स्टेजदेखि स्टुडियोसम्म: योगेशको सङ्गीतयात्रा

भोलानाथ अधिकारी

साङ्गीतिक क्षेत्रमा पछिल्लो समय व्यस्त सङ्गीतकार, गायक तथा एरेन्जरमध्येका एक हुन् योगेश काजी । ‘फुटेका चुरा’, ‘हेल्लो हाई’, ‘एक्सको छम्मा’, ‘पिरतीको झरी’, ‘  ऐंसेलुको पात’ जस्ता गीतबाट दर्शकको मन जितेका सङ्गीतकार काजीले दर्जनौं फिल्ममा समेत सङ्गीत भरेका छन् ।

उनले हालै बजारमा ल्याएको ‘पानी खोलीको’ गीत यतिबेला दर्शकमाझ लोकप्रिय छ । गतवर्ष लकडाउनका बेला रचना तथा सङ्गीतबद्ध गरी अङ्ग्रेजी नयाँ वर्ष (सन् २०२२) का दिन रिलिज गरिएको हो यो गीत । योगेशले सर्वप्रथम नेपाली चलचित्र ‘नाइके’ को टाइटल गीतमा सङ्गीत सिर्जना गरी गायन तथा एरेन्ज समेत गरेका थिए । त्यो गीत हट भएपछि नै उनलाई स्रोता–दर्शकले राम्ररी चिने ।

त्यसपछि उनले फिल्म ‘तिम्रो–मेरो साथ’ का दुईवटा गीतमा सङ्गीत भरे । नेपालकै ठूलो ‘ब्राण्ड’ मानिएको ‘छक्कापञ्जा’ टिमको फिल्म ‘छ माया छपक्कै’ को ‘जुनको जुनलै’ बोलको गीतमा म्युजिक प्रोडक्सन र एरेन्ज गर्ने मौका समेत उनले पाए । यो गीतले त योगेशलाई चर्चाको शिखरमै पुर्‍यायो । यो गीतपछि त उनले पछाडि फर्केर हेर्नै परेको छैन ।

चलचित्रका र अरु फुटकर गीतमा सङ्गीत भर्ने तथा एरेन्ज गर्ने काममा व्यस्त योगेशले यतिबेला केही फिल्म र म्युजिकको काम गरिरहेको बताए । फिल्म ‘सत्यम्’ का लागि चारवटा गीतको कम्पोज गरिरहेका उनी यसै फिल्मका गीतमा गाउने र सङ्गीत भर्नेदेखि एरेन्जसम्मको जिम्मेवारी आफैंमा आएको सुनाउँछन् ।

जीवनशैली र कार्यतालिका

गायक–सङ्गीतकार योगेश बिहान ६ बजेसम्म उठिसक्छन् । उठेपछि रियाज गर्छन् र घरमै केही घन्टा व्यायाम गर्छन् । ‘आफ्नो शरीरलाई हरेक समय मेन्टेन गरिरहेको हुन्छु,’ सधै योङ देखिने योगेश भन्छन्– ‘खाने कुरा र समयमा पनि मेरो त टाइमटेबल नै हुन्छ ।’

‘उठ्नासाथ तातो पानी खाने र रियाज सुरु गर्ने मेरो बानी छ । रियाज सकेपछि खाना खान्छु र अफिस हिँड्छु,’ उनले सुनाए– ‘त्यसपछि बाहिरफेर भने खासै हिँड्नु पर्दैन ।’ योगेशको अधिकाङ्श समय स्टुडियोमै बित्छ । स्टुडियो पनि घरैमा भएकाले उनी घर र अफिसमा बराबरजसो समय बिताउँछन् ।

आफूले फरक–फरक प्याटर्नका गीतमा सङ्गीत भर्ने र गाउने भएकाले काममा मजा लाग्ने उनको भनाइ छ । कहिलेकहीं त बेलुकीपख छिरेको स्टुडियोमै रात बितेर भोलिपल्ट बिहान उज्यालो नै भएका स्मृति पनि छन् उनीसँग । स्टुडियोमा काम गर्दा–गर्दा बोर लाग्यो भने घुम्न मन लाग्छ उनलाई । साथीभाइसँगको जमघट पनि स्टुडियोमै हुनेगर्छ ।

जीवन शर्माको ‘रक्तिम’ मा नृत्यकार

स्कुल पढ्दादेखि नै गायन तथा नृत्यमा रुचि देखाएका योगेशले थुप्रै स्टेज कार्यक्रमहरूमा नाचे । हिरो बन्छु भन्ने सोचका साथ उनी स्टेजमा राम्रो नृत्य गर्थे । दर्शकले उनको नाच राम्रै मन पराउँथे ।

नाच्ने क्रममै दुई दशकअघि उनलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सम्बद्ध ‘रक्तिम सांस्कृतिक अभियान’ मा सहभागी हुने अवसर मिल्यो । प्रशिद्ध जनगायक जीवन शर्माको नेतृत्वमा क्रियाशील सो अभियानमा उनलाई चित्र सापकोटा भन्ने गाउँकै दाइले जोडिदिएका थिए । ‘यी भाइले राम्रो नाच्छन् है’ भनेर उनले ‘रक्तिम’ मा समावेश गराइदिएपछि आफूले नृत्यकलामा राम्रो प्रगति गर्न सकेको योगेशले सुनाए ।

यसरी केही वर्ष ‘रक्तिम’ मै रमाएका योगेश त्यसपछि भने ‘सधैं यसरी त हुँदैन’ भन्ठानी आफ्नै तरिकाले अघि बढे । र, २०५८ देखि उनी गायनक्षेत्रमा लागे । आर्थिक अवस्था कमजोर भएकाले उनका लागि गायनयात्रा सहज थिएन ।

