निरन्तर सफल पूजाका पाइला
भिडियो र फिल्ममा अभिनय गर्दै निर्मातासम्म
केदार/शङ्कर/भोलानेपाली चलचित्रजगतमा सफल अभिनेतृहरूमध्येकी एक हुन्– पूजा शर्मा । १८ वैशाख, २०४९ मा सिन्धुपाल्चोकमा जन्मिएकी पूजाका बुबा सिन्धुपाल्चोककै एक अस्पतालमा काम गर्थे भने आमा शिक्षिका थिइन् । तीन महिनाकी पूजालाई काखी च्यापेर उनकी आमा काठमाडौं छिरिन् । शिक्षण पेसा छाडेर आमा राजधानी पसेपछि पूजाको हुर्काइ–बढाइ र पढाइलेखाइ काठमाडौंमै भयो ।
पूजा एक्ली सन्तान हुन्, उनका दाजुभाइ–दिदीबहिनी छैनन् । आफू राजधानीमै हुर्किएकाले गाउँघरतिर खासै नगएको उनी बताउँछिन् । आमाले काठमाडौंमै शिक्षादीक्षा दिलाएपछि उनले सिन्धुपाल्चोक जानै परेन ।
उनको पढाइ राम्रै थियो । एसएलसी दिएपछि भने पूजालाई भिडियोमा अभिनय गर्ने रहर लाग्यो । एसएलसी दिएपछि नतिजा प्रकाशित नहोऊन्जेलको तीन महिनामा भिडियो खेल्ने प्रयास गरिन् । ‘एसएलसीपछिको फ्री समयलाई सदुपयोग गर्न त्यसबेला मैले अभिनयको अवसर खोजेकी थिएँ’– विगत सम्झँदै उनले होलिस्टिकलाई सुनाइन् ।
डेब्युकालको सङ्घर्ष
‘थ्री लभर्स’ चलचित्रमा सात वर्षअघि उनले अभिनय गरेकी थिइन् । त्यस चलचित्रमा सहायक अभिनेतृ थिइन् पूजा । सो चलचित्रको मुख्य पात्र अर्थात् अभिनेतृ थिइन्– प्रियङ्का कार्की । पूजाले अभिनय गरेको दोस्रो चलचित्र हो– ‘मधुमास’ । सो चलचित्रमा भने मुख्य भूमिकामै अभिनय गरिन् पूजाले ।
दुवै चलचित्रले पूजालाई दर्शकको ‘नोटिस’ मा पुर्याउन सकेनन् । यद्यपि उनको अभिनयको तारिफ भने भइरह्यो । ‘अझै पनि’ बाट नेपाली चलचित्र नगरीमा राम्रैसँग चिनिएकी पूजा अहिले भने ‘चल्तीकी हिरोइन’ बनेकी छन् ।
उनले चलचित्र ‘अझै पनि’ पछि नेपाली दर्शकको ‘नोटिस’ मा परेकी पूजाले त्यसपछि ‘चङ्खेपङ्खे’ मा अभिनय गरिन् । नयाँ अनुहारका रूपमा स्थापित हुँदै गइरहेकी उनको अभिनयलाई दर्शकले मन पराउन थाले । पूजाको ‘चलचित्र करिअर’ मा ‘टर्निङ प्वाइन्ट’ भने ‘प्रेमगीत’ हो ।
यही चलचित्रले पूजालाई ‘हिट अभिनेतृ’ को पहिचान दिलायो । उनी अभिनीत यो चलचित्र ‘बक्स अफिस’ मा सर्वाधिक कमाइ गर्ने चलचित्रमा दरियो । त्यसपछि भने उनी ‘सर्वाधिक महँगो हिरोइन’ बन्न पुगिन् । अरुका चलचित्रमा अभिनय गर्दागर्दै उनी आफैं प्रोड्युसर समेत बन्न थालिन् ।
