गुणकारी वनस्पतिहरू: रुद्राक्ष र मनीप्लान्ट
होलिस्टिक संवाददातारुद्राक्ष
रुद्राक्ष फल रुखमा फल्ने एक प्रकारको गुणकारी वनस्पति हो । समुद्र सतहभन्दा तीन हजार मिटरको उचाइमा पाइने रुद्राक्षको रुख समतल जमिनमा भन्दा साँघुरो ठाउँमा राम्ररी बढ्ने गरेको भेटिन्छ । रुद्राक्षको एउटा बोटमा वार्षिक एकदेखि दुई हजारवटासम्म फल फल्ने गरेको पाइन्छ ।
रुद्राक्ष फल जाडो याममा बोटमै पाक्छ त्यसपछि झर्दछ । फललाई सुकाएर भित्री भागको बियाँ निकाली प्रशोधन गरेपछि यसलाई विभिन्न प्रयोजनमा उपयोग गर्न सकिन्छ । रुद्राक्ष फललाई मुख्यतः माला उनेर प्रयोग गर्ने गरिएको पाइन्छ ।
रुद्राक्ष फललाई आँसु पुछ्ने अर्थात् खुसी दिने क्षमता भएको फलका रूपमा विश्वास गर्ने गरिएको छ । यसलाई प्रायः आध्यात्मिकतासँग जोडेर प्रयोग गर्ने गरिएको पाइन्छ । रुद्राक्षले वायुमण्डलबाट नकारात्मक ऊर्जालाई शोषेर लिन्छ र त्यसलाई तेलमा परिणत गर्दछ । रुद्राक्षको रुखमुनि बसेर ‘ॐ नमः शिवायऽऽऽ…’ जप गरेमा रुद्राक्षबाट चौबीसै घन्टा सुगन्धित तेल निस्कन्छ भन्ने समेत जनविश्वास छ ।
रुद्राक्षको तेलमा ‘सुखद् सुगन्ध’ हुन्छ, जसले सकारात्मकता फैलाउने विश्वास गरिन्छ । यस्तो तेल रुद्राक्षको फल मात्र नभई रुखबाट समेत निस्कन्छ । रुद्राक्षको बोटमा फल पाक्न थालेपछि यसले तेलको सट्टा हावा उत्सर्जन गर्छ र एक प्रकारको सितलता प्रदान गर्छ । यसैकारण मानिसहरूले रुद्राक्षको माला बनाएर लगाउने गरेको पाइन्छ ।
रुद्राक्ष फलको प्रयोजन माला बनाई लगाउनेमा मात्र सीमित छैन; यसका अरु अनेकौं फाइदाहरू पनि छन् । आयुर्वेदिक औषधिका रूपमा धेरै पहिलेदेखि यसको प्रयोग हुँदै आएको छ । रुद्राक्षलाई घोटेर निकालिने धुलोलाई दूधसँग मिसाएर पिउँदा स्मरणशक्ति बढाउन निकै ठूलो मद्धत मिल्ने आयुर्वेदिक मान्यता छ । यसरी दूधसँग पिउँदा रगत सफा गर्न समेत निकै पद्धत पुग्ने भनाइ छ ।
शरीर र विभिन्न अङ्ग जलेको/पोलेको ठाउँमा निको पार्न र जलेर निको भई दाग बसेको ठाउँमा त्यस्तो दाग हटाउन समेत रुद्राक्ष घोटेर लगाउनु निकै लाभदायक हुन्छ । खोकी र श्वासप्रस्वाससम्बन्धी अनेकौं समस्या समाधानमा पनि प्रयोग लाभदायी हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
रुद्राक्षको दाना (बियाँ) लाई पिसेर तयार पारिने पाउडरलाई विभिन्न कस्मेटिक्स सामग्रीहरूमा समेत प्रयोग गर्ने गरिएको छ । हर्बलयुक्त साबुन, स्याम्पु, फेस प्याकजस्ता सामग्रीमा रुद्राक्ष मिसाएर फाइदा लिन सकिन्छ । रुद्राक्षयुक्त हर्बल कस्मेटिक्सको प्रयोग गर्दा छाला स्वस्थ रहने र विशेष प्रकारको चमक आउने अनुसन्धानहरूको निष्कर्ष छ ।
