टेस्ट–ट्युब बेबी प्रविधि र डा. नूतनको सेवा
केदारनाथ गौतम/शङ्कर क्षेत्रीनेपालका चर्चित एवम् स्थापित टेस्ट–ट्युब बेबी विशेषज्ञहरूमध्येकी एक हुन्, डा. नूतन शर्मा । डा. शर्मा यस विधामा मात्र सीमित छैनन्; उनी प्रसूती तथा स्त्रीरोग र गाइने ल्याप्रोस्कोपिक सर्जन समेत हुन् । टेस्ट–ट्युब प्रविधिमार्फत उनले पाँच सयभन्दा बढी महिलालाई गर्भधारण गराइसकेकी छन्; अर्थात्, डा. नूतनको चिकित्सकीय सहयोगमा पाँच सयजति बच्चाले जन्म लिइसकेका छन् ।
चुनौतीका चाङ पन्छाउँदै, अघि बढ्दै
बम्बई (हाल मुम्बई, भारत) मा जन्मिएकी हुन् नूतन । उतै हुर्के–बढेर कलेजसम्मको अध्ययन पूरा गरेकी उनले कर्मथलो भने नेपाललाई बनाइन् । नेपालका युवकसँग डा. नुतनको विवाह भयो । जनकपुरका चिकित्सक विजय शर्मासँग उनले लगनगाँठो कसिन् ।
विवाहपछि डा. नूतनको कर्मथलो बन्यो काठमाडौं । दुलाहा डा. विजयसँग काठमाडौं पसेकी डा. नूतनले थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल (प्रसूतीगृह) मा काम गर्न थालिन् । मेडिकल अधिकृतका रूपमा करिव एक वर्ष त्यहाँ काम गरेपछि उनले त्यो जागिर छाडिन् ।
भारतमा जन्मे–हुर्केकी नूतनलाई काठमाडौंमा घुलमिल भएर काम गर्न सुरु–सुरुमा त निकै अप्ठ्यारो भयो । भाषाको समस्या, रहनसहन, परिवेशलगायतका कारण उनलाई काठमाडौंको वातावरणमा घुलमिल हुन निकै समय लाग्यो । यहाँ न उनका आमा–बुबा न त माइतीतर्फका कुनै आफन्त । उनलाई काठमाडौं एकदमै नौलो र अनौठोजस्तो लाग्थ्यो । यसैकारण सुरु–सुरुमा त काठमाडौंमा उनको मनै अडिएन । बिल्कुल नयाँ ठाउँ, नयाँ परिवेश, अर्कै सभ्यता र संस्कार, बेग्लै भाषा र रहनसहन– सङ्घर्ष नै सङ्घर्ष अनि चुनौतीका चाङ थिए उनका अगाडि ।
यी र यस्ता चुनौतीको सामना गर्दै डा. नूतन क्रमशः अगाडि बढिरहिन् । नेपाललाई नै कर्मथलो बनाउने अठोट लिएर चिकित्सकीय पेशा अगाडि बढाइरहिन् । फलतः डा. नूतन आज यही कर्मथलोमा चिनिएकी छन् र मजाले घुलमिल भइसकेकी छन्; काठमाडौंको वातावरणमा राम्रैसँग भिजिसकेकी छन् । अब भने उनी यहीं रमाएकी छन् । सुरु–सुरुका दिनहरूमा ‘काठमाडौंमा त खै कसरी पो बस्ने होला र’ भन्ने सोचमा परेकी उनलाई अहिले भने यहीं नै आनन्द लाग्छ ।
दुई सन्तानकी आमा हुन् डा. नूतन । उनका एक छोरा र एक छोरी छन् ।
टेस्ट–ट्युब बेबी प्रविधिको नसा
