सफल हुनु छ ? यसरी गर्ने संवेगको व्यवस्थापन
गोपाल ढकाल
जो–कसैले अभिव्यक्त गर्ने ‘भावनात्मक प्रस्तुति’ नै यथार्थतः ‘संवेग’ हो । माया, प्रेम, दुःख, सुख, आनन्द, चिन्ता, पीर, रिस, डाहा, इष्र्या आदि सबै मानवीय संवेगहरू हुन् । मनोविज्ञानको भाषामा भन्नुपर्दा सुख, दुःख, हाँसो, रोदन आदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ ।
सुख, हाँसो, खुसी भावनासँग सम्बन्धित विषय हुन् । धन–सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुँदैन । सधैं सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो । त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने कला हुन्छ ।
सबैमा संवेगात्मक विकास एकै खालको हुँदैन । आफ्नो आन्तरिक अनुभूतिको विकास नै संवेगात्मक वा भावनात्मक विकास हो । संवेगले कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पु¥याउँदछ । सफल र सुखमय जीवनलाई संवेगले नै निर्धारण गर्छ । संवेगलाई सहीरूपमा व्यवस्थापन गर्न सकिएन भने त्यसले जीवनमा समस्या निम्त्याउँदछ ।
संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन् भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इष्र्याजस्ता संवेग नकारात्मक संवेग हुन् । भावनात्मक सन्तुलन नहुँदा तथा रिस, चिन्ता, इष्र्या, डाहजस्ता संवेगलाई व्यवस्थापन गर्न नसक्दा आन्तरिक शक्ति खल्बलिन पुग्दछ; आत्मविश्वास पनि कम भएर जान्छ ।
कतिपय मानिस भावनात्मकरूपले कमजोर हुन्छन । चाँडो रिसाउने, छिटै उत्तेजित हुने र आक्रोश पोखिहाल्ने, चाँडै दुःखी हुने, सानातिना कुरामै चित्त दुखाउने, आत्तिने, रिस तथा आरिस गर्ने, असुरक्षित महसुस गर्ने, कुण्ठा पोख्ने इत्यादि गर्दछन् । बुद्धि–विवेक र चेतनालाई जाँच्ने मुख्य कसी भनेकै उसको संवेगात्मक व्यवहार हो । कसैको व्यक्तित्व एवम् स्वभावलाई मूलतः उसले/उनले प्रदर्शन गरेको संवेगका आधारमा नै विश्लेषण गरिन्छ ।
कसैले व्यक्त गर्ने स्वभाव र भावनात्मक प्रस्तुतिलाई ‘संवेगिक बुद्धि’ भनिन्छ । संवेगलाई नियन्त्रण र सदुपयोग गर्न सक्दा नै सफलता हात पर्छ । ‘दुःखमा नआत्तिने र सुखमा नमात्तिने’ व्यक्तिलाई समाजमा सबैले मान्छन्; केही पर्दा सबैले उसैको सरसल्लाह लिन्छन् । त्यस्तो व्यक्तिलाई समाजमा ‘बौद्धिक व्यक्तित्व’ का रूपमा हेरिन्छ । यसविपरीत झट्ट रिसाइहाल्ने र रिसले ‘अन्धो’ हुने व्यक्तिलाई भने कसैले पनि राम्रो मान्दैन; प्रायः सबैले ऊसँग सङ्गत गर्न समेत रूचाउँदैनन् ।
