‘दर्पण छायाँको पृष्ठभूमिका उत्तमको छवि

भोलानाथ अधिकारी

पारिवारिक टेलिसिरियल ‘मुक्ति’ हुँदै चलचित्र ‘दर्पण छायाँ’, ‘लहना’, ‘मितिनी’, ‘बसाइँ’ लगायत तीन दर्जनभन्दा बढी सङ्ख्याका नेपाली चलचित्रमा अभिनय गरिसकेका अभिनेता हुन्– उत्तम प्रधान । पहिलो पटक उनलाई तुलसी घिमिरेले टेलिभिजनको पर्दामा पाइला टेकाएका हुन् ।

‘मुक्ति’ हिट भएपछि तुलसीकै निर्माण तथा निर्देशनमा बनेको ‘दर्पण छायाँ’ मा अभिनय गरे उत्तमले । त्यस चलचित्रमा उनी सर्वाधिक हिट भए । पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय भएपछि एकपछि अर्को फिल्ममा मौका पाउँदै गए ।

सिक्किम (भारत) मा जन्मिएका उत्तम प्रधान बाह्र वर्षअघि आफ्नै जन्मस्थल फर्किएका थिए । उतै जन्मे–हुर्केका उनलाई पारिवारिक माहोलले घरतिरै तान्यो र उतै राख्यो । त्यसपछि उतै बसेर सिक्किमस्थित चलचित्र विकास बोर्डको अध्यक्ष बने । बोर्डको अध्यक्ष बनेपछि उनी लामो समय नेपाल फर्कन पाएनन् । यही कार्यव्यस्तताका कारण त्यहाँ समेत यताको जसरी चलचित्रमा निरन्तरता दिन पाएनन् ।

सिक्किम–काठमाडौं र मुम्बईको दूरी

सानै उमेरदेखि अभिनय र नृत्यमा रुचि राख्ने उत्तमले फिल्म खेल्नैका लागि सिक्किमदेखि मुम्बई र काठमाडौंसम्म धाए । निकै प्रयास गर्दा पनि त्यसबेला उनले कोही पनि ‘फिल्म बनाउने मान्छे’ पत्ता लाउन सकेनन् । कलाकार बन्ने सपना बोकेर दिल्ली, मुम्बई र काठमाडौं धाउँदा समेत अवसर ‘नजुरेपछि’ घरै फर्कनुपरेको तीतो सम्झना उनमा अहिले पनि ताजै छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि नै विवाह–बन्धनमा बाँधिएका उत्तम आफूलाई ‘भाग्यमानी’ ठान्छन् । हुन त विवाहअघि नै फिल्म खेल्नका निम्ति उनले थुप्रै ठाउँमा मौका नखोजेका होइनन् । तर, त्यो अवसर कहीं पनि पाएनन् ।

सिक्किमबाट काठमाडौं र मुम्बईबाट निकै टाढा छ । त्यो समयमा यातायातलगायत अनेक कारणले गर्दा सिक्किमको मान्छेले ‘फिल्ममा काम गर्छु’ भन्नु त ‘सपनाजस्तो’ मात्रै हुने गरेको उनी बताउँछन् । ‘सिक्किममा फिल्म निर्माण हुँदैनथ्यो, त्यसका लागि कि काठमाडौं आउनु पर्थ्यो कि त मुम्बई जानुपर्थ्यो’ उत्तम भन्छन्– ‘त्यहीं त फिल्म निर्माण गर्छु र चलाउछु भन्नु त ‘पागलपन’ जस्तो हुन्थ्यो । र, अहिले पनि अवस्था त्यही छ ।’

निर्माता–निर्देशक घरअघि लाइन लाग्दा

उत्तम अभिनीत पहिलो फिल्म नै हिट भएपछि आफ्नो फिल्ममा उनलाई लिनका लागि त्यस समय उनको घर अगाडि निर्माता–निर्देशक लाइन नै लाग्थे । आफूलाई फिल्मको स्क्रिप्ट सुनाउन धुम्बाराहीस्थित आफू बसेको घरमा बिहान सबेरै निर्माता–निर्देशकहरू आइपुगिसक्ने गरेको अनुभव उत्तमले होलिस्टिकलाई सुनाए । ऊ बेला त्यसरी कुनै निर्देशक पहिल्यै नआइपुगे आफूलाई भेट्न हम्मे नै पर्ने र अर्को निर्देशकले उम्काइसक्ने अवस्था रहेको उनको दावी छ ।

