सुखद् र सफल दाम्पत्य जीवनको सूत्र
गोपाल ढकाल
फरक–फरक सोचाइ, विचार र इच्छा–आकाङ्क्षा भएका अनि बेग्लाबेग्लै संस्कारमा हुर्के–बढेर वयष्क भएका दुई व्यक्तिहरू वैवाहिक जीवनमा बाँधिएपछि सानातिना जटिलता र अप्ठ्यारा देखापर्नु स्वाभाविकै हो । वैवाहिक जीवनमा समायोजित हुन सुरु–सुरुमा प्रायः सबैलाई गाह्रो नै हुन्छ । श्रीमान्–श्रीमती दुवैबीच राम्रो समझदारी कायम हुन सके वैवाहिक जीवनको लामो यात्रा तय गर्न सजिलो हुन्छ । श्रीमान्–श्रीमतीलाई एकै रथका दुई पाङ्ग्रा मान्ने हो भने उनीहरूबीचको समझदारी नै वैवाहिक यात्रामालाई सही गन्तव्यमा पुर्याउने सारथि बन्दछ ।
हाम्रो समाजमा भने श्रीमान्–श्रीमतीबीचको झगडा वा खटपटलाई ‘परालको आगो’ का रूपमा लिइन्छ । अर्थात्, श्रीमान्–श्रीमतीबीचको असमझदारीलाई खासै महत्व दिइँदैन । वस्तुतः आगो त परालकै भए पनि ‘आगो’ नै हो; सहमति र समझदारीको ‘वर्षा’ ले त्यसलाई समयमै निभाउन सकिएन भने अर्कै रूप नलेला भन्न सकिँदैन । अन्ततः त्यही ‘आगो’ ले पूरै दाम्पत्य जीवनलाई नै जलाइदिएर तहस–नहस पारिदिन सक्छ ।
हाम्रो समाज दिन–प्रतिदिन जटिल बन्दै गएको छ । महिलामाथि हुने दमन तथा घरेलु हिंसाका घटनाहरू पनि बढ्दै गएका देखिन्छन् । महिलामाथि थिचोमिचो र अन्याय भइरहेका गुनासा सशक्तरूपमा उठ्न थालेका छन् । महिला अधिकारका नाराहरूले नेपाली आकाश गुञ्जामयन हुन थालेको लामो समय भइसक्यो । यस्तो अवस्थामा दम्पत्तीहरूबीच सहमतिको अभाव खड्किएमा ठूलै समस्या आइनपर्ला भन्न सकिँदैन ।
समाजमा श्रीमान्–श्रीमतीबीचको खटपट, झैझगडा तथा पारपाचुकेजस्ता घटनाहरू यत्रतत्र देखिन्छन् । अरुहरूमा घटेका यी र यस्ता घटना देखेर र बुझेर नै पनि आ–आफ्नो वैवाहिक जीवनलाई सुखद् बनाउन दुवै पक्ष सचेत हुन सकनुपर्छ । एक–अर्काप्रति विश्वासको कमी, एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने बानी, एक–अर्काप्रति वफादारिताको अभाव, प्रेम तथा आत्मीयता साटासाट गर्न नसक्नु तथा अनेकौं व्यावहारिक मामिलामा आपसी समझदारी कायम नहुनु आदि नै पारिवारिक कलहका कारण हुन् ।
प्रायः महिलाहरू श्रीमान्ले आफूलाई माया नगरेको, घरपरिवारलाई समय नदिएको, आफ्ना आवश्यकताहरू पूरा गर्न नसकेको आदिजस्ता आरोप लगाउँदै श्रीमान्प्रति गुनासो गर्ने गर्दछन् । आफ्नो श्रीमान् ‘अर्की महिलासँग लागेको’ हुन सक्ने आशङ्का समेत प्रायः महिलाले गर्ने गरेको पाइन्छ ।
