राजेन्द्रको अभिनय र संघर्षको कथा
बीएन अधिकारी
‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ हुँदै पछिल्लो समय हास्यश्रृङ्खला ‘हर्के हल्दार’ मा ‘गुन्द्रुके’ पात्रका रूपमा चर्चामा रहेका कलाकार हुन राजेन्द्र गिरी । आफ्नो औपचारिक नामभन्दा पनि उपनामबाट बढ्ता परिचित छन् उनी ।
करिव दुई दशकयता कलाकारितकर्ममा क्रियाशील राजेन्द्रले हास्य–प्रहसन मात्र नभई सय हाराहारी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । महादेव त्रिपाठीलगायतको टिमले निर्माण गरेको सिरियल ‘कोभन्दा को कम’ मा २०६० वैशाख २५ मा सानो भूमिकामा अभिनय गर्दै सुरु भएको हो राजेन्द्रको कलाकारिता । सिन्धुपालचोकका स्थायी वासिन्दा उनले आफूले अभिनयमा उत्रेको पहिलो दिन, गते र बार समेत याद गरिरहेका छन् । आफ्नो अनुहारले पहिलो पटक ‘क्यामेरा फेस’ गर्दाको झझल्को पनि उनमा अहिले पनि ताजै छ ।
‘कोभन्दा को कम’ सिरियल नेपाल टेलिभिजनबाट तीन एपिसोड मात्रै प्रशारण भयो । त्यसपछि सो सिरियल अचानक बन्द भयो । किन र के कारण त्यो बन्द भयो, उनले केही भेऊ पाउन सकेनन् । किनकि, उनी त्यसबेला भर्खरै मात्र कला–संसारमा छिरेका थिए ।
अनुहार देखाउने तृष्णाले सताउँदा
अहिलेको जस्तो जमाना थिएन त्यो । एकैछिन अनुहार देखाउन मात्र पाए पनि ठूलै महत्व हुन्थ्यो । त्यसकारण उनले कयौं दिन र रात त भोकभोकै पनि फिल्म लाइनमा काम गरे । ‘सिरियलमा अनुहार देखाउनु मात्रै पनि कति ठूलो कुरा थियो,’ विगत सम्झँदै होलिस्टिकसँग राजेन्द्रले भने– ‘टिभीमा एक झलक मात्रै देखिँदा पनि जनमानसमा परिचिति भइहालिन्थ्यो, बाटामा भेट्दा पनि धेरैले आदर–सम्मानका साथ बोल्ने गर्थे ।’
दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो सत्य’ मा खेल्दा उनले निकै सङ्घर्ष गरे । राजेन्द्रले २०६३–६४ मा ‘मेरी बास्सै’ मा काम गर्ने मौका पाए ।
गाउँले परिवेशको कथामा आधारित भएकाले पनि ‘मेरी बास्सै’ निकै लोकप्रिय भयो । अरुमा भन्दा यसै सिरियलमा खेल्ने इच्छा भित्रैदेखि जागिरहेको थियो । त्यही मौकामा उनले एक पटक सो सिरियलका कलाकार ‘बान्द्रे’ अर्थात् सुरज चापागाईलाई भेट्ने मौका पाए । आफूलाई ‘मेरी बास्सै’ को सुटिङ हेर्न मन लागेको कुरा राजेन्द्रले बान्द्रेलाई सुनाए ।
‘मेरी बास्सै’ मा लतार्ने बान्द्रेको डोरी
‘सुरज दाइको बाइक बिग्रिएर समस्या भएको रहेछ, पहिलेदेखि नै बाइक चलाउन सौखिन भएकाले मसँग त्यसबेला बाइक पनि थियो,’ त्यस बेलाको घटना सम्झँदै राजेन्द्रले सुनाए– ‘भक्तपुरको पल्लो छेउमा मेरी बास्सैको सुटिङ हुने रहेछ, बान्द्रेले ‘भोलि सुटिङ छ, मलाई पनि त्यहाँ पुर्याइदेऊ र सुटिङ पनि हेर’ भन्नुभयो । सोहीअनुसार म बिहानै ५ बजे बान्द्रे बस्ने असनको भित्री ठाउँमा गएँ र उहाँलाई लिएर सुटिङ स्पोट पुगें । त्यहाँ सुटिङ युनिटका सबैसँग भेट भयो ।
