विदेशी भूमिमा बढ्दो आत्महत्या

गोपाल ढकाल

आत्महत्या विश्ववयापीरूपमा नै जटिल समस्या बन्दै गएको छ । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्दछ । एक आत्महत्या हुँदा २५ जनाले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीररूपमा सोचेका हुन्छन् । विश्वमा प्रत्येक वर्ष सरदर आठ–दस लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् ।

प्रायः सबै मानिस आफ्नो दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘मर्ने कसैको रहर हुँदैन’ । तर, किन कोही आत्महत्या गरेर आफ्नो अमूल्य जीवनलाई आफैं समाप्त पार्न खोज्दछ ? आत्महत्याको अवस्थामा पुगेका बेला जो–कसैले जीवनका सबै ढोका बन्द भएको देख्दछ; मर्नुबाहेक कुनै पनि विकल्प भेट्दैन; चरम निराशामा डुबेको हुन्छ र पीडाबाट उन्मुक्ति पाउने एउटै मात्र उपायका रूपमा देख्दछ– आत्महत्या !

आत्महत्याका कारणहरू धेरै हुन सक्छन् । कसैले आत्महत्या गर्नुका पछाडि आनुवाङ्शिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा जोखिमका अन्य तत्वहरूको संयुक्त प्रभाव रहेको हुन्छ । आत्महत्याका पछाडिको ९०–९५ प्रतिशत कारण भने विभिन्न किसिमका मानसिक रोग नै भएको पाइन्छ र त्यसमा पनि मुख्य कारण डिप्रेसन नै हुने गरेको देखिन्छ ।

यसकारण आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणका रूपमा बुझ्नु पर्दछ । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्यधिक जाँड–रक्सी र लागू पदार्थको सेवन तथा कडा खालका मानसिक रोगका कारण मानिसले आत्महत्या गर्न सक्दछ ।

विदेशमा आत्महत्या : अवस्था र कारण

विदेशमा नेपालीले आत्महत्या गरेका समाचारहरू दिनहुँजसो आउने गरेका छन् । किन बढ्दैछन् त विदेशी भूमिमा नेपालीको आत्महत्याका घटनाहरू ? के–के हुन सक्छन् त कारणहरू ?

मन घरमा, शरीर विदेशमा

अधिकाङ्श नेपालीका लागि विदेशिनु रहर नभई बाध्यता हो । आफ्नो देशमा रोजगारीको राम्रो अवसर पाएको भए आफ्नो देश र घरपरिवार छाडेर विदेशन कसैलाई रहर हुँदैनथ्यो । बाध्यतावश विदेशिनुपर्दा पक्कै पनि मन दुःखी हुन्छ ।

यस्तो अवस्थामा विदेशिएका नेपालीहरूको शरीर विदेशमा भए पनि मन भने हरदम आफ्नै देश र घरपरिवारसँगै हुन्छ; शरीरको ‘भिसा’ लागे तापनि ‘मनको भिसा’ लाग्दैन । घरपरिवारको यादले सधैं सताइरहन्छ, जसलाई ‘होम सिकनेस’ भनिन्छ ।

र, बाध्यतामा परेर विदेशिनु नै तनाव र मानसिक रोगको पहिले कारण बन्न पुग्दछ । यस्तो अवस्थामा हुने आत्महत्याको प्रमुख कारण नै मानसिक रोग हो ।

समायोजनको समस्या

रोजगारीको खोजीमा विदेश जाँदा पारिवारिक विछोड त हुन्छ नै, साथसाथै नेपाल र विदेशको हावापानी, रहनसहन, खानपान, भाषा, धर्म–संस्कृति र काम गर्ने तौरतरिकामा समेत फरकपन हुन्छ । नयाँ ठाउँमा गएपछि त्यहाँ समायोजन हुन धेरैलाई गाह्रो पर्न सक्दछ ।