अध्ययनकै बेलादेखि नै नूतन प्रसूती तथा स्त्रीरोग विशेषज्ञका रूपमा मात्र सीमित रहन चाहिनन् । एमबीबीएस अध्ययनको सुरुआती दिनदेखि नै उनमा बाँझोपनसम्बन्धी विषयमा बढी नै चासो लाग्यो । यस विषयमा उनको ध्यान पनि बढी नै खिँचियो ।
त्यही चासो र रुचिकै कारण नेपालमा केही समय काम गरेपछि उनी फेरि भारत गइन् र टेस्ट–ट्युब बेबी (आइभीएफ) सम्बन्धी ज्ञान हासिल गरिन्, सिप सिकिन् । बाँझोपन भएका महिलाहरू प्रसव पीडाभन्दा पनि बढ्ता मानसिक पीडामा पर्ने गरेको देखेपछि उनको मन थामिएन । उक्त पीडाबाट बाँझोपनयुक्त महिलाहरूलाई मुक्ति दिलाउने उद्देश्यका साथ नै आफूले टेस्ट–ट्युब बेबी प्रविधि सिकेको डा. नूतनले होलिस्टिकलाई सुनाइन् । चिकित्सकीय विधिबाट बाँझोपनको समस्या समाधान गर्नु उनको उद्देश्य हो । बच्चा जन्माउन चाहनेहरूले निःसन्तान बस्नु नपरोस् भन्ने नै उनको चाहना हो ।
आफ्नो यही चाहना पूरा गर्नकै लागि डा. नूतन अहोरात्र तल्लिन रहन्छिन् । बाँझोपनसम्बन्धी समस्या समाधानका लागि उनी आफ्नो ज्ञान र सिपले भ्याएसम्म चिकित्सकीय ‘धर्म’ अनुरूप खोजबिन गरिरहन्छिन् । र, सोहीअनुसारका औषधि तथा उपचार विधि अपनाउँछिन् ।
सन्तान नभएकै कारण कसैले जीवनभर कुण्ठित रहनु नपरोस् भन्ने नूतनको चाहना छ । बाँझोपनकै कारण सन्तान जन्माउन नसकेकाहरूको रोदन सुनेकी छन् र उनले तिनको अनुभूति नजिकबाट नियालेकी छन्; बाँझोपनका कारण सन्तानलाभ नभएकाहरूको पीडालाई एकदमै नजिकबाट स्पर्श गरेकी छन् । बाँझोपनका कारण विशेषतः महिलाले भोग्नुपरेको मानसिक, सामाजिक एवम् पारिवारिक समस्याको अनुभूति उनले नजिकैबाट गरेकी छन् । त्यसैले त उनी बाँझोपनको समाधानका लागि निरन्तर खटिरहन्छिन्; आफूले जाने–भ्याएसम्मका चिकित्सकीय विधि अपनाउँछिन् र यसैमा रमाउँछिन् ।
मूलतः टेस्ट–ट्युब बेबी प्रविधि र अरु विभिन्न चिकित्सकीय उपायद्वारा बाँझोपनको समाधानार्थ क्रियाशील डा. नूतन भन्छिन्– ‘लाग्छ कि म त अब टेस्ट–ट्युब बेबी प्रविधिकै नसामा पो डुबिसकेकी छु ।’
दूरबिनबाटै शल्यक्रिया…
बयोधा, बीएण्डबी, कान्तिपुर, ग्लोबललगायतका अस्पतालहरूमा काम गरिसकेकी डा. नूतनको अहिलेको दिनचर्या असाध्यै व्यस्ततापूर्ण छ । पहिले–पहिले त उनी स्कुटर कुदाएरै विभिन्न अस्पताल र क्लिनिकसम्म धाउँथिन् । उनले यत्तिकै व्यस्तताका बीच काम गरेर सेवा पुर्याउन थालेको डेढ दशक नाघिसकेको छ ।
