मानवनिर्मित आश्चर्य: आइफल टावर अफ पेरिस

डा. डीबी सुनुवार

मस्त निदाउँदा निद्रा त पुग्छ तर संसार टेक्ने सपना पूरा गर्न भने जहाजमा उड्नैपर्छ । मानसपटलमा संसार टेक्ने सपना बुनेको छु । यात्रा जारी छ । आशा छ, यो सपना धेरै हदसम्म पूरा गर्न सक्छु ।

लाओत्सुले भनेजस्तै हजारौं माइलको यात्रा तय गर्न पहिलो कदम आवश्यक हुन्छ । पाइला त अवश्य नै चाल्दैछु । यसपालि मेरा पाइला अघि बढेका छन्, प्रेमको प्रतीक पेरिसस्थित आइफल टावरतर्फ ।

फ्रान्सको राजधानी हो पेरिस । झिलिमिली बत्तीले सजिसजाउ छ पेरिस सहर । अझ पेरिसलाई त ‘सिटी अफ लाइट’ नै पो भनिन्छ । धपक्कै बलेको पेरिस पुग्दा जो–कसैलाई अनुभूति हुन्छ– ‘लेट्स फल इन लभ इन इट्स ब्युटी ।’

युरोपका धेरै देशहरूको यात्रापछि डेस्टिनेसन बनेको छ फ्रान्सको पेरिस । यसपछि घर फर्कने समय पनि नजिकै आइसकेको छ । पेरिसको काखमा न्यानो सत्कार छ । साँझपख ‘होलिडे इन पेरिस’ को लबीमा पुग्दा यत्रतत्र झलमल्ल बत्ती बलिरहेका छन् । ‘रिफ्रेस’ भएर आइटीनरी अनुसारको कार्यक्रममा भाग लिनु छ ।

सिन नदीको किनारमा बोटिङ अनि डिनरको कार्यक्रम तय भएको छ । डिसेम्बरको पहिलो साता, वातावरण चिसो–चिसो नै छ । रहर आनन्दको छ; मन–मस्तिष्क र ज्यान प्रफुल्लित छन् । प्रेमको प्रतीक आइफल टावरलाई भेट्नु छ; छुनु छ अनि चढ्नु छ । मन कम्ता हौसिएको छैन यो आनन्द लिन ।

आज सिन नदीको सुन्दर बोटिङबाट आइफल हेर्न पाइन्छ । सुन्दरी गाइड इभानाको निर्देशनअनुसार केही व्यवस्थापकीय नियमहरूबारे जानकारी पाइएको छ । बोटिङ यार्डमा लामबद्ध छौं । झिलिमिली सजिएका बोटहरूले बोर्डिङ लिइरहेका छन् । वातावरण त्यत्तिकै रौनकमय छ । बोटको तल्लो तलाको स्टेयर्समा सुन्दर डाइनिङ टेबल र बुफेटमा सजिएका सर्भिस स्टेसनहरू छन् । माथिल्लो तलाका खालि भागमा तह–तहका, खण्ड–खण्डका सिटिङ चेयरहरू सजाइएका छन् ।

विश्वकै सर्वशक्तिशाली मुलुक भनेर चिनिने अमेरिको ‘स्ट्याचु अफ लिबर्टी’ ले मुलुककै प्रतिनिधित्व गर्छ । यो स्ट्याचुलाई अमेरिका चिनाउने प्रतीकका रूपमा चित्रित गरिन्छ । यसले नियम–कानुन तथा मानवाधिकारलगायतका विषयहरूको सङ्केत गर्छ । सन् १८८४ जुलाई ४ मा फ्रान्सले अमेरिकालाई उपहारस्वरूप ‘स्ट्याचु अफ लिबर्टी’ दिएको बताइन्छ । आइफल टावर बनाउने व्यक्तिले नै यो स्ट्याचुको डिजाइन गरेका हुन् भनिन्छ ।

विभिन्न भाषामा यहाँको ऐतिहासिक, सामाजिक, आर्थिक, भौगोलिक विषयहरूबारे वर्णन भइरहेको छ । आ–आफ्नै भाषामा सुन्न मिल्ने गरी प्रचलित धेरै भाषामा उक्त वर्णन हरेक व्यक्तिले सुन्न मिल्ने गरी इयरफोनको व्यवस्था गरिएको छ । यहाँको यो रमिता हेर्दा हेर्दै आइफललाई नजिकबाट हेर्न पाइने स्थानमा पुगियो ।

दुलही सिँगारिएजस्तै रङ्गीचङ्गी आइफल जग्मगाएको छ । १८८७ मा सुरु गरी १८८९ निर्माण पूरा भएको यो टावर गुस्ताभ आइफलको कम्पनीले बनाएको हो । सुरुमा त यो टावर अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवका लागि फलामैफलामको पाताबाट बनाइएको थियो । व्यवसायीहरूलाई आकर्षण गर्न यसको डिजाइन गरिएको थियो । आइफल टावरले संसारलाई यसरी आकर्षण गर्छ भन्ने कुरा गुस्ताभ आफैंलाई पनि थाहा थिएन । पछि त्यसलाई विकसित एवम् परिमार्जित गरेर निकै भव्य र सुन्दर बनाइयो । यसको सुन्दरताकै कारण आइफलको डिजाइन आर्ट सयौं वर्षसम्म जीवित भएर मुस्कुराइरहेको छ । यो संरचना मानवनिर्मित आश्चर्यका रूपमा विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

