भ्रमणशैली: ‘चीलको टापु’ लङ्काबी आइल्याण्ड

डा. डीबी सुनुवार

मले भाषामा ‘लङ्काबी’ शब्दको अर्थ हुन्छ– चीलको टापु । मलेसियाको लङ्काबीमा चील बास बस्ने वन छ । त्यसैले यस ठाउँको नाम नै लङ्काबी रहन गएको पाइन्छ ।

लङ्काबी टापुको सामुद्रिक किनारमा उडिरहेको चीलको ठूलो स्तम्भ बनाइएको छ । चीलकै प्रतीकका रूपमा बनाइएको हो यो ‘लङ्काबी स्ट्याचु’ ।

लङ्काबी पुगिसकेपछि चीलको स्तम्भलाई पृष्ठभूमि बनाएर फोटो खिँच्न किन छुटाइन्थ्यो र ! फोटो त खिँच्नै पर्‍यो, खिँचियो ।

यो आइल्याण्ड ड्युटी फ्री हो । त्यसैले यहाँ कुनै पनि पेय पदार्थहरूको कर तिर्नु पर्दैन । मलेसियामा विनाकर जुवा खेल्न पाइने र विनाकर नै अल्कोहल सेवन गर्न पाइने ठाउँहरू धेरै छन् ।

सिङ्गापुरको चाङ्गी एयरपोर्टबाट लङ्काबी आइपुगियो । घुमघाममा व्यस्त छौं हामी । यतिबेला हामी समुद्री किनारदेखि पहाडसम्म फैलिएको पाँचतारे रिसोर्ट ‘बरजाया’ होटलमा छौं ।

ओहो ! यहाँका वन–पखाको कति राम्रो सदुपयोग । क्या गजबका संरचना बनाइएका छन् वनभित्र; तर वनको विनासविनै ।

तीनदिने लङ्काबी यात्रा तय भएको छ । पर्यटकले खचाखच छ यो सहर । मुस्लिम समुदायका पर्यटक बढी देखिन्छन् । गाइड स्माइलले यस आइल्याण्डबारे जानकारी दिँदैछन् हामीलाई ।

लङ्काबी आइल्याण्ड केदाह स्टेटअन्तर्गत पर्ने एउटा नगर हो । यो सहरलाई ‘सिटी अफ टुरिज्म’ भनेर पनि चिनिन्छ । यो आइल्याण्डमा करिव पैंसट्ठी हजार मानिसको बसोवास छ ।

यहाँ बढीजसो दक्षिण–पूर्वी एसिया भ्रमण गर्ने पर्यटकहरू आउँछन् । लङ्काबीपछि आइल्याण्डको उत्तर–पश्चिम भागमा अवस्थित छ ‘पाडाङ्ग मातसियत’ भन्ने ठाउँ । अबको यात्रा तय भएको छ त्यतै ।

लङ्काबी यही विमानस्थल हो, जहाँबाट प्रायः संसारभरकै पर्यटकहरू यो राष्ट्रमा भित्रन्छन् । केदाह पेनाङ र फुकेतका पर्यटक भने ‘फेरी’ भनिने सानो आकारको पानीजहाजबाट पनि पुग्न सक्दछन् ।

लङ्काबीमा पर्यटकको आकर्षणका केन्द्र भने इगल स्क्वायर, ओरियन्टल भिलेज, केबल कार, ह्याङ्गिङ ब्रिज, तेलागा तुजुह फल्स, लेजेन्ड गार्डेन, अन्डर वाटर वल्र्ड, गेलेरिया पेरदाना, कोकोबिच, क्रोकोडायल एडभेन्चर ल्याण्ड आदि हुन् ।

पर्यटकहरूलाई यहाँ आकर्षित गर्नका निम्ति बिच भलिवल, फुटबल, बोट रेसिङ, नेचर वाक्, वाटर स्पोर्ट, गल्फ, इगल फिडिङ इत्यादि ‘प्याकेज टुर’ को व्यवस्था मिलाइएको हुन्छ ।

