‘सपनाको स्विट्जरल्याण्ड’ बिपनामै भेट्दा
डा. डीबी सुनुवार
स्विट्जरल्याण्ड ।
अत्यन्तै सुन्दर भूगोल ।
हिमाल, पहाड, चुचुरा, थुम्का, स–साना पोखरी, तलाउ र हरियाली ।
ओहो ! सफा उत्तिकै । त्यो सन्दरताको न्यानो आनन्द लिने पर्यटक पनि उत्तिकै ।
स्विट्जरल्याण्ड । शब्दमा वर्णन गरेर त के सकिन्थ्यो र ! नेपालजस्तै भूपरिवेष्ठित मुलुक । नेपालमा जस्तै हिमश्रृङ्खलाको देश । नेपालजस्तै चट्ट, थुपुक–थुपुक थुम्का छन् । पहाड छ ।
ती हिमश्रृङ्खलाबाट पहाड हुँदै झरेका पानीको छहराले नतमस्तक बनाउँछ । सुन्दर, शान्त मुलुक स्विट्जरल्याण्ड हेर्न मन नलाग्ने व्यक्ति सायदै होलान् ।
सुन्दर मुलुक स्विट्जरल्याण्ड हेर्ने रहर अवश्य थियो मलाई पनि । र, त्यो अवसर मिल्यो । स्विट्जरल्याण्ड पुगें र हेरें ।
००० ००० ०००
घुम्न पनि त संयोग मिल्नुपयो । र, मिल्यो पनि त्यो संयोग । इटालीको मिलान हुँदै रोम सहर छिचोलेर पुगियो स्विट्जरल्याण्डको दक्षिणी भूभागमा । स्विट्जरल्याण्ड छिर्नेवित्तिकै फरक अनुभति हुन्छ । मलाई घुमाउने गाइड म्याक्स हुन् । मिस्टर म्याक्सले स्विट्जरल्याण्ड घुमाउँदै छन् ।
हामी स्विट्जरल्याण्डको निकै लामो टनेलमार्ग प्रवेश गर्दै छौं । हामी चढेको कार हुइँकिइरहेको छ टनेलभित्र । आँखाको दृष्टिले नियालिरहेको दायाँ भागमा पहाड देखिन्छ । पहाडमाथि अग्ला–अग्ला हिउँका चुचुरा देखिन्छन् चुसुक्–चुुसुक् ।
हरियालीपूर्ण छ पहाड । त्यही पहाडको काखमा समतल फाँट छन् । फाँटमा शान्त र नीला तलाउ छन् । हेर्दा लाग्छ– कुनै काल्पनिक संसारमा यात्रा गरिरहेको छु; यो बिपना होइन, सपनाको संसारमा छु । वास्वमा बिपनाकै संसार र दृश्य हो यो; सपनाको होइन ।
००० ००० ०००
सुन्दर दृश्यावलोकन–यात्रा । आजको यात्रा–सेड्युलबारे मिस्टर म्याक्सले जानकारी दिइरहेका छन् मलाई । क्यापिटल सिटी बर्नमा तय भएको छ आजको बास बसाइ ।
आहा ! कति रोमाञ्चक यात्रा ।
रङ्गीबिरङगी रेल तथा गाडीहरू फुत्–फुत् टनेलमा पस्दै निस्कँदै गरेका देखिन्छन् । वातावरणलाई असर नपर्ने किसिमबाट बनाइएका छन् सडक र टनेल । पूर्वबाट पश्चिमतर्फ टनेल यात्रा गरिरहँदा युरोपका जर्मनी, अस्ट्रिया, इटालीजस्ता मुलुक पर्छन् भने पश्चिममा फ्रान्स पर्छ । उत्तरमा हल्याण्ड र दक्षिणमा स्पेन लगायतका मुलुक पर्छन् ।
करिब आधा घन्टामा सकिन्छ टनेल यात्रा । तैपनि जारी नै छ यात्रा । सुन्दर दृश्य छिचोल्दा छिचोल्दै टन्न छ मन । तर, घडीको घन्टा काँटाले स्थानीय समयअनुसार बिहानको दस हानेको छ यतिबेला ।
एकैछिन यात्रा बिसाएर लोकल फुड स्टेसनमा खाजा खान्छौं । फुड स्टेसन पनि बडो अनौठो लाग्यो । जता हे¥यो उत्तै चकलेट देखिन्छ । वाइन पनि देखिन्छ र पिज्जा–बर्गर पनि छन् ।
नेपालमा सामान्यतः बिहान खाजा र त्यसपछि खाना अनि दिउँसो खाजा र साँझपख खाना खाने प्रचलन छ । तर, स्विट्जरल्याडमा भने खाना र खाजाको कुनै भिन्नता नै रहेनछ । खाजा भने पनि खाना भने पनि उही चकलेट, बर्गर, पिज्जा र वाइन् मात्र !
