चामाडोरा पाल्म
भित्री शोभा बढाउने बिरुवा
अनिता सुनुवारयस आलेखमा एक प्रकारको हरियो बिरुवा अर्थात् ग्रीन प्लान्ट चामाडोरा पाल्मबारे चर्चा गरौं । विशेषतः गमलामा यो बिरुवा रोपेर घर या कार्यालयको भित्री सजावट गर्ने गरिन्छ । त्यसैले यो ‘इनडोर प्लान्ट’ का रुपमा समेत चिनिन्छ ।
चामाडोरा पाल्मको उद्गस्थल अमेरिका मानिन्छ । यसका एक सय सातभन्दा बढी प्रजाति छन् । यसको बोट सानो हुन्छ; यसको उचाई सामान्यतः छ मिटरसम्म हुन्छ । गमलामा रोपिँदा चामाडोरा पाल्मको बोट गमलाको आकारअनुसार नै बढ्दछ । त्यसैले, यसलाई सानो गमलामा रोपेर धेरै वर्षसम्म होचो बोटमै सीमित राख्न सकिन्छ ।
चामाडोराको बोट (डाँठ) झट्ट हेर्दा निगालो या उखुको डाँठजस्तै देखिन्छ र यसका पात पनि लगभग निकालोकै जस्ता देखिन्छन् । यसका पात निकै आकर्षक र एकदमै हरिया हुन्छन्; बोट झ्याम्म परेको हुन्छ । आकर्षक बोटकै कारण यो बिरुवा पछिल्लो समय सजावटका लागि लोकप्रिय हुँदै गएको छ । अरु बिरुवाको तुलनामा यसको बोट पनि बलियो हुन्छ । यसका फल पनि लाग्दछन् । यसका फल स–सानो झुप्पाका सुन्तलाजस्तो देखिन्छन् र रङ्ग पनि उस्तै हुन्छ ।
चामाडोरा पाल्म ओसिलो वातावरणमा राम्ररी फस्टाउँछ र अझ बढी आकर्षक देखिन्छ । बलियो र कडा बोट हुने भएकाले घरभित्र या बाहिर जतासुकै रोपिए पनि यो बिरुवा सितिमिति मर्दैन । घरभित्र राख्दा हावा भने राम्रोसँग खेल्न सक्ने वातावरण यो बिरुवाले पाउनुपर्छ । राम्रोसँग हावा खेल्ने वातावरण भएमा घरभित्रै पनि यो बिरुवा राम्रोसँग हुर्कन्छ ।
घरभित्र या बाहिर जता रोपिए पनि ओसिलो वातावरण छ भने पानी पनि धेरै हालिराख्नु पर्दैन । तर, सुख्खा हुन भने दिनु हुँदैन । यो बिरुवालाई घाम लाग्ने ठाउँमा भने रोप्नु/राख्नु हुँदैन । घाममा राखिए/रोपिए पात डढेर बिरुवा नै मर्न सक्दछ ।
घरभित्र या घाम नलाग्ने ओसिलो ठाउँबाट चामाडोरा प्लान्टलाई घाम पुगेन कि भन्ठानेर कतिपयले बेला–बेला घाममा निकाल्ने गरेको पाइन्छ । घरभित्र यो घाम नलाग्ने ओसिलो ठाउँमा राखिएको चामाडोरा पाल्मका पात एकदमै नरम तथा समवेदनशील हुन्छन् । त्यस्तो अवस्थाका बिरुवालाई घाममा निकाल्दा बिरुवा नै मर्ने जोखिम हुन्छ ।