नुन–चिकित्सा: पिङ्क साल्टको कमाल
डा. डीबी सुनुवार
नुनः भन्ने बित्तिकै मन–मस्तिस्कमा झट्ट झल्को आउँछ– सेतो रङ्गको धुलो वा पाउडर । नुन हाम्रो दैनिक भान्सामा प्रयोग हुने अनिवार्य सामग्री हो । नुनको काम खाद्य पदार्थलाई नुनिलो स्वाद दिलाउनु मात्र होइन; यसले खाद्य पदार्थलाई प्राकृतिकरूपबाट चाँडै बिग्रनबाट बचाउन समेत मद्धत गर्छ ।
हामीले दैनिक प्रयोग गर्नेभन्दा फरक किसिमका नुनहरू पनि बजारमा उपलब्ध छन् । परम्परागतरूपमा प्रयोग हुने ढिक्के नुन, बीरे नुन, हिमालयन पिङ्क साल्टजस्ता नुनहरू पनि बजारमा पाइन्छन् र उपयोगमा आउँछन् ।
हिमालयन पिङ्क साल्ट रासायनिकरूपमा त खाने नुनसँगै मिल्दोजुल्दो नै हुन्छ । तर, यसमा साधारण नुनमा भन्दा सोडियमको मात्रा कम हुन्छ । भान्सामा प्रयोग गरिने साधारण नुनमा प्रतिचम्चा २,३६० मिलिग्राम सोडियम हुन्छ; जबकि हिमालयन पिङ्क साल्टमा प्रतिचम्चा १,६८० मिलिग्राम सोडियम हुन्छ । यसको अर्थ दैनिक प्रयोग गर्ने नुनमा भन्दा पिङ्क साल्टमा सोडियमको मात्रा करिव आधाभन्दा पनि कम हुन्छ ।
पिङ्क साल्टमा यसबाहेक पोटासियम, म्याग्नेसियम र क्याल्सियमजस्ता ट्रेस तत्वहरू हुन्छन् । यी तत्वले नुनलाई हल्का गुलाबी रङ्ग प्रदान गर्दछन् । पोटासियम, म्याग्नेसियम र क्याल्सियमजस्ता तत्वहरूकै कारण हिमालयन नुनको स्वाद नियमित प्रयोग गरिने नुनको भन्दा फरक हुन्छ । यो नुन र साधारण नुनलाई धेरैजसो अवस्थामा खाना पकाउन, मौसमी खाना बनाउन र खाना जोगाउन उस्तै तरिकाले र एउटै प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।
गुलाबी नुनका ब्लकहरूलाई यदाकदा भाँडाकुँडा, विभिन्न खाद्य पदार्थ राख्ने भल्ब र काट्ने चपिङ बोर्ड बनाउन समेत प्रयोग गर्ने गरिएको पाइन्छ । यो हिमालयन नुनलाई माछा–मासुको सेकुवा बनाउने तावाका रूपमा समेत प्रयोग गरिन्छ ।
कतिपयले भने नुहाउने साल्टको सट्टा हिमालयन पिङ्क साल्ट पनि प्रयोग गर्ने गरेको पाइन्छ ।
गुलाबी नुनले बनेका बत्ती तथा मैनबत्तीका होल्डरहरू समेत बजारमा पाइन्छन् ।
हिमालयन पिङ्क साल्ट साधारण चलनचल्तीको नुनभन्दा फरक प्राकृतिक खनिज हो । भान्सामा प्रयोग गरिने नुन धेरै परिष्कृत र प्रशोधित हुन्छ । क्लम्पिङ रोक्नका लागि यसमा सोडियम एल्युमिनोसिलिकेट वा म्याग्नेसियम कार्बोनेटजस्ता एन्टिकेकिङ एजेन्टहरू मिसाइन्छ । हिमालयन नुन भने विनाप्रशोधन नै उपलब्ध हुन्छ । यस नुनमा सामान्यतः कुनै योगशीलहरू समावेश हुँदैनन् ।