त्यहीबेला त्यहाँ सानो रोल खेल्न एउटा कलाकारको खोजी भयो । सोही क्रममा केदार घिमिरे (माग्ने बुढा) ले ‘यो भाइ कसले लिएर आएको हो ? सानो रोल छ, डाइलग बोल्न सक्छ त ?’ भनी सोध्नुभयो । मैले मुन्टो हल्लाएर सक्छु भनें । सोही दिनको सानो रोलबाट नै त्यो सिरियलमा काम गर्न थालेको हुँ ।’
माग्ने र उनको परिवार काम खोज्दै जाँदा बाटामा भेटिएका बटुवालाई सोध्ने रोल थियो राजेन्द्रको । सोही भूमिका उनका लागि टर्निङ प्वाइन्ट बन्यो । सबैतिर चर्चाको विषय बनेको र नेपाली दर्शकले अत्यधिक रुचाएको सिरियलमा सानो डाइलग बोल्न पाउनु नै उनका निम्ति निकै ठूलो कुरा थियो त्यसबेला ।
‘मैले सिरियल त खेलें तर सोही दृश्य हेर्न भने निकै सकस पर्यो,’ उनी सम्झन्छन्– ‘त्यो समयमा मेरो कोठामा ब्लाक एण्ड ह्वाइट टिभी थियो, एन्टेना लगाउनुपर्ने । आफूले खेलेको सिरियल कहिले प्रशारण होला र आफैंलाई टिभीमा देख्न पाइएला भन्ने लागिरहेको थियो । तर, त्यही बेला टिभी प्रस्ट आएन र एन्टेना घुमाउँदा घुमाउँदै मेरो सिन त गइसकेछ, हेर्नै पो पाइनँ ।’
उनले त्यही सिरियलमा व्यवस्थापनको काम गर्न थाले । बेलाबखत स–साना भूमिका पनि निभाउँदै गए । त्यसपछि भने उनले थुप्रै स्टेज कार्यक्रम पनि गरे ।
कलाकार बन्न सिरियल, पेट पाल्न डान्स बार
सिरियलमा काम गरेवापत उनले पैसा भने खासै पाउँदैनथे । कलाकार बन्नकै लागि उनी दिनभरि काम गर्थे तर पेट पाल्नका लागि भने बेलुका–बेलुका डान्स बारमा नाच्नुपर्ने उनको बाध्यता थियो ।
काठमाडौंमा बाँच्नु आर्थिक हिसाबले कठिन काम थियो; पैसा निकै चाहिन्थ्यो । उनीसँग बाइक भएकाले सुटिङका बेला सबैजसो काम हेर्न र कलाकार ओसार्न उनैलाई लगाइन्थ्यो । तर, साँझ परेपछि सिरियल प्रडक्सनको छाडेर नाच्न कुद्नुपर्थ्यो ।
डान्स बारको काम उनका लागि सहज नै थियो । मासिक दुई हजार रुपैयाँ तलब पाउँथे । डेराभाडा तिर्न र यताउता व्यवहार टार्न अलि मुस्किल नै थियो ।
‘डान्स बारमा काम पाउन पनि साहुको पाउ नै मोल्नुपर्थ्यो । काम पाउनका लागि धेरैजसो साहुलाई मैले यो–यो डान्स बारमा नाचिसकें भनेर प्रमाण पेस गर्नुपर्थ्यो,’ सङ्घर्षपूर्ण ती दिन सम्झँदै राजेन्द्रले सुनाए– ‘त्यसबेला मेरा निम्ति काठमाडौंमा बाँच्नु निकै कठिन कुरा थियो, कलाकार बन्न पनि अहिले जस्तो सजिलो त्यो समयमा कहाँ थियो र !’
‘हर्के हल्दार’ मा राम्रो कलाकारका रूपमा स्थापित भएसँगै उनले दर्जनौ म्युजिक भिडियो तथा अरु सिरियलमा काम पाए । ‘रमाइलो टेलिभिजन’ का निकै सिरियलमा समेत अभिनय गरेका उनी ‘जादुगर’ का रूपमा पनि परिचित छन् ।