टाइफाइडको जोखिम: लक्षण, उपचार र खोप

डा. शेरबहादुर पुन

‘सेल्मोनेला एन्टेरिका सेरोभार टाइफी’ अर्थात् ‘सेल्मोनेला टाइफी’ ब्याक्टेरियाको कारणले टाइफाइड हुने गर्दछ । टाइफाइडलाई‘ म्यादी ज्वरो’ पनि भन्ने गरिन्छ ।

टाइफाइडका लक्षण

टाइफाइड हुँदा ज्वरो आउने, टाउको दुख्ने, खानामा अरुचि हुने, खोकी लाग्ने, पेट दुख्ने, शरीर दुख्ने, पातलो दिसा लाग्नेजस्ता लक्षण देखिन्छन् । टाइफाइडका यस्ता लक्षण सामान्यतया एकदेखि तीन हप्तासम्म रहने गर्दछन् ।

टाइफाइडले मुख्यतः सानो आन्द्रामा असर गर्छ । बेलैमा उपचार नगरे आन्द्रामा प्वाल नै पार्नेसम्मको जोखिम हुन्छ । टाइफाइड बढ्दै जाँदा शरीरका अरु विभिन्न अङ्गहरूमा समेत समस्या र जटिलताहरू देखिन सक्दछन् ।

टाइफाइडका कारण स्वास्थ्य जटिलता निम्तिएर अस्पताल भर्ना भएकामध्ये एकदेखि पाँच प्रतिशतसम्मको मृत्यु हुने जोखिम देखिएको छ । सङक्रमितहरूमध्येको सानो सङ्ख्यामा भने यो ब्याक्टेरिया दीर्घकालीन रूपमै पित्तथैलीमा रहिरहने गर्दछ; यो अवस्थालाई ‘क्यारियर’ भन्ने गरिन्छ ।

नेपालमा गरिएका विभिन्न अनुसन्धानले देखाएअनुसार टाइफाइड सङ्क्रमित बालबालिकामध्ये ८१ प्रतिशत विद्यालय जाने उमेरका थिए । असार–साउन र कात्तिक–मङ्सिरमा गरी वर्षमा दुई पटक बढी मात्रामा बालबालिकामा सङ्क्रमण देखिने गरेको ‘जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटी’ मा प्रकाशित भएअनुसार धुलिखेल अस्पतालमा गरिएको एक अनुसन्धानले देखाएको थियो ।

परीक्षण तथा उपचार

टाइफाइडको परीक्षण गर्दा सामान्यतया बिरामीको रगत परीक्षण (कल्चर) गरेर निदान गर्ने प्रयास गरिन्छ । पहिचान गरेपछि समयमै एन्टिबायोटिक दिइए यो समस्या पूर्णरूपले निको हुन्छ ।

टाइफाइडको खोप

सन् २०१७ र २०१८ मा नेपालमा टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टीसीभी) को क्लिनिकल ट्रायल भएको देखिन्छ । सो अनुसन्धानको नतिजाअनुसार भ्याक्सिनको प्रभावकारिता ८१ दशमलव ६ प्रतिशत थियो ।

खोप लगाएको ठाउँमा सामान्य दुखाइ हुने (५ प्रतिशतमा), हल्का ज्वरो आउने (५ प्रतिशतमा), बान्ता हुने (१ प्रतिशतमा), पखाला लाग्ने (२ प्रतिशतमा) र खाना अरुचि हुने (२ प्रतिशतमा) जस्ता सामान्य समस्याहरू टाइफाइडको खोप लगाएको पहिलो हप्तामा देखिएका थिए । खोप लगाएको दुई वर्षपछि यस खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको थियो । अर्थात्, समग्रतामा यो खोप सुरक्षित र प्रभावकारी देखिएको छ । नौ महिनादेखि १६ वर्षसम्मका बालबालिकाहरूलाई यो अनुसन्धानमा समावेश गरिएको थियो ।

६ महिनादेखि १५ वर्षसम्मका बालबालिकामा टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टीसीभी) को प्रयोग गर्न विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को विज्ञ सल्लाकार समूहले अक्टोबर, २०१७ मा सिफारिस गर्दै अनुमति दिएको थियो । २५ चैतदेखि १८ वैशाख, २०७९ सम्म नेपालका १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको यो खोपको एक डोज दिने निर्णयअनुरूप काम सम्पन्न भइसकेको छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्