बाघ गन्ने चटारो केही रोचक यथार्थ
कृष्णप्रसाद भुसाल‘बाघ’… ।
शब्द सुन्दा, तस्बिरमा देख्दा वा फलामे खोरभित्र थुनिएर चिडियाखानामै बसिरहेको अवस्थामा देख्दा पनि कता–कता डरको महसुस हुन्छ, मनमा एक प्रकारको सजगता पैदा हुन्छ ।
सम्भवतः हामी आफ्नो बाल्यकालमा ‘अहिले बाघ आउँछ सुत,’ ‘बाघ आउँछ नरोऊ,’ ‘बाघले लैजान्छ, नसताऊ’ जस्ता त्रासपूर्ण शब्द सुन्दै हुर्किएकाले पनि होला, बाघ सम्झनासाथ डर–त्रासको तरङ्ग पैदा हुने गरेको ।
‘जङ्गलको राजा’ भनिने सुगठित शरीरयुक्त, बलियो र सुन्दर स्तनधारी जनावर बाघ बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । खाद्य–चक्रको उपल्लो तहमा पर्ने माङ्शाहारी जनावर बाघ लजालु र भलाद्मी स्वभावको हुन्छ । यसले प्रायः आफ्नै क्षेत्रमा एक्लो जीवन व्यतित गर्छ । बाघ प्रायः राति मात्र आहारको खोजीमा निस्कन्छ ।
छालाको पहेंलो भुइँमा काला पाटाहरूले बाघ आकर्षक देखिन्छ । प्रत्येक बाघमा पाटाहरूका आकार फरक–फरक हुन्छन् । नङ्ग्रासहितका पञ्जाका डोब पनि प्रत्येक बाघका फरक हुन्छन् । यी पाटा र पञ्जाका डोब नै बाघहरूबीचको फरक छुट्टयाउने सङ्केत हुन् । मान्छेका अनुहार फरक–फरक भएजस्तै बाघका यिनै फरक–फरक छालाका पाटा र पञ्जाका डोबहरू पछ्याउँदै–केलाउँदै अहिले नेपालमा बाघ गणना चलिरहेको छ ।
हाम्रो देशमा पाइने बाघ बङ्गाली प्रजातिको (पाटे) बाघ हो । पाटे बाघलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सङ्रक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । आईयूसीएनको खतरा सूचीअनुसार बाघ सङ्कटापन्न प्रजाति हो । बाघलाई साइटिसको अनुसूची– १ मा राखिएको छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्दछन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लागाइएको हुन्छ ।
नेपालमा खासगरी पर्सादेखि कञ्चनपुरसम्म (तराई) का संरक्षित क्षेत्र र त्यस आसपास अलि बढी नै बाघ पाइन्छन् । यसै क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्स गरी तीन भागमा विभाजन गरेर ५ डिसेम्बर, २०२० देखि बाघ गणना सुरु गरिएको छ ।
यसरी हुँदैछ गणना
आक्रमक, हिंस्रक र रातमा मात्र बढी सक्रिय हुने बाघको गणना कसरी हुँदैछ र यसको महत्व के छ भन्नेबारे सङ्क्षिप्त चर्चा गरौं । दुई महिनाभन्दा बढी समय लाग्ने बाघ गणनाका लागि सोही प्रयोजनमा प्रयोग हुने विशेष खालका क्यामेरा लिएर करिव तीन सय दक्ष प्राविधिक जङ्गल छिरेका छन् । गणनाका लागि तीनवटा कम्प्लेक्समा दुई किलोमिटर लम्बाई र दुई किलोमिटर चौडाईका १ हजार ९ सय २४ वटा ग्रीड बनाइएका छन् । हरेक ग्रीडमा एक–एक जोडी स्वचालित क्यामेरा जडान गरिएका छन् । यसरी ३ हजार ८ सय ४८ वटा क्यामेराको सहयोगमा बाघ गणना चलिरहेछ । एउटा ग्रीडमा क्यामेरा जडान गर्न प्राविधिकलाई २० मिनेट लाग्छ । ती क्यामेरा एउटा ग्रीडमा १५ दिनसम्म राखिन्छन् । बाघ ओहोर–दोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर त्यतैतिर फोकस गरेर यी स्वचालित क्यामेरा राखिन्छन् । उक्त बाटो हुँदै बाघ हिँड्दा क्यामेराले स्वचालितरूपमै फोटो र भिडियो खिँच्दछन् ।
