तन–मन स्वस्थताका लागि ‘नेचर हाइकिङ’
कृष्णप्रसाद भुसालप्राकृतिक वातावरणमा पैदल हिँड्नु नै ‘नेचर हाइकिङ’ हो । सघन सहरको बसाइबाट एकाबिहानै निस्केर बेलुकी घरमै आइपुग्ने एकदिने पदयात्रालाई नै सामान्यतः ‘नेचर हाइकिङ’ मानिन्छ । सहरको व्यस्त दैनिकी र जीवनशैलीजन्य तनावबाट टाढा भई प्रकृतिलाई नजिकैबाट स्पर्श गरेर शरीर र मनलाई तन्दुरुस्त तुल्याउन र पुनर्ताजगी गराउन यस्तो यात्राले मनग्गे सहयोग पुर्याउँछ ।
नेचर हाइकिङले वरपरको प्रकृति मात्र होइन, त्यहाँको भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्न समेत मद्धत पुर्याउँछ । सहरहरूमा पर्याप्त खुला ठाउँ, बगैंचा, सफा नदी र प्रकृतिमैत्री संरचनाहरू छैनन् । त्यसैले हामी आफ्ना नानीबाबुहरूलाई प्रकृतिको सामिप्यताबाट विच्छेद गरी कृत्रिम वातावरणमा कैद गर्न बाध्य छौं । परिणामतः बालबालिकाहरू बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टेलिभिजनमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग मात्र खेल्न बाध्य छन् । यो परिस्थितिले बालबालिकाको चौतर्फी विकासलाई मात्र अवरुद्ध पारेको छैन, बिस्तारै–बिस्तारै प्रकृतिबाट समेत विमुख तुल्याउँदै लगिरहेको छ । सहरमा जन्मे–हुर्केका प्रायः बालबालिकाले रुख, वन, चरा, पुतली, जनावर, कलकलाउँदै सफा पानी बग्ने झरना/नदी इत्यादिलाई त केवल स्क्रिनमा मात्रै देख्न पाएका छन् ।
बच्चाहरू मात्र होइन, सहरबजारमा रहने हामी अन्य उमेरसमूहका मानिसहरूले समेत स्वच्छ हावा लिँदै, चराको चिरबिर सुन्दै प्रभातकालीन र सन्ध्याकालीन हिँडाइ हिँड्न पाउँदैनौं । खासमा भन्ने हो भने सहरमा हामीले स्वस्थ र गुणस्तरीय जीवनयापनका न्यूनतम मापदण्ड समेत कायम गर्न सकिरहेका छैनौं । बच्चालाई ‘दूध कहाँबाट आउँछ’ भनी सोध्यो भने ‘डेरीबाट’ भन्छन्, ‘चामल कहाँ, कसरी उत्पत्ति/उत्पादन हुन्छ त’ भनी सोध्यो भने ‘पसलबाट’ भन्छन्, ‘रुख कस्तो हुन्छ’ भनी सोध्दा सजाउँन राखिका प्लास्टिकका नक्कली फूल देखाउँछन् र ‘माछा कहाँ बस्छ’ भनी सोध्दा ‘एक्वारियममा’ भनी जवाफ दिन्छन् ।
यस्तो अवस्थामा नानीबाबुहरूलाई प्रकृतिसँग साक्षात्कार गराउँदै हिँडने बानीको विकास गराउन नेचर हाइकिङ एउटा सार्थक प्रयास हुन सक्दछ । बच्चाहरूका लागि मात्र होइन, तन्नेरी र प्रौढ सहरी पुस्ताका लागि समेत स्वच्छ हावा लिँदै, मनोरम दृश्यावोलकन गर्दै र चराको चिरबिर सुन्दै उकाली–ओरालीयुक्त हिँडाइका लागि ‘हाइकिङ अभ्यास’ राम्रो अवसर हुन सक्दछ । यही आवश्यकताबोध गरेर नै आजकल काठमाडौं उपत्यका आसपासका क्षेत्रहरूमा नियमितरूपमा सङ्गठित र व्यवस्थित हाइकिङक आयोजना गर्ने गरिएको छ । यो प्रयासले एकातिर कहाँ, कहिले र कसरी हाइकिङक जान पाइएला भनेर अलमल्ल परेका इच्छुकहरूको आवश्यकतापूर्ति गरेको छ भने अर्कातिर हाइकिङक अभ्यासलाई नियमित बनाउन पनि मद्धत पुर्याएको छ । यस्तो हाइकिङ आयोजना हुँदा नजिकका साथीहरूको समूहमा, पारिवारिक समूहमा अथवा एक्लै हाइकिङक जाँदा आइपर्न सक्ने समस्या, चुनौती तथा दुर्घटनाबाट जोगिन निकै सजिलो हुन्छ । किनकि, यस्तो हाइकिङ अनुभवी पथप्रदर्शकको नेतृत्व र निर्देशनमा अनि समूहमा गरिन्छ । बिदाका दिन बिहानै घर/डेराबाट निस्केर दिनभरको हिँडाइपछि बेलुकी घर/डेरामै फर्किइने भएकाले यस्तो हाइकिङक धेरैको रोजाइमा पर्ने गरेको छ ।
पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाको वरिपरिका शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङमती, गोदावरी, फूलचोकी, लाँकुरीभञ्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनीजस्ता ठाउँहरूमा खासगरी सार्वजनिक बिदाका दिन हाइकिङक जानेहरूको भीड बढ्दो छ । यिनै क्षेत्रहरूमा संस्थागत र सामूहिक अभियानकै रूपमा पनि हाइकिङकहरू आयोजना गरिँदै आएको पाइन्छ । हाइकिङक जानेहरूले अनुशासित भएर यात्रा गर्ने; स्थानीय संस्कृति, धार्मिक आस्था, जीवनशैली र गाउँलेको सम्मान गर्ने; बोटबिरुवा नभाँच्ने; जङ्गली जनावरहरूलाई नजिस्क्याउने, जथाभावी फोहोर नफयाँक्नेजस्ता प्रकतिमैत्री तथा सुसभ्य क्रियाकलापसम्बन्धी नियमको पालना गर्नुपर्ने हुन्छ । यस्तो अभ्यासले स्वस्थ, अनुशासित र उत्तरदायी जीवनयापनको संस्कृति सिक्न समेत सघाउ पुर्याउँदछ ।
‘प्रकृतिप्रेमी समूह’ ले २०६३ यता हरेक महिनाको अन्तिम शनिबार ‘स्वास्थ्यका लागि पदयात्रा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रममा स्वस्थ र सन्तुलित खानपान, स्वस्थ जीवनशैली र व्यायमबारे छलफल गराइन्छ र प्रशिक्षण पनि दिइन्छ । २०७२ यताका हरेक शनिबार गणेश शर्मा, सन्तोष पौडेललगायतका युवाहरूको नेतृत्वमा ‘हाइक फर नेपाल’ अभियान पनि निरन्तर सञ्चालित छ । शनिबार हाइकिङ गइने स्थान र अन्य विस्तृत विवरण अघिल्लो आइतबार नै फेसबुक पेजमा पोस्ट गरेर जानकारी गराइन्छ, इच्छुकहरूले बिहीबारसम्म रजिस्ट्रेसन गर्न सक्छन् । वयस्कका लागि प्रतिव्यक्ति सात सय र बच्चाका लागि पाँच सय रुपैयाँ शुल्क लाग्दछ । शुल्कबाट सङ्कलित रकम यातायात, गाइड, प्राथमिक उपचार र राष्ट्रिय निकुञ्ज भए त्यहाँको प्रवेश शुल्कका रूपमा समेत खर्च गरिने व्यहोरा ‘हाइक फर नेपाल’ को वेबसाइटमा उल्लेख छ ।
२०७२ को भूकम्पद्वारा सिर्जित पीडा भुलाउन, थलिएको पर्यटनलाई ब्युँताउन र हामी नेपालीहरूले पनि आफ्नै देशदर्शनमा हिँडनुपर्छ भन्ने सन्देश प्रवाहित गर्न सुरु गरिएको ‘हाइक फर नेपाल’ ले हालसम्म उपत्यका आसपास १ सय ८० हाइकिङ श्रृङ्खला पूरा गरिसकेको छ । यस अभियानले बेलाबखत उपत्यकाबाहिर पनि (सगरमाथा र अन्नपूर्ण क्षेत्रमा) हाइकिङ सञ्चालन गर्दै आएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घले पनि लामो समयदेखि पाक्षिकरूपमा शनिबार नै काठमाडौं उपत्यका आसपासमा चरा अवलोकन तथा छोटो दूरीका हाइकिङ सञ्चालन गर्दै आइरहेको छ । सङ्घले बेला–बेलामा ‘वाल्क फर बर्ड’ भनेर चराहरूको आवाज सुन्दै र चराहरू हेर्दै संरक्षण–सचेतना बढाउने उद्देश्यका साथ पदयात्रा अभियान समेत चलाउँदै आएको छ ।
साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन, प्रकृति संरक्षण तथा अध्ययन केन्द्रलगायतका संरक्षण, स्वास्थ्य र पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घ–संस्थाहरूले पनि बेला–बेलामा हाइकिङ अभियान चलाउने गरेका छन् । यी सबै संस्था/अभियानको उद्देश्य एउटै छ– मान्छेलाई प्रकृतिसँग साक्षात्कार र नजिक गराउने । अहिले त कतिपय ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले पनि व्यासायिकरूपमै ‘हाइकिङ प्याकेज’ समेत चलाउन थालेका छन् । यस्ता प्याकेजबाट आन्तरिक मात्र नभई बाह्य पर्यटकहरू समेत लाभान्वित हुने गरेका छन् ।