यहाँ आइल्यान्ड होपिङ टुर, बर्ड वाचिङ टुर, मेरिनाज साइट सिइङ टुर, जङ्गल ट्रेकिङ इन रेन फरेस्ट, हेलिकप्टर जोयराइड, जेट स्की सफारी टुर, सनराइज भ्युलगायतका आकर्षक कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ । यो आइल्यान्डैभरि नै रेस्टुरेन्ट, बार, लन्ज, नाइट क्लब, डिस्को थेक, क्यासिनो, सिनेमा र सर्कसजस्ता अनेकौं मनोरञ्जनका सुविधाहरू उपलब्ध छन् ।

यहाँ मेगा मल, द जोन जस्ता ड्युटी फ्री सपिङ कम्प्लेक्सहरू छन् । संसारभरिबाट लङ्काबीमा ओइरिएका हरेक पर्यटकहरूलाई आ–आफ्नै रुचिअनुसार मनोरञ्जन गर्ने व्यवस्था सरकारले नै मिलाइदिएको छ ।

ओहो ! मलेसियाको दृश्यावलोकन त अझै बाँकी नै छ । तर, यसपालिको यात्रा भने छोट्याउँदै फर्कनु छ । नेपाल फर्कने तयारी भयो । त्यसैकारण लङ्काबी एरपोर्टबाट ग्यान्तिङ हाइल्याण्डतर्फको यात्रा सुरु गरियो ।

ग्यान्तिङ हाइल्याड जान गाइड र गाडीले बाहिरै पर्खिरहेका छन् । हामी सिधै होटलतर्फ लाग्छौं ।

बरजया होटल रिसोर्ट यस आइल्याण्डकै सबैभन्दा ठूलो होटल हो । यहाँ स्वीट रूम नै साढे तीन सयभन्दा बढी छन् । रेस्टुरेन्ट–बारका आउटलेटहरू त कति हुन्, कति !

आइल्याण्डका निकै महँगा होटल छन् यहाँ । मलेसियास्थित ‘चीलको टापु’ मा आएर इगल स्क्वायरमा पुग्दा चीलसम्बन्धी एउटा कथा याद आयो ।

चीलको औसत आयु करिव सत्तरी वर्ष मानिन्छ । चीलको जीवनले आधा उमेरसम्म निकै कठिन चुनौतीको सामना गर्छ । धेरैजसो चीलहरू त सङ्घर्ष गर्दागर्दै मर्छन् । तर, कठिन सङ्घर्ष पार गर्न सक्ने चीलहरू भने बाँकी सम्पूर्ण जीवन शानदार ढङ्गले बिताउन समर्थ हुन्छन् ।

चील जब चालीसौं वर्षमा पुग्दछ तब उसलाई एक प्रकारको बुढ्यौली र अशक्तताले छुन्छ ।

खुट्टाका नङ्ग्राहरूले कुनै कुरा पनि समात्न सक्दैनन् । चुच्चोको ठुँडले कोर्तन र चुच्चाले च्याप्न पनि सक्दैन । बाक्ला हुँदै गएका प्वाँखहरू, भारी बन्दै गएका पखेटाहरू र अरट्ठ परेको छातीले केही पनि गर्न सकेका हुँदैनन् ।

यतिबेला चीलका सामु केवल दुई उपायहरू मात्र बाँकी रहन्छन् । पहिलो उपाय हुन्छ– रूखमा ठोकिएर या पहाडमा बजारिएर वा पानीमा डुबेर या आगोमा हाम्फालेर मर्ने; अनि दोस्रो उपाय– पाँच महिनासम्म कठिन प्राकृतिक प्रक्रियाबाट गुज्रेर नयाँ जीवन प्राप्त गर्ने । दोस्रो उपायका निम्ति भने निकै पीडादायी जीवन भोगेर नङ्ग्रा र चुच्चालाई पहाडमा उधिन्नु, कोतर्नु तथा चुच्चा र नङ्ग्रालाई फुकाल्नुपर्ने हुन्छ । नयाँ नङ्ग्रा र चुच्चा पलाउन चीलले पाँच महिना कुर्नपर्छ र पुराना प्वाँखहरूलाई उखेलेर हटाउनुको दर्दनाक पीडा समेत सहनुपर्छ ।

