बैंशालु बैङ्ककको रोमाञ्चक यात्रा
डा. डीबी सुनुवार
‘सवाद्दी खा’ वायुयानबाट बाहिर निस्कने ढोकामा थाई होस्टेजले शुभयात्राको कामनासहित थाइल्याण्डमा स्वागत गरिन् । हँसिलो मुहारकी थाई युवतीले मुस्कुराउँदै स्वागत गर्छिन् थाइल्याण्डमा । थाइल्याण्ड भित्रने व्यस्त विमानस्थल हो– बैङ्कको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल ।
बिहानको एघार बजेको छ । नोभेम्बर महिनाको न्यानो मौसममा मानिसको ओहोरदोहोर र भीड त्यत्तिकै छ । स–साना मोटरकारहरू छिनछिनमा हुइँकिइरहेका देखिन्छन् ।
थाइल्याण्डको वातावरणमा हल्का गर्मी छ, यतिबेला । डोन मुआङ्ग विमानस्थलमा उत्रिएर सहर घुम्ने तयारीमा छु ।
‘अब सिधै खाउसाङ रोड होइन ?’ भ्यानचालक प्रोन्चाइले सोधे ।
‘हो हामी जाने खाउसाङको नाटिज प्यालेस होटल हो’– जवाफ फर्काएँ ।
हँसीमजाक गर्दै अघि बढिरहेको छ यात्रा ।
बैंककमा अग्ला–अग्ला घरहरू देखिने बाहिरको दृश्य त्यत्तिकै रमाइलो छ । बैङ्कक मेट्रो रेलको लिग सडक माथि–माथिबाट लगिएको छ । खाउसाङ रोड भित्रने बाटोतिरबाट घुमाउँदै होटलको आँगनमा पुगेर टक्क रोकियो हामी चढेको भ्यान ।
‘खप्खुन खाप’– चालकले भने । ‘खप्खुन खाप’ भनेको ‘धन्यवाद’ हो थाई भाषामा । पुरुषले ‘धन्यवाद’ भन्दा ‘खाप’ भन्ने चलन छ थाइल्याण्डमा । महिलाले भने हरेक सम्वादमा ‘खा’ भन्ने प्रचलन छ । ‘खा’ भनेको महिलाले भन्ने ‘धन्यवाद’ हो ।
झट्ट हेर्दा नेपालीजस्तै रूप–रङ्गका छन् थाईहरू ।
आजको यात्रापछि खाउसाङ रोडस्थित एक होटलमा तय भएको छ हाम्रो बसाइ । भोलिपल्ट बिहानै ‘सवाद्दी खा’ गुडमर्निङ भन्दै थाई युवतीहरूले खानपानको व्यवस्थापन गरे ।
छाओ फ्रा नदीको किनारमा अवस्थित छ खाउसाङ रोड । यसको वरपर विभिन्न बुद्धिस्ट गुम्बाहरू र ठूलठूला सरकारी भवनहरू पनि छन् । अङ्कोरवात प्यागोडा शैलीमा निर्माण गरिएको एउटा सानो नमूना मात्र हो बैङ्ककमा । मुख्य अङ्कोरवात त कम्बोडियामा छ ।
थाई खाना संसारभरि नै प्रख्यात छ । तोम याम कुङ (प्राउन सुप), ग्रीन करी (लेमनग्रास, बेसिल लिफसहितको कुखुराको मासु) र सी फुड यहाँका प्रसिद्ध एवम् स्वादिस्ट खानामध्येमा पर्छन् । प्रायः खानामा लेमनग्रास, बेसिल लिफ र बङ्गुरको सुप प्रयोग हुन्छ ।
साकाहारी भोजन खान त यहाँ अवस्थित इन्डियन रेस्टुराँमा जानुपर्छ । इन्डियन परिकार थाई परिकारभन्दा दुईगुणा बढी महँगो पर्छन् ।
घामको सुनौलो वाला पोखिएर छाओ फ्रा नदीको किनारमा उभिएका हाम्रो अनुहारमा सिञ्चन भएको छ, बिहानको आठ बज्दा । त्यसैले अनुहारमा न्यानो र उज्यालोको प्रभाव अनुभूत भएको छ ।
सुखो थाई स्नेक फार्मको भ्रमण आजको पहिलो कार्यक्रम छ । यहाँबाट करिव आधा घन्टा बोट राइडपछि पुगिन्छ स्नेक फार्ममा ।
दुईतिर चुस्स उठेको, बाह्रजना बस्न मिल्ने मोटरबोटमा बसेर फराकिलो छाओ फ्रामा अरू मोटरबोटहरू जत्तिकै बेग मारिरहेका छौं । करिव १५ मिनेटको बेगपछि ठूलो नदीबाट साँघुरो खोलाको बाटो लियो मोटरबोटले ।
घुम्तीका छालको मसिनो फोल्राले बेला–बेला अनुहारमा ताजापन ल्याइरहन्छ । केही क्षणपछि खोलाको दुवैतर्फ वस्ती बसेको देखिन्छ । थाई भेन्डरहरूले विभिन्न फलफूल तथा सागपात कलात्मक किसिमले बोटमा सजाएर बिक्री गरिरहेका देखिन्छन् ।
