जान्नैपर्ने जीवनोपयोगी वनस्पति
होलिस्टिक संवाददाताजाइफल
जाइफल नेपाली भान्छाको एक लोकप्रिय मसला हो । बीउ वा फलका रूपमा उपलब्ध हुने यो मसलालाई प्रायः पिसेर धुलो बनाई प्रयोग गरिन्छ । यसको स्वाद अलि मन्द खालको हुन्छ । यो प्रायः ‘डेजर्ट’ र ‘करी’ हरूमा प्रयोग गरिन्छ । हिजोआज भने जाइफललाई चिया र ‘मल्ड वाइन’ जस्ता पेयहरूमा समेत प्रयोग गर्न थालिएको छ ।
यो वनस्पतिलाई सामान्यतया स्वास्थ्य लाभका दृष्टिले भन्दा पनि स्वादका लागि प्रयोग गरिन्छ । यद्यपि जाइफलमा शक्तिशाली तत्वहरू हुन्छन्, जसले धेरै रोगहरूलाई रोक्न र लागिहालेका कतिपय रोगलाई नियन्त्रण गर्न महत्वपूर्ण सहयोग पु¥याउँछ ।
जाइफलमा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसबाट फेनोलिक कम्पाउन्डहरू, इसेन्यिल आयल र अन्य पिग्मेन्टहरू पनि प्राप्त हुन्छन् । यी सबै तत्वहरू शरीरभित्रका कोषहरूको क्षति रोक्न र दीर्घरोगहरूबाट बचाउन सहयोगी हुन्छन् ।
अध्ययनहरूले देखाएअनुसार जाइफलमा हानिकारक ब्याक्टेरियाहरूका विरुद्ध लड्ने गुणहरू हुन्छन् । जाइफलले रगतमा चिनी (सुगर) को मात्रालाई नियन्त्रण गर्न र हृदयरोगको जोखिमलाई कम गर्न समेत मद्धत पुर्याउँछ ।
लोकप्रिय यो मसलालाई भान्सामा विभिन्न प्रकारले प्रयोग गरिन्छ । यसलाई एक्लै वा अलैंची, दालचीनी, ल्वाङ आदि मसलाहरूसँग मिसाएर प्रयोग गर्न सकिन्छ । यसले शरीरमा न्यानोनोपन बढाउने र स्वादमा मिठास थप्ने भएकाले सामान्यतया पाई, केक, कुकिज, ब्रेड, फ्रुट सलाद, कस्टर्डहरूलगायतका ‘डेसर्ट’ हरूमा जाइफल प्रयोग गर्ने क्रम बढिरहेको छ ।
मासु र मासुजन्य पकवानहरू (पोर्क चप र मटन करी आदि) मा जाइफल प्रयोग गर्दा एकदमै मिठासयुक्त स्वाद आउँछ । मासुका अलावा आलु, बटरनट स्क्वासजस्ता तरकारीहरूमा पनि यसको प्रयोग गरिँदा ती परिकार निकै स्वादिला बन्दछन् । चियामा जाइफल हालेर खाने गर्दा स्वास्थ्यमा विशेष लाभ पुग्ने कुरा विभिन्न अध्यनहरूले देखाएका छन् ।
दुखाइ कम गर्ने, अपचको समस्या कम गर्ने, शरीरलाई डिटोक्सिफिकेसन गर्ने, छाला स्वस्थ राख्न मद्धत पुर्याउने, अनिद्रा कम गर्ने, शरीरको रोग प्रतिरोधात्मक प्रणालीले मजबुत राख्न मद्धत गर्ने, ल्युकेमियालाई रोक्ने र रक्तसञ्चार प्रणालीमा सुधार ल्याउनेजस्ता महत्वपूर्ण गुण जाइफलमा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
सुगन्धकोकिला
सुगन्धकोकिलाको वैज्ञानिक नाम सिनामोमुम ग्लाउसिसेन्स हो । यसको फल वास्तवमा नामअनुसारकै सुगन्धयुक्त हुन्छ । यो वनस्पति नेपालका पश्चिमी भेगको जङ्गलमा व्यापकरूपमा पाइन्छ ।