नुनको प्रयोग: ‘हेलो थेरापी’
हिमालयन पिङ्क साल्ट प्रयोग गरेर गरिने थेरापीलाई ‘हेलो थेरापी’ भनिन्छ । यसलाई सामान्य भाषामा ‘नुन थेरापी’ समेत भनिन्छ । साल्ट–थेरापी स्पेलियो थेरापीका नामले समेत चिनिन्छ ।
हेलो थेरापी स्पाजस्तै गरी गरिन्छ । स्पा गरे जसरी नै ‘साल्ट रुम’ मा यो थेरापी गरिन्छ । अनेकौं दुखाइ वा दर्द हटाएर यो थेरापीले शरीरलाई आराम दिलाउँछ । यसबाट छालाजन्य समस्या समाधानमा सहायता मिल्छ; एलर्जी हुनबाट बचाउनुका साथै एलर्जी भइहालेको भए पनि सञ्चो गराउँछ ।
परम्परागतरूपमा हेर्ने हो भने विशेषतः पूर्वी युरोपमा नुन भएका गुफाहरूको भ्रमण गरी स्पेलियोथेरापी गर्ने अभ्यास थियो । यस्तो अभ्यास चिकित्सकीयरूपमा निकै लाभदायक मानिन्थ्यो ।
यस्तै भ्रमण गर्ने क्रममा नै हेलो थेरापीको अझ आधुनिक संस्करण विकसित भएको विभिन्न अध्ययनहरूले देखाउँछन् ।
यो थेरापीका सन्दर्भमा यस्तो प्रसङ्ग छ– दिनभर खानीहरूमा काम गरे पनि त्यहाँ काम गर्ने मजदुरहरूमा स्वासप्रश्वासका कुनै समस्या देखिएनन् । ती मजदुरहरूको स्वास्थ्य अवस्था सामान्य नै रहिरह्यो । उनीहरू मूलतः स्वस्थ रहिरहे ।
त्यस्ता मजदुरलाई चिसो तथा खोकी लागेका कुनै लक्षण समेत देखिएनन् । खानीमा काम गर्दा स्सासप्रश्वासका क्रममा नुनिलो हावाले उनीहरूको फोक्सोलाई सङ्क्रमण र एलर्जीबाट मुक्त राख्न मद्धत पुर्याएको अध्ययनहरूको निष्कर्ष छ ।
यस्तै अभ्यासपछि नुनयुक्त स्थानहरूको महत्व बढ्दै गयो । समय बित्दै जाँदा पूर्वी युरोपेली नुनखानी तथा गुफाहरू लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गए । नुनिलो हावामा सास फेर्न तथा फोक्सोको समस्या कम गर्न नुनिला गुफाहरू लोकप्रिय बन्दै गए ।
साल्ट–थेरापी सामान्यतया साल्ट रुममा नै गरिन्छ । यस्तो कोठामा हेलो जेनरेटर मेसिन राखिन्छ, जसमा नुन हुन्छ । थेरापी गर्दै जाँदा आवश्यकताअनुसार त्यसमा नुन थप्दै गइन्छ । उक्त कोठामा घुम्ने नुनका कणहरूलाई मेसिनले तोड्छ । यस्तो रुम हिमालयन नुनजस्ता विभिन्न प्रकारका लवणहरूले भरिएको हुन्छ । नियन्त्रित तापमान र आर्द्रताका कारण थेरापी गर्नका लागि तयार पारिएको साल्ट रुम नुन–गुफाजस्तै महसुस हुन्छ ।
थेरापीका लागि एक्टिभ र प्यासिभ गरी दुई किसिमका साल्ट रुम हुन्छन् । प्यासिभ रुममा नुनका कण फुटाउने मेसिन हुँदैन । प्यासिभ साल्ट रुममा नुनको मात्रा एक्टिभ साल्ट रुममा भन्दा कम हुन्छ । प्यासिभ साल्ट रुम भने हेलो थेरापीका सन्दर्भमा विश्राम गर्न र ध्यान गर्नका लागि प्रयोग गरिन्छ ।