आजभन्दा बीस वर्षअघि नै प्रदर्शनमा आएको ‘दर्पण छायाँ’ अहिलेसम्म पनि दर्शकमाझ लोकप्रिय नै छ । त्यस चलचित्रमा उत्तमले गरेको दृष्टिविहीन पात्रको भूमिकालाई दर्शकले निकै मन पराए ।

करिव बाह्र वर्षपछि अहिले फेरि यही चलचित्रको ‘सिक्वेल’ निर्माण गर्न जुटेका छन् उत्तम । त्यसैका निम्ति सिक्किमबाट उनी नेपाल आएका छन् । ‘अहिले यही फिल्मको कथा लेखिरहेको छु,’ उनले होलिस्टिकलाई सुनाए– ‘शायद आउँदो दसैंअघि नै यसको छायाङ्कन गरिन्छ कि !’

‘दर्पण छायाँ’ लाई फेरि पनि नेपाली दर्शकमाझ ल्याउने जमर्को गरेको बताउँदै पुरानै कलाकारहरू दिलिप रायमाझी, निरुता सिंह र आफूले अभिनय गर्ने तयारी भइरहेको उत्तमले बताए । ‘सिक्वेल दर्पण छायाँ’ को छायाङ्कन नेपाल र सिक्किममा गर्ने योजना रहेको उनको भनाइ छ ।

परिवारै कलामय: दाजुभाइ–दिदीबहिनी सबै पर्फर्मर

बाल्यकालमा उत्तम गाउँकै एउटा बालसंस्थामा आबद्ध थिए । त्यसै बेलादेखि उनले विभिन्न कार्यक्रममा ‘लिडर’ भएर अभिनय गर्थे । उनको अभिनय देखेर साथीभाइ र आफन्तले उत्तमको तारिफ गर्न थाले ।

‘मलाई अभिनय गर्न एकदमै रहर लाग्ने, आफ्नै बुबाले बाल विकास भन्ने एउटा संस्था खोलिदिनु भएको थियो, त्यहाँ बसेर मैले थुप्रै नाटकहरूमा अभिनय गरें,’ बाल्यकालका स्मृति शेयर गर्दै उत्तमले सुनाए– ‘मेरो रोलचाहिँ कहिले मार्कण्डीको हुन्थ्यो भने विष्णु र यमदूतको हुन्थ्यो । सबैभन्दा चलेकोचाहिँ यमदूतकै भूमिका थियो; त्यसपछि मलाई कतिपयले त ‘ह्याण्डसम यमदूत’ भनेर पनि जिस्क्याए ।’

उत्तमले केही ‘ब्युटी पेजेन्ट’ मा पनि मोडलिङ गरे । अभिनय र मोडलिङमा औधि रुचि भएका उत्तमका आमाबाहेक चारैजना दिदीबहिनी र तीनैजना दाजुभाइ ‘स्टेज पर्फमर’ हुन् । दिदी गीत गाउँथिन् र दाजु पनि गायक तथा डान्सर थिए । बुबा पनि सांस्कृतिक क्रियाकलापलाई एकदमै माया गर्ने भएकाले छोराछोरीलाई कलायात्रामै लगाउन चाहन्थे ।

‘आमा मात्रै हुनुहुन्थ्यो स्टेजमा ननिस्कनुभएको, नत्र त हाम्रो पूरै परिवार नै ‘स्टेज पर्फमर हो भन्दा पनि फरक नपर्ला,’ उत्तम भन्छन्– ‘मेरी बहिनी त ‘मिस सिक्किम’ नै भएकी थिइन् । धेरैले हाम्रो परिवारलाई ‘कलाले भरिएको परिवार’ का रूपमा चिन्छन् । ७–८ वर्षको हुँदादेखि नै मैले स्कुलका कार्यक्रमहरूमा नाच्न थालेको थिएँ ।’

बिहेपछि फटाफट फिल्मको अफर

फिल्म खेल्नका लागि कतै पनि मौका नपाएपछि उत्तको कलाकारितामोह क्रमशः मर्न थाल्यो । सन् १९९७ मा बिहे गरे । त्यसपछि छोरो पनि जन्मियो ।

‘अब फिल्म खेलिँदैन’ भन्ने सोचका साथ परिवारमै रमाइरहेका उत्तमलाई नसोचेको फिल्म र म्युजिक भिडियोमा अफर आयो । भारतीय गीतको म्युजिक भिडियो र नेपाली फिल्मममा अभिनयका लागि निर्माता–निर्देशकले अफर गरे ।