पूजाले आफूलाई चलचित्रसँगसँगै म्युजिक भिडियोमा समेत व्यस्त राखिन् । ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘समालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’ पछि ‘म यस्तो गीत गाउँछु– २’ ले लगातार उनको उचाइ बढाइरहे ।
उनी आफैंले निर्माण गरेको र अभिनय समेत गरेको ‘म यस्तो गीत गाउँछु– २’ गत वर्षकै सर्वाधिक हिट चलचित्र बन्न सफल भयो । यो चलचित्र यति धेरै सफल हुनमा आफ्नो समग्र टिमकै कडा मेहनतको मुख्य भूमिका रहेको उनी बताउँछिन् । दर्शकको मनोभाव बुझेर चलचित्र बनाउनुपर्ने पूजाको भनाइ छ ।
नायिका बन्नुअघि गायिका
पूजा शर्मा सिनेनायिकाका रूपमा स्थापित हुनुअघि गायिका थिइन् । गायक अनिल सिंहसँग मिलेर उनले सन २०१६ मा ‘युगौंयुगसम्म’ बोलको गीत गाएकी थिइन् । उक्त गीत निकै चर्चामा रह्यो । तर, गायनमा सौखिन रहेको बताउने पूजाले त्यसपछि अर्को गीत भने निकालेको पाइँदैन । अभिनयमै निकै व्यस्त हुनु परेकाले अरु गीत निकाल्न नपाएको उनको भनाइ छ ।
‘जे पायो त्यही त गाउँदिनँ, आफ्नो आवाजमा फिट हुने खालको गीत भेटिए मात्र गाउँछु,’ उनले सुनाइन्– ‘गीत अहिल्यै र तत्कालै गाइहाल्नुपर्छ भन्ने छैन, कुनै समय मेरो आवाजमा मिल्ने गीत भेटें भने अवश्य नै गाउँछु ।’ आफू प्रफेसनल गायिका नभएकाले सबै गीत राम्रा नै हुन सक्छन् भन्न नसकिने उनको भनाइ छ ।
दैनिकी र जीवनशैली
बिहान यति नै बजे उठिसक्ने भन्ने उनको कुनै कार्यतालिका छैन । काम परेका बेला सबेरै उठ्छिन् भने फुर्सदमै हुँदा ७–८ बजेतिर मात्रै । उठिसकेपछि फ्रेस हुन्छिन् र दुई गिलासजति पानी पिउँछिन् ।
त्यसपछि ब्रेकफास्ट खान्छिन् । ब्रेकफास्ट यही नै खानुपर्छ भन्ने छैन, जे उपलब्ध छ– त्यही खाने गरेकी छन् । उनी खाना भने दिउँसोको १२ बजेतिर खान्छिन् । कहिलेकहीं त्योभन्दा अघि र कहिले अलि पछि पनि हुन सक्ने उल्लेख गर्दै ठ्याक्कै यति बजे नै खाना खाने भन्ने आफ्नो कुनै सेड्युल नरहेको उनले सुनाइन् ।
‘बिहान उठेपछि पानी नियमितरूपमै पिउने गरेकी छु, यो त मेरो बानी नै हो,’ उनी भन्छिन्– ‘त्यसपछि काम परे बाहिर निस्कन्छु नत्र ब्रेकफास्ट लिन्छु, घरमै आराम गर्छु र केही काम भए सक्छु अनि खाना खान्छु, ठ्याक्कै कति बज्छ भन्ने त वास्तै भएन नि ।’
फुर्सदले घरमै बसेका बेला कहिलेकहीं पूजा आफैं खाना बनाउँछिन्; नत्र आमाले खाना बनाएर खुवाउने गरेकी छन् । ‘आमा–छोरी मिलेर खाना पकाउने गरेका छौं; म व्यस्त भएका बेला आमाले बनाउनुहुन्छ,’ पूजा भन्छिन्– ‘आमाका हातले पकाएको खाना खाएर बाहिर निस्कनुको गौरव नै बेग्लै हुन्छ ।’
