गायिका मिलन नेवार: जन्म आसाममा, ख्याति नेपालमा
केदार/शङ्कर/भोलानयाँ पुस्तामाझ चर्चित गायिका हुन् मिलन नेवार । ‘गाला रातै, गाला रातै’, ‘फुलबुट्टे सारी’, ‘बट स्लोली–स्लोली’ लगायतका सयौं ‘भाइरल’ गीतहरूमा उनले स्वर भरिसकेकी छन् । यसै वर्ष प्रसारित ‘द भ्वाइस किड्स नेपाल’ नामक अन्तर्राष्ट्रिय ‘रियालिटी सो’ की ‘कोच’ समेत हुन् मिलन । उनले यसै वर्ष प्रसारित ‘नेपाल सिङ्गिङ सुपरस्टार’ नामक अर्को ‘रियालिटी सो’ मा ‘जज’ भूमिका समेत निभाइन् ।
‘कोच र जज बनेर दुई–दुईवटा रियालिटी सोको मुख्य भूमिकामा रहनु निकै कठिन काम रहेछ,’ उनीहरूले पाएको भोटका कारण राम्रा प्रतिभालाई अगाडि बढाउन नसकिएकामा मनै अमिलो भएको सुनाउँदै होलिस्टिकसँग मिलनले भनिन्– ‘नियमअनुसार त चल्नु नै पर्छ, जज भएपछि फर्मालिटीमा बाँधिनुपर्ने भएकाले भोट कम पाएका कारण कयौं राम्रा प्रतिभा गुमाउनुपरेको थियो; त्यो अनुभवचाहिँ मेरा लागि निकै गाह्रो कुरा थियो ।’
जन्म आसाममा, ख्याति नेपालमा
दुई दशकयता साङ्गीतिक क्षेत्रमा सङ्घर्षरत रहँदै आएकी मिलन यतिबेला नेपाली सङ्गीत क्षेत्रकी सर्वाधिक चर्चित गायिकाहरूमध्येमा पर्छिन् । आसाम (भारत) मा जन्मेर नेपाली सङ्गीताकाशमा जमेकी उनको परिवार पनि साङ्गीतिक पृष्ठभूमिकै थियो ।
सन् २००३ मा आयोजित एउटा प्रतियोगिता उनको करिअरमा ‘टर्निङ प्वाइन्ट’ भयो । जयपुरको सो प्रतियोगितामा मिलन ‘फर्स्ट रनरअप’ भइन् । ‘त्यो उपाधिपछि नै हो आसाम आएर मैले थुप्रै गीतहरू रेकर्ड गराउने अवसर पाएको’– उनी सम्झन्छिन् ।
आसाममा उनले १० वटा गीतिएल्बम निकालिन् । तीमध्ये केहीचाहिँ नेपाली गीतका पनि छन् । मिलनका बुबा–आमाले नेपाली भाषालाई निकै माया गर्थे । त्यसैकारण मिलनले निकालेका एल्बममा नेपाली गीत–सङ्गीत समावेश गर्न उनका बुबाले निरन्तर प्रेरित गर्दथे ।
दुई दशक अघिसम्म आसाममा नेपाली गीतका एल्बम कमै मात्र पाइन्थे । नेपाली गीत–सङ्गीतलाई असाध्यै माया गर्ने भएकैले उनका बुबाले टाढा–टाढासम्म पुगेर नेपाली गीतका एल्बमहरू ल्याउँथे र छोराछोरीलाई सुनाउँथे । बुबाले नेपाली भाषाका गीतहरूको क्यासेट बजाएर सुन्न लगाउन गरेको सम्झना उनमा अझै पनि ताजै छ । त्यसैले ‘बुबाको सपना’ पूरा गर्नकै लागि भए पनि आफू नेपाल आएर एल्बमको तयारीमा जुटेको मिलन बताउँछिन् ।
छत्रछायाँ मामा र ठूलीमाको
नेपाली साङ्गीतिक क्षेत्रमा होमिन र जम्न मिलनलाई थुप्रै आफन्तले साथ दिए । बुबा–आमाका साथसाथै मामा कृष्ण मिजाल र ठूलीआमा डुकुना नेवारको अहम् भूमिका रह्यो । बाल्यकालदेखि यहाँसम्म आइपुग्न आफूलाई परिवारबाट धेरै नै सपोर्ट रहेको मिलन बताउँछिन् ।
मिलनका मामा कृष्ण मिजाल र ठूलीआमा डुकुना नेवार आसामी साङ्गीतिकजगतका चर्चित हस्ती हुन् । मामा र ठूलीआमाको साङ्गीतिक छत्रछायाँमा हुर्केकी मिलनले कलिलो उमेरदेखि नै गाउन थालेकी थिइन् । १३ वर्षको उमेरमा त उनले स्टेज पर्फर्मेन्स गर्न थालिसकेकी थिइन् ।