यो वनस्पति नेपालकै रैथाने बिरुवा हो । यसको रुख १५ मिटरसम्म अग्लो र ५ फिटसम्म मोटाइको हुन्छ । यो वनस्पतिको मुख्य उपयोगी भाग भनेको यसका फल, बोक्रा र काठ नै हुन् । यसका फूल स–साना र सेता रङ्गका हुन्छन् । दुईदेखि साढे दुई सेन्टीमिटरसम्मको मोटाइ भएका स–साना भेट्नोमा यसका फूल फुल्दछन् ।
सुगन्धकोकिलाको फल भने करिव ३ सेन्टिमिटर लम्बाई र १० देखि १२ सेन्टिमिटरसम्म चौडाई भएका र तल्लो भागमा कपजस्तो सामग्रीले ढाकिएका गोलाकार स्वरूपका हुन्छन् । यसका फल पाकेपछि कालो रङ्गका हुन्छन् । सुगन्धकोकिलाको फल कात्तिकदेखि पुससम्ममा पाक्दछन् ।
यसको फल सङ्कलन वा बीउ भने कालो रङ्गको भएपछि मात्रै टिप्नु पर्दछ । फल टिपिसकेपछि तीनदेखि पाँच दिनसम्म पारिलो घाममा राम्ररी सुकाउनुपर्छ । फल राम्रोसँग सुकिसकेपछि बोरा वा कपडाको थैलोमा हालेर मुख बाँधी हावा छिर्ने ठाउँमा भण्डारण गरिन्छ र तेल निकाल्ने (पेल्ने) बेलामा झिकेर प्रयोग गरिन्छ । ‘स्टिम डिस्टिलेसन’ प्रविधिबाट सुगन्धकोकिलाको सुकेका फलबाट सुगन्धित तेल उत्पादन गरिन्छ ।
सुगन्धकोकिलाको सुगन्धित तेलमा मुख्यतः मिथाइल सिनामेट र सिनियोल नामक रसायन प्राप्त हुन्छ । यसको बीउबाट निस्कने फ्याटी एसिडमा लोरिक एसिडहरू प्राप्त हुन्छन् । यसको तेल पहेंलो रङ्गको हुन्छ र यसबाट कपूरजस्तो मसलादार सुगन्ध आउँछ ।
सुगन्धकोकिला फलको बोक्राबाट सुगन्धित तेल निकाली अत्तर बनाउनमा प्रयोग गरिन्छ । तेल निकालिसकेपछि बाँकी रहेको छोक्रा भने सिन्के धुप बनाउन प्रयोग गरिन्छ । यसको सुगन्धित तेल, काठ र बोक्रामा कपुरको केही मात्रा हुने भएकाले यो वनस्पतिलाई आयुर्वेद चिकित्सा पद्धतिमा औषधिकै रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ ।
यसको तेललाई ‘स्टिमुलेन्ट’ का रूपमा विभिन्न परम्परागत औषधिमा प्रयोग गरिन्छ । यसको काठ र बोक्रालाई पानीमा भिजाएर रस निकाली औषधि बनाउन प्रयोग गरिन्छ । यो वनस्पतिको काठलाई विभिन्न निर्माण सामग्रीका रूपमा समेत प्रयोग गरिन्छ ।
अन्य थुप्रै इसेन्यिल आयलहरूजस्तै सुगन्धकोकिलाको तेल पनि साबुन, डिटर्जेन्ट, सौन्दर्य प्रशाधन, मसाज तेल, लोसन, स्याम्पु, अत्तरलगायतका उत्पादनहरूमा प्रयोग गरिन्छ । सहरी सुन्दरताका लागि पनि यसका बिरुवा रोप्ने गरेको पाइन्छ । हराभरा देखिने भएकाले घरको बगैंचामा पनि यसका बिरुवा रोप्न सकिन्छ । सडकको बीचमा यसका बिरुवा रोपिँदा प्रदूषण समेत कम हुने विश्वास गरिन्छ ।