‘हात्ती मेरो साथी’
जनावरका यस्ता अनौठा र रोचक व्यवहार !
कृष्णप्रसाद भुसालकरिव पाँच करोड साठी लाख वर्ष पहिले पृथ्वीमा उत्पत्ति भएको विश्वास गरिने हात्ती यतिबेला जमिनमा जीवित प्राणीहरूमध्येको सबैभन्दा ठूलो जाति हो । भीमकाय शरीर, आकर्षक शारीरिक बनावट र अनौठो स्वभावको ‘सामाजिक प्राणी’ हात्ती र मानिस करिव पाँच हजार वर्ष अघिदेखि सँगसँगै बस्दै आएको बताइन्छ ।
हात्ती–मानिस ‘सङ्गत’ का सुरुआती दिनमा मानिसले हात्तीलाई लडाइँका सवारी साधन/माध्यम, सरसामान ओसारपसार गर्ने साधन, भौतिक संरचनाहरूको निर्माणका सहयोगी र मनोरञ्जनको साधनका रूपमा उपयोग गर्न पाल्ने गरेको देखिन्छ । हाम्रा पौराणिक धर्मग्रन्थ र संस्कारहरूमा पनि हात्तीलाई ‘सम्मानीय जनावर’ का रूपमा उल्लेख गरिएको पाइन्छ भने अहिलेसम्म पनि पूजा गरिँदै आएको छ । नेपालको सबैभन्दा ठूलो मौद्रिक इकाई अर्थात् एक हजार रुपैयाँको नोटमा समेत हात्तीकै चित्र अङ्कित छ ।
बालबच्चालाई अत्यधिक मन पर्ने कार्टुनहरूमा समेत हात्तीका कार्टुन अग्रस्थानमै पर्छन् । चितवन, बर्दियाजस्ता तराईका राष्ट्रिय निकुञ्जमा भ्रमण गर्नेहरूको मुख्य रोजाइ पनि हात्तीमा चढेर जङ्गल सफारी गर्दै अनेकौं वन्यजन्तु तथा सुन्दर भू–दृश्य अवलोकन गर्नु नै हुन्छ । त्यसैकारण भन्न सकिन्छ– बच्चादेखि बूढापाकासम्मका सबैको प्रिय साथी हो हात्ती ।
घाँसेमैदान र नदी–तटीय क्षेत्र भएको उष्णप्रदेशीय सदाबहार चौडापाते जङ्गलमा हात्ती प्राकृतिकरूपले बस्दै आएको पाइन्छ । तर, आजभोलि भने संरक्षणात्मक उद्देश्यले र गैरव्यावसायिक प्रयोजनले घरपालुवा स्वरूपमा समेत पाल्ने गरिएको पनि देखिन्छ । हात्ती हाल एसिया र अफ्रिकामा मात्र पाइन्छन् तर यी दुवै महादेशमा पाइने हात्ती फरक–फरक प्रजातिका हुन् ।
हात्तीको उचाई तीन मिटरसम्म र तौल छ टनसम्म हुन्छ । हात्तीको छाला अत्यन्तै बाक्लो हुन्छ, जसले उसको शरीरलाई हमेसा शीतल राखिरहन मद्धत पुर्याउँदछ । हात्ती साहाकारी प्राणी हो । यसलाई दैनिक सरदर १ सय ५० किलोग्राम आहारा आवश्यक पर्छ । त्यसैकारण हात्ती नियमितरूपमा दिनभरजसो नै चरिरहन्छ ।
एसियाली हात्ती करिव ५० वर्षसम्म बाँच्दछन् भने अफ्रिकी हात्तीको आयुचाहिँ ६० देखि ७० वर्षसम्म हुन्छ । हात्तीको सबैभन्दा अनौठो अङ्ग भनेकै उसको सुँड हो । हात्तीको नाक र माथिल्लो ओठ संयुक्तरूपमा बढेर निर्मित भएको भाग नै उसको सुँड हो । पानी पिउने, खाना खाने, सामान उठाउने, एक–अर्कामा मया–प्रेम र सद्भाव साटासाट गर्ने तथा खतराको सङ्केत प्रवाह गर्ने काम हात्तीको सुँडले नै गर्दछ । सुँडमा करिव ४० हजार माङशपेसी हुन्छन्, जबकि मान्छेको शरीरमा जम्मा ६ हजार मात्र माङ्शपेसी हुन्छन् । यसर्थ, हात्तीको सुँड अति विशिष्ट, लचकदार र दह्रो हुन्छ । सुँडको टुप्पो अति समवेदनशील र एक किसिमले मान्छेको हातका औंलाजस्तो हुन्छ । सुँडको टुप्पोकै मद्धतबाट हात्तीले पिनटका स–साना टुक्रा समेत टिपेर खान सक्दछ ।