खुसी भएका बेला मानिसको मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हर्मनको सक्रियता बढ्छ, जसले सोच–विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ । सकारात्मक संवेग समेत यसैबाट पैदा हुन्छ । रिस, लोभ, डाहजस्ता नकारात्मक संवेग पैदा भएका बेला मस्तिष्कमा तनाव उत्पन्न हुने हर्मनको सक्रियता बढ्छ । यसले तनावको स्थितिमा झन् बढोत्तरी ल्याउँछ ।
कतिपय अवस्थामा मानसिक रोगका कारण पनि संवेगलाई नियन्त्रण गर्न सकिइरहेको हुँदैन । ‘मेनिया’ भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्ता व्यक्तिलाई संवेग नियन्त्रण गर्न कठिन हुन्छ । ‘सिजोफेनिया’ जस्तो कडा मानसिक रोग लागेकाहरूलाई पनि सोच–विचार तथा भावनाको सन्तुलन गर्न कठिन हुन्छ । ‘व्यक्तित्व’ सम्बन्धी समस्या भएकाहरूलाई पनि भावना सन्तुलित राख्न मुस्किल परिरहेको हुन्छ । संवेगलाई नियन्त्रणमा राख्न नसक्दा ‘न्याउरी मारी पछुतो’ भने झैं हुन्छ ।
समाजमा हत्या–हिंसा, लडाइँ, झै–झगडा, मारपिटजस्ता घटनाहरू घटिरहेका हुन्छन् । व्यक्तिले संवेगलाई नियन्त्रण गर्न नसक्दा नै यस्ता घटना घटन पुग्दछन् । संवेगलाई नियन्त्रण गर्न नसक्दा जो–कसैले पनि जीवनमा धेरै दुःख, आरोप–प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्छ; अरूसँगको सम्बन्ध बिग्रन जान्छ ।
वस्तुतः संवेग नियन्त्रण गर्न नसक्नु भनेको मानसिक अस्वस्थताकै सङ्केत समेत हो । पशुले र मानिसले व्यक्त गर्ने संवेगात्मक व्यवहारमा ठूलो भिन्नता छ । ‘चेतना’, ‘विवेक’, ‘ज्ञान’ र ‘शिक्षा’ नै यो भिन्नताका मुख्य कारण हुन् । अतः ‘ज्ञानी’ व्यक्ति आफूप्रति कसैले खराब व्यवहार गरिहाल्दा वा आरोप लगाइदिँदा समेत ‘शान्त’ र ‘शालीन’ नै देखिन्छ तर ‘मूर्ख’ व्यक्ति भने झट्ट प्रतिक्रिया देखाउँछ र ‘आगो ओकल्न’ थाल्दछ ।
‘इख नभएको व्यक्ति र बिख (विष) नभएको सर्प काम लाग्दैनन्’ भन्ने नेपाली उखान छ । मनमा ‘इख’ त राख्यो तर त्यसलाई व्यवस्थापन र सदुपयोग गर्न जानेन भने सकारात्मकभन्दा नकारात्मक परिणाम नै निम्तन्छ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा ठूलठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त भएर सूक्ष्म अवलोकन एवम् मूल्याङ्कन गरी तिनको प्रकृति तथा स्वरूपबारे सचेत हुन सक्नुपर्छ । अरूको रूचि, इच्छा र भावनात्मक अवस्था एवम् ‘मुड’ लाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सक्दा नै सफलता हात लाग्छ । यसो हुन नसक्दा असमझदारी, कलह र वैमनस्यता अपरिहार्य हुन्छ ।
अरूको मानसिक अवस्था बुझ्न सक्नु ठूलो कुरा हो । राजनीतिकर्मी, सेल्सम्यान, व्यापारी, काउन्सिलर आदिमा यो क्षमता अपेक्षाकृतरूपमा नहुँदा तिनले खासै सफलता पाउन सक्दैनन् । अरूको मनस्थिति र भावना बुझेर व्यवहार गर्दा सम्बन्ध राम्रो बन्छ; उनीहरूलाई सफलता–असफलता, हाँसो–खुसी, सुख–दुःखमा साथ दिन सकिन्छ । संवेगात्मक बुद्धिका माध्यमबाट नै कसैले प्रदर्शन गरेका सकारात्मक एवम् नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत मिल्दछ ।