अल्का अस्पतालमा कार्यरत रहँदा करिव दस वर्षअघि आफ्नै नेतृत्वमा ‘टेस्ट–ट्युब बेबी सेन्टर अर्थात् आईभीएफ एन्ड फर्टिलिटी सेन्टर’ स्थापना गरेको डा. नूतनले सुनाइन् । बाँझोपन भएका धेरै जोडीले त्यहाँबाट सन्तानलाभ गरेको उनको भनाइ छ । डा. नूतनले करिव तेह्र वर्ष अल्का अस्पतालमा काम गरिन् ।
दुई वर्षयता भने उनी नर्भिक अस्पतालमा कार्यरत छिन् । छ महिनायता आफू ‘नर्भिक आईभीएफ सेन्टर’ मै व्यस्त रहँदै आएको उनले सुनाइन् । त्यहाँ उनी ‘सिनियर आईभीएफ कन्सल्ट्यान्ट एन्ड ल्याप्रास्कोपिक सर्जन (गाइनोकोलोजिस्ट)’ का रूपमा कार्यरत छिन् ।
डा. नूतन मुख्यतः टेस्ट–ट्युब बेबी प्रविधिमार्फत सन्तानलाभ गराउने चिकित्सकीय प्रक्रियामै व्यस्त रहन्छिन् । बाँझोपनसम्बन्धी समस्याहरूको समाधानमा नै उनी बढ्ता केन्द्रित रहन्छिन् । दूरबिनको माध्यमबाट शल्यक्रिया गरेर प्रसूती तथा स्त्रीरोगहरूको समाधान गर्न तल्लित रहन्छिन् उनी ।
रहर पुर्याइदिन नसक्दाको खिन्नता
कतिपय महिला त ‘जसरी भए पनि बच्चा जन्माउनैपर्ने’ तनाव बोकेर आफूकहाँ आउने गरेको उनले सुनाइन् । श्रीमान्ले अर्को विवाह गर्ने चिन्ताका कारण समेत कतिपय महिला टेस्ट–ट्युब विधिमार्फत बच्चा जन्माउने उद्देश्यका साथ आउने गरेको उनको भनाइ छ । ‘टेस्ट–ट्युब प्रविधिमार्फत भए पनि बच्चा जन्माउनैपर्ने दबावका साथ परामर्शका लागि आउनुहुन्छ कतिपय महिला,’ होलिस्टिकसँग उनी भन्छिन्– ‘बच्चा नजन्माए आफूले अर्को विवाह गर्ने भन्दै श्रीमान्ले दबाव दिएको कतिपय महिलाहरूले सुनाउनुहुन्छ ।’
तर, कतिपय महिलाहरू भने टेस्ट–ट्युबलगायतका सबै विधि अपनाउँदा समेत बच्चा जन्माउनै सक्दैनन् । यी प्रविधि र विधिहरू पनि सतप्रतिशत सफल हुँदैनन् । जसरी भए पनि बच्चा जन्माइछाड्ने चाहना बोकेर आउनेहरूको रहर पूरा गरिदिन नसक्दा डा. नूतनको मन खिन्न हुन्छ । उनका अनुसार टेस्ट–ट्युब विधि अपनाउँदा ६० प्रतिशतभन्दा बढी महिलाहरूले गर्भधारण गर्छन् बच्चा जन्माउन सफल हुन्छन् ।
रजश्वला नै हुन छाडिसकेकी एक ५५ वर्षीया महिलालाई टेस्ट–ट्युब बेबी प्रविधिमार्फत गर्भधारण गराएर जुम्ल्याहा बच्चा जन्माउन सफलता पाएको क्षणलाई डा. नूतन कहिल्यै बिर्सन सक्दिनन् । करिव पाँच वर्ष अघिको कुरा हो यो । ती महिलाको रजश्वला हुन छाडेको पाँच वर्ष भइसके तापनि चिकित्सकीय विधि र टेस्ट–ट्युब बेबी प्रविधिमार्फत डा. नूतनले गर्भधारण गराएकी थिइन् । ती महिलाले एकैसाथ छोरा र छोरी जन्माइन् । ती बच्चा स्वस्थ रहेको उनले सुनाइन् ।
