ज्ञानेन्द्र कोइरालाको कला–सङ्घर्ष
होलिस्टिक संवाददातादुई दशक अघिदेखि नै कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार हुन् ज्ञानेन्द्र कोइराला । उनले विभिन्न भूमिकामा रहेर आधा दर्जनभन्दा बढी फिल्म र दर्जनभन्दा बढी टेलिफिल्ममा अभिनय गरिसकेका छन् ।
सङ्घर्षपूर्ण कलायात्रा
पछिल्लो समय नवल खड्का निर्देशित ‘काँडेतार’ फिल्ममा व्यस्त रहेका ज्ञानेन्द्र ‘रमाइलो टेलिभिजन’ को लोकप्रिय सिरियल ‘मादलको खरी’ मा गरिरहेको अभिनयबाट चर्चामा छन् । उनले अभिनयका साथसाथै निर्देशकका रूपमा समेत आफूलाई स्थापित गरिरहेका छन् । पाँच वर्षअघि नै ‘हिमशिखर टेलिभिजन’ बाट प्रसारण भएको सिरियल ‘स्टुडेन्ड’ मा उनले अभिनयका साथसाथै निर्देशन समेत गरेका थिए । उक्त सिरियल पूर्वी नेपालकै सर्वाधिक ‘हिट’ कार्यक्रम थियो ।
‘रमाइलो टेलिभिजन’ कै ‘तितो पिरो’ श्रृङ्खलामा समेत ज्ञानेन्द्रले अभिनयका साथै निर्देशन पनि गरे । उनको निर्देशनमा २८ भागसम्म प्रशारित भयो । राष्ट्रिय नाचघरमा दर्जनौ नाटकमा अभिनय गरेका उनको कलाकारिता यात्रा त्यतैबाट क्रमशः अघि बढेको हो । उनले कुमार कट्टेल ‘जिग्री’ सँग मिलेर ‘चलनजल्ती’ निर्माण गरे । कट्टेलको लेखनमा निर्माण भएको हास्य–सिरियल ‘चलनचल्ती’ मा अभिनय गरेर नै काँचको पर्दामा ज्ञानेन्द्रको पदार्पण भएको थियो । सो सिरियलको मुख्य भूमिकामा उनी नै थिए तर उक्त सिरियल खास चर्चामा भने आएन ।
दर्जनौं म्युजिक भिडियो समेत निर्देशन गरिसकेका ज्ञानेन्द्रले पछिल्लो समय सियिरयल र म्युजिक भिडियोमा अभिनयका साथसाथै छायाङ्कन र सम्पादन समेत आफैंले गर्दै आएका छन् । यस क्षेत्रका हरेक काम आफैंले गरे तापनि आफूलाई भने उनी कलाकार एवम् निर्देशकका रूपमा नै चिनाउन चाहन्छन् ।
कलाकार बन्नु नै आफैंमा सङ्घर्ष रहेको उनी बताउँछन् । पहिले फिल्ममा अभिनय गरेका कोइराला निर्देशक बन्दाको अनुभव भने निकै नमिठो भएको सुनाउँछन् । ‘नेपालमा कलाकारिता गरेर जीविका चलाउन सकिन्छ,’ उनी भन्छन्– ‘तर, केहीलाई भने काम लगाएर महिनौं पछिसम्म पनि पैसा दिन सकिएन, त्यसप्रति भने म निकै दुःखी छु ।’
‘काम गरौं, पैसा त पछि भइहाल्छ नि भन्दै काम लगाउँछन्, तर काम गरेको पैसो एक वर्षसम्म पनि नपाएको अवस्था छ,’ आफूले मात्र नभई अरुले पनि यसै गरेको सुनाउँदै उनी भन्छन्– ‘केही सिरियलमा त दुई वर्ष बितिसक्दा पनि पाउनुपर्ने पारिश्रमिक मैले पाएकै छैन ।’
खानपान र जीवनशैली
कलाकार ज्ञानेन्द्रको खाना–खाजा खाने निश्चित टाइमटेबल छैन । सुटिङका बेला खाना खाँदा कहिले दिउँसोको दुई पनि बज्छ । ‘कहिले ठीक–ठीक समयमै बिहान–बेलुकीको खाना खाइन्छ भने कुनै समय त बिहान–साँझको खाना एकै पटक बेलुका मात्रै पनि खानुपर्छ’– उनले सुनाए ।
खाने कुरा यो–यो खाने र त्यो नखाने भन्ने पनि उनको बानी छैन । जङ्क फुडजस्ता खाने कुराहरू भने सीमित मात्रामा मात्रै खाने गरेको उनी बताउँछन् । घरमै हुँदा भने उनी जङ्कफुड खान मन पराउँदैनन् । सुटिङमा हिँड्दा भने छिटोछरितोका लागि चाउचाउ–बिस्कुट नै बढी प्रयोग हुने गरेको कोइरालाले सुनाए ।
‘कलाकारितामा निकै दुःख छ, बाहिर हेर्दा सजिलोजस्तो देखिए तापनि यहाँभित्र प्रवेश गरेपछि यो निकै जटिल काम हो’– उनले सुनाए । उनी राजधानी र पूर्वी नेपालको दमकमा बराबरजस्तै बस्छन् ।
सिरियलको छायाङ्कन पर्दा राजधानी दौडने र काम नपर्दा दमकमै बस्ने गरेका कोइराला अभिनय र निर्देशकको जिम्मा पाउँदा जता बस्नु परे पनि आफूलाई कुनै फरक नपर्ने बताउँछन् । पूर्वी नेपालका थुप्रै ठाउँमा स्टेज सो समेत गरेका कोइराला स्टेजबाट दर्शकलाई मनोरञ्जन गराउन पाउँदाको अनुभव निकै रमाइलो लाग्ने सुनाउँछन् ।
स्वास्थ्यका हिसाबले उनी अहिलेसम्म पूर्णरूपले सन्तुष्ट छन् । ‘अहिलेसम्म कुनै औषधि खानु परेको छैन,’ उनले सुनाए– ‘दस वर्षयता मलाई सामान्य ज्वरो पनि आएको छैन ।’
तर, हस्पिटलको बसाइ भने उनले निकै भोगेका छन् । श्रीमतीलाई डेलिभरी गराउन केही अघि मात्रै पनि उनी तीन दिनसम्म झापाको आम्दा अस्तपालमा बसे । ‘अरु–अरु बिरामी हुँदा पनि कुरुवा भने निकै पटक बसेको छु,’ उनी भन्छन्– ‘तर, आफैं बिरामी भएर भने अहिलेसम्म हस्पिटल बस्नु परेको छैन र बस्नु पनि नपरोस् भन्ने मेरो कामना हो ।’
सामान्य ज्वरो आउँदा र रुघा–खोकी लाग्दा उनी घरायसी औषधिबाटै आफूलाई निको पार्छन् । त्यस्तो बेला उनले तातो पानी र बेसार–पानी खाएरै निको हुने गरका छन् ।