आफ्नो भावना तथा संवेगात्मक अवस्थालाई बुझेपछि नै आफैंलाई ढाडस दिन अनि आफैंलाई उत्प्रेरित गर्न सकिन्छ । आफैंभित्रबाट उत्प्रेरित र अभिप्ररित हुन सक्दा मात्र जीवनमा सफलता हात लाग्छ । आफ्नै भावनालाइ चिन्न नसक्दा जीवनमा कहिल्यै सन्तुष्टि मिल्दैन । आफ्नो संवेगलाई बुझ्न सक्दा हौसला, उत्साह र समर्पणभाव जागेर आउँछ ।
सबै गलत क्रियाकलापका पछाडि सम्बन्धित व्यक्तिहरूले आफूमा भएको संवेगलाई नियन्त्रण गर्न नसक्नु मुख्य कारकतत्व रहेको पाइन्छ । लोभ–लालच र ‘छिटै धनी हुने’ तीव्र महत्वाकाङ्क्षाका कारण नै कसैले चोरी गर्छ; आफूले चाहेवमोजिम नहुँदा अरूलाई गाली गर्छ र झगडा गर्छ; काम बिग्रँदा र दुःख पर्दा निराश भएर जाँड–रक्सी तथा विभिन्न नशाको कुलतमा फस्न पुग्दछ ।
अरुको त कुरै छाडौं, गौतम बुद्धलाई समेत एक पटक यस्तै संवेगात्मक समस्याले व्याकुल बनाएको पाइन्छ । वृद्ध–वृद्धा, रोगी र मृतकहरू देखेर गौतम बुद्ध निकै दुःखी भए । ‘मानिस कसरी सुखी हुन सक्छ त’ भन्ने कुराको खोजी गर्न भनेर नै उनी एक दिन उनी घरै छाडेर जङ्गल पसे ।
त्यसपछि बुद्ध एकान्तमा बसेर भोकभोकै ‘तपस्या’ गर्न थाले । धेरै वर्षसम्म उनले यसरी नै तपस्या गरिरहे । क्रमशः उनी कमजोर हुँदै गए र नाजुक अवस्थामा पुगे । तैपनि ‘समाधान’ भने केही पनि भेटेनन् । भोक पनि एउटा संवेग नै हो, जसलाई नियन्त्रण गर्न गाह्रो पर्दछ । यो संवेगले बुद्धलाई पनि सताइरह्यो । जतिसुकै गर्दा पनि उनीले सुखको अनुभूति गर्नै सकेनन् । अन्ततः उनमा ‘भोकै बसेर तपस्या गर्नु बेकार रहेछ’ भन्ने चेत खुल्यो र खाना खान थाले ।
‘तपस्या’ गर्ने क्रममा बुद्धले सबै किसिमका संवेगहरूलाई नियन्त्रण गर्न सिके । उनलाई सुखको अनुभूति हुन थाल्यो । सारतः त्यही नै उनको ‘ज्ञान प्राप्ति’ थियो ।
बुद्धले ‘सधैं साँचो बोल्नू’, ‘चोरी नगर्नू’, ‘लोभी नहुनू’, ‘सबै प्राणीमाथि दया गर्नू’, ‘शुद्ध आचरण राख्नू’, ‘सानो भनेर हेला नगर्नू’, ‘ठूलाको आज्ञा पालना गर्नू’ आदिजस्ता ‘उपदेश’ दिँदै ती ‘उपदेश’ पालन गरेमा ‘सुखी भइने’ बताएका छन् । संवेग नियन्त्रण गर्न नसक्दा नै मानिसले चोरी गर्ने, झुटो बोल्ने र आपराधिक क्रियाकलापमा सङ्लग्न हुने भएकाले ती काम नगर्नू भनेर बुद्धले सारतः संवेगलाई नियन्त्रण गर्न नै ‘उपदेश’ दिएका हुन् ।
सबै किसिमका संवेगलाई नियन्त्रण गर्न र तिनलाई सदुपयोग गर्न सक्नु ठूलो सिप र क्षमता हो । यही क्षमताले नै जो–कसैलाई सफलताको चरमचुलीसम्म पुर्याउँदछ ।