हात्तीको अर्को आकर्षक अङ्ग हो– उसका दुइटा ठूला दाह्रा । हात्तीले आफ्नो सुँडको रक्षाका साथै खाना खोज्ने क्रममा रुखका हाँगा भाँच्न र जरा उखेल्न समेत दाह्राको प्रयोग गर्दछ । लडाइँका बेला पनि हात्तीले दाह्राको प्रयोग गर्दछ । खडेरी परेका बेला जमिन खनेर पानी निकाल्न समेत हात्तीले आफ्नो दाह्राको प्रयोग गर्ने गरेको पाइन्छ । अफ्रिकी हात्तीका भाले–पोथी दुवैमा र एसियाली हात्तीको भने भालेजातिमा मात्र बाहिर निस्किएका लामा दाह्रा हुन्छन् । हात्तीका अजङ्गको शारीरिक बोझ थाम्नका लागि खम्बाजत्रा चारवटा खुट्टा हुन्छन् ।
प्राणीहरूमध्येकै सबैभन्दा लामो अवधि अर्थात् बाईस महिना गर्भावस्था हुने प्राणी हो हात्ती । पोथी हात्ती (ढोई) ले चार–पाँच वर्षको अन्तरालमा बच्चा जन्माउँछे । हात्तीको अझ रोचक कुरा त के छ भने उसको बच्चा (छावा) जन्मेको बीस मिनेटमै उभिन सक्छ र एक घन्टापछि नै हिँड्न सक्दछ । जन्मेको दुई दिनपछि त हात्तीको छावा आफ्नो समूहसँगै मिसिएर मजाले हिँड्न थाल्दछ ।
हात्तीको ‘समाज’ अर्थात् समूह ‘मातृसत्तात्मक’ हुन्छ । अतः हात्तीको ‘परिवार’ तथा ‘समाज’ र समूहको नेतृत्व कुनै एक परिपक्व पोथीले गर्छे, सो समूहमा अरु बयस्क पोथी र छावाहरू रहन्छन् । ‘मत्ता भालेहरू’ भने एक्लाएक्लै डुल्न मन पराउँछन् ।
आवाज निकालेर, शरीरको हाउभाउद्वारा, गन्धबाट, छोएर र कम्पनको सहायताबाट हात्तीले एकापसमा सञ्चार गर्दछन् । एउटा हात्तीको आवाजले जमिनमा पैदा गर्ने कम्पनलाई अर्को हात्तीले महसुस गरी पहिचान गर्न (सन्देश बुझ्न) सक्ने वैज्ञानिकहरूको धारणा छ । मान्छे र अरु जनावरले सुन्न नसक्ने निकै सानो आवाजको माध्यमबाट समेत हात्तीले एकापसमा गोप्य कुराकानी गर्न सक्दछन् ।
हात्तीको स्मरणशक्ति समेत मान्छेको भन्दा बढी हुने बताइन्छ । हात्तीलाई मान्छेभन्दा लगत्तै पछिको ‘बुद्धिमान’ जनावर मानिन्छ । अतः यो जनावरले विभिन्न समस्याको समाधानका निम्ति अनेक उपायहरू अपनाउँछ र ऊ सचेत र ‘विवेकी’ समेत हुने विश्वास गरिन्छ । मानिसले सिकाएका कुराहरू पनि हात्तीले सहजै सिक्न सक्दछ । माहुतेले बोलेको भाषा र निर्देशन बुझ्ने पालुवा हात्तीले मान्छेको आवेग, समवेदना, प्रेम र प्रतिक्रिया पनि मिहिनरूपमा बुझ्न सक्दछ । हामीले बोल्ने विभिन्न भाषाहरू समेत खुट्याउन सक्ने खुबी हात्तीमा हुने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । हात्तीलाई विभिन्न सङ्गीतयन्त्र (बाजाहरू) बजाउन, फुटबल खेल्न र पेन्टिङ गर्न समेत सिकाउन सकिन्छ/सिक्न सक्दछन् । झन् रोचक कुरा त के छ भने, हात्तीले पनि मान्छेले जस्तै ऐना हेरेर आफ्नो रूप पहिचान गर्न सक्दछन् ।
