‘तानाशाह’ हिटलरको कहालीलाग्दो कहानी
केदारनाथ गौतम [एजेन्सीहरुको सहयोगमा]
एडल्फ हिटलर । दशकौं अघिदेखि विश्वभर नै एउटा कुरूप बिम्बका रूपमा, कुख्यात तानाशाहका रूपमा र मानव समाजभित्रको ‘राक्षस’ कै रूपमा लिइँदै आएको नाम हो यो । युरोपेली मुलुक जर्मनीमा सर्वोच्च शासक मात्र नभई विश्वलाई नै प्रभावित समेत तुल्याउँदै चर्चित बनेका हिटलर बाल्कालदेखि नै सम्भ्रान्त परिवारमा जन्मे-हुर्केको भान हुन्छ धेरैलाई । तर, यथार्थ भने बिल्कुल फरक छ ।
हिटलरका बाबु एलोइस, फ्रन्केनबर्गर परिवारका एक धनाढ्य यहुदी र त्यसै परिवारमा खाना पकाउने मारिया नामकी महिलाका ‘अवैध’ सन्तान थिए । एलोइस पाँच वर्षका हुँदा उनकी आमाले त्यो परिवार छाडिन् र ‘जोहन गर्ग हिडलर’ सँग विवाह गरिन् । विवाहको पाँच वर्षपछि एलोइसकी आमा (हिटलरकी हजूरआमा) मारियाको मृत्यु भयो । त्यसपछि एलोइस उनका काकासँग कृषि फर्ममा बस्न थाले ।
केही समयपछि एलोइसले सो कृषि फर्म समेत छाडे र ‘अष्ट्रियन सिभिल सर्भिस’ मा भर्ना भए । त्यहाँ राम्रो काम गरेपछि क्रमशः बढुवा हुँदै उनी वरिष्ठ सहायक निर्देशकसम्म बने । आमाकै थर ‘स्चीकग्रुवर’ लेखिरहेका एलोइसलाई उनको त्यो सफलतापछि तिनका काकाले आफ्नै थर ‘हिडलर’ लेख्न/प्रयोग गर्न सहमत गराए; एलोइसले पनि त्यही थरलाई निरन्तरता दिए। सरकारी रेकर्डमा भने भूलवश ‘हिडलर’ को सट्टा ‘हिटलर’ लेखिन पुगेछ । यसरी ‘बेवारिस’ र ‘अवैध’ सन्तानका रूपमा जन्मे-हुर्केका एलोइसको थर ‘हिटलर’ बन्न पुग्यो र उनका छोरा ‘एडल्फ हिटलर’ को नाम त युगौंसम्म विश्वभर ‘चर्चित’ नै बन्यो ।
२० अप्रिल, १८८९ मा अष्ट्रियाको बोनमा जन्मेका हिटलरको मृत्यु ३० अप्रिल, १९४५ मा जर्मनीमा भएको हो । जर्मनीको सीमानजिक पर्ने अष्ट्रियाको बोनस्थित ब्राउनाउ गाउँमा एडल्फ जन्मेलगत्तै उनका बाबु एलोइस अर्कै ठाउँमा बसाइँ सरे । त्यसको केही समयपछि अलपत्र परेका एडल्फ छ महिनासम्म ‘बेनेडिक्ट’ को धार्मिक आश्रममा बसे । धार्मिक व्यक्तिहरू बस्ने त्यहाँ आश्रित सबैले कोटको बाहुलामा ‘स्वस्तिक’ चिह्न लगाउनु पर्दथ्यो । बाहुलामा ‘स्वस्तिक’ लगाएका हिटलरका तस्बिरहरू आजसम्म पनि भेटिन्छन् । त्यहीं बस्दा प्रभावित भएका हिटलरमा पछि गएर ‘धार्मिक पण्डित’ बन्ने आकाङ्क्षा समेत पलाएको थियो ।
प्राथमिक शिक्षादीक्षाका क्रममा निकै तेज रहेका एडल्फ सहपाठीमाझ निकै लोकप्रिय र शिक्षकहरूका प्रिय थिए। उनमा विलक्षण नेतृत्व क्षमता समेत त्यतिबेलै देखिन्थ्यो। उनको परिवार त्यो ठाउँबाट फेरि ‘लामवेक’ सहरमा बसाइँ सर्यो । त्यहाँ पुगेपछि भने एडल्फलाई खेतीकिसानीको कामबाट मुक्ति मिलेकाले खेल्ने र अरु क्रियाकलाप गर्ने समय पाए । त्यहींको स्कुलमा भर्ना भएर पढाइलाई निरन्तरता दिए । स्कुलमा साथीहरूसँग कोरस गाउने एडल्फको स्वर पनि निकै मिठो थियो ।
त्यही बेला एडल्फका छ वर्षे भाइको मृत्यु भयो । त्यो घटनाले उनको मनमा गम्भीर चोट पार्यो। घरनजिकै चिहान बनाएर भाइको शव गाडियो। एडल्फ सुत्ने कोठाको झ्यालबाट त्यो चिहान देखिन्थ्यो; वर्षों पछिसम्म पनि उनी राति-राति आफ्ना भाइको चिहानमाथि उभिएर आकाशतिर हेर्दै घन्टौंसम्म टोलाइरहन्थे। राति अबेरसम्म नसुत्ने भएकाले एडल्फले ‘लाटोकसेरो’ को उपनाम समेत पाए । उनी राति-राति घरबाट निस्केर हिँडिदिन्थे ।
