कम्प्युटर, मोबाइल र आईसीटी

महत्त्वपूर्ण जानकारी

केदारनाथ गौतम

साधारण हिसाबले बुझ्नुपर्दा विद्युत् शक्तिमा आधारित भई हार्डवेयर र सफ्टवेयरको संयोजनमा काम गर्ने उपकरण नै डिजिटल इलेक्ट्रोनिक्स हो । डिजिटल उपकरणले इनपुट लिने, प्रशोधन गर्ने, भण्डारण गर्ने र आउटपुट दिने प्रक्रियामार्फत निर्धारित कार्य सम्पन्न गर्दछ । एकै वाक्यमा भन्ने हो भने विद्युत् शक्तिमा आधारित रही हार्डवेयर र सफ्टवेयरको संयोजनमा इनपुट लिने, प्रशोधन गर्ने, भण्डारण गर्ने र आउटपुट दिने उपकरण वा प्रणालीलाई नै डिजिटल उपकरण/सिस्टम भनिन्छ । डिजिटल उपकरणलाई कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटराइज्ड यन्त्र/प्रणाली पनि भन्न सकिन्छ ।

हार्डवेयर भनेको सम्बन्धित उपकरणको भौतिक या शारीरिक संरचना हो । कुनै पनि विद्युतीय उपकरणको सुचालक, कुचालक र अद्र्धचालक पदार्थहरूद्वारा निर्मित सम्पूर्ण भौतिक बनावट नै हार्डवेयर हो । हार्डवेयरलाई मुख्यतः चार भागमा वर्गीकरण गरिएको छ– इनपुट, प्रोसेसिङ (सीपीयू), स्मरण (स्टोरेज/मेमोरी) र आउटपुट । कि–प्याड वा किबोर्ड, टच प्याड वा माउस, माइक वा माइक्रोफोन आदि इनपुटअन्तर्गत पर्दछन् भने र्‍याम, रोम, हार्ड डिस्क, सीडी/डीभीडी इत्यादि स्मरण/स्टोरेज डिभाइसअन्तर्गत पर्दछन् । प्रोसेसरअन्तर्गत पनि कन्ट्रोल युनिट र अर्थमेटिक तथा लजिक गरी मुख्यतः दुई युनिट हुन्छन् भने आउटपुटअन्तर्गत स्क्रिन (डिस्प्ले/मनिटर), स्पिकर, प्रिन्टर आदि पर्दछन् ।

सफ्टवेयर भनेको डिजिटल उपकरणको मानसिक या तार्किक संरचना हो । जुनसुकै डिजिटल उपकरणबाट लिइने सुविधा वा लाभ प्राप्त हुने माध्यमचाहिँ सफ्टवेयर नै हो । सबै डिजिटल उपकरणमा मुख्यतः दुई किसिमका सफ्टवेयर हुन्छन्– अपरेटिङ सिस्टम (ओएस) र एप्लिकेसन प्रोग्राम (एप्स) । अपरेटिङ सिस्टमले सम्बन्धित उपकरणलाई जीवित अवस्थामा ल्याउने अर्थात् हार्डवेयर, सफ्टवेयर र प्रयोगकर्ताबीच समन्वय कायम गरिदिने काम गर्दछ । विन्डोज, लाइनक्स, म्याक ओएस (म्याकन्तोस अपरेटिङ सिस्टम), एन्ड्रोइड, आईओएस (आइफोन÷आइप्याड अपरेटिङ सिस्टम) आदि अपरेटिङ सिस्टम हुन् । त्यस्तै, कुनै खास उद्देश्य पूर्ति गरी नतिजा प्राप्त गर्नका लागि प्रयोग गरिने सफ्टवेयरहरू एप्लिकेसन प्रोग्राम हुन् । वर्ड, एक्सेल, फोटोसप, फोन डायलर, इन्टरनेट ब्राउजर, गेमहरू, फेसबुक–ट्विटर–युट्युबलगायतका सामाजिक सञ्जाल प्रयोग गर्न चलाइने एप्स इत्यादि एप्लिकेसन प्रोग्राम हुन् ।

सामान्यतः ब्याट्री या विद्युत् लाइनबाट ऊर्जा खपत गरी सफ्टवेयरका माध्यमबाट कुनै पनि उद्देश्य पूरा गरिने सबै विद्युतीय उपकरण डिजिटल इलेक्ट्रोनिक्स हुन् । यीमध्ये कम्प्युटर वा ल्यापटप, मोबाइल फोन र आइप्याड वा ट्याब्लेट सबैभन्दा लोकप्रिय डिजिटल उपकरण हुन् र यीमध्येको पनि मोबाइल फोन नै सर्वाधिक लोकप्रिय/प्रचलित छ ।