‘मलाई त लाग्छ श्रीमती र छोराले नै पो मेरो ‘भाग्य’ लिएर आइदिए,’ उनी सम्झन्छन्– ‘छोरो जन्मिएको सात दिनमा नै तीनवटा म्युजिक भिडियोको अफर आयो । तीमध्ये एउटा नेपाली र अरु हिन्दी गीतका काम थिए । अर्को सानो टेलिसिरियलको पनि अफर थियो । त्यो सिरियलमाचाहिँ मैले काम गरिन किनकि ममा घमण्ड थियो– यत्तिका वर्ष हिरो बन्छु भनेर बसेको मान्छे, कहाँ स–सानो टेलिसिरियल गरेर बस्छु !’

त्यसको केही समयपछि दसैं आयो । त्यहीबेला इटहरीस्थित आफन्तकहाँ टीका थाप्न आए । त्यही बेला निर्देशक तथा निर्माता तुलसी घिमिरे उत्तमलाई खोज्दै सिक्किम पुगेका थिए । ‘दसैंको टीका लगाउन इटहरी आएका बेला सिक्किमबाट साथीको फोन आयो; उनले मलाई भेट्न तुलसी घिमिरे आउनुभएको कुरा सुनाए,’ त्यसबेलाको घटना सम्झँदै उत्तमले भने– ‘मलाई त अचम्म नै लाग्यो र मनमनै सोचें– ‘भाग्य छ भने यसरी अफर आउँछ’ ।’

‘अनेक कोसिस गर्दा समेत काठमाडौंमा भेट्न नपाइएका तुलसी घिमिरे आफ्नै घरमा पो भेट्न आउनुभयो भन्ने सुन्दा मेरो आँखाभरि आँसु नै पो आयो । कहाँ टीका लगाएर बसिरहनु ! तुलसी दाइलाई भेट्न सिक्किमतिरै दौडिएँ ।

‘म घर पुग्दा तुलसी दाइ, भाउजू र उहाँको भाइ आउनुभएको रहेछ । तुलसी दाइले मसँग ‘मुक्ति’ को कुरा गर्नुभयो । म त कति खुसी भएँ–भएँ, कुरै नगरौं । यसरी मेरो गडफादर तुलसी दाइ नै हुनुहुन्छ’– भावुक हुँदै उनले सुनाए ।

‘दर्पण छायाँ’ मा प्रवेशको कथा

‘मुक्ति’ टेलिफिल्म निकै हिट भइरहेको थियो । दर्शकमाझ एकदमै लोकप्रिय बनेको सिरियलपछि तुलसी घिमिरेले फिल्म बनाउने निधो गरे । ‘दर्पण छायाँ’ निर्माणका लागि कथा–पटकथा रेडी बनाएर उनी कलाकारको खोजीमा लागे । उत्तम नै फिट हुन्छ भन्ने लागेपछि तुलसीले कुरा अघि बढाए । तुलसीले ‘दृष्टिविहीनको रोल छ, खेल्छौ त’ भनेपछि उत्तमले पनि ‘हुन्छ’ भनिदिए ।

आफूले निभाउनुपर्ने भूमिकाको अनुभव गर्न १५ दिनसम्म उनी एउटा ‘ब्लाइन्ड स्कुल’ मा धाए । दृष्टिविहीनले गर्ने हरेक क्रियाकलापहरू नियाले । तैपनि यो भूमिका राम्ररी निभाउन सक्छु भन्ने उनलाई लागेन । त्यसपछि आफूले यो भूमिकामा अभिनय गर्न नसक्ने कुरा निर्देशक घिमिरेलाई सुनाए ।

‘मबाट यो एक्टिङ हुँदैन, दर्शकले कुट्छन् भनें,’ उत्तमले सुनाए– ‘उहाँले किन र भन्नुभयो । ‘उहाँहरूले आँखा नदेखे पनि आफूले सुकाएका ठाउँका लुगाहरू टपक्क टिपेर लैजानुहुन्छ; कहाँ के छ, सबै थाहा हुन्छ । मैले त त्यस्तो केही पनि जान्दिनँ भनेर सुनाएँ ।’

तर, निर्देशक घिमिरेले ‘आँटका साथ काम गर, मजाले सक्छौ’ भनेपछि उत्तमले ‘दर्पण छायाँ’ को सोही भूमिका निभाए । त्यही भूमिकामा उनी र शानदार सफल मात्र भएन्, फिल्म करिअरकै मूलढोका खोल्न समर्थ भए ।