खाने कुरामा पूजा खासै केही बार्दिनन् । यो खान्छु र त्यो खान्नँ भन्न उनलाई कहिल्यै आएन । ‘जसरी खाना र खाजा खाने मेरो फिक्स्ड टाइम भएन, त्यसैगरी कुन परिकार खाने र कुनै नखाने भन्ने पनि भएन,’ कुराकानीका क्रममा उनले होलिस्टिकलाई सुनाइन्– ‘सुटिङ परेका बेला कुन खाना र कुन खाजा पाइन्छ र खाइन्छ भन्ने पत्तै हुँदैन । काम गर्दा कतिखेर समय मिल्छ, त्यही समयमा खाने हो; कलाकारहरूको खाना खाने समय यति नै बजे भन्ने नै हुँदैन । त्यसैगरी यस्तो खालको खाना खाने र त्यस्तो नखाने भन्ने पनि खासै हुँदैन; जे पाइन्छ र पाक्छ, त्यही खाने हो ।’
अभिनेतृ पूजालाई असाध्यै मन पर्ने खाने कुरा भने भुटेको आलु, कालो दाल, गोलभेंडाको अचार आदि हुन् । तर, यिनै चिज चाहिन्छ, नत्र खाइँदैन भनेजस्तो व्यवहार उनी कहिल्यै गर्दिनन् ।
मेकअप र ड्रेसअप
नेपाली सिनेजगतका अधिकाङ्श अभिनेतृहरूले ‘फ्यानहरूमाझ राम्री देखिनका लागि’ भारी मेकअप गर्ने गरेको पाइन्छ । अभिनेतृ पूजा शर्माले आफूलाई ‘सुन्दरी देखाउन’ मेकअपमा खासै ध्यान दिने गरेकी छैनन् । ‘सजिसजाउ भएर हिँड्नुभन्दा नेचुरल नै हिँड्न मनपर्छ; तर, बाहिरफेर हिँड्दा हल्का मेकअप भने गरिन्छ,’ उनी भन्छिन्– ‘सामान्यतया मेकअपका सामग्रीहरूको प्रयोग नै गर्दिनँ र मेकअप गरेरै पनि कहिल्यै बस्दिनँ; म जस्ती छु, त्यस्तै नै भएर बाहिर निस्कने गरेकी छु ।’
नेपाली सिनेजगतमै ‘सिम्पल अभिनेतृ’ का रूपमा चिनिएकी पूजा लुगा–कपडामा पनि खासै ‘चुजी’ छैनन् । ‘आफूलाई सुन्दर देखाउन त्यसैअनुरूपका ड्रेसहरू पनि खासै प्रयोग गर्दिनँ; जे छन्, टक्क तिनै कपडा लगाएर हिंड्छु,’ पूजाले सुनाइन्– ‘अनेक ड्रेसमा हिँड्ने बानी अहिलेसम्म ममा बसेन ।’
स्वस्थ र फुर्तिलो रहन उनी नियमितरूपमा पानी पिउँछिन् । पर्याप्त पानी पिएर नै अनुहारमा चमक छाउने र टिक्ने कुरामा पूजा विश्वस्त छिन् ।
सिनेयात्राका कथा–व्यथा
चलचित्र नै खेल्छु र यसैमा करिअर बनाउँछु भन्ने उद्देश्यका साथ उनी राजधानी आएकी थिइनन् । दशक अघिसम्म त अहिलेजस्तो जसले पायो त्यसैले म्युजिक भिडियो खेल्न पाइहाल्ने अवस्था पनि थिएन; एउटा म्युजिक भिडियोमा अभिनय गर्न पाउनु निकै ठूलो कुरा हुन्थ्यो ।