यी कुरामा जति धेरै भिन्नता हुन्छ, समायोजन हुन त्यति नै गाह्रो हुन्छ । नयाँ ठाउँमा समायोजित हुन नसक्नु पनि मानसिक रोग नै हो । यसलाई ‘एडजस्टमेन्ट डिसअर्डर्स’ भनिन्छ । र, यो कारण पनि विदेशी भूमिमा नेपालीको आत्महत्याको अर्को मुख्य कारण बन्न सक्दछ । यो समस्याबाट बच्नका लागि विदेश जानुअघि नै त्यहाँको भाषा, संस्कृति, हावापानी, रहनसहन, काम आदिका बारेमा राम्रोसँग बुझेर र सिकेर मात्र जानुपर्छ ।

पारिवारिक सम्बन्धमा दरार

घरपरिवारबाट टाढा रहँदा ‘कम्युनिकेसन ग्याप’ हुने भएकाले पारिवारिक जीवनमा दरार उत्पन्न हुन सक्दछ । एकापसमा समझदारी नहुँदा र एकले अर्कालाई विश्वास गर्न नसक्दा नै यस्तो अवस्था आउने हो ।

पारिवारिक कलह पनि मानसिक रोगको अर्को एउटा प्रमुख कारण हो । पारिवारिक सम्बन्ध मजबुत बनाइराख्न विदेशमा रहँदा पनि एकापसमा कुराकानी गरिराख्ने, घरपरिवारलाई समय दिने, मायाप्रेम र दुःखसुख साटासाट गर्नेजस्ता काम गरिरहनु पर्दछ । विदेश जानुअघि पनि राम्रोसँग पारिवारिक सरसल्लाह गर्नुपर्छ ।

पारिवारिक सम्बन्ध राम्रो बनाउन नजान्दा पछिल्लो समय डिभोर्स हुने, श्रीमान् विदेश रहँदा यता श्रीमती पोइला हिँडिदिने, श्रीमान्ले अर्को विवाह गर्नेजस्ता घटनाहरू बढ्दै गएको पाइन्छ । यस्तो समस्याका कारण पनि मानसिक स्वास्थ्य समस्या बढ्ने र अन्ततः आत्महत्यासम्म पुग्ने गरेका घटनाहरू प्रशस्तै देखिएका छन् ।

मानसिक रोग र अज्ञानता

विश्वव्यापीरूपमा नै मानसिक रोग बढ्दो छ । नेपालमा पनि ६०–७० लाख नेपालीमा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान छ । यसरी हेर्दा ४–५ जना नेपालीमध्ये एक जनालाई मानसिक रोग भएको मान्न सकिन्छ । विदेश जाने युवाहरू विदेश जानु अघिदेखि नै मानसिक रोगबाट प्रभावित भएका हुन सक्दछन् । विदेश जानुअघि मानसिक रोगबारे कुनै परीक्षण गरिँदैन । लामो समयसम्मको बेरोजगारी, साहुको ऋण र चर्को ब्याज, म्यानपावरको ढिलासुस्ती र लामो प्रोसेस आदिजस्ता कुराले उनीहरू विदेश उड्नुअघि नै मानसिक समस्यामा परेका हुन सक्दछन् । र, विदेश पुगिसकेपछि उक्त रोग झनै बढ्दै जान सक्छ ।

विदेश जानुअघि मानसिक रोगबारे परीक्षण गरेर मात्र जाने या पठाउने व्यवस्था गरिनुपर्छ । विदेश जानुअघि विदेशी भूमिमा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्याबारे पनि तालिम र तयारी गरेर जाने व्यवस्था गर्नुपर्छ । यसो गर्दा विदेशी भूमिमा हुन सक्ने नेपालीको आत्महत्या नियन्त्रणमा ठूलो सहयोग पुग्दछ ।

