बहुआयामिक विश्वेश्वरको साहित्यिक व्यक्तित्व
केदारनाथ गौतम
नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाका नामले चर्चित व्यक्तित्वको पूरा नाम विश्वेश्वरप्रसाद कोइराला हो । ऐतिहासिक राजनीतिक व्यक्तित्वका बीपी त्यतिमा मात्रै सीमित थिएनन्, झन् विराट साहित्यिक व्यक्तित्वका रूपमा समेत स्थापित छन् । राजनीतिकजगत्मा ‘बीपी’ नामले चर्चित उनी साहित्यिक वृत्तमा भने ‘विश्वेश्वरप्रसाद कोइराला’ कै नामले सुविख्यात छन् ।
रामेछाप र काभ्रेपलाञ्चोकको सङ्गमस्थलस्थित सिन्धुली जिल्लाको सीमावर्ती गाउँ दुम्जामा ८ सेप्टेम्बर, १९१४ (२४ भदौ, १९७१ वि.सं.) मा जन्मेका हुन् बीपी। उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो । २१ जुलाई, १९८२ (६ साउन, २०३९ वि.सं.) मा काठमाडौंमा निधन भएका उनको जीवनकाल जम्माजम्मी ६८ वर्षको रह्यो । सन् १९३२ मा वनारसबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका उनले वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरे । त्यसपछि कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेपछि बीपीले दार्जिलिङ बसेर केही वर्ष कानुन व्यवसायीका रूपमा समेत त्यही काम गरे ।
सन् १९३० ताका भारतमा चलिरहेको ‘स्वतन्त्रता आन्दोलन’ मा सहभागी भएर बीपीले त्यसै बेलादेखि राजनीतिक जीवनको थालनी गरेका हुन् । उनी समेतकै पहल र नेतृत्वमा सन् १९४७ मा भारतमै स्थापित ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ पछि गएर ‘नेपाली काङ्ग्रेस’ मा रूपान्तरित भएको हो । काङ्ग्रेस राजनीति अगाडि बढाउने सिलसिलामै बीपी राणाविरोधी ‘प्रजातान्त्रिक’ आन्दोलनका अग्रणी नेता बन्न पुगे। ‘राष्ट्रिय मेलमिलापको नीति’ का प्रयोगकर्ता समेत रहेका बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री (सन् १९५९-६०) हुन् ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली भाषा-साहित्यका क्षेत्रमा मात्र नभई हिन्दी भाषाका समेत सुप्रशिद्ध साहित्यकार हुन् । नेपाली कथामा मनोवैज्ञानिक धाराका प्रवर्तक मानिने विश्वेश्वर सिग्मण्ड फ्रायडको मनोवैज्ञानिक/मनोविश्लेषणात्मक मान्यताबाट प्रभावित लेखनका कारण ‘फ्रायडवादी’ लेखकका रूपमा समेत चर्चित बने ।
विश्वेश्वरका चर्चित उपन्यास, कथासङ्ग्रह, संस्मरणात्मक कृति र कवितासङ्ग्रह प्रकाशित छन् । उनका केही निबन्ध र समालोचनात्मक रचनाहरू समेत प्रकाशित छन् । ‘तीन घुम्ती’ (२०२५), ‘नरेन्द्र दाइ’ (२०२७), ‘सुम्निमा’ (२०२७), ‘मोदीआइन’ (२०३६), ‘हिटलर र यहुदी’ (२०४२) र ‘बाबु, आमा र छोरा’ (२०४५) विश्वेश्वरका औपन्यासिक कृतिहरू हुन् । ‘दोषी चस्मा’ (२००६), ‘श्वेतभैरवी’ (२०४४) र ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा’ (२०५०) उनका कथासङ्ग्रहहरू हुन् । ‘आफ्नो कथा’ (२०४०), ‘जेल जर्नल’ (२०५४) र ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ (२०५५) उनका जीवनी/आत्मकथात्मक कृति हुन् भने ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ (२०५९) नामक उनको कवितासङ्ग्रह समेत प्रकाशित छ ।
