यौन सक्रियता: मौसम र भिटामिन ‘डी’ को संयोजन

प्रा.डा. दिनेश बाँस्तोला

मौसमले यौनलाई प्रभाव पारेको हुन्छ । जाडो स्थानमा बस्ने र गर्मी स्थानमा बस्ने मानिसहरूबीच यौन सक्रियतामा अन्तर हुन्छ । किनकि, यौनलाई मौसम तथा वातावरणले प्रभाव पारेको हुन्छ ।

जाडोको तुलनामा गर्मी मौसमा यौन जोडीबीचको यौनेच्छा फरक पर्छ अर्थात् मौसमको फेरबदलसँगै यौन जटिलता कसरी निम्तन्छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यौन आकाङ्क्षा तथा अभ्यासमा समेत मौसमले प्रभाव पारेको हुन्छ ।

घामले यौन सक्रियतामा प्रभाव पार्छ । घामले लागेर वातावरण तात्दा यौनाङ्गको सक्रियता बढ्छ । यौनाङ्गको सक्रियता बढेपछि यौन क्रियाकलाप अर्थात् जोडीबीच यौन सम्पर्कका निम्ति सक्रियता बढ्न जान्छ ।

भिटामिन ‘डी’ र यौन प्रभाव

यौन जोडीबीचको यौन क्रियाकलाप तथा यौन सक्रियताका लागि विभिन्न किसिमका भिटामिनको भूमिका हुन्छ । यस सन्दर्भमा मूलतः भिटामिन ‘डी’ ले भूमिका खेलेको हुन्छ ।

जोडीबीचको यौन क्रियाकलाप तथा यौन अभ्यासमा हर्मनको मुख्य भूमिका हुन्छ । पुरुषको रगतमा भिटामिन ‘डी’ ले ‘टेस्टोस्टेरोन’ हर्मनको तह बढाउँदछ ।

टेस्टोस्टेरोन हर्मनको तह बढाउने भिटामिन ‘डी’ सूर्यको किरणबाट सहजै पाउन सकिन्छ । र, गर्मी मौसममा भिटामिन ‘डी’ को उपलब्धता बढी हुन्छ । त्यसैले यो मौसम यौन जोडीका दुवै पक्षको यौन उत्तेजनाका लागि सहयोगी हुन्छ ।

गर्मी मौसममा तातो अर्थात् न्यानो बढी हुन्छ । त्यसैले यो मौसममा पुरुष–महिला दुवैको यौन सक्रियता बढ्नु स्वाभाविकै हो । यौन जोडीको सक्रियताका कारण गर्मी मौसममा यौन सम्पर्कका लागि सहजै सहमति जुट्छ अर्थात्, यौन सम्पर्कका निम्ति दुवै पक्ष छिटो सहमत हुन्छन् ।

सूर्यको किरणबाट प्राप्त हुने भिटामिन ‘डी’ त प्रकतिबाट सित्तैंमा पाइने भिटामिन भैहाल्यो । सूर्यको किरणबाहेक माछाको तेल, मासुलगायतबाट पनि भिटामिन ‘डी’ प्राप्त हुन्छ । यसर्थ, घाममा बसेर मात्र होइन, विभिन्न पोषणयुक्त खानपान गर्नाले भिटामिन ‘डी’ प्राप्त गर्नुका साथै शारीरिक तथा मानसिकरूपमा बजबुत बन्न सकिन्छ । यस्तो मजबुती यौन सक्रियताका लागि समेत लाभकारी हुन्छ ।

पुरुष र महिलाको यौनजन्य हर्मनलाई प्रभावित तुल्याउने टेस्टोस्टेरोन र इस्ट्रोजेनयुक्त भिटामिन ‘डी’ फरक मौसमअनुसार फरक मात्रामा पाइन्छ । हर्मनको उतारचढाव अनुसार यौन जोडीमा यौन चाहना घट्ने–बढ्ने भइरहन्छ ।

गर्मी मौसममा मानिस बाह्य क्रियाकलापमा समेत बढी नै सक्रिय हुन्छ । बाह्य क्रियाकलाप बढ्दा इन्डोर्फिन हर्मनको निष्काशन समेत सहज हुन्छ । यो हर्मनको निष्काशन सहज हुँदा मानसिकरूपमा समेत यौन क्रियाकलाप गर्ने मनोबल बढ्न जान्छ ।

यौनका निम्ति मस्तिष्कको हाइपोथालामसको सक्रियता र भूमिका महत्वपूर्ण हुन्छ । हाइपोथालामससको सक्रियतापछि नै यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने गर्छ । यदि भिटामिन ‘डी’ को कमी भयो भने पुरुषमा टेस्टेस्टोरोन र महिलामा स्ट्रोजेन हर्मनको कमी हुन पुग्छ । यस्तो अवस्थामा यौन जोडीका दुवै पक्षको यौनाङ्ग उत्तेजित नहुँदा यौन सम्पर्कमा बाधा पुग्छ ।

त्यसैले भन्न सकिन्छ, सुखद् यौन क्रियाकलापका लागि भिटामिन र मौसमको महत्वपूर्ण भूमिका हुन्छ । अझ भन्ने हो भने भिटामिन ‘डी’ र अनुकूल मौसमको सन्तुलनमा नै यौन क्रियाकलाप तथा यौन सम्पर्कको आनन्दानुभूति सम्भव हुन्छ; चरमोत्कर्षमा पुग्न सकिन्छ ।

जाडो मौसमको तुलनामा सामान्यतः गर्मी मौसममा नै शरीरमा भिटामिन ‘डी’ को मात्रा पुग्दछ । ‘सेरोटोनिन’ नामक हर्मनले शरीरमा भिटामिन ‘डी’ लाई भण्डारण गरेर राख्न मद्धत गरिरहेको हुन्छ । यसरी भण्डारण भएको भिटामिन ‘डी’ लाई सेरोटोनिन हर्मनबाट बाहिर निकाल्न समेत सूर्यको किरणले मद्धत गर्दछ ।