नेपाल आएलगत्तै उनले ‘मिलन’ एल्बम निकालिन् । सो एल्बममा समाविष्ट ‘जहिलेसम्म संसारमा’, ‘सिरीमा सिरी’ लगायतका रहेका गीतले नेपाली स्रोतामाझ राम्रै चर्चा कमाए । आसाम–दार्जलिङ आसपास मात्र सीमित रहेकी मिलन यी गीत चल्न थालेपछि भने नेपाली दर्शकमाझ समेत छाउन थालिन् ।
चलचित्रका गीतले उकासेको व्यक्तित्व
नेपाली साङ्गीतिक क्षेत्रमा ‘इन्ट्री’ भएसँगै मिलनले नेपाली चलचित्रका गीत गाउने अवसरहरू पाइन् । ‘नोटबुक’ चलचित्रको ‘गाला रातै’ र रेखा थापा निर्मित ‘काली’ को ‘बट स्लोली–स्लोली’ गीतले त मिलनलाई नेपाली गायनक्षेत्रमा स्थापित नै गराए । यिनै गीतको चर्चाले नेपालभर तथा विदेशका अनेकौं कार्यक्रमहरूमा समेत मिलनको व्यस्तता ह्वात्तै बढाइदियो ।
नेपाल आएर गीत गाउन थाल्दा छोटो अवधिमै यति ठूलो सफलता मिल्ला भन्ने आफूले नसोचेको उनी बताउँछिन् । त्यो समयमा अञ्जु पन्तलगायतका केही गायिकाहरूको एकछत्र राज थियो नेपाली गायन क्षेत्रमा । ‘गाला रातै’ गाइरहँदा मिलन नेपाली पाश्र्व–गायनको शीर्षस्थानमै थिइन् । पाश्र्व–गायनमा उनकोे उदय भएपछि नेपालका थुप्रै गायिकाहरू सुस्ताएका थिए ।
त्यो बेलासम्म नेपाली चलचित्रका प्रायः गीतमा भारतीय गायिकाहरूको आवाज सुनिन्थ्यो । नेपाली चलचित्रका गीत भारतमै रेकर्ड गर्ने त्यो जमानामा मिलनले नेपालीभाषी गायिकाकै रूपमा आफूलाई स्थापित गरिन् ।
‘समयको खेल’ ले विवाह–बन्धन टुटाउंदा
साङ्गीतिक आकाशमा क्रमशः चम्कँदै गइरहेकै बेला मिलनको विवाह–बन्धन टुट्यो । यो घटनाले उनको जीवनमा ‘अँध्यारो समय’ पैदा गरिदियो । अमात्य थरका एक युवकसँग वैवाहिक सम्बन्धमा बाँधिएकी मिलनको डिभोर्स भयो ।
सम्बन्ध–विच्छेदसँगै उनको चर्चा र सफलता एकाएक धीमा हुनथाल्यो । एक हिसाबले त्यसबेला मिलनको साङ्गीतिक जीवन नै धर्मराएको थियो । यो दुखद् पाटोलाई उनी ‘समयको खेल’ बताउँछिन् ।
केही समय साङ्गीतिक कार्यक्रमको हिँडाइ र गीतको रेकर्डिङमा ब्रेक लाग्यो । तैपनि उनले हार भने मानिन् । क्रमशः तङ्ग्रँदै उनले आफ्नो करिअर फेरि अघि बढाइन् । पीडा, दुःख र कष्ट बिर्संदै सङ्गीतयात्रामा अघि बढिरहिन् । आँटिली स्वभावकी मिलनले आफूलाई स्ट्रङ राखिन् र केही वर्षको अन्तरालपछि फेरि साङ्गीतिक माहोलमै होमिइन् । त्यसपछि पनि साङ्गीतिक आकाशमै चम्किइरहिन् । अथक प्रयास र कठोर साधनाकै कारण सफलताले भने उनको साथ छाडेन ।
सफलतासंगै अवार्डको ओइरो
मिलन नेवारले थुप्रै अवार्डहरू हात पारेकी छन् । उनले सन् २०१३ मा ‘नातिकाजी लोकप्रिय सङ्गीत प्रतिभा पुरस्कार’ प्राप्त गरेकी थिइन् । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट प्राप्त उक्त पुरस्कारले साङ्गीतिक क्षेत्रमा अझ अघि बढ्न मिलनलाई निकै ठूलो हौसला दियो । ‘यो पुरस्कार पाउँदा मैले आफूलाई निकै भाग्यमानी ठानेकी छु,’ उनले सुनाइन्– ‘मेरा निम्ति त त्यो पुरस्कार अहोभाग्य नै हो ।’