त्यस्तै, पुरुषहरू भने आफ्नी श्रीमतीलाई शङ्कालू भएको, सधैं कचकच गर्ने गरेको, झगडिया, अल्छी र ‘घर गरेर खान नसक्ने’ भएकी आदिजस्ता आरोप लगाउँछन् । यस्ता आरोप–प्रत्यारोप र आशङ्काका पछाडि वास्तविकता भन्दा पनि समझदारीको अभाव नै प्रमुख कारण हुन सक्दछ । महिला–पुरुष दुवैले यस्तो यथार्थप्रति ध्यान पुर्याउनु अत्यावश्यक हुन्छ ।
नेपाली समाज पुरुषप्रधान समाज हो । त्यसैले कतिपय अवस्थामा महिलाप्रतिको दृष्टिकोणमै समस्या हुन सक्दछ । ‘श्रीमतीलाई तह लगाएर राख्नुपर्छ’, ‘पोथी बासेको राम्रो होइन’, ‘स्वास्नीसँग घरपरिवारका सबै कुरा खोल्नु हुँदैन’ भन्नेजस्ता रुढीग्रस्त एवम् अन्धविश्वासयुक्त कुसंस्कारले महिलाहरूको भावना र चाहनामाथि चोट पुर्याइरहेको हुन्छ । श्रीमतीको कुनै मूल्य नदेख्ने, उनलाई ‘तल्लो स्तर’ मा राखेर हेर्ने, घरधन्दामा सीमित राख्ने, कामको कदर नगर्नेजस्ता व्यवहारका कारण महिलाहरू आफूलाई दासीका रूपमा व्यवहार गरिएको महसुस गर्न बाध्य हुन्छन् । यसो हुँदा महिलाहरूमा हीनता एवम् तनाव बढ्दछ ।
अर्कातिर कतिपय महिलाहरूले पनि ‘आफ्नो श्रीमान्लाई त मुठ्ठीमै राख्नुपर्छ’, ‘रोएर, कराएर, रिसाएर– जसरी भए पनि आफूले भनेको नै गराएरै छाड्नुपर्छ’ भन्नेजस्ता गलत धारणा राख्ने गरेको पाइन्छ । कतिपय महिलाहरू विवाहपछि ‘आफ्नो श्रीमान्माथि आफ्नै मात्र हक हुने’ जस्तो व्यवहार गर्न थाल्दछन् । महिला–पुरुष दुवै सिङ्गै घरपरिवार र समाजप्रति समेत निकै ठूलो कर्तव्य र जिम्मेवारी हुन्छ भन्ने कुरा बिर्सन पुग्दछन् ।
पुरुष र महिलाका यसखाले खोटपूर्ण सोच र त्रुटिपूर्ण व्यवहारका कारण श्रीमान्–श्रीमतीबीच असझदारी त बढ्छ नै, साथसाथै घरपरिवारका अरु सदस्यहरूसँग समेत मनमुटावको स्थिति सिर्जना हुन्छ । अन्ततः यसले पारिवारिक शान्ति, समृद्धि र प्रगतिलाई नै गम्भीर असर पुर्याउँछ ।
महिलाहरू सामान्यतः स्वभावैले कोमल हृदयका हुन्छन् । सानोभन्दा सानो कुराले समेत उनीहरूको मनमा चोट पर्न सक्दछ । महिलाले नै श्रीमान्को घरमा नै समायोजित भएर बस्नुपर्ने भएकाले विवाहपछिका सुरुआती दिनहरूमा आउन सक्ने समस्याहरूको निराकरणका लागि श्रीमान्ले नै विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । प्रायः पुरुषहरू घरायसी काम गर्न त्यति रुचाउँदैन् । श्रीमान्ले घरायसी काम नगरेकै कारणले समेत कतिपय अवस्थामा श्रीमान्–श्रीमतीबीच मनमुटाव हुने गरेको पाइन्छ । प्रायः पुरुषहरू ‘सानातिना’ कामभन्दा कठिन र ‘बहादुरीपूर्ण’ काम गर्न रुचाउँछन् । आफ्नो ‘बहादुरी’ को प्रशंसा गरेको सुन्न मन पराउँछन् ।