रेडियो प्रस्तोता हुँदै गायनयात्रामा

सानैदेखि प्रखर वक्तृत्वकला भएका योगेशले कार्यक्रम प्रस्तोताका रूपमा केही रेडियोमा समेत काम गरे । रेडियोकै विज्ञापन शाखामा पनि केही समय काम गरे । सामुदायिक रेडियो ‘बाग्लुङ एफएम’ र ‘धौलागिरि एफएम’ मा कार्यक्रम प्रस्तोता एवम् विज्ञापन प्रोडक्सनको काम गरेका योगेश प्राविधिक हिसाबले समेत निकै अघि बढे ।

रेडियोमै सीमित रहेर त गायक–सङ्गीतकार बन्छु भन्ने सानैदेखिको इच्छा पूरा नहुने निष्कर्षमा पुगे योगेश । २०६५ पछि रेडियोको जागिर छाडेर पोखरा झरे । त्यहाँ उनले ‘ओपन हाउस गजल’ मा गीत गाउन थाले । त्यहाँको गायनकर्म उनलाई राम्रै ‘फाप्यो’, दर्शक–स्रोताले अत्यधिक मन पराए । गीत गाउनका लागि उनलाई अन्यत्र पनि अफर आउन थाल्यो । यसपछि उनले ‘डबल ओ म्युजिक’ र ‘बीजीबी पोखरा’ मा पनि गीत गाए । ‘त्यो कामले गायकमा हुनुपर्ने खुबी बढाएर ममा निखार ल्याइरहेको थियो’– उनले सुनाए ।

उनले त्यहाँ पाँच वर्ष गीत गाए । ‘आफ्नो गाउँनजिकै भएकाले त्यहाँ गीत गाउन मलाई सहज नै भयो,’ उनी सम्झन्छन्– ‘त्यही क्रममा मलाई लोक, आधुनिक, पप र हिन्दी गीत गाउने राम्रो अभ्यास भयो । होटल र क्लबमा गाउने काम भनेको गायकका लागि होस् या अन्यका लागि– खासमा सिक्ने ठाउँ नै हुँदोरहेछ । त्यहाँ काम गर्दा मैले पनि सिक्ने मौका नै पाएँ ।’

धौलागिरि आइडलको उपाधि

पोखराका गजल साँझमा गाउनुअघि नै उनले एक ‘आइडल’ को उपाधि जितिसकेका थिए । २०६० मा ‘धौलागिरि आइडल’ मा भाग लिए । सयौं प्रतिस्पर्धीलाई उछिन्दै उनले ‘आइडल’ को उपाधि हात पारे ।

गायनमा अघि बढेने प्रयासमा क्रियाशील योगेशमा खुसीको सीमा नै रहेन । ‘धौलागिरि आइडल’ ले गायनमा लाग्न उनलाई निकै हौसला बढायो । स्थानीयस्तरको ‘आइडल’ मात्रले उनको चित्त बुझेन । त्यसपछि नेशनल ‘आइडल’ मा भाग लिने निधो गरे ।

‘इमेज च्यानल’ ले २०६५ मा आयोजन गरेको ‘साउथ एसियन स्टार’ मा उनी सहभागी भए । गायनमा निकै खारिइसकेका उनले देशैभरबाट आएका थुप्रै प्रतियोगीलाई उछिनेर ‘टप सिक्स’ स्थान हासिल गरे । त्यो प्रतियोगिताको छैटौं स्थानसम्म पुग्न सक्छु भन्ने उनी स्वयम्लाई लागेकै थिएन । यो सफलताले आफूलाई अझ बढी हौसला मिलेको उनले सुनाए ।

विभिन्न गजल साँझमा गाइरहँदा र ‘आइडल’ हरू भिडिरहँदा ‘अब व्यावसायिकरूपमै गायन, सङ्गीत सिर्जना र एरेन्जमा लाग्छु’ भन्ने अठोट उनको मनले गरिसकेको थियो । त्यसपछि नै आफ्नो इच्छा र अठोट वमोजिम अघि बढ्दा यी तीनै विधामा यहाँसम्म आइपुगेको योगेशको भनाइ छ ।

आफ्नै गीत गाउँदा समेत दर्शकले नपत्याइदिँदा

नेपाली स्रोता–दर्शकले कतिपय हिट गीतका सर्जकलाई नै चिन्दैनन् । यही दुःखेसो सङ्गीतकार तथा गायक योगेश काजीमा पनि रहेछ । चलचित्र ‘नाइके’ मा सर्वप्रथम सङ्गीत भर्ने अवसर पाएका थिए उनले । त्यसको ‘टाइटल गीत’ नै उनैले बनाएका थिए । त्यो गीत हिट भयो तर योगेशलाई भने कसैले पनि चिनेनन् ।

उनी त्यही ‘म हुँ नाइके’ बोलको ‘टाइटल गीत’ पोखरास्थित एक गजलबारमा गाउँथे । ‘मैले त्यही गीत त्यहाँ गाउँदा पनि मलाई कसैले पत्याएनन्,’ ती पुराना दिन सम्झँदै योगेशले भने– ‘बरु यो मान्छेले त्यो फिल्मको गीत त डिट्टो गाउँदो रहेछ भने ।’

‘यो गीत नै मेरै हो भन्दा कसैगरी पत्याउँदैनथे,’ त्यही स्थिति अहिले पनि धेरथोर कायम रहेको सुनाउँदै उनले भने– ‘मेरा हरेक गीत हिट भएका छन् तर कतिपय कार्यक्रममा गाउँदा मलाई दर्शकले चिन्नैहुन्न । त्यसैकारण पछिल्लो समय भने आफैंले मोडलिङ समेत गर्न थाल्या’छु ।’