वसन्तोत्सवमा ढकमक्क ज्याकाराण्डा

अनिता सुनुवार

वसन्तऋतुलाई उजिल्याउँदै रुखभरि फुल्ने सुन्दर फूल हो ज्याकाराण्डा । प्याजी रङ्गमा ढकमक्क फुल्ने यो फूल रुखमा फुल्दा जति मनमोहक देखिन्छ, झरेर भुईंभरि छरिँदा समेत उत्तिकै सुन्दर देखिन्छ ।

काठमाडौं उपत्यकाका सडक किनारामा ढकमक्क ज्याकाराण्डा फुलेको दृश्य कम्ति मनमोहक देखिँदैन । त्रिभुवन विमानस्थल प्रवेश द्वारको वरिपरि, बबरमहल क्षेत्र र टुँडिखेल आसपास हुँदै घन्टाघर, दरबारमार्गलगायतमा निकै मनमोहक तरिकाले ज्याकाराण्डा फूलेको देख्न पाइन्छ ।

राजधानीमा मात्र होइन, नेपालका तराई तथा पहाडी भेगमा समेत यो फूल राम्रैसँग फुलेको देख्न पाइन्छ । गर्मी याममा सडक किनारामा फुल्ने ज्याकाराण्डाले शीतलता महसुस गराउँछ ।

कतिपयले ज्याकाराण्डालाई ‘शिरिसको फूल’ का रूपमा समेत चिन्ने गरेका छन् । तर, शिरिस र ज्याकाराण्डा फरक–फरक वनस्पति हुन् । ज्याकाराण्डा र शिरिसमा केही समानता भने छन् । तर, यी दुवै फरक–फरक प्रजातिका बिरुवा हुन् । चर्चित साहित्यकार पारिजातले आफ्नो विख्यात कृति ‘शिरिसको फूल’ उपन्यासमा ज्याकाराण्डालाई नै शिरिसको फूलका रूपमा चित्रित गरेको कतिपयको तर्क छ ।

ज्याकाराण्डा फूल ‘परदेशी फूल’ का रूपमा समेत चिनिन्छ । अध्ययनअनुसार ज्याकाराण्डा नेपालको रैथाने फूल भने होइन । त्यसैले यसलाई ‘परदेशी फूल’ भनिएको हुनुपर्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा ज्याकाराण्डालाई ‘ज्याकाराण्डा मिमोसिफोलिया’ भनिन्छ । यसको उद्गमस्थल मध्य–दक्षिण अमेरिका मानिन्छ । ज्याकाराण्डाको उत्पत्ति मेक्सिको, ब्राजिल, अर्जेन्टिनालगायत दक्षिण अमेरिकी मुलुकबाट भएको मानिन्छ । तर, आजकल भने यो फूल विश्वका धेरै मूलुकमा फैलिइसकेको पाइन्छ ।

नेपालमा ज्याकाराण्डा भित्रँदाको रोचक प्रसङ्ग छ । उन्नाईसौं शताब्दीको मध्यदेखि बीसौं शताब्दीको सुरुआतसम्ममा भारतको बाटो हुँदै यो फूल नेपाल भित्रिएको अनुमान छ ।

काठमाडौं उपत्यकामा यो फूल सर्वप्रथम दरबारमार्ग क्षेत्रमा रोपिएको विभिन्न तथ्यहरूले देखाउँछन् । त्यसपछि यो फूल राजधानी उपत्यकाभर बिस्तारै फैलँदै गयो । टुँडिखेलको वरिपरि रोपिएपछि यो फूले फैलने क्रम धेरैतिर विस्तारित भएको देखिन्छ ।

ज्याकाराण्डाको एउटा खास विशेषता छ । यसको बिरुवा जस्तोसुकै माटोमा पनि उम्रन्छ र बढिहाल्छ । ज्याकाराण्डाका विरुवा केही वर्षमै वयस्क भइहाल्छन् र ठूलठूला रुख या पोथ्रामा विकसित भइहाल्छन् । निकै छिटो बढ्ने र फैलने भएकाले यसले अरु बोटबिरुवालाई मास्ने समेत चिन्ता गरिन्छ । नजिक पर्ने अन्य बिरुवालाई यसले बढ्न नदिने सम्भावना पनि त्यत्तिकै हुन्छ ।

ज्याकाराण्डा बहुवर्षीय फूलको रुख हो । यसलाई दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड, अस्ट्रेलियाजस्ता ठाउँमा पनि ‘आक्रमक प्रजाति’ का रूपमा लिइन्छ । आफू हुर्कनका लागि अरु धेरै प्रजातिका बिरुवाले योसँग चर्कै प्रतिस्पर्धा गर्नुपर्छ ।

अरु धेरै वनस्पतिहरू झैं ज्याकाराण्डालाई पनि उन्नत प्रविधि अपनाएर र काँटछाँट गरेर होचो बोटमै पनि राम्रैसँग फुलाउन सकिन्छ । यसलाई घर, बगैंचामा समेत आकर्षक तरिकाले फुलाउन सकिन्छ ।

ज्याकाराण्डालाई सामान्यतः गमलामा फुलाउन भने कठिन नै हुन्छ । यद्यपि ठूलै आकारको गमलामा रोपेर फुलाउन नसकिने नै भने होइन । यसलाई बगैंचामा रोप्दा छेउछाउका भागतिर या अरु रुख–बिरुवालाई असर नपर्ने गरी रोप्नुपर्छ ।

ज्याकाराण्डा फुलेका बेला जति सुन्दर देखिन्छ, नफुलेका बेला समेत यसका पातहरूले उत्तिकै सुन्दरता छर्छन् । ज्याकाराण्डाको पात वरिपरि, यसको हरियालीमा बस्नुको आनन्द नै बेग्लै !

ज्याकाराण्डाको रुख ६६ फिटसम्म अग्लो हुने गरेको पाइन्छ । यसको रुखका बोक्रा पातला र खैरो रङ्गका हुन्छन् । ज्याकाराण्डाको बिरुवा चिल्लो हुन्छ । यसका फूल दुई इन्चसम्म लामा हुन्छन् । यसका पात १८ इन्चसम्म लामा हुन्छन् ।

अरु धेरै फूलहरूजस्तै यो पनि थुँगा आकारमा फुल्छ । ज्याकाराण्डा करिव दुई महिनासम्म मजाले फुलिरहन्छ । अर्थात्, करिव दुई महिनासम्म ज्याकाराण्डा फूलले सुन्दरता छरिरहन्छ ।

ज्याकाराण्डाको बिरुवा सामान्यतया १९–२० डिग्री  सेल्सियसको तापक्रममा राम्ररी सप्रन्छ र फुल्छ । यद्यपि योभन्दा केही कम तापक्रममा समेत यसका बिरुवा राम्रैसँग सप्रेका पाइन्छन् ।