साल्ट–थेरापी: दुई विधि
साल्ट–थेरापीलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । एउटा विधि हो– ड्राई साल्ट–थेरापी; जसलाई हेलो थेरापी भनिन्छ । यो विधिमा हेलो जेनरेटरको मद्धतले सक्रिय साल्ट रुममा थेरापी गरिन्छ । यस विधिमा सुख्खा नुनका स–साना कणहरूलाई हावामा फैलाएर फोक्सो तथा छालामा प्रवेश गराउने काम गरिन्छ ।
त्यसैगरी साल्ट–थेरापीको अर्को विधि हो– वेट नुन–थेरापी; यस विधिमा खनिजहरू भएको नुनिलो पानीमा नुहाउने, नुनिलो पानीले मुख कुल्ला गर्ने र पिउने, नाकको नहरबाट नुनिलो पानी बहाउनेजस्ता प्रक्रिया अपनाइन्छ ।
नुन–चिकित्सा: स्वास्थ्य लाभहरू
नुन एक प्रकारको खनिज या प्राकृतिक सामग्री र सुरक्षित खाद्य तत्व हो । सन्तुलितरूपमा प्रयोग गरिए यसका कुनै पनि साइड–इफेक्ट हुँदैनन् । नुनमा म्युकोएक्टिभ, जीवाणुरोधी, रोग प्रतिरोधात्मक क्षमता बढाउने, एन्टिएलर्जीजस्ता गुणहरू हुन्छन् ।
यस्तै गुणहरूका कारण हेलो थेरापीलाई उपचारको एक प्रभावकारी उपायका रूपमा प्रयोग गर्ने गरिएको हो । दम तथा रुघा–खोकीजस्ता फोक्सोजन्य समस्याको सामाधानका लागि हेलो थेरापी उपयोगी विधि मानिन्छ । त्यसैले हेलो थेरापीलाई फोक्सोको वैकल्पिक उपचार विधिका रूपमा लिइन्छ ।
फोक्सोको सङ्क्रमण, घाँटीको सङ्क्रमण वा फरिन्जाइटिस, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), धूमपानका कारण सास फेर्न समस्या भएका व्यक्ति आदिका लागि यो थेरापी निकै लाभदायक हुन्छ । स्वास–प्रश्वासको एलर्जी, दम, ब्रोङ्काइटिस, चिसो लागेको तथा खोकी लागेको, निमोनिया, साइनसाइटिस, राइनाइटिस, टन्सिलाइटिस, सिस्टिक फाइब्रोसिसजस्ता समस्या समाधान गर्न या यस्ता समस्या आइपर्न नदिन यो थेरापी लाभदायक हुन्छ ।
हेलो थेरापीमा प्रयोग हुने नुनका स–साना कणहरूले छालाका कोषिकाहरूको पुनर्उत्पादन गर्न मद्धत पुर्याउँछन् । छालालाई चाँडै बूढो हुनबाट बचाउन र सङ्क्रमणबाट जोगाउन समेत नुन–थेरापीबाट राम्रो मद्धत मिल्छ । छालाको एलर्जी, दाग, पिम्पल या डण्डिफोर, सोरायसिस, डर्मेटाइटिसजस्ता छालाजन्य समस्यामा हेलो थेरापी लाभदायक हुन्छ । छालामा हुने फङ्गल सङ्क्रमणबाट छुटकारा पाउन पनि यो विधि लाभदायक हुन्छ ।
अनेकौं फाइदा छन् र निकै लाभदायक छ भन्दैमा नुन–थेरापी जथाभावी र बेपर्बाह गरिहाल्नु भने हुँदैन । कुनै दीर्घरोगबाट पीडित व्यक्तिले भने चिकित्सकको सल्लाहमा मात्रै यस्तो थेरापी गर्नुपर्छ ।