पाँच महिनापछि नयाँ नङ्ग्राहरू पलाउन थाल्छन् । नयाँ चुच्चाको विकास हुन्छ र नयाँ प्वाखहरू उम्रन थाल्छन् । त्यसपछि चीलले पुनर्जीवन पाउँछ । आफूले नयाँ जीवन पाएको खुशीयालीमा चीलले शानदार ढङ्गबाट आकासमा निकै उचाइको उडान भर्छ । र, चीलले त्यसपछिको बाँकी उमेर (करिव तीस वर्ष) भने पक्षीहरूमध्यकै उच्च कोटीको प्राणी भएर बाँच्दछ ।

पछिल्लो जीवन–अवधिमा चीललाई खासै ठूलो कठिनाइ पर्दैन । बाँकी उमेरमा उसलाई केहीले पनि खासै बिगार गर्न सक्दैन ।

चीलको जस्तै मानिसको जीवनमा पनि कठिनाइहरू आउँछन् । समयसापेक्ष परिवर्तन आउनुअघि पुरानो विचार, पुरानै बानी–व्यवहार र पुराना संस्कार–संस्कृति चुनौती बनेर खडा हुन्छन् । बाँच्नका लागि पनि धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

अतः हामीले पनि चीलको जीवनबाट सिकेर सङ्घर्षका दिनहरूमा धैर्य र साहसका साथ जिउनु र जित्नुपर्ने हुन्छ । यसो गर्न सकेमा चीलको पछिल्लो तीसवर्षे उमेरमा जस्तै मान्छेको पनि विजयी उमेर प्राप्त हुन्छ र त्यसलाई सफल, सार्थक एवम् आनन्दमयी बनाउन सकिन्छ ।

प्रसङ्ग जोडौं यात्राकै । बरजाया समुद्रको किनारमा अवस्थित छ यतिबेला हामी रहेको होटल । पहाडी जङ्गलमा अवस्थित यस रिसोर्टमा पाँचतारे होटलका सुविधाहरू उपलब्ध छन् । लङ्काबीमा बरजाया होटलले उपलब्ध गराएको स्पाको अनुभव लिइयो । प्राकृतिक चिकित्सामा स्पाको ठूलो महत्व छ ।

रोप–वेमा चढेर यहाँको सबैभन्दा अग्लो पहाडमा अवस्थित एशियाकै सबैभन्दा अग्लो र अनौठो ‘बाटु बुन्डोक’ पुलमा पुगियो । यहाँ अन्तर्राष्ट्रिय फिल्महरूको छायाङ्कन हुँदै रहेछ । यहाँबाट थाइल्याण्डका धेरै ठाउँहरू देख्न सकिन्छ ।

समुद्रदेखि पहाडसम्म, यस टापुका सबै कुना–काप्चाको भ्रमण सकेर केदाह फार्म भिजिटका लागि फेरि सानो जहाज चढियो । र, सोही यात्राका क्रममा मलेसियास्थित मेनल्याण्ड पुगियो ।

कम्पनीले संसारभरिका लिडरहरूलाई बनाएको रिचमोण्ड भिल्ला र स्टारगेट कोलोनीको भ्रमण पनि हाम्रो प्याकेजमा विशेषरूपले समावेश छ । आ–आफ्ना ‘ड्रिम होम’ रोजिएका छन् । केदाहको फार्म भिजिट सकिएपछि सोही दिन एशियाकै सबभन्दा लामो मानिने केदाह प्रान्तको सुन्दर टापु ‘पिनाङ’ पुगियो ।

पिनाङमा धेरै नेपालीहरू काम गर्दा रहेछन् । यो सुन्दर सहरमा नेपाली साथीहरू थुप्रै भेटिए ।

समूह–समूहमा बाँडिएर पेनाङको सिटी टुर गरियो ।

त्यहाँबाट फर्कंने क्रममा एक रात सिङ्गापुरको चाँगी एयरपोर्टभित्रको होटलमा बित्यो । त्यसपछि यो यात्रा टुङ्ग्याउँदै तयार भइयो काठमाडौं उडानका लागि । र, अन्ततः ल्याण्ड भइयो काठमाडौंमा ।