सन् १९०० तिर एडल्फमा कलाकारको गुण प्रष्फुटित भयो । राम्रो चित्रकार बन्ने सम्भावना देखिएका उनले बाबुको निर्णयअनुसार रिलसुल युनिभर्सिटीमा भनो हुने तयारी गरे र छनोट समेत भए । तर, उनले त्यहाँ पढेनन् । अठार वर्ष पूरा भएपछि उनले बाबुबाट सम्पत्ति प्राप्त गरे । त्यही सम्पत्ति खर्चेर कला पढ्न उनी भियना गए । ‘एकेडेमिज स्कुल अफ पेन्टिङ’ मा भर्ना हुनका लागि दुईदिने प्रवेश परीक्षा दिए । उत्तीर्ण हुने आत्मविश्वासका साथ ढुक्क भएर कला स्कुल भर्ना हुने प्रतिक्षामा रहेका उनी प्रवेश परीक्षामै ‘फेल’ भए; विश्वविद्यालयमा भर्ना हुनै पाएनन् । भाइको मृत्युबाट गम्भीर झड्का व्यहोरिरहेका एडल्फको मस्तिष्कमा यो घटनाले फेरि अर्को झड्का थपिदियो ।
पैतृक सम्पत्तिबाट पाएको पैसा सकिँदै गयो। कमाउने चेष्टा पनि उनले गरेनन् । अन्ततः सबै सकिएपछि एडल्फ हिटलर भीख मागेर छाक टार्न र सडक-गल्लीमा राखिएका बेन्चीमा सुतेर रात कटाउन विवश भए। फोहोरी, दुर्गन्धित र जताततै फाटेका झुत्रा कपडा लगाएर उनले गुजारा चलाए ।
एडल्फका साथी कुविजेकका अनुसार जर्मन सङ्गीतकार ‘रिचार्ड बाग्नर’ ले प्रस्तुत गरेको ‘रिन्जी’ भन्ने गीत हेरेपछि हिटलरले एकाएक ‘दुष्टात्माको प्रभाव परेजस्तो’ व्यवहार देखाउन थाले । त्यसपछि उनले साथीलाई भिरालो पहाडको चुचुरामा पुर्याएर अनौठो स्वरमा ‘ग्रेट मिसन’ बारे सुनाउन थाले । ‘मानिसहरूलाई स्वतन्त्रता दिलाउनु’ नै उनको ‘ग्रेट मिसन’ थियो ।
प्रथम विश्वयुद्धमा सेना बनेर फ्रान्सका कयौं युद्धमा भाग लिएका हिटलर १९१८ मा घाइते भई अस्पताल भर्ना भए । त्यो युद्धमा जर्मनी नराम्ररी पराजित भएकामा उनी निकै दुःखी थिए। १९१९ मा ‘राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी)’ को सदस्यता लिएर १९२१ मा सो पार्टीका नेता बनेका हिटलर १९२३ मा असफल ‘कु’ गर्ने प्रयासमा पक्राउ परे र १९२४ मा जेलमुक्त भए। ‘भर्साइल सन्धि’ मार्फत पहिलो विश्वयुद्ध अन्त्य गर्ने सम्झौता भएको थियो । जर्मनीको त्यो पराजयमा यहुदीहरू नै मुख्य दोषी रहेको हिटलर र ‘नाजी’ पार्टीको ठहर थियो ।
जेलमुक्त भएपछि एडल्फले आफूलाई ‘भर्साइल सन्धि’, यहुदी र कम्युनिस्टहरूको कट्टर विरोधीका रूपमा स्थापित गरे। १९३३ देखि १९४५ सम्म ‘जर्मन चान्सलर’ रहेका हिटलरले १९३४ देखि १९४५ सम्म ‘नाजीवाद’ स्थापित गर्ने प्रयास गरे । लाखौं यहुदीको नरसंहार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध सुरु भयो र छ करोड मानिसको ज्यान गयो ।
दोस्रो विश्वयुद्ध उत्कर्षमा पुगेका बेला १५-१६ अप्रिल, १९४५ मा सोभियत सेनाले बर्लिन सहरमा जर्मन सेनामाथि निर्णायक हमला गयो। २१ अप्रिलमा सोभियत रेड आर्मीले बर्लिनको बाहिरी क्षेत्र कब्जा गर्यो । २७ अप्रिलमा जर्मनीस्थित ‘एल्ब नदी’ मा सोभियत र अमेरिकी सेनाबीच जम्काभेट भयो र जर्मन सेना विभाजित भई दुई फ्याक हुन पुग्यो ।
२९ अप्रिल, १९४५ मा ‘राइख चान्सलरी हेडक्वार्टर’ स्थित बङ्करभित्र एडल्फ हिटलर र इभा ब्राउनबीच विवाह भएको भोलिपल्टै (३० अप्रिलमा) हिटलर र इभाले आत्महत्या गरे । जर्मन रेडियोले १ मे, १९४५ मा हिटलर दम्पतीको मृत्युबारे सार्वजनिक घोषणा गर्यो ।