बोटबाट किनारमा पाइला राखी फनक्क फर्केर उँभो हेर्दा हरियो डाँडा उक्लने बाटोको कलात्मक थाई प्रवेशद्वारकै टुप्पीमा ‘वेलकम टु स्नेक फार्म’ लेखिएको देखिन्छ । स्वागतद्वारले अभिवादन गर्यो ।
स्वागतद्वारको दायाँबायाँ परम्परागत थाई वेशभूषासहित कलसमा फूल लिएर उभिएका देखिए युवतीहरू । क्यामरा भुन्ड्याएर पाँच–छ जना युवक पनि झल्याकझुलुक गर्दै फोटो खिँचिरहेका देखिए ।
हरियो वनको बीचमा बगैंचा । बगैंचाको बीचमा चिडियाखाना । स–साना घर अनि तिनका अगाडि पर्यटकहरू बसेर हेर्न मिल्ने गरी गरिएको व्यवस्थापन ।
‘स्नेक सो’ मा विभिन्न प्रजातिका सर्पहरूसँग खेल्नका लागि परम्परागत वेशभूषामा सजिएर तयारी अवस्थामा बसेका छन्, पारङ्त ‘स्नेक खेलाडी’ हरू । हामीसहित विभिन्न समूहका पर्यटकहरूले सिट भरिएपछि ‘वनजारा’ ले ‘नागिन’ लाई नचाएजस्तै सुरु हुन्छ ‘स्नेक सो’, थरीथरीका पाश्र्व–सङ्गीतसहित ।
हरेक प्रकारका सर्पबारे जानकारीसहित रोमाञ्चक ढङ्गले खेल निरन्तर अगाडि बढी नै रह्यो । हरेक सोको अन्त्यमा दर्शकहरूको तालीले गडगडाउँथ्यो स्नेक फार्म । थाइल्याण्डको वनमा पाइने ‘किङ कोब्रा सो’ ले सबैको मन झस्कायो– ‘ओहो ! कस्तो खतरनाक खेल !!’
करिव दुई घन्टा लामो सोमा कहिले जोकरहरूले हँसाए त कहिले खतरनाक जातका सर्पको खेलले झस्काए । अन्ततः विषरहित प्रकृतिप्रेमी सर्पको प्रकृतिप्रेमयुक्त खेलसहित कार्यक्रम सम्पन्न भयो ।
अचम्मको कुरा त के देखियो भने कुनै सुइँको र नदिई खिँचिएको हाम्रो फोटो सोभनियर सपमा सजाएर राखिएको देखियो एक्कासि; विभिन्न प्रकारका फ्रेम, प्लेट र एल्बममा । गजब लाग्यो हाम्रा पयर्टन व्यवसायीहरूका निम्ति समेत सिक्न लायक यो तरिका र नमूना ।
लञ्चका लागि फेरि होटल पुग्नुपर्छ । उत्तर–पूर्वी दिशातर्फको एक घन्टा यात्रापछि एउटा ठूलो कम्पाउन्डभित्र छिरेर घ्याच्च रोकिन्छ हामी चढेको गाडी ।
झलमल्ल बलेको छ बिजुली बत्ती । साँझको छ बजेको छ बैङ्ककमा यतिखेर । साँझ पाँच–छ बजेदेखि चढ्छ हरेक दिन बैङ्कको बैंस ।
सोमा भित्रने ढोकामा अग्ला–अग्ला परीहरू उभिएका छन् स्वागतका लागि । गोलाकार भवनभित्र सिनेमा हलम जस्तै तह–तहको सिट प्लानिङ छ । हरेक टेबलमा क्यान्डल लाइट, पृष्ठभूमिमा सुमधुर सिम्फोनी र चकमन्न वतावरण । सहयोगका लागि तत्पर अवस्थामा उभिइरहेका छन्, बडो अनुशासित कर्मचारीहरू ।
सो सुरु हुन्छ अब । लाइट, साउन्ड र धुवाँको लप्कासहित एक हुल परीहरू स्टेजमा उभिए गीत गाउन । सिट प्लानअनुसार नै व्यवस्था गरिएका छन्– ड्राइ फुड, सिङ्घा क्यान बियर र रेड वाइन ।
संसारका प्रायः कला–संस्कृति र भाषाको प्रस्तुतिले ध्यान छिसिक्क पनि अन्यत्र मोडिन दिएन ।
भाषा नबुझिए पनि प्रस्तुतिहरू बडी ल्याङ्ग्वेज र कलाले भरिपूर्ण छन् । कुनै अभाव महसुस भएन मनोरञ्जन र रौनकतामा ।
अन्तर्राष्ट्रियस्तरको यो सो हेर्न धेरै मुलुकका पर्यटकहरू केन्द्रित छन् । प्रर्दशन र कलाकारहरूसँगको मजा लिँदालिँदै पत्तै पो भएन तीन घन्टा बितेको ।
रातको नौ बजिसकेको छ यतिखेर । यहाँको सो सकेर होटलतिर लाग्नु छ अब ।
‘हाउ’ज द सो ?’
पालैपालो सबैका आँखामा हेर्दै सोधिन् होटलकी पिन्यापोर्नले ।
‘वण्डरफुल ! थाङक्यु फर सच ग्रेट सो’– जवाफ दिँदै मैले भनें ।
गाइड पिन्यापोर्नले हामीलाई सिलोमबाट खाउसाङ होटलमा पुर्याएर बिदा लिइन् ।