यसअघि २०१२ मै उनले ‘इमेज बेस्ट भोकल पर्फमेन्स फिमेल अवार्ड’ जितिसकेकी थिइन् । सोही बेलातिर उनले ‘कालिका एफएम अवार्ड’ पनि पाएकी थिइन् । उनले निरन्तर अवार्ड नै अवार्ड जितिरहिन्; दर्जनौं अवार्ड हात पारिसकेकी छन् ।
मोडलिङका लागि ‘फिट एण्ड स्लिम’
गायिका मिलनले म्युजिक भिडियोहरूमा अभिनय पनि गर्दै आएकी छन् । उनी गायनसँगसँगै मोडलिङमा पनि उत्तिकै जमिरहेकी छन् । उनले आफ्ना प्रायः गीतमा आफैं मोडलिङ गर्ने गरेकी छन् ।
मोडलिङकै लागि भन्दै उनले केही वर्षअघि ६ वर्ष लगाएर आफ्नो तौल १३ किलोग्राम घटाइन् । दस वर्षअघि उनी जस्ती देखिन्थिन्, अहिलेसम्म पनि दुरुस्तै उस्तै छिन् । आफ्नो मोडलिङ व्यावसायिक नभएर सौख मात्र रहेको मिलनको भनाइ छ ।
निकै ‘स्लिम’ बनेकी मिलन खानपानमा निकै सचेत छिन् । ‘मोडलिङका लागि मात्र होइन, शरीर सुहाउँदो राख्नका लागि पनि फिट रहुन जरुरी छ नि,’ मिलन भन्छिन्– ‘मोडलिङ गर्नकै लागि मात्र मैले आफ्नो तौल घटाएकी होइन । आफू फिट रहनुपर्छ भन्ने लाग्यो, त्यसैकारण घटाएकी हुँ । शरीर फिट भएपछि पहिरन पनि निकै सुहाउँदो रहेछ ।’
मेला–महोत्सवमै निरन्तर कुदाकुद
संसारभर फैलिएको र नेपाललाई समेत गम्भीररूपले प्रभावित तुल्याएको कोराना महामारीका कारण दुई वर्ष अघिदेखि अरु क्षेत्रजस्तै गीत–सङ्गीत र मनोरञ्जन क्षेत्र पनि ठप्पप्रायः रह्यो । देश–विदेशमा निरन्तर भइरहने अधिकाङ्श मेला–महोत्सव क्यान्सिल÷स्थगित भए । सधैं निकै व्यस्त रहने मिलन यो समयमा भने फुर्सदिली भइन् । यो समयमा उनले आमासँग बसेर खाने कुराका विभिन्न परिकारहरू बनाउन सिकिन् ।
यही सेरोफेरोमा गायक/सङ्गीतकार राजनराज शिवाकोटीसँग ‘फुलबुट्टे सारी’ गीत गाएपछि त देश–विदेशमा मिलनको माग र व्यस्तता झनै बढ्यो । कोरोना महामारी बिस्तारै कम हुँदै गइरहेको सन्दर्भमा विभिन्न स्थानमा आयोजना हुन थालेका साङ्गीतिक महोत्सवहरूमा उनको माग बढिरहेको छ ।
‘अहिले देशका विभिन्न ठाउँमा मेला–महोत्सव भइरहेका छन्, त्यतै दौडिइरहेकी छु,’ उनले सुनाइन्– ‘कति गीतहरू त गाउनै नभ्याएर पेन्डिङमा रहेका छन् । केही दिन राजधानी बसाइ हुँदा रोकिएका गीतहरू गाएर फेरि कार्यक्रममै दौडिइहाल्छु । साथीहरूसँग भेटघाट गर्नेसम्म पनि फुर्सद नै छैन ।’
स्वास्थ्य र जीवनशैली
स्वस्थ रहनका लागि आफूले नियमित योग र ध्यान गर्ने गरेको उनले सुनाइन् । शरीर फिट राख्न सकेसम्म अर्गानिक खाने कुराहरू नै खान प्रयास गर्ने गरेको उनी बताउँछिन् । आफूले खाने खाना प्रायः आफैं पकाउने गरेको उनको भनाइ छ ।
कहीं–कतै कार्यक्रममा हिँडेका बेला अस्वस्थ भएर उनले कार्यक्रमै नगरी फर्कनु परेको छैन । ‘कार्यक्रममा जाँदा आयोजकले पहिले नै खाने कुराहरूको राम्रो व्यवस्था मिलाइदिनुभएको हुन्छ,’ गायिका मिलन भन्छिन्– ‘आफूलाई ग्यास्ट्रिक नहोस् भनेर मैले पनि पर्फर्मेन्सअघि नै केही खाएर मात्रै स्टेजमा जाने गरेकी छु किनकि कार्यक्रम कति चल्छ र कतिबेला सकिन्छ भन्ने ठेगानै हुँदैन ।’
कुराको बिट मार्दै मिलनले सुनाइन्– ‘स्वास्थ्य समस्याकै कारण अहिलेसम्म अप्ठ्यारैचाहिँ परिहालेको छैन ।’