त्यस्तै परिवेशबीच ‘एउटा भिडियोमा त खेल्न पाए पनि हुन्थ्यो’ भन्ने आकाङ्क्षा पूजाको मनमा पलायो । भिडियो खेल्ने आफ्नो मनसाय आमालाई सुनाइन् । ‘छोरीले भिडियोमा खेल्छु भनिसकेपछि आमाले पनि नाइँ भन्नुभएन र पूरै सपोर्ट गर्नुभयो’– ऊ बेलाको स्मृति पस्कँदै पूजाले भनिन् ।
भिडियोमा खेल्ने अठोट गरिसकेपछि ‘म्युजिक डटकम’ का राजेशसँग कुरा राखिन् । त्यसपछि उनले अवसर पनि पाइन् । पहिलो भिडियो राम्रैसँग चलेपछि नै सुरु भएको हो पूजाको चलचित्र–यात्रा । ‘पहिलो काम नै सफल भएपछि मनमा उत्साह बढ्यो । पहिलो भिडियो चलिसकेपछि त अर्को पनि काम पनि गरौं न भन्ने त सबैमा हुन्छ र मलाई पनि त्यही भयो । त्यसै सिलसिलामा मेरा चलचित्र–यात्रा अघि बढ्यो,’ पूजा भन्छिन्– ‘म्युजिक भिडियोबाट सुरु भएको अभिनय–यात्राका क्रममा मैले चलचित्र–यात्रा र निर्मातासम्मको अनुभव बटुल्ने अवसर पाएँ ।’
अभिनयसँगसँगै निर्माता पनि
अभिनयसँगसँगै पूजा शर्मा चलचित्र उद्योगमा लगानी गरेर निर्माता समेत बनेकी छन् । अब उनको परिचय अभिनेतृमा सीमित नगरी निर्माताका रूपमा समेत विस्तारित भइसकेको छ ।
आफूले अभिनय गरेका चलचित्र एकपछि अर्को गर्दै निरन्तर सफल भइरहेकै थिए; उनले लगानी गरेका चलचित्रहरू समेत सफल नै भएका छन् । उनैको लगानीमा बनेको ‘म यस्तो गीत गाउँछु’ का दुवै सिक्वेल हिट भएपछि सफल निर्माताका रूपमा दरिएकी छन् पूजा शर्मा ।
चलचित्रमा काम गर्ने र लगानी गर्ने दुवै काम निकै कठिन र चुनौतीपूर्ण हुने पूजा बताउँछिन् । उनले दुवै चुनौतीको सामना गरिन्, अनुभव बटुलिन् र सफलता पनि हात पारिन् । चलचित्रमा अभिनेतृ बन्नु र त्यस क्षेत्रमा आफैंले लगानी गर्नुमा के फरक पाउनुभयो त ? होलिस्टिकको जिज्ञासामा अभिनेतृ पूजाको जवाफ छ– ‘अभिनेतृ भएर काम गर्दा चलचित्र राम्रो बन्छ कि बन्दैन र चल्छ कि चल्दैन भन्ने मात्रै चिन्ता हुन्थ्यो तर निर्माता समेत भएपछि त डब्बल चिन्ता पो हुने रहेछ ।’
‘निर्माता बाँचेको खण्डमा चलचित्रका कलाकार तथा प्राविधिकहरूले समेत रोजगारी पाउँछन्,’ उनले सुनाइन्– ‘केही बढी साथीभाइको निम्ति रोजगारी सिर्जना होओस् भनेर पनि मैले चलचित्र निर्माणमा लगानी गरेकी हुँ ।’
भावी योजना र अहिलेको व्यस्तता
चलचित्र क्षेत्रमा केही राम्रै गर्ने उनको योजना छ । ‘म यस्तो गीत गाउँछु– २’ हिट भएपछि उनी अब अर्को चलचित्र निर्माणको तयारीमा जुटेकी छन् । यतिबेला अर्को नयाँ चलचित्रको स्क्रिप्टलेखन र कलाकार छनोटमा लागिरहेको पूजाको भनाइ छ ।