डिजिटल उपकरणहरूलाई मुख्यतः दुई अवस्था वा ‘मोड’ मा प्रयोग गर्न सकिन्छ– अफलाइन र अनलाइन । इन्टरनेटको सुविधाविनै सम्बन्धित उपकरणहरूमा उपलब्ध सफ्टवेयरहरू चलाएर कुनै सुविधा लिइनु डिजिटल उपकरणहरूको अफलाइन प्रयोग हो । सिमकार्डको माध्यमबाट मोबाइल फोनमार्फत कुराकानी र सन्देशको आदान–प्रदान गर्नु, फोनमै उपलब्ध खेलहरू खेल्नु, कम्प्युटर वा ल्यापटपमा टाइप गर्नु, डिजाइनहरू तयार पार्नु, प्रिन्ट गर्नु, तथ्य–तथ्याङ्क (डाटा) को भण्डारण वा सुरक्षण गर्नु आदिजस्ता कार्य अफलाइन प्रयोग हुन् ।

मोबाइल डाटा इनएबल (सक्रिय) पारेर, वाईफाई वा ताररहित या तारसहितका अन्य कुनै माध्यमबाट डिजिटल उपकरणहरूमा इन्टरनेट सेवा सक्रिय पारी इन्टरनेटकै माध्यमका अनेकौं सुविधाहरू प्रयोग गर्नुचाहिँ अनलाइन प्रयोग हो । इमेल पठाउने या प्राप्त गर्ने, वेबसाइटहरू हेर्ने या पढ्ने, सामाजिक सञ्जाल चलाउने, डाटा अपलोड या डाउनलोड गर्ने, फेसबुक, भाइबर, इन्स्टाग्राम इत्यादिमार्फत इन्टरनेटकै माध्यमबाट फोन या भिडियो कल गर्नेजस्ता कार्यहरू अनलाइन प्रयोग हुन् ।

आज नेपालसहित विश्वभरकै सम्पूर्ण जनसङ्ख्याको अधिकाङ्श हिस्सासम्म डिजिटल उपकरणहरूको पहुँच पुगिसकेको छ । त्यसैले वर्तमान समयलाई डिजिटल युग (डिजिटल एज) समेत भन्ने गरिएको छ । हातैले, परम्परागत यन्त्रले र कलम–मसी र कागजको सहायताले गरिँदै आएका प्रायः सबैजसो कामकाज अब डिजिटल उपकरणहरूमार्फत गर्न थालिएका छन् । व्यक्तिगत र संस्थागत एवम् सरकारी तथा निजी क्षेत्रका सबैजसो कामकाज डिजिटल माध्यमबाटै हुन थालेका छन् । सर्वत्र ‘डिजिटलाइजेसन’ को होडबाजी चलिरहेको छ । सिङ्गै विश्व एउटा साँघुरो गाउँमा परिणत हुन पुगेको छ । किनभने, संसारको जुनसुकै कुनाबाट अर्को जुनसुकै कुनामा रहेका मान्छेसँग सेकेन्डभरमै प्रत्यक्ष (लाइभ) कुराकानी तथा विचार र भावना तथा प्रामाणिक कागजात र नगद समेतको आदान–प्रदान सम्भव भइरहेको छ । विश्वभर छरिएर रहेका माछेबीच शारीरिक दूरी जतिसुकै टाटा भए तापनि भावनात्मक र सहकार्यगत दूरी समाप्त हुन पुगेको छ ।

डिजिटल इलेक्ट्रोनिक्स र इन्टरनेट प्रविधिको संयोजलाई आईटी (इन्फर्मेसन टेक्नोलोजी अर्थात् सूचना प्रविधि) भन्ने गरिएको छ । यसलाई अझै विकसित र परिमार्जितरूपमा आईसीटी (इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी अर्थात् सूचना तथा सञ्चार प्रविधि) का रूपमा चर्चा–परिचर्चा, अध्ययन–अनुसन्धान र व्याख्या–विश्लेषण गर्ने गरिएको छ । मानवजातिले हासिल गरेको हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि आईसीटीबाट पर्याप्त लाभ लिनबाट हामी भने चुकिरहेका पो छौं कि ? हामीले आईसीटीलाई ‘वरदान’ का रूपमा सदुपयोग गरिरहेका छौं या ‘अभिशाप’ का रूपमा दुरूपयोग त गरिरहेका छैनौं ?