स्नायुमा समस्या ल्याउने वेस्ट नाइल भाइरस
डा. शेरबहादुर पुन
ज्वरोको कारकतत्व खोज्ने क्रममा सन् २००९ मा वेस्ट नाइल भाइरस पत्ता लागेको थियो । यो भाइरस नेपालमा समेत देखिएको थियो । काठमाडौं र भरतपुरमा यो भाइरस फेला परेको थियो । यो रोगबाट हालसम्म नेपालमा कति मानिस सङ्क्रमित भइसके भन्ने यकिन तथ्याङ्क भने छैन ।
यसरी सर्छ
‘क्युलेक्स’ जातको सङ्क्रमित लामखुट्टेको टोकाइका कारण वेस्ट नाइल भाइरस सर्छ । यो भाइरस चराबाट लामखुट्टे हुँदै मानिसमा सर्छ । हात्तीपाइले रोगको सङ्क्रमण समेत यही लामखुट्टेले सार्दछ ।
नेपालमा वर्षौंदेखि हात्तीपाइले रोग देखिँदै आइरहेको छ । त्यसैले नेपालमा धेरै अगाडिदेखि नै वेस्ट नाइल भाइरस अस्तित्वमा रहँदै आएको अनुमान गर्न सकिन्छ ।
लक्षण यस्ता–यस्ता…
वेस्ट नाइल भाइरसका दसजना सङ्क्रमितमध्येका आठ जनामा कुनै लक्षण देखिँदैनन् । वेस्ट नाइल भाइरस सङ्क्रमण भएको अवस्थामा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । कुनै–कुनै सङ्क्रमितमा भने छालामा बिबिरा देखिन सक्छन् ।
धेरैजसो सङ्क्रमितमा देखिएका यी लक्षणहरू समयको अन्तरालमा पूर्णरूपमा हराएर जान्छन् । तर, एक सय पचासजना सङ्क्रमितमध्येका एक जनामा भने लक्षण कडा हुन सक्छ । यो भाइरसको सङ्क्रमण हुँदा विशेषतः ‘एन्केफ्लाइटिस’ वा ‘मेनिन्जाइटिस’ जस्ता स्नायु समस्या देखा पर्न सक्दछन् ।
वेस्ट नाइल भाइरसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, घाँटी अररो हुने, होस हराउने, काँप्ने, माङ्शपेशी कमजोर हुने, आँखा (दृष्टि) मा समस्या आउने, शरीरमा छुँदा थाहा नपाउने, पक्षाघात हुने, आधा मात्र देख्न सक्नेजस्ता समस्या देखिन सक्छन् । ६० वर्ष कटिसकेका जेष्ठ नागरिक तथा दीर्घरोगीहरूमा कडा लक्षणहरूको जोखिम बढी नै हुन्छ । स्नायुमा समस्या देखिएकामध्ये दस प्रतिशत सङ्क्रमितको मृत्यु नै हुनेसम्मको जोखिम हुन्छ ।
परीक्षण/निदान
रगत वा सीएसएफको पानीबाट वेस्ट नाइल भाइरस सङ्क्रमितको निदान गरिन्छ । सङ्क्रमणविरुद्ध शरीरमा बनेको ‘इम्युनोग्लोबुलिन’ बाट वेस्ट नाइल भाइरस सङ्क्रमण हो कि होइन भन्ने तथ्य पत्ता लगाउन सकिन्छ । पीसीआर प्रविधिबाट पनि यसको निदान गर्न सकिन्छ ।
उपचार/रोकथाम
वेस्ट नाइल भाइरस सङ्क्रमितको उपचारका लागि कुनै विशेष एन्टिभाइरल या औषधि छैन । यसका विरुद्धको खोप पनि विकास भइसकेको छैन । लक्षणमा आधारमा नै यसको उपचार गरिन्छ । अर्थात्, बिरामीमा जे–जे लक्षणहरू देखापर्छन्, तिनै लक्षणहरूको समाधान गर्ने औषधि या उपाय प्रयोग गरेर उपचार गरिन्छ ।
लामखुट्टेको टोकाइबाट बच्नु नै वेस्ट नाइल भाइरसको सङ्क्रमणबाट बच्ने मुख्य उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्नु नै सबैभन्दा राम्रो र सजिलो उपाय हो । यसबाट बच्न घर वरिपरि पानी जम्न दिनु हुँदैन, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
वेस्ट नाइल भाइरसको सङ्क्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ; वरिपरिको वातावरण साफा राख्नुपर्छ । यसबाट बच्नका लागि जनचेतनाको पनि त्यत्तिकै महत्व हुन्छ ।
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक छन्