चुनावी माहोल, जनस्वास्थ्य र सचेतना

केदारनाथ गौतम

नयाँ वर्ष– २०७९ ले नेपालीको घरआँगनमा पदार्पण गर्दैछ । हरेक नयाँ वषसँगै प्रत्येक नागरिकमा नयाँ जोस, जाँगर, उमङ्ग, उत्साह र प्रतिबद्धता जागृत हनु स्वाभाविकै हो । तर, यो नयाँ वर्ष केवल ‘नयाँ वर्ष’ का रूपमा मात्र आउँदै र जाँदै छैन । यो एउटै वर्ष भित्र नेपालमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी जनप्रतिनिधिमूलक तीनै तहका निर्वाचन सम्पन्न हुँदैछन् ।

जो–कसेलै चासो राखे वा नराखे पनि राष्ट्रको शीर्षासनमा बस्नेहरूदेखि जनसाधारणसम्मलाई गम्भीररूपले प्रभावित तुल्याउने चुनावी माहोलबाट कोही पनि अछुतो रहन सक्दैन । चुनावी माहोलले उद्योग–धन्दा, बन्द–व्यापार, शिक्षादीक्षा, सञ्चार, अर्थतन्त्र र सामाजिक–सांस्कृतिकलगायत जीवन–जगतका सबै पाटापक्षलाई प्रभावित तुल्याउँछ । र, यो माहोलले स्वभावतः नागरिकको जीवनशैली, रहनसहन र स्वास्थ्यलाई पनि प्रभावित तुल्याउने नै भयो । अझ एक वर्षमा एउटा मात्र चुनाव हुनु हो भने केही दिन या एकाध महिना मात्र जनजीवन, समाज र राष्ट्र प्रभावित हुन्थ्यो; तर, एकै वर्षभित्र तीन–तीनवटा चुनाव (एकसाथ प्रतिनिधिसभा/प्रदेशसभा दुवै भए तापनि) हुने परिस्थितिका कारण करिव–करिव वि.सं. २०७९ को पुरै अवधि नै चुनावी माहोलका बीच बित्ने देखिँदै छ ।

दैनिक जीवन र काम–कारोबारमा अनियमितता, बसाइ–हिँडाइ र खुवाइमा चलायमान अवस्था, काम र सामाजिक सम्बन्धकाे अनियमितता, चर्को दौडधुप र धपेडी, मानसिक तनाव र दबावयुक्त वातावरणका कारण चुनावी माहोलमा जनजीवन, जीवनशैली र जनस्वास्थ्य निकै नै खल्बलिन्छ । यो अवस्थामा व्यापक जनपरिचालन, होहल्ला र झन् बढी प्रदुषणयुक्त वातावरण बन्दछ । सामान्य अवस्थामा भन्दा चुनावी माहोलमा दैनिक उपभोग्य वस्तुहरूको खपत र कारोबार बढी हुने भएकाले एकातिर कालोबजारी र मुल्यवृद्धि फस्टाउने अनि अर्कातिर गुणस्तरमा ध्यान नपुग्ने भएकाले पनि चुनावी माहोलमा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना बढी नै हुन्छ । सामान्यतः यो माहोलमा धेरेजसो नागरिकका यात्रा र भ्रमण बढी हुने, भेटघाट–छलफल र मिटिङ–बैठक पनि बढी नै चल्ने र विभिन्नखाले तानाबाना र गोटीचाल समेत चल्ने भएकाले यो परिवेश जनस्वास्थ्यका निम्ति निकै समवेदनशील हुन्छ ।

शारीरिक–मानसिक ऊजाको खपत बढी हुने चुनावी माहोलको अवस्थामा नियमित खानपान र सामान्य जीवनशैलीको अवलम्बन मात्रैले नपुग्न सक्छ । यस्ताे अवस्थामा यथासम्भव समय मिलाएर विभिन्न किसिमका व्यायाम गर्ने, सकेसम्म पोषिला, स्वच्छ र स्वस्थ खाद्य पदार्थ खाने, समुचित आराम लिने, निद्रा पुर्‍याउनेजस्ता उपाय अपनाउनुपर्छ । यस्तो बेला धेरै नागरिकले राजनीतिक–साङ्गठनिक अभियान र कार्यक्रमहरूमा निरन्तर हिँड्नुपर्ने र लामो समयसम्म घरै या डेरा छाड्नुपर्नुे भएकाले प्याकेजिङ भएका विभिन्न किसिमका तयारी खाद्य सामग्री र ‘फास्ट फुड’ हरू समेतले काम चलाउनु पर्ने अवस्था आइपर्छ । यो अवस्थामा पनि सकेसम्म अर्गानिक, ताजा र घरेलु खानपानमै जोड दिनुपर्छ; त्यो सम्भव नै नभएर ‘रेडिमेड’ खाद्य पदार्थ या ‘फास्ट फुड’ प्रयोग गर्नै पर्दा तिनका म्याद र गुणस्तरमा ध्यान दिएर मात्रै खाने गर्नुपर्छ । र, उपयुक्त समयमा खाजा–नास्ता र खाना खानुपर्छ, पर्याप्त र सफा पानी पिउनुपर्छ; लामो समयसम्म भोको रहनु हुँदैन ।

चुनावी माहोलमा खट्नैपर्ने वा खट्नेहरूमध्ये कतिपय नागरिक पाको उमेरका वा कुनै न कुनै दीर्घरोगबाट पीडित भएका समेत हुन सक्दछन् । त्यस्ता नागरिकले यस्तो माहोलमा आफ्नो स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुपर्छ । अझ, नियमित औषधि सेवन गरिरहेकाहरूले त यस्तो बेला विशेष सावधानी नै अपनाउनुपर्छ ।

यी र यस्ता उपाय अवलम्बन गरिरहँदा समेत मानसिक एवम् शारीरिक स्वास्थ्य सन्तुलित राख्नका निम्ति पर्याप्त पोषण नपुग्न सक्दछ । त्यस्ताे अवस्थामा विभिन्नखाले आहारपूरक पोषक सामग्री (डायटरी सप्लिमेन्ट्स) को उपयोग गर्न सकिन्छ । यस्ता सामग्रीहरूमध्ये कतिपय ज्यादै गुणस्तरहीन मात्र होइन, स्वास्थ्यका लागि हानिकारक समेत हुन सक्दछन् । अतः विश्वसनीय उत्पादकहरूद्वारा उत्पादित एवम् वितरित गुणस्तरीय सप्लिमेन्ट्सको उपयोग/उपभोगमा जोड दिनुपर्छ ।