आफ्नी श्रीमती सुशील र विनम्र होओस् अनि आफूले भनेका सबै कुरा सहजै स्वीकार गरोस् भन्ने प्रायः सबै पुरुषको चाहना हुन्छ । यसको विपरीत श्रीमती रिसाहा, झगडालू, ‘मुखाले’ भइदिएमा पुरुषको ‘अहम्’ तथा ‘आत्मसम्मान’ माथि चोट पुग्न सक्दछ । कतिपय श्रीमतीले आफ्नो श्रीमान्लाई इख्याउनका लागि अर्को पुरुषको ‘बहादुरी’ को प्रशंसा गर्दै बढाइचढाइ कुरा गर्ने तथा कतिपय पुरुषले पनि आफ्नी श्रीमतीलाई चिढ्याउन अर्की नारीको रूप र सुन्दरताको बखान गर्ने गरेको पाइन्छ । यसो गर्नुको परिणाम कदापि राम्रो हुँदैन । यस्तो हर्कतले एकापसमा शङ्का तथा असमझदारी मात्रै बढाउँछ । सफल दाम्पत्य जीवनका लागि यी यस्ता अनेकौं कुरामा ध्यान पुर्याउनुपर्छ ।
दाम्पत्य जीवनको सफलताका निम्ति यौन सम्बन्धले पनि निकै ठूलो महत्व राख्दछ । दैनिक कार्यव्यस्तता, आर्थिक समस्या, रोगब्याधि आदिका कारण घरपरिवारमा कहिलेकहीं समस्य पनि पर्न सक्दछन् र आफूले सोचे–भनेजस्तो नहुन पनि सक्छ भन्ने कुरा दुवैले बुझ्नु जरुरी छ । स–साना गल्ती, मनमुटाव, शङ्का–उपशङ्का र असमझदारीले समेत सिङ्गो वैवाहिक जीवनलाई तहसनहस पारिदिन सक्छ भन्ने कुरामा सधैं सजग रहनुपर्छ । ‘आगो’ त आगो नै हो, चाहे ‘पराल’ कै किन नहोस् !
सबैका आ–आफ्नै कमी–कमजोरी गुण–अवगुणहरू हुन्छन् । यस्ता कमी–कमजोरी तथा गुण–अवगुण तथा बानी–व्यहोरालाई केलाएर एकले अर्कालाई दुःखी तुल्याउने, निराश पार्ने र एकले अर्कालाई होच्याउने गर्नु कदापि बुद्धिमत्ता हुँदैन । बरु सुध्रिन र सच्चिन एक–अर्कालाई प्रोत्साहन, सहयोग र प्रेरणा दिनु आवश्यक हुन्छ । विवाहपछि दम्पतिले विगतलाई बिर्सिएर आगामी जीवनका सबै आरोह–अवरोहमा एक भएर आगाडि बढ्ने प्रतिज्ञा गर्नुपर्छ ।
मान्छेको जीवनमा अनेकौं घुम्ती र मोडहरू आउँछन् । त्यस्ता मोडहरूमा दुवैलाई एक–अर्काको साथ, सहयोग र सद्भाव चाहिन्छ । मान्छे आफैंमा पूर्ण कहिल्यै हुँदैन । जो–कसैलाई पनि पूर्ण बनाउने काम उसकै/उनकै श्रीमती वा श्रीमाान्ले गर्नुपर्छ । युवावस्थामा होस् वा वृद्धावस्थामा नै किन नहोस्, दाम्पत्य जीवनको सुखद् अनुभूतिका निम्ति एक–अर्काप्रतिको समर्पण र समझदारी अत्यावश्यक हुन्छ ।