क्यामेरामा कैद भएका बाघका तस्बिर नियालेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने पत्ता लगाइन्छ । बाघ गणनामा राखिएका क्यामेरामा एउटै बाघ दोहोरिने सम्भावना हुन्छ तर हरेक तस्बिरमा देखिएका बाघका पाटालाई एकापसमा दाँचेर सङ्ख्या निर्धारण गरिन्छ । बाघ ठूलो क्षेत्रमा धेरै हिँडिरहने हुँदा उसको वासस्थान क्षेत्रमा राखिएका कुनै न कुनै क्यामेरामा एक न एक पटक तस्बिर कैद भइछाड्ने विज्ञहरूको दाबी छ ।
यसरी खिँचिएका फोटालाई पहिलो चरणमा विज्ञहरूले प्रमाणीकरण गर्नेछन् । विज्ञले छानेका फोटालाई पनि अन्तिममा विशेष प्रकारको सफ्टवेयरमा राखी एउटै बाघका तस्विर दोहोरिएका छन् कि छैनन् भनेर परीक्षण गरिन्छ ।
बाघ गणनाका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभाग, डब्ल्यूडब्ल्यूएफ नेपाल र जेडएसएल नेपालले आर्थिक तथा प्राविधिक एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक तथा व्यवस्थापकीय समन्वय गरिरहेका छन । बाघ गणनालाई नेपाल सरकारले महत्वपूर्ण राष्ट्रिय कार्यक्रमकै रूपमा लिएको छ ।
विश्वका १३ देशमा बाघ पाइन्छन् । बाघको सङ्ख्या घट्ने अहिलेको क्रम निरन्तर जारी रहे आगामी दस वर्षमा यो जन्तु विश्वबाटै लोप हुने विशेषज्ञहरूको चेतावनी छ । यसै चेतावनीका बीच सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा सम्पन्न बाघ पाइने १३ मुलुकका सरकार प्रमुखहरूको उपस्थितिमा सम्पन्न सम्मेलनपछि बाघ संरक्षणको विश्वव्यापी अभियान थालियो । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने ‘टी इन्टु टु’ नाम दिइएको यो अभियान अन्तर्गत नेपाल पनि सहभागी थियो । सोहीअनुरूप नेपालले सन् २०२२ मा बाघको तात्कालिक सङ्ख्या १ सय २१ लाई दोब्बर बनाएर २ सय ५० पुर्याउने र थप ६ हजरा ५ सय वर्ग किमि क्षेत्रलाई बाघको वासस्थानका रूपमा संरक्षण गर्ने एवम् चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रण गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको थियो ।
अतः यस गणनाबाट आउने बाघको सङ्ख्यालाई नेपाल सरकारले मात्र नभई पूरै विश्वले नै उच्च महत्वका साथ हेरिरहेको छ । सुखद् कुरा के छ भने नेपाल नै बाघको सङ्ख्या दोब्बर पार्न सफल संसारकै पहिलो राष्ट्र बन्न लागेको छ । सन् १९९५–९६ मा गरिएको नेपालको पहिलो बाघ गणनामा करिव एक सयको सङ्ख्यामा बाघ अभिलेखित थिए । त्यसपछि सन् २००९ मा एक सय एक्काईस, सन् २०१३ मा एक सय अन्ठानब्बे र सन् २०१८ मा दुई सय पैंतीस वटा बाघ अभिलेख भएका थिए । पछिल्लो चार वर्षमा कम्तिमा बीसदेखि तीसवटा बाघ थपिएको अनुमान छ । हरेक पटकको सर्वेक्षणबाट प्राप्त नतिजाले यस्तो सम्भावना देखाएको हो ।