विश्वेश्वरप्रसाद कोइरालाका अधिकाङ्श कथाहरूमा यौनाकर्षण र त्यसबाट उत्पन्न हुने कुण्ठाको जीवन्त प्रस्तुति प्रष्फुटित छन् । उनले नारी-पुरुषबीचको आकर्षणभावलाई कथात्मक ढाँचामा प्रस्तुत गरेका छन् । ‘रिक्सा तान्ने’, ‘सिपाही’, ‘हरिदत्त’ जस्ता केही कथाबाहेक अन्य अधिकाङ्श कथामा पुरुषप्रति नारीहरूको यौनाकर्षण प्रस्तुत गरिएको छ ।
सामान्य हिसाबले बुझ्न खोज्दा यौनमनोविज्ञानमा आधारित कथाहरू अश्लील,अशिष्ट, अनैतिक र समाजका निम्ति अपाच्य समेत हुन सक्दछन् । कथाकार कोइरालाले भने यौनलाई समेत शिष्ट, श्लील, सभ्य, नैतिक र समाज-ग्राह्य ढङ्गबाट प्रस्तुत गरेका छन् । दमित यौनेच्छा वा कामवासनाबाट पीडित पात्रहरूका मनको विश्लेषण नै कोइरालाका अधिकाङ्श कथाका मुख्य विषयवस्तु हुन्।
‘स्कुल मास्टर’, ‘महाराजको सवारी’, ‘एकरात’, ‘राइटर बाजे’, ‘सान्नानी’ आदि कथामध्ये ‘राइटर बाजे’ नारी मनोविज्ञानमा आधारित कथा हो भने अरु कथाहरू पुरुष मनोविज्ञानमा आधारित छन् । ‘सान्नानी’ भने बालमनोविज्ञानमा आधारित कथा हो । ‘दोषी चश्मा’, ‘शत्रु’, ‘होड’ आदि भने मनोविश्लेषणयुक्त कथा हुन् । ‘बिहा’, ‘पुस्तक’, ‘कथा’, ‘सिपाही’, ‘दुलही’, ‘हरिदत्त’, ‘द्वन्द्वप्रेम’, ‘बौलाहा’, ‘प्रेम (दोस्रो)’, ‘रिक्सा तान्ने’ आदि पुरुष यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन् । त्यस्तै, ‘मधेसतिर’, ‘चन्द्रवदन’, ‘कर्नेलको घोडा’, ‘पवित्रा’, ‘श्वेतभैरवी’, ‘स्वेटर’, ‘सखी’ आदि नारी यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन् ।
गहिरो वैचारिक एवम् सैद्धान्तिक अध्ययन गरेका विश्वेश्वर आफूले युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्ने गरेको बताउँथे। ‘साहित्य सभ्यताको प्रतीक हो’ भन्ने बुझाइका उनी सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम् दर्शन नै साहित्य हो’ भन्ने मान्यता राख्दथे । उनी आफू अर्थविद् वा आर्थिक विशेषज्ञ नभएको बताउँथे तर ‘जुन विकासले ग्रामीण जनतालाई पछाडि छाडिदिन्छ, त्यो ‘विकास’ विकास नै होइन’ भन्दथे । ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुँदैन’ भन्ने उनको दृष्टिकोण थियो ।
‘कसैले कसैको आलोचना गर्दा त्यो व्यक्तिगत हुनुहुँदैन, कटुताहीन र सैद्धान्तिकहुनुपर्छ’ भन्ने मान्यताका विश्वेश्वर ‘सिद्धान्त त्यागेर कसैसँग पनि सम्झौता गर्नुहुँदैन’ भन्दथे। ‘जीवन भनेकै एउटा सुनिश्चित जोखिम हो’ भन्ने उनको बुझाइ थियो ।
[सन्दर्भ सामग्रीहरुको आधारमा]