फुटबल खेल्दा कीरा: श्रब्य–दृश्य सम्पादक तारा

होलिस्टिक संवाददाता

‘आफ्नै इच्छा–चाहनाले त फिल्म–सम्पादक बन्छु भन्ने थिएन तर समय–परिस्थितिले मलाई यही बनायो,’ पुराना श्रब्य–दृश्य सम्पादक तारा थापाले होलिस्टिकलाई सुनाए– ‘म त फिल्म–सम्पादक नभएर लाहुरे पो बन्नुपर्ने थियो ।’

‘बुबा र तीनैजना दाजुहरू समेत लाहुरे नै भएकाले म पनि लाहुरे नै बन्नुपर्ने थियो, बुबाको चाहना पनि सबै छोरा लाहुरे नै बनून् भन्ने थियो,’ उनी भन्दै गए– ‘तीन दाजु लाहुरे भइसकेपछि पनि म चाहिँ लाहुरे बन्न गइनँ; मेरो मनमै लाहुरे बन्छु भन्ने उत्सुकता नै पलाएन ।’

एसएलसी सकेर उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडाैं आए । बन्दीपुर (तनहुँ) बाट कलेज पढ्न भन्दै राजधानी हान्निएका उनले पढ्नका लागि पनि यहँँ निकै चर्को सङ्घर्ष गर्नुपर्‍यो ।

फुटबल खेल्दा खुट्टामा कीरा

सानैदेखि उनलाई फुटबल खेल्ने एकदमै इच्छा थियो । त्यही इन्ट्रेस्टका कारण गाउँघरमा छँदा पनि उनी निकै नै खेल्थे । मैदानमै खेल्ने फुटबल त त्यतिबेला कहाँ पाउनु र ! फाटेका मोजामा प्लास्टिकका झुत्रा कोचेर गोलो डल्लो बनाउँथे र साथीभाइ भेला भएर त्यसैलाई लात्ताले हान्दै ‘फुटबल’ खेल्थे ।

खेल्नकै लागि उनी त स्कुल छाडेरै भए पनि दौडन्थे । फुटबल खेल्ने क्रममा ताराका खुट्टामा घाउ त कति भए, भए; भनिसाध्य छैन । एक पटक त घाउ भएर खुट्टामा कीरा नै परेका थिए । ती घाउका खतहरू उनका खुट्टामा अहिलेसम्म पनि छँदैछन् ।

पब्लिक युथमा नाम निकाल्नै नसक्दा

आईकम त उनले २०५४–५५ तिर बन्दीपुरमै सकिसकेका थिए । त्यसपछि ब्याचलर पढ्ने कुरा भयो । उता बीबीएस पढ्ने सुविधा नभएपछि काठमाडौं आए । त्यही सालदेखि सरकारले बीबीएसलाई तीनवर्षे बनाएको थियो ।

‘मलाई यो कुरा राम्ररी याद छ कि हामी नै तीनवर्षे बीबीएसका फर्स्ट ब्याच विद्यार्थी हौं,’ उनी सम्झन्छन्– ‘पढ्न भनेर त काठमाडौं आएँ तर यहाँ बसेर पढ्नु अनि भर्ना हुन सक्नु निकै गाह्रो कुरा रहेछ ।’ पब्लिक युथ क्याम्पसमा भर्ना हुन खोजेका उनलाई त्यो क्याम्पसले भर्ना लिनै मानेन । ‘त्यहाँ त पार्टीको फोर्स लगाउनु र के–के गर्नुपर्ने पो रहेछ,’ तारा भन्छन्– ‘युनियनको पकड भएको ठाउँ रहेछ तर मचाहिँ कुनै पनि पार्टीप्रति आस्थावान् नै थिइँन । कुनै पार्टीको झन्डा नबोक्ने भएकाले पब्लिक युथमा मेरो नाम निस्किएन ।’