बीसौं शताब्दीको सुरुआतताका नौ उपप्रजातिका बाघहरू पृथ्वीमा स्वतन्त्र विचरण गर्दथे । तर, चोरी शिकारी र अवैध व्यापार, वासस्थानको विनास, आहाराको घट्दो क्रम तथा मानिस र बाघका बीचको द्वन्द्वजस्ता मुख्य कारणहरूले बाघको सङ्ख्या उल्लेख्यरूपले घट्न गएको छ । सन् १९०० मा करिव एक लाख रहेका बाघ १९९० को दशकसम्म आइपुग्दा ९७ प्रतिशतले घटी जम्माजम्मी ३२ सयको हाराहारीमा झरेको कुरा अनेकौं तथ्याङ्कहरूले देखाउँछन् ।
हालसम्म चार उपप्रजातिका बाघहरू त पृथ्वीबाटै लोप भइसकेका छन् । अब हिन्दी चिनियाँ, सुमात्रेली, साइबेरियाली, बङ्गाली र मलायन गरी पाँच उपप्रजातिका बाघ मात्र बाँकी छन् । बाघ विनासको प्रमुख कारण भनेकै चोरीशिकारी र अवैध व्यापार हो । मुख्यतः बाघको छाला र हड्डीको अवैध व्यापार हुने गर्दछ भने मासु, बोसो, पेट, अण्डकोष, पित्त, आँखा, नाक र दाँतको समेत कारोबार चल्दछ । नेपालबाट हुने यी सामग्रीको ‘कारोबार’ हुने मुख्य बजार छिमेकी राष्ट्र चीन हो ।
बाघका अङ्गहरूको कुनै खास औषधीय उपयोगिताबारे वैज्ञानिक पुष्टि भएको छैन । यद्यपि कतिपय अन्धविश्वास, परम्परागत संस्कार र भ्रामक प्रचारका कारण तस्करीमा बल पुगिको देखिन्छ । पहिलेदेखि नै कतिपय धनाढ्यहरूले भने शानका रूपमा कोठा सिँगार्न, धार्मिक कार्यमा र कपडाका रूपमा बाघको छाला प्रयोग गर्दथे । यिनै प्रयोजनका लागि बाघकोे बजार माग उच्च र चोरी शिकारीको बढोत्तरी भइरहेको देखिन्छ ।
नेपालको पछिल्लो सङ्क्रमणकालीन राजनीतिक अवस्था र कानुन कार्यान्वयनको फितलो स्थितिबाट नाजायज फाइदा उठाउँदै अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा समेत दुरुपयोग गरिरहेका खबरहरू बेलाबखत प्रकाशमा आउने गरेका छन् । वासस्थान विनासको क्रम बढ्दै जानु पनि बाघको सङ्ख्या घटनुको अर्को महत्वपूर्ण कारण हो । ओसिलो, घना जङ्गल र तराईका अग्ला घाँसे क्षेत्रहरूमा बस्ने बाघको वासस्थान १५० वर्षयता ९३ प्रतिशतले विनास भइसकेको कयौं अध्ययनहरूको निचोड छ । पछिल्लो एक दशकमा मात्रै पनि बाघको वासस्थान ४० प्रतिशतले घटेको छ ।
यसर्थ, बाघ आफ्नो ऐतिहासिक वासस्थान क्षेत्रको जम्माजम्मी सात प्रतिशतमा सङ्कुचित हुन पुगेको छ । जनसङ्ख्या वृद्धिसँगै वनविनास र अतिक्रमण, बढ्दो सहरीकरण, सडक र बाँधजस्ता भौतिक निर्माणका कारण बाघको वासस्थान दिनानुदिन झन्झन् घट्दै गइरहेको छ ।
चित्तल, मिर्ग, जङ्गली बँदेल, लगुनाजस्ता बाघको आहारका रूपमा रहेका जनावरहरूको सङ्ख्या घट्दो क्रमले पनि बाघलाई थप सङ्कटमा पारिरहेको छ । उल्लेखित कारण र परिवेशहरूका कारण मानिस–बाघबीचको द्वन्द्व पनि बढिरहेको छ । अन्ततः बाघको विनास हुन जाँदा सनातन पर्यावरणीय चक्र र समग्र खाद्यशृङ्खलामा असर पर्न जान्छ । यसो हुँदा पर्यापर्यटनको प्रमुख आकर्षण र पहिचान समेत गुम्ने खतरा बढ्दछ ।
यो पनि पढ्नुहोस:
http://holisticmonthly.net/2020/02/274/.html