के खाने–खाने ! सुरुमा त अलमल्ल परे म । तैपनि खानपानमा सहभागी भएँ ।
अझै जारी नै छ यात्रा । स्विट्जरल्याण्डको सबैभन्दा ठूलो सहर ज्युरिच हो । यहाँको अर्को ठूलो सहर जेनेभा भने ‘इन्टरनेसनल क्यापिटल’ का रुपमा चिनिन्छ । अन्तर्राष्ट्रिय केन्द्रका रुपमा परिचित छ जेनेभा । विज्ञान–प्रविधिको केन्द्र पनि हो यो सहर । विश्वकै सबैभन्दा ठूला बैंक यहीं छन् । क्यापिटल मार्केट हो जेनेभा ।
सूचना प्रविधि असाध्यै व्यवस्थित । स्विट्जरल्याण्ड र युरोपका लागि मात्र नभई विश्वभरकै मान्छेका निम्ति ‘ट्याक्स हेभन’ राष्ट्र मानिन्छ । संसारकै आकर्षणको केन्द्र हो जेनेभा ।
००० ००० ०००
अब भने वासस्थानमा आइपुगेका छौं हामी । बडो रमाइलो छ बास बस्ने ठाउँ पनि । हामी बास बस्न थालेको यो ठाउँ ठूलो महल होइन । सानो छ तर चटक्क र सुन्दर छ । काठैकाठले बनेको चटक्कको सानो घर ।
सुन्दरतम् प्राकृतिक गार्डेन । गार्डेनकै बीचमा अवस्थित सल्लाका काठबाट बनेको घरभित्र छिर्दा बडो आनन्दित छौं हामी । सौना, ज्याकुजी, स्पा, स्विस मजाजलगायतका सुविधा छन् यही होटलमा । त्यो हेल्थ क्लबको आनन्द पनि लिइयो दुई–तीन घन्टा ।
हल्का डिनर गरियो । आनन्दपूर्ण छ रातको निन्द्रा । भोलि बिहान त जेनेभाबाट ज्युरिच हुँदै जर्मनी छिचोलेर नेदरल्याण्ड पुग्ने को यात्रा तालिका छ ।
निकै सुन्दर र ठूलो छ ज्युरिच सहर । स्विस आर्मी र स्विस घडी त अहिले पनि प्रशिद्ध छन् संसारभर ।
जर्मन, फ्रेन्च, इटालियन लगायतका भाषा बोलिन्छन् स्विट्जरल्याण्डमा । यी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिइएको रहेछ यहाँ । औपचारिक भाषा भने अङ्ग्रेजी रहेछ ।
यहाँका मानिसले समयलाई निकै ध्यान दिने गरेका रहेछन् । समयप्रति निकै समवेदनशील भएका पाइयो ।
सुनेको त थिएँ स्विट्जरल्याडको सौन्दर्य । झन् त्यहीं पुग्दा मन प्रफुल्लित नहुने कुरै भएन । आहा स्विट्जरल्याण्ड ! सपनाको संसार स्विट्जरल्याण्ड !!
भिडिओ लिंक:
https://youtu.be/skAy6ELU-rE