खेल, रजश्वला, खानपान र यौन जीवन
प्रा.डा. दिनेश बाँस्तोला
शारीरिक तथा मानसिकरूपमा पुरुष र महिलाको वृद्धि–विकास फरक किसिमले हुने गर्छ । महिला खेलाडीका सन्दर्भमा कुरा गर्नुपर्दा उमेरसमूहको छनोट सन्तुलन नभएको खण्डमा खेलमा राम्रो सफलता नमिल्न सक्दछ । कुरा खेलकुदको मात्र होइन, उचित उमेरसमूहको सन्तुलत नभएमा यौनजीवन समेत सुखद् नहुन सक्दछ ।
यस आलेखमा भने महिला खेलाडीको खेल, खेलजीवन तथा खानपानलगायतबारे चर्चा गरौं । खेल सन्तुलित नभएको खण्डमा महिला खेलाडीमा क्रमभङ्गता, रजश्वला नहुने तथा हड्डीमा छिद्र पर्ने जस्ता समस्या हुन सक्छन् । शारीरिक तथा मानसिकरूपमा अस्वस्थ भएमा यौन जीवन सुखद् त नहुने नै भयो ।
खानपानको क्रमभङ्गता: यस्ता दुष्परिणाम
तौल घटाउने नाममा खानपान कम गर्दा शरीरलाई आवश्यक शक्तिको पूर्ति हुन सक्दैन । लामो समयसम्म पर्याप्त खानपान नगरेमा खानपानमै क्रमभङ्गता हुन्छ र त्यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसो भएमा खानपान गर्न मन नलाग्ने समस्या हुन्छ । खाने क्रमभङ्गता भएमा खाने कुरा देख्नासाथ बान्ता हुनेजस्ता समस्या पनि हुन सक्छन् । यस्तो अवस्थामा खेल खेल्दा नतिजा आफ्नो हातमा आउने सम्भावना कमै मात्र हुन्छ ।
यथेष्ट अर्थात् सन्तुलितरूपमा खानपान नगरेमा यौनमा पनि रुचि हुँदैन र सुखद् यौनको कल्पनासम्म पनि गर्न सकिँदैन । यस्तो अवस्थामा यौन सम्पर्क गर्नु पनि हुँदैन । यौनजीवन तथा खेललाई आनन्दित तथा सन्तुलित बनाउन सन्तुलित खानपान जरुरी हुन्छ र कम्तिमा छ घन्टा आनन्दका साथ निदाउनुपर्छ ।
सन्तुलित खानपान नहुँदा शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने शक्ति प्राप्त हुँदैन । धेरै व्यायमका कारण पनि शक्तिको कमी हुन्छ । यो अवस्थामा गर्दा हर्मनहरू निस्कन्छन् । सामान्यरूपमा हर्मनको नियमनका कारण नै रजश्वला हुने हो ।
खेलकुदको अभ्यास र खानपान एक्कासि बदलिएमा रजश्वलामा समेत समस्या निम्तने जोखिम हुन्छ । यो स्थितिमा खेल र सन्तुलित खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । कडा खेलकुद तथा खानपानमा अनसन्तुलनका कारण कतिपय महिलामा शरीर धेरै चलायमान नहुने तथा रजश्वला नै नहुने समेत जोखिम हुन्छ । खानपान तथा तालिमका कारण यौनजीवनलगायतमा निम्तन सक्ने समस्याप्रति सजग हुनु आवश्यक हुन्छ ।
शरीर कार्यविज्ञानअनुसार रजश्वलापूर्व, रजश्वलाको अवधि र रजश्वला भएको करिव दस दिन पछिसम्म क्षमता प्रदर्शन गरेर राम्रो परिणामा ल्याउन कठिन हुन्छ । यस्तो अवस्थामा खेल खेल्दा ध्यान दिनुपर्छ । यो अवस्थामा यौनसम्पर्क गर्दा समस्या निम्तन सक्छ । यस्तो अवस्था खेलकुदमा भाग लिँदा शरीर दुख्नेलगायतका समस्या हुन्छन् ।
हर्मन सन्तुलित भएको अवस्थामा नै यौनेच्छा जाग्छ, आकाङ्क्षा बढ्छ, क्रियाकलाप पनि स्वाभाविक हुन्छ । हर्मन नै असन्तुलन भएको अवस्थामा यौन सन्तुष्टि मिल्दैन । अतः महिला खेलाडीहरूले सन्तुलितरूपमा खेलकुद तथा खानपान गर्ने कुरामा मनग्गे ध्यान पुर्याउनुपर्छ ।
रजश्वलाका बेला हर्मनमा उतारचढाव हुन्छ । त्यसैले यस्तो अवस्थामा कडा किसिमका खेल नखेल्नु तथा यौनसम्पर्क नगर्नु नै उपयुक्त हुन्छ । डिम्ब निष्काषन हुने अवस्थामा घुँडाको अगाडि भागको लिगामेन्टमा चोट लाग्ने जोखिम पनि त्यत्तिकै हुन्छ; त्यसैले यो विषयमा ध्यान पुर्याउनुपर्छ ।
खेल र यौनमा प्रभाव
खानपान तथा खेलकुदको असन्तुलनका कारण महिला खेलाडीमा स्ट्रोजेन र पोषणको कमी हुन्छ । यसो हुँदा शरीरमा क्याल्सियमको कमी हुन्छ, जसले गर्दा खेल र यौन दुवैमा कमजोर हुन्छन् । अझ भन्नुपर्दा, महिलाको खानपान र खेलकुद दुवै असन्तुलित भएमा यौनजीवनमा नै भद्रगोलको स्थिति सिर्जना हुन सक्छ ।
खेलजीवन, यौनजीवन र समग्र जीवनका लागि विशेषतः महिला खेलाडीले सन्तुलित खानपान तथा सन्तुलित खेलमा ध्यान दिनैपर्छ । र, उमेरसमूह तथा रजश्वलाको अवस्थालाई पनि ध्यान दिनु आवश्यक हुन्छ ।