के–कस्ता औषधि बेच्न पाइँदैन ?

अधिवक्ता लक्ष्मण बस्याल

म्याद नाघेको औषधि बिक्री–वितरण गर्नु नहुने सम्बन्धी व्यवस्था, नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न विभागबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था, औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य कुराहरू खुलाउनुपर्ने लगायतको कानुनी व्यवस्थाका बारेमा यस आलेखमा सङ्क्षिप्त चर्चा गरौं ।

औषधि उत्पादन गर्दा त्यसको सेवनबाट हुन सक्ने सम्भावित प्रतिकूल असरसम्बन्धी कानुनी व्यवस्था, लागूऔषध र विषालु औषधिहरू सुरक्षित राख्नुपर्ने व्यवस्था र दण्ड सजायको व्यवस्थाका बारेमा औषधि ऐनमा स्पष्ट व्यवस्था छ ।

औषधि ऐन, २०३५ को परिच्छेद– ७ अन्तर्गत दफा (३०) मा म्याद नाघेको औषधि बिक्री–वितरण गर्नु नहुने व्यवस्था छ । उक्त दफामा भनिएको छ– ‘म्याद नाघेको औषधि कसैले बिक्री–वितरण गर्नु हुँदैन ।’ यसरी म्याद नाघेका औषधि बिक्री–वितरण भए–नभएको अनुगमन गर्ने निकायको प्रभावकारिताबारे भने बेलाबखत प्रश्न उठ्ने गरेका छन् ।

दफा (३१) मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न विभागबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ– ‘कसैले कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न चाहेमा सो कामका लागि विभागबाट तोकिएवमाजेजिम अनुमतिपत्र लिनु पर्नेछ ।’

दफा (३२) मा औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य कुराहरू खुलाउनुपर्ने उल्लेख छ । दफा (३२) को उपदफा (१) मा भनिएको छ– ‘औषधिको उत्पादन गर्दा त्यस्तो औषधि एलोपेथिक, आयुर्वेदिक, होमियोपेथिक र युनानी प्रणालीहरूमध्ये कुन प्रणालीको हो, सो खुलाई लेबलमा उल्लेख गर्नु पर्नेछ ।’

दफा (३२) को उपदफा (२) मा औषधि उत्पादन गर्दा त्यसको सेवनबाट हुन सक्ने सम्भावित प्रतिकूल असरको सम्बन्धमा तोकिएवमोजिम उल्लेख गर्नुपर्ने व्यवस्था छ । दफा (३३) मा लागू र विषालु औषधिहरू सुरक्षित राख्नुपर्ने उल्लेख छ । उपदफा (१) मा भनिएको छ– ‘तोकिएका लागू तथा विषालु औषधिहरूमा स्पष्ट लेबल लगाई तोकिएवमोजिम सुरक्षित राख्नु पर्नेछ ।’

उपदफा (२) मा लेखिएको छ– ‘उपदफा (१) वमोजिमका लागू तथा विषालु औषधि बिक्री–वितरण गर्ने व्यक्तिले आफूले बिक्री–वितरण गरेको लागू र विषालु औषधिको अभिलेख तोकिएको ढाँचामा राख्नु पर्नेछ र चिकित्सकबाट लेखिदिएको त्यस्तो लागू र विषालु औषधिको प्रेस्क्रिप्सन त्यस्तो अभिलेखसाथ सङ्लग्न गरी राख्नु पर्नेछ ।’

औषधि ऐन, २०३५ को परिच्छेद ७ अन्तर्गत दफा (३४) मा दण्ड सजायको व्यवस्था छ । दफा (३४) को उपदफा (१) मा भनिएको छ– ‘यस ऐनको परिच्छेद– ४ को बर्खिलाप वा दफा २५ वमोजिमको आदेशको बर्खिलापमा काम–कारबाही गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

परिच्छेद– ४ मा औषधिको अनुसन्धान र नियन्त्रणसम्बन्धी व्यवस्था छ । दफा (२५) मा ‘नेपाल सरकारले औषधिको उत्पादन, बिक्री–वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी वा सेवन गर्न मनाही गर्न सक्ने’ व्यवस्था छ । दफा (३४) को उपदफा (२) मा ‘दफा १८ विपरीत हुने गरी औषधिको अनुचित प्रयोग वा दुरूपयोग गरेमा वा दफा (२९) विपरीत कसैले औषधिमा मिसावट गरेमा वा मिसावट भएको औषधि बिक्री गरेमा वा कुनै अरु थोकलाई औषधि भनी बिक्री गरेमा वा दफा ३० विपरीत म्याद नाघेको औषधि बिक्री–वितरण गरेमा वा दफा (३३) विपरीत हुने गरी कुनै काम–कारबाही गरेमा’ विभिन्न सजायको व्यवस्था छ ।

दफा (३४) को उपदफा (४) मा ‘कसैले यस ऐनवमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि–नोक्सानी वा क्षति पुगेकामा कसूरदारबाट सम्बन्धित पीडितलाई र निजको मृत्यु भएकोमा निजको हकवालालाई मनासिव क्षतिपूर्ति भराइदिनुपर्ने’ कानुनी व्यवस्था छ ।