हात्तीलाई पारिस्थतिकीय प्रणालीको ‘इन्जिनियर’ र वनको ‘व्यवस्थापक’ समेत मानिन्छ । घना जङ्गलमा हात्तीहरू हिँड्दा बाटो बन्दछ र त्यो बाटो अरु जनावरहरूले पनि प्रयोग गर्दछन् । हात्तीले कुल्चँदा बनेका खाल्डाहरूमा पानी जम्दा सूक्ष्म जीवहरूको पर्यावरण सिर्जना हुन्छ, जहाँ चेपागाँडालगायतको जीवनचक्र नै पूरा हुन्छ । घना जङ्गल र कठिन भूगोल भएका संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरूमा नियमित गस्ती, वन्यजन्तुहरूको अनुगमन र अध्ययन–अनुसन्धान गर्न हात्तीको प्रयोग गरिन्छ । हात्ती पर्यटकीय आकर्षणको केन्द्र त हुँदै हुन् । ठूलो क्षेत्रमा डुली–डुली चर्ने हात्तीले विभिन्न बिरुवाको बिऊ विस्तारमा समेत उल्लेख्य सहयोग पुर्याउँदछन् । हात्तीले खाएर विस्ट्याएपछि कतिपय बिऊबाट बिरुवा उम्रने गरेको पाइन्छ ।
शान्त, ‘भलाद्मी’ र ‘उपकारी’ स्वभावका ‘मायालु’ हात्तीको आफ्नै अवस्था भने दर्दनाक र वियोगान्त छ । पछिल्लो शताब्दीमा मात्र मुख्यतः चोरीशिकारका कारण अफ्रिकी हात्तीको ९० प्रतिशत र चोरीशिकार, वासस्थान विनास र मानवसँगको द्वन्द्वका कारण एशियाली हात्तीको ५० प्रतिशत सङ्ख्या घटेको छ । त्यसैले हात्ती लोपोन्मुख प्रजाति हो । उसको दाह्रा झिकेर तस्करी गर्नका लागि हात्तीको शिकार हुन्छ । यस्तो अवैध र गैरकानुनी काम नेपालसहित अन्यत्र पनि चलिरहेकै छ । नेपालमा भने हात्तीको वासस्थान खण्डीकरण र विनासका साथै उनीहरू हिँड्ने परम्परागत बाटामा सिर्जना गरिएको भौतिक अवरोधले चुनौती थपेको छ ।
नेपालमा हाल दुई सयदेखि दुई सय पचासको सङ्ख्यामा जङ्गली हात्ती र करिव त्यत्तिकै सङ्ख्याका पालुवा हात्ती छन् । बढदो जनसङ्ख्या र भौतिक संरचनाको निर्माणसँगै हात्तीको वासस्थान सङ्कुचित हुँदै जाँदा मान्छे र हात्तीबीचको द्वन्द्व बढ्दै गएको छ । परिणामतः हात्तीद्वारा यदाकदा बालीनालीका साथै जिउधनको समेत क्षति हुने र हात्ती पनि मारिनेजस्ता व्यवहार हुने गरेका छन् । अतः सदियौंदेखि सहअस्थित्वमा रहँदै आएका हात्ती र मान्छेबीचको सम्बन्ध अहिले धरापमा छ ।
नेपालको चुरे–तराई क्षेत्रमा हात्तीको आक्रमणमा परी वर्षमा औसत २० जनाको मृत्यु हुने गरेको तथ्य हात्तीकै विषयमा विद्यावारिधिरत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोक रामको अध्ययनले देखाएको छ । त्यसैगरी मान्छेका कारण हरेक वर्ष औसतमा पाँच हात्तीले ज्यान गुमाउनु परेको छ । समूहमा हिँड्ने हात्तीले मान्छेको वस्तीमा पसेर वितण्डा मच्चाउने गरेका समाचारहरू वर्षेनि प्रकाशमा आइरहन्छन् । हात्ती हिँड्ने परम्परागत बाटामा हामीले मानव वस्ती बसाल्ने, ठूला भौतिक संरचना बनाउने र मानिसहरू हात्तीप्रति आक्रमक बन्नेजस्ता व्यवहारका कारण यो द्वन्द्व चर्केको विज्ञहरूको भनाइ छ । सन् २००० देखि २०२० सम्ममा हात्तीको आक्रमणमा परी नेपालमा २ सय ७४ जनाले ज्यान गुमाएको र १ सय ३८ जना घाइते भएको रामको अध्ययनले देखाएको छ ।