आइफल टावरलाई साक्षी राखेर प्रेम प्रस्ताव गर्न संसारका हजारौं जोडीहरू हरेक साल पेरिस पुग्ने गर्दछन् । यहाँको कला–संस्कृति र जीवनशैलीगत भव्यतालाई जो–कोहीले पनि नतमस्तक भएर सम्मान गर्ने गरेका छन् । यहाँको कला, भाषा, सहित्य, विज्ञान, प्रविधि हरेक कुरामा उज्यालोपनकै अनुभूति हुन्छ ।

तन–मनमा आनन्द छ । आनन्दकै कारण थकानको महसुस नै छैन । रातको ११ बजिसकेको छ तर पेरिसको उज्यालो, कला र नाइट लाइफका कारण दिउँसैको अनुभूति दिलाइरहेको छ । भोलिको कार्यक्रमका लागि उत्साह कायम राख्नु छ, आरामको जोहो गर्नु छ ।

आइफल टावर चढ्ने विभिन्न विधिका टिकटहरू लिएर उक्त टावरको फेद अर्थात् ग्राउण्डमा बिहानै लस्कर लाग्न पुगियो । धेरैजसो मानिस उक्त टावरको पहिलो तलासम्म मात्र पुग्दा रहेछन् । हाम्रो टिकट भने दोस्रो तलासम्म पुग्ने छ । कतिपय साहसिक मानिस त सबैभन्दा माथिल्लो तलामा पनि पुग्दा रहेछन् ।

लिफ्टबाट माथि पुगियो । आहा ! बिहानको कलिलो किरणले मुस्कुराइरहेको छ पेरिस सहर । कमिलाजस्ता देखिइरहेका छन् ग्राउण्डका मानिसहरू । निकै माथि आइपुगेका छौं हामी । दूरबिनबाट पूरै पेरिस सहरको सुन्दरता खिँच्यौं मनभरि । त्यतिबेलै नेपालको सम्झना भयो; मीठो यादले उकुसमुकुसको अनुभति हुन्छ । खुसीको उकुसमुकुस, आनन्दको क्षण । यो अनुभव, यो पल, यो वातावरण, यो न्यानोपन– अहँ, छाड्नै मन छैन । आकर्षक कार्यक्रमहरू अरु पनि बाँकी नै छन् ।

विश्वका शक्तिशाली देशहरूमध्येमै पर्छ फ्रान्स पनि । संयुक्त राष्ट्रसङ्घको नेतृत्व तहमै रहेको फ्रान्स सामरिकरूपले पनि उत्तिकै बलियो छ । संसारका बलिया सेनामध्ये विज्ञान र प्रविधिबाट सुसज्जित यहाँको सेना पनि पर्दछ । फ्रान्सले युरोपको तेस्रो ठूलो शक्तिका रूपमा आर्म्ड फोर्स र अर्थतन्त्रको हिस्सा ओगटेको छ ।

कला र फेसनमा त पेरिस विश्वकै अग्रणी सहर हो । यहाँ निकै ठूलो फेसन डिजाइन युनिभर्सिटी छ । संसारभरिका कला–फेसन प्रफेसनलहरू यहाँबाटै दीक्षित हुन्छन् । नयाँ–नयाँ डिजाइनका ‘फेसन–ट्रेन्ड’ पेरिसबाटै सुरु हुन्छ ।

रिडिङ कल्चर र साक्षरताको तह माथि भएकाले संसारमै सबैभन्दा बढी पुस्तकालय पनि पेरिसमा नै छन् । ‘लउभर’ संसारको सबैभन्दा ठूलो आर्ट म्युजियम हो । ‘मोनालिसा’ को ‘मास्टर पिस’ समेत यहीं राखिएको छ । आर्ट, लिट्रेचर, साइन्स र टेक्नोलोजीका नोबेल पुरस्कार विजेता हुनेहरूमध्ये यहींका मानिस बढी छन् । यो म्युजियमको भ्रमण र अवलोकन गर्न संसारका कलाप्रेमीहरूले वर्षौंदेखि सपना साँचेका हुन्छन् ।

पेरिसमा भ्रमण गर्दा छुटाउनै नहुने स्थान ‘नोट्रडम क्याथेडल’, पुरानामध्येको भव्य क्याथेडलको विषयमा इभानाले वर्णन गरिरहेकी छन् । नोट्रडम बाहिरबाट जति भव्य देखिन्छ, धार्मिक र ऐतिहासिक दृष्टिकोणबाट समेत भित्र पनि उत्तिकै भव्य छ । यो क्याथेडलको निर्माण सन् ११०० तिर भएको पाइन्छ ।

आर्किटेक्चरल आर्टको त के कुरा गर्नु ! भव्य डिजाइनहरूको झन् के कुरा गर्नु ! इन्ट्रान्समा नै ढक्क मन फुलेर आउँछ । वाह ! नोबल साइलेन्स !! मन टक्क अडिएको छ । बिरालाको चालमा खुट्टा सरिरहेका छन् । ‘प्रार्थना’ गरिरहेकाहरू नतमस्तक छन्; कसैलाई कसैको केही वास्ता छैन । मात्र आफूभित्र शान्ति खोज्ने अवस्था, ‘ईश्वर’ सँग सम्बन्ध स्थापित गर्ने अवस्था । आधा घन्टापछि बाहिरको मिटिङ प्वाइन्टमा जम्मा भयौं ।

अझै धेरै गतिविधिहरूमा सहभागी हुनु छ । म्युसी दि ओर्स, च्याम्प इलाइसी, मोन्टमार्ट, सेक्रसिभर बसिलिका, लक्जम्बर्ग गार्डेनजस्ता पेरिसका धेरै मनमोहक स्थानको सुन्दर दृश्यावलोकन सकेर अगाध प्रेमका साथ नेपाल फर्किइयो । यात्रा– पेरिस टु काठमाडाैं ।