केटाहरूसँग ‘ग्याङ फाइट’ खेल्ने युवती

भोलानाथ अधिकारी

धनुषाको तुलसी भन्ने ठाउँमा जन्मिएकी सीता तामाङ पछिल्ला दिन निकै चर्चामा छिन् । ‘हिमालय टेलिभिजन’ बाट प्रशारित ‘हिमालय रोडिज’ नामक ‘रियालिटी सो’ को सिजन– ४ बाट बाहिरिएपछि उनी झन् चर्चित भएकी हुन् ।

उक्त सोको ‘जर्नी राउण्ड’ मा उनको कलाले निकै तारिफ पाउँदा चर्चा कमाएकी सीता त्यसबाट बाहिरिएपछि ‘जज’ दिया मास्के ‘फायर’ भएकी थिइन् । रिसले चूर भएकी दियाले ‘लाइभ’ मै ‘अपशब्द’ बोलिदिएपछि दियाको त चौतर्फी आलोचना भयो नै; राम्रो कला प्रस्तुत गरिरहेकी सीता समेत दियाकै कारण बाहिरिनु परेको आरोप पनि लाग्यो ।

नेपाल पुलिस क्लबमा तेक्वान्दो खेलाडी समेत सीताले सोही क्लबबाट देश–विदेशका अनेकौं प्रतिस्पर्धामा सहभागी भएर खेल–कला प्रस्तुत गरिसकेकी छन् । प्रस्तुत छ, होलिस्टिकसँग सीताको साक्षात्कार, उनकै शब्दमा–

जन्म धनुषामा भए तापनि दुईवर्षे उमेरदेखिकै पूरा समय काठमाडौंमै बित्यो । कामको सिलसिलामा बुबा–आमा काठमाडौं आएपछि स्कुलदेखि कलेजसम्मको मेरो पढाइ यतै भयो । हाम्रो परिवारमा बुबा–आमा, तीन दिदी र म मात्रै हौं । छोरी मात्रै जन्मेकाले बुबाले मलाई छोरीजस्तो नभई छोराजस्तो बन प्रेरित गरिरहनुहुन्थ्यो । त्यसैको प्रभावले हुनुपर्छ, सानैदेखि म केटा टाइपकी मान्छे थिएँ ।

तेक्वान्दो ड्रेसले गरेको आकर्षण

स्कुल जाँदा–आउँदा बाटामा सेतो लुगा लगाएर हिँडेका मान्छेहरू देख्थें । त्यो कपडा ‘तेक्वान्दोको ड्रेस’ रहेछ भन्ने कुरा मलाई निकै पछि मात्र थाहा भयो । सेतो ड्रेस लगाएर बाटामा ‘किक’ हान्दै ‘हा–हु…’ गरेको देख्थें । त्यो देखेपछि मलाई पनि तेक्वान्दो सिक्न मन लाग्यो । बुबालाई म पनि यस्तै लुगा लगाएर खेल्छु भनें । मेरो कुरा सुनेर बुबा खुसी हुनुभयो । भोलिपल्टै मलाई ‘ढल्कु तेक्वान्दो डोजाङ’ मा भर्ना गरिदिनुभयो ।

त्यतिबेला म १३ वर्ष जतिकी थिएँ । त्यहाँ मभन्दा कम उमेरका मान्छेहरूले ‘ब्ल्याक बेल्ट’ लगाएको देखें । ममा उत्सुकता जाग्यो– ‘म कहिले यस्तो बेल्ट पाउने हुन्छु होला !’ बिस्तारै–बिस्तारै सिक्दै गएँ, खेल्दै गएँ । त्यसबेला ‘किक’ हान्न नजानेर कति पटक पछारिएँ, पछारिएँ । पहिलो पटक नै नराम्ररी पछारिएँ । त्यसबेला आमाले चाहिँ ‘अब यस्तो खेलसेलमा नजा’ भन्नुभएको थियो । तर, बुबाले ‘मेरी छोरीले खेल्छे’ भनेर निरन्तर पठाउनुभयो ।

साधारण परिवारमा जन्मिएका हाम्रो परिवारमा छोरा नभएकाले पनि हामी छोरीहरूलाई बुबाले छोराको जस्तै व्यवहार गर्नुहुन्थ्यो । केही वर्ष अघिसम्म त म छोराकै ड्रेसअपमा हिँड्थें । अहिलेचाहिँ ह्वाइट कलर र लेडिज ड्रेसअपमा हिँड्ने गरेकी छु । खेल क्षेमा काम गर्न मलाई घरपरिवारबाट पूरै सपोर्ट छ ।

