यौनशक्ति: चक्लेट र कफीको प्रभाव
प्रा.डा. दिनेश बाँस्तोला
सुस्वास्थ्यका निम्ति जोड दिनुपर्ने त प्राकृतिक किसिमका खाद्य सामग्रीमा नै हो । तर, आजकल सहरबजारमा उपलब्ध हुने प्रायः र ग्रामीण भेगमै समेत प्रशोधन गरिएका कतिपय खाद्य पदार्थहरू कृत्रिम अर्थात् अप्राकृतिक हुने गरेका छन् । पाएसम्म प्राकृतिकरूपमा तयार भएका खाद्य सामग्री नै खानुपर्छ ।
स्वस्थ जीवनका लागि मात्र होइन, स्वस्थ, सन्तुलित र मर्यादित यौन जीवनका लागि समेत प्राकृतिक तथा पोषणयुक्त खानपानको महत्व अत्यधिक हुन्छ । यस आलेखमा केही यौनवर्द्धक खाद्य पदार्थ तथा पोषणबारे सङ्क्षिप्त चर्चा गरिएको छ । यौनवर्द्धक खानपान तथा पोषणले यौनउत्तेजनामा सहयोगी भूमिका खेलेको हुन्छ ।
चक्लेटको प्रभाव
सर्वप्रथम यौनवर्द्धक चक्लेटबारे चर्चा गरौं । कतिपय चक्लेट यौनोत्तेजक हुन्छन् । नरिवल मिसिएका चक्लेट एक प्रकारको यौनोत्तेजना वर्द्धक चक्लेट हो । यस्तो चक्लेट यौनवर्द्धक हुने गरेको पाइन्छ ।
नरिवल मिसाएर बनाइएको चक्लेटमा हुने अँध्यारो (डार्क) पनाका कारण शरीमा उत्सर्जन हुने सेरोटोनी तथा इन्डर्फिनजस्ता रासायनिक तत्वले अनुहारमा चमक बढाउन मद्धत मिल्छ । यस्तो चक्लेटले शरीरमा सेरोटोनी तथा इन्डर्फिनजस्ता रासायनिक तत्व उत्सर्जनका लागि सहयोग पुर्याउने भएकाले अनुहारमा खुसी निम्त्याउन भूमिका खेल्छ । अनुहारमा चमक बढ्दा कामोत्तेजना समेत बढ्न पुग्दछ । यस्तो चक्लेटको नियमित सेवन गर्दा मस्तिष्कको हाइपोथालामसको यौनकेन्द्र बढी सक्रिय हुन्छ र यौन जोडीमा कामोत्तेजना बढ्छ । यौन जोडीको अनुहारमा चमक बढ्दा यौन क्रियाकलापका लागि उत्तेजना बढ्न पुग्दछ ।
यौन क्रियाकलाप गर्नुभन्दा सामान्यत ३० मिनेटअघि यस्तो चक्लेट खानु फाइदाजनक हुन्छ । चक्लेट भटाभट चपाएर निल्नुभन्दा बिस्तारै चुसेर खानु लाभदायक हुन्छ । यौनचाहना वा यौनेच्छाको अवस्था कस्तो छ, त्यसैअनुसार नै नरिवल मिसिएका यस्ता चक्लेट खान सकिन्छ । यौन ऊर्जा आवश्यक नभएको बेला वा कम भएको अवस्थामा त्यस्ता चक्लेटको मात्रा घटाउनु उचित हुन्छ ।
सामान्यतः विदेशबाट आउने यस्ता यौनवर्द्धक चक्लेट आजकल नेपाली बजारमा पनि पाइन्छन् । यस्ता चक्लेट आफूखुसी खानुभन्दा पनि यौनरोग विशेषज्ञ वा पोषण विशेषज्ञको सुझावअनुसार खानु अझ उत्तम हुन्छ ।
कफीको प्रभाव
कफी अर्को यौनोत्तेजक खाद्य/पेय पदार्थ हो । कफी सामान्यतः मस्तिष्क–उत्तेजक पदार्थ हो । कफी पिएका बेला यौनजोडीमा कामोत्तेजना बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
कफी पिएका बेला त्यसले मानव–मस्तिष्कमा कामोत्तेजकको काम गरिरहेको हुन्छ । अतः त्यसले यौनेच्छाको चाल बढाउन मद्धत पुर्याउँछ । त्यसैले यौनेच्छा तथा कामोत्तेजनाको चाहना गर्ने यौन जोडी (महिला तथा पुरुष) ले कफी पिउन सक्दछन् ।
यौन सम्पर्क गर्नुभन्दा करिव ३० मिनेटअघि कफी पिउनु लाभदायक मानिन्छ । त्यसो गर्दा कामोत्तेजना ल्याउन मद्धत मिल्नुका साथै यौन सन्तुष्टि बढाउन समेत सहयोग पुग्छ । यौन क्षमतामा कमी भएको महसुस भएको खण्डमा पनि कफी पिएर यौन सम्पर्क गर्ने हो भने यौनानन्द लिन सहयोग मिल्छ ।
कफीले मस्तिष्क उत्तेजित बनाउने भएकाले सामान्यतया सुत्नुभन्दा दुई घन्टाअघि नै कफी पिउनु उचित हुन्छ । सामान्यतः दैनिक चार कपभन्दा बढी कफी पिउनु उचित हुँदैन । शारीरिक, मानसिक तथा यौनका लागि समेत चार कपभन्दा बढी कफी नपिएकै राम्रो हुन्छ । जाडोको तुलनामा गर्मी मौसममा कमै कफी पिउनु उचित हुन्छ ।