मनीप्लान्ट
मनीप्लान्ट एक प्रकारको लहरेदार बिरुवा हो । मुख्यतः घरमा सजावटका लागि यसको प्रयोग गर्ने गरिएको पाइन्छ । मनीप्लान्टका थुप्रै प्रजातिहरू छन् । एसियाली क्षेत्रमा पाइने मनीप्लान्टचाहिँ ‘इपिप्रेमनम अउरियम’ प्रजातिको हो ।
मनीप्लान्ट ‘डेभिलस् भाइन’ का नामले समेत चिनिन्छ । यो हत्तपत्त मर्दैन र अँध्यारोमा राख्दा पनि हरियो नै रहन्छ/देखिन्छ । यसको डाँठ काटेर विभिन्न ठाउँमा रोप्दा नै सहजै सर्दछ । उपप्रजातिअनुसार मनीप्लान्टको पात सेतो, पहेंलो, हरियो वा मिश्रित रङ्गका हुन्छन् । यो प्रायः सपिङ सेन्टर, कार्यालयहरू र अन्य सार्वजनिक स्थानहरूमा सजावटका निम्ति प्रयोग गरिएको भेटिन्छ । मनीप्लान्टलाई विशेष स्याहरसुसारको जरुरत पर्दैन; थोरै मात्र रेखदेख गरे पनि पुग्दछ । हेर्दा निकै आकर्षक र आकारमा पनि सानो/पातलो हुने भएकाले यो धेरैको रोजाइमा पर्ने वनस्पति हो ।
मनीप्लान्टका अनेकौं फाइदाहरू छन् । यसले हावालाई शुद्ध पार्दछ, यसको हरियोपनले तनाव र चिन्ता कम गर्न सहायता गर्दछ । त्यसैले घर–कोठा वा बगैंचामा मनीप्लान्ट रोप्दा सकारात्मकता फैलाएर समृद्धि एवम् सौभाग्य ल्याउँछ भन्ने जनविश्वास छ ।
वास्तुशास्त्रअनुसार यसले नकारात्मक ऊर्जाबाट बचाउँछ र सकारात्मक ऊर्जाका लागि स्थान सिर्जना गर्दछ । घरमा मनीप्लान्ट राख्दा त्यसले आर्थिक बाधाहरू हटाएर समृद्धि एवम् सौभाग्य ल्याउने वास्तुविज्ञहरूको तर्क सुनिन्छ । मनीप्लान्ट रोप्दा आम्दानीका अनेकौं स्रोतहरू पहिल्याउन मद्धत मिल्ने भन्दै यसलाई घरभित्रै रोप्न र हुकाउन वास्तुविदहरूले सुझाव दिने गरेका छन् ।
घर वा परिसरको उत्तरी प्रवेशद्वारमा मनी प्लान्ट रोपेमा/राखेमा त्यसले आम्दानीका नयाँ–नयाँ स्रोतहरू र लाभका अनेकौं अवसरहरूलाई आकर्षित गर्दछ भन्ने समेत कतिपयको भनाइ छ । वस्तुतः यस बिरुवाले घरमा ताजापन ल्याउँछ, हावा शुद्ध बनाउँछ र परिवारका सदस्यहरूलाई स्वस्थ राख्न मद्धत गर्दछ ।
अहिलेको ‘आधुनिक’ युगमा सबैजसो घर–कोठा कम्प्युटर, टेलिभिजन, वाईफाई राउटर आदिजस्ता इलेक्ट्रोनिक्स उपकरणहरूबाट निस्कने विषाक्त र खतरनाक विकिरणहरूले भरिएका हुन्छन् । यस्ता विकिरणले गम्भीर रोगहरू निम्त्याउन सक्दछ । अतः यी उपकरणकै नजिक मनीप्लान्टको बिरुवा हुर्काइयो भने ती बिरुवाले त्यस्ता विकिरणहरूको हानिकारक प्रभावलाई शोषेर लिइदिन्छन्, जसले गर्दा शरीर र स्वास्थ्यमा विकिरणहरूको दुष्प्रभाव कम हुन्छ ।