जङ्गलको स्वच्छ हावा स्वादसँग फोक्सोमा भर्दै, झरनाहरूमा सिञ्चित भएर फोटो खिँच्दै, चराहरूको आवाजसँग मन्त्रमुग्ध हुँदै, रङ्गीचङ्गी फूलहरूसँग सेल्फी लिँदै, घुमाउरा ट्रेलहरूमा टिकटक बनाउँदै, वर्षायामको कुहिरोले ढाकिएर सिमसिमे पानीमा भिज्दै, जुका टिप्दै र रगत पुछ्दै गरिने हाइकिङ चीरस्मरणीय बन्दछन् । प्राकृतिक वातावरणको स्वर्गीय आनन्द, पसिनाको बहाव र मनग्गे थकानसँगैको यात्रामा समाजका बहुआयामिक र विधागत विविधतायुक्त मित्रहरूसँग भेटघाट र चिनजानको संयोग पनि मिल्ने गर्छ । प्रायः हाइकिङ समावेशी हुन्छन्, जहाँ महिला–पुरुषको सङ्ख्या लगभग बराबर हुन्छ । घरमै पकाएर लगिएका खाने कुरा एकापासमा साझेदारी गरेर खाने प्रचलनले मित्रहरूसँगको आत्मीयता झन् प्रगाढ बनाउँछ । हाइकिङलाई एक प्रकारको खुला र प्राकृतिक विश्वविद्यालय नै मान्न सकिन्छ ।
उपत्यका आसपास हाइकिङकमा हिँड्दा एउटै यात्रामा पनि फरक–फरक प्राकृतिक र भौगोलिक विशेषतायुक्त अनि धेरै धार्मिक–सांस्कृतिक–ऐतिहासिक स्थलहरू भेटिन्छन् । यसकारण यहाँको यात्रा थप रोमाञ्चक र जानकारीमूलक हुन्छ । मनग्गे शारीरिक कसरत मिल्ने र रमाइलो समेत हुने हाइकिङका क्रममा नयाँ ठाउँ, नयाँ वनस्पति, नयाँ जीवजन्तु र मानिसका विविधतायुक्त जीवनशैलीबारे धेरै कुरा जान्न र बुझ्न पाइन्छ । अझ कोरोना महामारीका कारण लामै समय साँघुरो घेराभित्र थुनिएर बस्न बाध्य भएको अवस्थाबाट मुक्त भई हाइकिङ निस्किएको सन्दर्भमा त ठूलै उन्मुक्तिको अनुभूति र प्रकृतिको अझ बढी महत्वबोध हुन्छ ।
हाइकिङ गर्दा एकै दिनका लागि मात्र भए पनि सहरको धुवाँ–धुलो, कोलाहल र ध्वनि–प्रदूषणबाट छुटकारा मिल्छ । शरीरका तन्तु र अङ्गहरू चलायमान हुन्छन्, तन्कन्छन् । र, एउटै हाइकिङको सकारात्मक प्रभाव हप्तौंसम्म धेरथोर कायम रहन्छ ।
हिमाली, पहाडी र तराईका भू–दृश्य, प्रकृति, समाज, धार्मिक–सांस्कृतिक स्थल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी हेर्ने चाहना एउटै हाइकिङमा पूरा हुन सम्भव हुँदैन । अतः नियमितरूपमा र सम्भव भएसम्म हप्तैपिच्छे, आ–आफ्नो रुचि र अनुकूलताअनुसार नयाँ–नयाँ ठाउँमा हुने हाइकिङमा सहभागी हुन सकिन्छ । कुन रुट वा क्षेत्र हो, कति समयमा कुन ठाँउमा पुगिन्छ र त्यहाँ खास के–के हेर्न पाइन्छ भन्नेबारे हाइकिङमा सहभागी हुनुअघि नै विस्तृत जानकार हासिल गर्नुपर्छ ।
‘घुमन्ते’ उपनामले समेत चिनिने पाका पत्रकार भैरव रिसालले भनेजस्तै देशको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीविका बुझ्न र त्यसैअनुसार संरक्षण तथा विकासका कार्यक्रम बनाउन सर्वप्रथम डुल्नुपर्छ । प्रकृतिमा हिँड्ने यस खालका अभियानमा आफू सहभागी हुन र राष्ट्रसेवक, अभियन्ता र नेतृत्ववर्गलाई समेत सँगसँगै हिँडाउन सबैले पहल गर्नुपर्छ कि !
लेखक पन्छीविद् हुन् ।