औषधिको कारोबार

के छ कानुनी व्यवस्था ?

अधिवक्ता लक्ष्मण बस्याल

औषधिको उत्पादन, बिक्री–वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी, मूल्य निर्धारण, प्रेसक्रिप्सन दिनेसम्बन्धी व्यवस्था, मिसावटयुक्त औषधिको कारोबार आदिबारे नेपालमा के–कस्ता कानुनी प्रबन्ध छन् ? यिनै विषयमा केन्द्रित रहेर सङ्क्षिप्त चर्चा गरौं ।

औषधि ऐन, २०३५ को परिच्छेद– ७ अन्तर्गत दफा (२५) मा नेपाल सरकारले औषधिको उत्पादन, बिक्री–वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी वा सेवन गर्न मनाही गर्न सक्ने व्यवस्था छ । दफा (२५) मा भनिएको छ– ‘कुनै आषधिको उत्पादन, बिक्री–वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी वा सेवनका लागि मनाही गर्नुपर्ने देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो औषधिको उत्पादन, बिक्री–वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी, वा सेवन गर्नका लागि मनाही गर्न आदेश दिन सक्नेछ ।’

दफा (२६) मा औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ । सो दफामा लेखिएको छ– ‘विभाग (औषधि व्यवस्था विभाग) ले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई कुनै औषधिको मूल्य निर्धारण गर्न सक्नेछ । यसरी विभागले कुनै औषधिको मूल्य निर्धारण गरेको रहेछ भने त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्नेछ ।’

ऐनको दफा (२७) मा प्रेसक्रिप्सन दिने सम्बन्धमा व्यवस्था गरिएको छ । उक्त दफामा लेखिएको छ– ‘तोकिएको चिकित्सक, एकीकृत चिकित्सक वा स्वास्थ्यकर्मीले दफा (१७) बमोजिम समूहकृत गरिएका औषधिहरुको प्रेसक्रिप्सन दिनेसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।’ औषधिलाई समूह विभाजन गर्न सकिने व्यवस्थाबारे सोही ऐनको दफा (१७) मा उल्लेख छ ।

दफा (२८) मा आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्री–वितरण, डिस्पोन्सिङ वा सञ्चय गर्नु नहुने कुरा उल्लेख छ । सो दफामा लेखिएको छ– ‘कुनै औषधिको उत्पादन, बिक्री–वितरण, डिस्पोन्सिङ, सञ्चय वा निकासी–पैठारी गर्नका लागि त्यस्तो कामसित सम्बन्धित तोकिएवमोजिमका जनशक्ति तथा अन्य आवश्यक साधनहरु पर्याप्त मात्रामा नजुटाई त्यस्तो औषधिको उत्पादन, बिक्री–वितरण,  डिस्पेन्सिङ, सञ्चय वा निकासी पैठारी गर्नु हुँदैन ।’

सोही ऐनको दफा (२९) मा औषधि मिसावट गर्नु र मिसावट भएको औषधि बिक्री गर्नु नहुने कुरा उल्लेख छ । उक्त दफाको उपदफा (१) मा लेखिएको छ– ‘औषधिको प्रभाव शून्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गर्नु वा त्यस्तो मिसावट भएको हो भन्ने जानी–जानी त्यस्तो औषधि बिक्री गर्न वा बिक्रीका लागि राख्नु वा उपचारका निमित्त कसैलाई दिनु हुँदैन ।’ उपदफा (२) मा ‘कसैले कुनै अरु थोकलाई औषधि भनी बिक्री गर्नु नहुने’ कुरा उल्लेख छ ।

जनस्वास्थ्यसँग प्रत्यक्षतः जोडिएको यी र यस्ता विषय निकै संवेदनशील छन् । कानुनी व्यवस्था सन्तोषजनक नै भए तापनि कार्यान्वयन पक्षमा भने पटक–पटक समस्या देखिने गरेको छ । त्यसैले सरोकारवाला र नियामक निकायहरूले यो पक्षमा ध्यान पुर्‍याउनु जरुरी छ ।