विदेशी भूमिमा उपचारको कठिनाइ

मानसिक रोग लाग्दा शारीरिक लक्षणहरू समेत देखिन्छन् । आफूलाई भएको समस्या मानसिक हो भन्ने ज्ञान नहुँदा पनि धेरैले दुःख पाउने गरेका छन् । शारीरिक सिकायत लिएर पटक–पटक अस्पताल जाने र धेरै पटक शारीरिक परीक्षण गर्दा समेत कुनै रोग नदेखिएपछि हैरान भएकाहरू पनि धेरै छन् । पैसा र समय दुवैको नास हुन्छ तर आफूलाई मानसिक रोग लागेको कुराबारे पत्तो नै हुँदैन ।

विदेशी भूमिमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग आफ्नो समस्या स्पष्टसँग भन्न भाषाको ज्ञान हुनुपर्छ । मानसिक रोगको उपचारमा दोहोरो कुराकानी आवश्यक पर्छ । विदेशमा मानसिक रोग विशेषज्ञ उपलब्ध हुँदाहुँदै पनि भाषाको अज्ञानताका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्दछ ।

अस्तव्यस्त जीवनशैली

आत्महत्या कुनै छुट्टै एउटा ‘रोग’ होइन, यो मानसिक रोगले निम्त्याएको दुःखद् परिणाम हो । मानसिक स्वास्थ्य सबल बनाउन सक्दा र मानसिक रोग लागिहालेमा पनि बेलैमा सही उपचार प्राप्त हुँदा आत्महत्याजस्तो दुःखद् घटना घट्न पाउँदैन ।

विदेशमा हुँदा आफ्नो मानसिक स्वास्थ्य सबल बनाउन धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो सिप र क्षमताभन्दा बढी काम नगर्ने, आठ घन्टा अनिवार्य सुत्ने, मनोरञ्जनमा समय दिने, जाँडरक्सी र लागू पदार्थको सेवनबाट टाढै बस्ने, अनावश्यक कुरामा विवाद नगर्ने, कुनै समस्या पर्दा अरुसँग सेयर गर्ने, दैनिकरूपमा शारीरिक व्यायाम तथा ध्यान गर्नेजस्ता व्यवहारलाई जीवनको एक हिस्सा बनाउनुपर्छ ।

सोचेजस्तो नहुनु

विदेशमा आफूले सोचेजस्तो नहुन सक्दछ । सोचेजस्तो नहुँदा नैराश्यता बढेर जान्छ, जसका कारण तनाव, चिन्ता, अनिद्रा, खानपानमा अरुचि, अपच जस्ता समस्याको सुरुआत हुन्छ । यस्ता समस्या लामो समयसम्म कायम रहँदा विभिन्नखाले मानसिक समस्या निम्तन्छन् ।

यस्ता समस्या बढ्दै जाँदा उचित मार्गदर्शन, मनोपरामर्श र उपचारको अभावमा कयौंले आत्महत्याको बाटो रोजेको देखिन्छ । घरपरिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घरपरिवारसँगको विछोड, सोचेजस्तो अर्थोपार्जनको सपना पूरा नहुनु, अति महत्वाकाङ्क्षा, शारीरिक–मानसिक एवम् यौनहिंसा, नेपाल फर्केपछि समेत गतिलो आधार नदेख्नुजस्ता कारणहरूले पनि नेपाली युवाहरूको विदेशमा आत्महत्या हुने गरेको देखिन्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ; मात्र केही समयका लागि तुवाँलो लागेजस्तो देखिएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो अवश्य फाट्छ र सुन्दर संसार दृष्टिगोचर हुन्छ । जीवन रहे सबै गल्ती सच्याउन सकिन्छ, प्रायश्चित गर्न पाइन्छ । तर, जीवन नै त्याग्ने भूल गरिहालेमा सच्चिने र प्रायश्चित गर्ने मौका नै पाइँदैन । अतः आत्महत्या ‘समाधान’ हुँदै होइन ।