अध्ययन, ज्ञान र सिप
नूतनले नागपुर युनिभर्सिटी (भारत) अन्तर्गतको ‘एनकेपी साल्भ इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च सेन्टर’ बाट सन् १९९८ मा एमबीबीएस पूरा गरेकी हुन् । उनले ‘युनिभर्सिटी अफ मुम्बई’ बाट ‘डिप्लोमा इन गाइनोकोलोजी एन्ड अब्स्टेट्रिक्स (डीजीओ)’ को अध्ययन सन् १९९९ मा पूरा गरिन् । त्यसपछि ढाका (बङ्गलादेश) स्थित ‘बङ्गबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू)’ बाट प्रसूती तथा स्त्रीरोग (अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजी) मा सन् २००६ मा एमडी गरिन् । उनले ढाकाबाटै ‘एमसीपीएस’ र ‘डिप्लोमा अफ मेडिकल अल्ट्रासोनोग्राफी (डीएमयू)’ को अध्ययन सन् २००७ मा पूरा गरिन् ।
डा. नूतनले असिस्टेन्ट प्रोफेसरका रूपमा करिव एक वर्ष (सन् २००९–१० मा) काठमाडौं मेडिकल कलेजमा समेत काम गरिन् । सोहीबेला आफू चिकित्सकका रूपमा अल्का अस्पतालमा समेत कार्यरत रहेको उनले सुनाइन् ।
आफूले बाँझोपन तथा प्रसूती रोगलगायतका विषयमा डेढ दर्जनभन्दा बढी तालिम लिएको उनले सुनाइन् । आईभीएफसम्बन्धी ज्ञान र सिपका निम्ति डा. नूतनले सन् २००८, २००९ र २०११ मा गरी तीन पटक त मुम्बई (भारत) मा नै तालिम लिइन् ।
त्यसपछि उनले हिस्टेरोस्कोपीसम्बन्धमा अनि ल्याप्रोस्कोपिकसम्बन्धमा पनि ज्ञान हासिल गरिन्, सिप सिकिन् । अन्ततः उनले दूरबिनको माध्यमबाट गरिने शल्यक्रिया पनि सिकिन् ।
सिङ्गापुर पुगेर उनले सन् २००९ मा ‘एड्भान्स्ड अब्स्टेट्रिक अल्ट्रासाउन्ड’ र २०१७ मा ‘आईभीएफ’ को थप ज्ञान लिइन् र सिप सिकिन् । सन् २०१६ भारतमा पनि आईभीएफ तथा ल्यप्रोस्कोपिकसम्बन्धी फेलोसिप समेत गरेर ज्ञान र सिप थप बटुलिन् ।
डा. नूतनले सन् २०१८ मा ‘भ्रुण स्थानान्तरण (इम्ब्रोयो ट्रान्सफर) सम्बन्धमा समेत ज्ञान–सिप हासिल गरिन् । सन् २०२० मा दुबई (यूएई) पुगेर प्रजनन–चिकित्सा तथा आईभीएफसम्बन्धमै स्नातकोत्तर तहको थप ज्ञान–सिप हासिल गरिन् ।
बाँझोपन तथा प्रसूती रोगका कारण कसैले पनि विदेश धाउनु नपरोस् भन्ने डा. नूतनको ध्येय छ । केही चिकित्सक र निजी अस्पतालहरूमा मात्र सीमित रहँदा डा. नूतनको यो ध्येय खासै सार्थक हुन नसक्ला । सर्वसाधारणको पहुँचमा पुग्ने र सर्वसुलभ सेवा उपलब्ध हुने गरी राष्ट्रव्यापीरूपमा यो सेवालाई विस्तारित गर्न राज्यकै ध्यान पुग्नुपर्छ कि !