मान्छे–हात्तीबीचको सहअस्तित्व कायम राख्नका लागि हात्तीको आवागमनलाई सहज बनाइदिनुपर्छ । यसका निम्ति तिनीहरू हिँड्ने करिडोर र मुख्य वासस्थान बचाइदिनुपर्ने हात्तीविज्ञ नरेन्द्रमानबाबु प्रधानको भनाइ छ । हात्तीको संरक्षण र तीबाट मानव जीवन र सम्पत्ति जोगाउनका लागि ठूला पूर्वाधारहरू वन्यजन्तुमैत्री बनाउन ध्यान दिइनुपर्छ र हात्तीहरूको सीमावार आवागमनलाई सुनिश्चित गरिदिनुपर्छ । हात्तीको अवैध चोरीसिकार, दाह्रा तथा शरीरका अन्य भागको अवैध अन्तर्राष्ट्रिय कारोबारलाई प्रभावकारी ढङ्गबाट रोक्न सक्नुपर्छ ।
हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि जङ्गल छेउछाउका खेतबारी र वस्ती वरिपरि विद्युतीय तारबार गर्ने, त्यस्ता क्षेत्रको खेतबारीमा हात्तीले मन पराउने बाली नलगाउने, सचेतना अभिवृद्धि गर्नेजस्ता पक्षमा जोड दिनुपर्छ; जीविकोपार्जनका समुदायलक्षित वैकल्पिक कार्यक्रममा जोड दिनु पर्दछ ।
मानिस र हात्ती सँगसँगै बाँचौं भन्ने उद्देश्यका साथ नै आईयूसीएन नेपाल र उज्यालो नेपालको सहजीकरणमा बर्दिया राष्ट्रिय निकुञ्जले ‘हात्ती मेरो साथी’ अभियान सुरु गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र तथा निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबीच पर्ने खाता जैविकमार्ग क्षेत्रमा यो अभियान सुरु गरिएको छ । यस अभियानले हात्तीबाट कसरी सुरक्षित हुने, हात्ती आउँदा के गर्ने र के नगर्ने भन्नेबारे समुदायमा सचेतना फैलाउने काम सुरु गरेको छ । हात्तीबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी राहत उपलब्ध गराउन सहजीकरण गर्ने काम समेत यस अभियानले गरिरहेको छ ।
आहाराको खोजीमा हात्ती खेतबारीमा पसेका बेला सावधानी नअपनाउँदा आक्रमणमा परी धेरै मानिसको मृत्यु हुने र घाइते हुने गरेकाले समुदायले नै यसको पूर्वजानकारी लिनुपर्ने र सचेत हुनुपर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठको भनाइ छ । हात्तीलाई लखेट्ने, घेरा हाल्ने, होहल्ला गर्ने, सेल्फी खिँच्ने र टिकटक बनाउनेजस्ता क्रियाकलापका कारण हात्ती झन् आक्रामक हुन्छन् । हात्तीको आनीबानी बुझ्ने र उनीहरूबाट कसरी सुरक्षित हुने भन्नेबारे समुदायलाई सचेत गराउनकै निम्ति थालिएको ‘हात्ती मेरो साथी’ अभियानलाई देशका अन्य क्षेत्रमा पनि विस्तारित गर्न सकिए जनधनको सुरक्षाका साथै हात्तीको रक्षा समेत गर्न सकिन्छ । अन्यथा, यो सहजीवी सदाका लागि लोप भएर नजाला र एक हजारको नोटमा मात्र सीमित नरहला भन्न सकिँदैन ।