रोडिजमा सहभागिता, सानैदेखिको इच्छा

मैले यो रियालिटी सो पहिलेदेखि नै हेर्दै आएकी थिएँ । त्यहाँका ती कडा–कडा खेल खेल्न मलाई पनि मन लाग्थ्यो । त्यसमा सहभागी हुन पाए आफू पनि चर्चामा आइन्छ कि भन्ने लाग्थ्यो । आँट त म हरेक कुरामा गर्छु र तर पुलिस भएपछि समय भने अलिक नमिल्ने भयो । त्यसैले पहिलो, दोस्रो र तेस्रो सिजनसम्म भाग लिने मौकै पाइनँ ।

चौथो सिजनमा पनि सहभागी हुन सक्दिनँ कि भन्ने थियो । काठमाडौंमा फम भर्ने समय सकिइसकेको थियो र नेपालगञ्जमा फर्म भर्ने म्याद एक दिन बाँकी थियो । दौडिएर नेपालगञ्ज पुगें र फर्म भरें । त्यहाँ फर्म भरे पनि भिड्न भने काठमाडौं नै आउनु पर्थ्यो । यता आएर कार्यक्रममा सहभागी भएँ र पहिलो पल्ट नै जितें । त्यो क्षण मेरा लागि एकदमै खुसीको र अनुभवयुक्त थियो । ग्याङ लिडरबाट एकदमै राम्रो प्रतिक्रिया पाएँ ।

सेलेक्ट हुँदाको हर्ष

आफू सहभागी हुन चाहेको कार्यक्रमका निम्ति छनोटमा पर्दा जो पनि हर्षित भइहाल्छ । तीन–चारसय जनाबाट सेलेक्ट हुनु निकै गाह्रो काम थियो । सबैजना स्ट्रङ प्रतियोगी नै थिए ।

त्यहाँ त बोल्न पनि सिपालु हुनुपथ्र्यो । तर, ममा भने बोल्ने बानी थिएन । अरु सबै कुरामा सेलेक्ट भएर पनि बोल्ने कुरामा भने फेल हुन्छु कि भन्ने लागिरहेको थियो । रोडिजमा पर्फर्मेन्सका साथै बोल्न पनि सिपालु हुनुपर्ने रहेछ । नत्र त जतिसुकै राम्रो पर्फर्मेन्स गरे पनि सेलेक्ट नभइने रहेछ । त्यसकारण मैले पनि बोल्न सिकें । रोडिजमा गएर मैले सिकेको कुरा नै यही हो ।

पहिलो अडिसनमा त डराई–डराई बोलेकी थिएँ । धेरै दर्शकले मेरो त्यो अवस्था कार्यक्रममै पनि देखिसक्नु भएकै छ । ‘जज’ ले एउटा प्रश्न गर्दा मैले भने अर्कै जवाफ पो दिएँ कि भन्ने फिल हुन्थ्यो; म बोल्न जानिरहेकी थिइनँ ।

दोस्रो राउण्डमा सेलेक्ट हुँदाचाहिँ एकदमै खुसी लागेको थियो । यो राउण्डमा त पहिलो राउण्डमा सेलेक्ट भएर आएका प्रतियोगीसँग नै ‘ब्याटल’ हुन्छ । यो राउण्डमा चार जनामध्येबाट एक जना छानिन्छ । त्यसमा छानिँदा त म खुसीले रोएँ नै । यो राउण्ड पार गर्दा त रोडिज नै जितेको फिल भयो । यो राउण्डमा फिजिकलदेखि बोल्नेसम्म सबैको अभ्यास र परीक्षण हुन्छ ।

दरबारमार्गमा केटाहरूसँग ग्याङ फाइट

दुई वर्ष अघिको कुरा हो । एक जना केटी साथीको बर्थ डे मनाउन दरबारमार्गस्थित ‘किङ्स लन्ज’ मा पुगेका थियौं । हामी आफ्नै धुनमा ‘बर्थ डे विस’ गरिरहेका थियौं । केटाहरूको हुल आयो र हामीसँग अर्कै खाले व्यवहार पो गर्न थाल्यो । त्यस्तो व्यवहार हामीलाई मन पर्ने कुरै भएन । पहिले सम्झाइ–बुझाइ गर्न खोज्यौं । तर, उनीहरूले हामीमाथि दुर्व्यवहार गर्न खोजे ।

उनीहरू पाँच जनाजति थिए, हामी पनि त्यति नै थियौं । त्यसपछि हामीले ‘किक’ चलायौं र सुरुमा त उनीहरूले पनि ‘किक’ नै चलाए । हामीले चलाएको ‘किक’ ले गति लिन थालेपछि भने केटाहरू भागे । झगडाले निकै ठूलो रूप लिन थालिसकेको थियो; पुलिस नै बोलाउनुपर्ने अवस्था आइसकेको थियो । धन्न पुलिस आइपुगेन; हामी भने घरतिर लाग्यौं ।