‘रुन्चे’ आइन्स्टाइनका अद्भूत आविष्कार

केदारनाथ गौतम

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म १४ मार्च, १८७९ मा जर्मनीको उल्क भन्ने ठाउँमा भएको थियो । उनका बाबुको नाम हर्मन आइन्स्टाइन र आमाको पौलिन हो । बाल्यकालमा असाध्यै शान्त स्वभावका आइन्स्टनका खासै साथीभाइ थिएनन् । आफ्नो छेउछाउ र वरिपरि रहेका बालबालिकासँग मित्रता बढाउन र सँगसँगै खेल्न पनि रुचाउँदैनथे आइन्स्टाइन ।

केही वर्ष पछिदेखि नै आइन्स्टाइनका बाबु–आमा म्युनिख सरे र त्यहीं बस्न थाले । सैनिकको हुल सडकमा निस्केर परेड खेल्दा त्यहाँका बालबालिका रमाउँथे, त्यो दृश्य हेर्थे र दुरुस्तै नक्कल गर्थे । तर, आइन्स्टाइन भने सडकमा सिपाही देख्नासाथ रुन थाल्थे ।

तीन वर्षको उमेरदेखि मात्रै बोल्न थालेका आइन्स्टाइन छ वर्षको उमेरमा विद्यालय भर्ना भएका थिए । बाल्यकालमा सुस्त मनस्थितिका जस्ता देखिने उनलाई शिक्षकहरूले समेत ‘मन्दबुद्धिको’ भन्ने गरेका थिए । शिक्षकहरूको यस्तो भनाइ र व्यवहारबाट दुःखी भएका उनले हिम्मत भने हारेनन् । कडा परिश्रम लगनका साथ अध्ययन अगाडि बढाएका आइन्स्टाइनले जुरिचस्थित प्राविधिक विश्वविद्यालयबाट १९०१ मा स्नातक उत्तीर्ण गरे ।

बाहिरबाट हेर्दा बुद्धुजस्ता लाग्ने अन्तर्मुखी स्वभावका आइन्स्टाइन दिमागी हिसाबमा भने अद्भूत प्रतिभाशाली रहेछन् । पाँच वर्षको उमेरमा देखेको ‘कम्पास’ ले उनको मथिङ्गल नराम्ररी रिङ्ग्यायो । पूर्व–पश्चिम र उत्तर–दक्षिणका दिशा पत्ता लगाउन सक्ने कम्पासको ‘अदृश्य’ र ‘रहस्यमय’ शक्ति थाहा पाएर उनी आश्चर्यचकित भए । त्यही ‘अदृश्य’ र ‘रहस्यमय’ शक्तिसम्बन्धी अनुभूति र जिज्ञासाले नै आइन्स्टाइनलाई जीवनभर आकर्षित गर्‍यो; मार्गनिर्देशित गरिरह्यो ।

आइन्स्टाइनले ‘इलेक्ट्रोनिक्स फेब्रिक जे. आइन्स्टाइन एण्ड कम्पनी’ नामको कम्पनी खोले । उक्त कम्पनीले विद्युतीय उपकरणहरू बनाउने काम गर्दथ्यो । म्युनिखमा आयोजित ‘अक्टोबर फेस्ट’ का अवसरमा सो कम्पनीले प्रकाश व्यवस्थापनको काम समेत गरेको थियो ।

अल्बर्ट आइन्स्टाइनले अनेकौं वैज्ञानिक खोज र आविष्कार गरेका छन् । खासमा पिण्ड, प्रकाश, ऊर्जा र गति एवम् दूरीबीचको अन्तर्सम्बन्ध र त्यसबाट उत्पन्न हुने क्रिया–प्रतिक्रियाका सम्बन्धका खोजमा उनले विशेष योगदान पुर्‍याए । ‘क्वान्टम थ्योरी अफ लाइट’, ‘स्पेसल थ्योरी अफ रिलेटिभिटी’, ‘जनरल थ्योरी अफ रिलेटिभिटी’, ‘एभोगाड्रोज नम्बर’, ‘द बोस–आइन्स्टाइन कन्डेन्सेट’, ‘द फोटोइलेक्ट्रिक इफेक्ट’, ‘वेभ–पार्टिकल ड्युएलिटी’ आदि उनका प्रमुख खोज हुन् ।

यिनै खोज र आविष्कारमध्ये २६ वर्षको उमेरमा प्रकाशित उनको शोध ‘थ्योरी अफ रिलेटिभिटी’ अर्थात् ‘सापेक्षताको सिद्धान्त’ ले उनलाई विश्वव्यापीरूपमै वैज्ञानिकका रूपमा उभ्यायो । यो सिद्धान्त सामान्य र विशेष गरी दुई खण्डमा विभाजित छ । सोही सिद्धान्तअन्तर्गत ‘ई इक्वेल्स टु एमसी स्क्वायर’ का नाममा सूत्रबद्ध इक्वेसन आइन्स्टाइनको सबैभन्दा प्रख्यात आविष्कार हो । यो इक्वेसनले पदार्थ र ऊर्जाका बीचको समीकरण, आपसी अन्तर्सम्बन्ध र रूपान्तरणलाई सैद्धान्तिक एवम् व्यावहारिकरूपमा प्रमाणित गर्‍यो । ‘ई’ भनेको ‘इनर्जी’ अर्थात् ऊर्जा हो भने ‘एम’ भनेको ‘मास’ अर्थात् पिण्ड र ‘सी’ भनेको प्रकाशको गति (कन्स्टेन्ट) हो । यही इक्वेसनका आधारमा परमाणु विज्ञानका आधारभूत मान्यताहरूको आविष्कार भयो ।

आकास नीलो देखिनुका कारणहरूलाई समेत आइन्स्टाइनले अनेकौं तथ्य र तर्कहरूबाट पुष्टि गर्ने प्रयास गरे । सन् १९२१ मा भौतिकशास्त्रतर्फको ‘नोबेल पुरस्कार’ पाएका आइन्स्टाइनले सोही वर्ष ‘मत्तयुक्की मेडल’ समेत प्राप्त गरे । सन् १९२५ मा ‘कोपले मेडल’ प्राप्त गरेका उनले १९२९ मा ‘म्याक्स प्ल्याङ्क मेडल’ पनि प्राप्त गरे । आइन्स्टाइनले सन् १९९९ मा (मरणोपरान्त) ‘शताब्दी टाइम पर्सन’ सम्मान र पुरस्कार पनि प्राप्त गरेका छन् ।

स्नातक उत्तीर्ण भएपछिका केही वर्ष स्विट्जरल्याण्डमा बिताएका आइन्स्टाइन पछिल्लो समयमा जर्मनीमै थिए । जर्मन तानाशाह हिटलरले यहुदीहरूमाथि उग्र दमन गरेर टिकिनसक्नु स्थितिमा पुर्‍याए । हिटलरी दमनचक्र उत्कर्षमा पुगेपछि १९३५ मा उनी जर्मनीबाट विस्थापित भएर अमेरिकाको न्युजर्सी पुगे । त्यसपछि प्रिन्स्टन कलेजमा ‘प्रोफेसर अफ थ्योरिटिकल फिजिक्स’ का रूपमा सेवारत रहेका उनको १८ अप्रिल, १९५५ मा अमेरिकामै निधन भयो ।

एजेन्सीहरूको सहयोगमा