‘बीबीएस पढेर बैंकको सीईओ या त्यस्तै ‘ठूलो’ कुनै अफिसर बन्छु भन्ने थियो तर पढ्नकै लागि पो नाम नै निस्किएन,’ पुराना कुरा सम्झँदै उनी भन्छन्– ‘पछि त मैले पनि सोर्सफोर्स नै लगाएँ, बल्ल भर्ना गरिदिनेसम्मको कुरा भयो । त्यसपछि भर्ना भएर त्यहीं पढ्न थालें ।’

‘बीच’ को छोरा हुनुको ‘लाभ’

‘जेठा दाजु इन्डियाको, माइला दाइ ब्रिटिस र साइँला दाइ नेपालको लाहुरे अनि म बीचको परें, कान्छो भाइ घरमै थियो,’ ठट्यौली पारामा तारा भन्छन्– ‘हामीजस्ता ‘बीच’ मा जन्मनेले त पारिवारिक कारणबाट खासै सङ्घर्ष गर्नु नपर्ने; केही भन्यो कि त दाइले गर्दिइहाल्ने, कुनै काम अह्राउनु प¥यो भने भाइ छँदै थियो ।’

साइला दाइ सिंहदरबारभित्रको आर्मी क्याम्पमा हुनुहुन्थ्यो । त्यहाँ दरबन्दी हुनेहरू सिंहदरबारभित्रैको चौरमा फुटबल खेल्थे । एक दिन दाइले मलाई पनि त्यहीं बोलाएर र सोध्नुभयो– ‘ओई, फुटबल खेल्छस् ?’

त्यस दिनदेखि दाइको माध्यमबाट मैले पनि सिंहदरबारभित्रैको ग्राउण्डमा फुटबल खेल्न थालें । मैले खेल्न थालेपछि क्याप्टेन लेभलका मान्छेले मेरो खेल नियाल्न थाले । आर्मीको ‘त्रिभुवन क्लब’ रहेछ त्यो समूह । उनीहरूसँगै मिलेर खेल्न थालें मैले ।

मैले खेल्न थालेपछि आफू पछि परें भन्ने पो लागेछ कि के हो दाइलाई । केही दिनपछि त ‘भो अब खेल्न नआइज…’ पो भन्नुभयो भलाई । त्यसपछिचाहिँ त्यहाँ जान छाडें ।

उता खेल्न जाने क्रम सुरु भएपछि मेरो पढाइ बिग्रँदै गइरहेको थियो । अब पढेर खाँदिनँ जस्तो फिल भयो । पढ्न सक्दिनँ भन्ने लागेपछि अब यो पाराले हुँदैन भनेर जागिर खोज्न थालें । अहिलेसम्म त दाजु–भाउजूसँग मात्रै पैसा मागियो, अब भने आफैं कमाउँछु भनेर जागिर खोज्न निस्किएँ ।

‘स्वावलम्बन विकास सहकारी’ मा जागिरका लागि एप्लाई गरें । र, त्यसका निम्ति लिइएको परीक्षा दिएर पास पनि भएँ ।

पहिलो पटक नेपाली फिल्म हेर्दा

त्यतिबेलासम्म ‘चलचित्र निर्देशक’ भनेर मैले नाम सुनेका व्यक्ति तुलसी घिमिरे मात्रै हुनुहुन्थ्यो । उहाँको नामचाहिँ गाउँघरमा हुँदा नै सुनिन्थ्यो । कहिले रेडियोमा त कहिले साथीभाइले नाम लिन्थे ।

मैले पहिलोपल्ट हेरेको फिल्म पनि तुलसी घिमिरे सरकै ‘दक्षिणा’ हो । त्यतिबेला यो फिल्म हेरेको कुरा अहिले पनि मलाई मज्जैले याद छ । त्योभन्दा अघि मैले नेपाली फिल्म हेरेकै थिइँन ।

बुबा, दाजुहरू विदेशबाट आउँदा हिन्दी फिल्मका भीसीआर चक्का ल्याउनुहुन्थ्यो । घरमै डेकमार्फत ती फिल्म हेरिन्थ्यो । नेपाली फिल्मचाहिँ निकै पछि मात्र हेरियो । त्यसअघि त ‘नेपाली फिल्म पनि बनेका छन्’ भन्ने नै थाहा थिएन ।