्छन् । यो गमला तथा बगैंचामा रोपेर सजाउन सकिने आकर्षक बिरुवा हो ।
ड्रेसिनाको बाक्ला र हरिया पात हुन्छन् । विशेषतः सानो गमलामा रोपेर घरभित्र सजाउन मिल्ने भएकाले यो बिरुवा सहरी क्षेत्रमा क्रमशः लोकप्रिय हुँदै गएको छ । कोठाभित्र रोपेर राख्न मिल्ने आकर्षक बिरुवाका रूपमा लिइन्छ ड्रेसिना कम्प्याक्टलाई । यो बिरुवालाई घरभित्र बैठक कोठालगायतमा राखेर सजाउन सकिन्छ । सजावटका लागि यो बिरुवालाई स–साना गमलामा रोप्ने शौखिनहरूको सङ्ख्या बढिरहेको छ ।
ड्रेसिना १६ देखि २४ डिग्री सेल्सियस तापक्रममा राम्ररी सप्रन्छ । यसलाई कोठाभित्रको तापकक्रममा समेत बचाउन र सजाउन कठिन छैन । ड्रेसिना कम्प्याक्टको बोट खासै अग्लो पनि हुँदैन । यो सामान्यतः दुई मिटरसम्मको उचाइमा बढ्छ । गमलामा रोपेको खण्डमा गमलाको आकारअनुसार नै यसको बोट बढ्दछ । अर्थात्, जत्रो गमला छ, त्यही अनुसार बढ्छ । यो ‘ढिलो बढ्ने बिरुवा’ मा समेत पर्दछ ।
ड्रेसिना कम्प्याक्टलाई हल्का उज्यालो वातावरणमा राखे पुग्छ । हावा भने प्रशस्त खेल्ने किसिमको वातावरण हुनुपर्छ । प्रत्यक्ष घाम नपर्ने र ओसिलो वातावरणमा राखेर हुर्काउँदा यसको पातमा चमक आउँछ । यस बिरुवालाई धेरै घाममा भने राख्नु हुँदैन । सिधै घाम पर्ने ठाउँमा राखेर हुर्काइए पात पहेंलो हुनेदेखि मर्नेसम्मको जोखिम हुन्छ ।
ड्रेसिना कम्प्याक्ट बढ्ने मौसम सामान्यतः मौसमयाम नै हो । जाडो मौसममा यो खासै बढ्दैन । गर्मी मौसम सुरु हुने बेला (माघतिर) एक पटक मल हाल्नुपर्छ । त्यसपछि आवश्यकताअनुसार (सामान्यतः दुई–दुई महिनामा) मल हाल्नु उचित हुन्छ ।
बिरुवा रोपेको माटो सुख्खा हुन लागेमा पानी हाल्नुपर्छ । यो बिरुवा रोपिएको माटो जहिल्यै ओसिलो हुनुपर्छ तर हिलो भइरहनु भने हुँदैन । गमलामा रोपिएको छ भने सुख्खा भएका बेला गमलाभरि पानी हाल्नुपर्छ र सुख्खा हुन लागेपछि फेरि पनि गमलाभरि नै पानी हाल्दिनुपर्छ । यसमा थोरै–थोरै र सधैं पानी हालिरहनु हुँदैन, यसो गरिएमा बिरुवाको जरासम्म पानी पुग्दैन र बिरुवा मर्ने जोखिम हुन्छ ।
घर, कोठा र वातावरणको सजावटका निम्ति ड्रेसिना कम्प्याक्ट जति आकर्षक देखिन्छ, वरिपरिको हावा शुद्धीकरण गर्न समेत यसको उत्तिकै भूमिका र महत्व हुन्छ ।