सडक दुर्घटनाका घाइते: क्षति न्यूनीकरणका उपाय
प्रा.डा. सुनिलकुमार जोशीजोसुकैले र जहिलेसुकै सबैभन्दा पहिले ध्यान पुर्याउनुपर्ने कुरा त सवारी साधन चलाउँदा निकै नै होसियारी अपनाउनुपर्छ भन्ने नै हो । सवारी चलाउने क्रममा दुर्घटनामा नपरियोस् भन्नेमा नै सबैको प्राथमिकता हुनुपर्छ । शरीर दुर्घटनाप्रति अति नै समवेदनशील हुन्छ; सानो दुर्घटनाले पनि शरीरमा ठूलठूला चोटपटक लाग्नुका साथै गम्भीर क्षति पुग्न सक्दछ ।
भूलवस दुर्घटना भइहालेमा भने जनधनको क्षति कम गराउनका लागि सुरक्षा, सतर्कता र न्यूनीकरणका विभिन्न विधि अपनाउन सकिन्छ/अपनाउनु पर्दछ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सडक दुर्घटनाबाट बच्ने र दुर्घटना भइहालेको खण्डमा समेत क्षति न्यूनीकरण गर्ने उपायहरूका रूपमा सडक सुरक्षाका पाँच स्तम्भ (पिलर) निर्धारण गरेको छ ।
सुरक्षित सडक, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछि घाइतेको व्यवस्थापनलाई डब्ल्यूएचओले सडक सुरक्षा विधिका स्तम्भको रूपमा निर्धारण गरेको छ ।
यसरी हेर्दा डब्ल्यूएचओले निर्धारण गरेको पहिलो स्तम्भ हो– सडक सुरक्षा व्यवस्थापन । र, यसका अरु पक्षहरू अर्थात् स्तम्भ आ–आफ्नो ठाउँमा महत्वपूर्ण छँदैछन् तैपनि चिकित्सक हुनुका नाताले यस आलेखमा मैले भने विशेषतः दुर्घटनापछि घाइतेको व्यवस्थापनका विषयमा चर्चा गर्न प्रयत्न गरेको छु ।
कसरी गर्ने त घाइतेको व्यवस्थापन ? अनि कमभन्दा कम शारीरिक क्षति एवम् यथासम्भव न्यूनतम समय र खर्चमा कसरी बचाउने त दुर्घटनाका घाइतेलाई ?
दुर्घटनामा परे तापनि स्वास्थ्य जटिलता धेरै ननिम्तिएका घाइतेहरू समेत समयमै उद्धार र यथासिघ्र यथोचित उपचारको अभावमा मृत्युको मुखमा पुग्न सक्ने जोखिम हुन्छ । सडक दुर्घटनामा परेर घाइते भएकाले छिटोभन्दा छिटो र सही उपचार पाउन नसक्दा शरीरका अङ्ग गुमाउन र अपाङ्गतायुक्त जीवन बिताउन बाध्य हुनुपर्ने समेत जोखिम हुन्छ ।
कहाँ र कतिखेर दुर्घटना हुन्छ भन्ने कुरा त कसैलाई पनि थाहा हुँदैन । यद्यपि सम्भावित दुर्घटनास्थलको पहिचान गरी पूर्वतयारी गर्न भने निकै हदसम्म सकिन्छ ।
प्रश्नहरू उब्जन सक्छन्– कोही दुर्घटनामा परेको देख्नासाथ के–कसो गर्ने ? अनि कसरी गर्ने त घाइतेको उद्धार ? यथासमयमै कुशल तरिका अपनाएर उद्धार तथा उपचार गर्न सकिएमा दुर्घटनाका घाइतेको मृत्यु टार्न र अङ्गभङ्ग हुने जोखिमबाट निकै हदसम्म बचाउन सकिन्छ ।
दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि सर्वप्रथम त कुन क्षेत्रमा, कुनै मौसममा र के–कस्तो अवस्थामा सडक दुर्घटना बढी हुन्छ भन्ने तथ्याङ्क एवम् सूचना थाहा पाउनु आवश्यक हुन्छ । बढी दुर्घटना हुने क्षेत्र र समय अर्थात् मौसको पहिचान गर्नुपर्छ । यसो गर्न सक्दा उद्धारको पूर्वतयारी गर्न पद्धत पुग्छ/सजिलो हुन्छ ।
ट्राफिक प्रहरी कार्यालय, अस्पताल तथा स्वास्थ्य केन्द्र केन्द्रहरू, स्थानीय तह तथा जनप्रतिनिधि, क्लबहरूलगायतसँग सडक दुर्घटनाका बारेमा तथ्याङ्कहरू हुनु जरुरी हुन्छ । यस्ता तथ्याङ्कहरू अध्ययनमा आधारित, पूर्ण किसिमका र एकरूपतायुक्त हुनुपर्छ । त्यसो भएमा दुर्घटना भइहालेको खण्डमा तुरुन्तै उद्धार गर्नका निम्ति पूर्वतयारीका साथ बस्न सकिन्छ ।
सम्भावित दुर्घटनास्थलमा प्राथमिक उद्धार टोली (फस्र्ट रेस्पोन्स टिम) को व्यवस्थापन गर्नुपर्छ । तर, नेपालमा भने त्यस्तो व्यवस्था कहीं–कतै पाइँदैन । नेपालको भौगोलिक एवम् सडकको अवस्था फरक छ । यहाँ भीर–पाखायुक्त क्षेत्र नै धेरै छन् ।
कुनै गाडी भीरबाट खस्यो भने त्यही अनुसारको तालिम प्राप्त उद्धार टिम आवश्यक पर्छ र कुनै गाडी नदीमा डुब्यो भने सोही अनुसारको उद्धार टिमको जरुरत हुन्छ । कुनै घाइते सवारी साधनले च्यापिएको अवस्थामा सुरक्षित ढङ्गले उद्धार गर्न त्यही अनुसारका स्रोत–साधन एवम् सिप–क्षमतायुक्त टिम आवश्यक पर्छ । कुनै घाइतेको मेरुदण्डमा चोट लागेको छ भने सोहीअनुसार ज्ञान भएको र कुनै घाइतेको टाउकामा गम्भीर असर परेको भए सोहीवमोजिमको कुशलतायुक्त र तालिम प्राप्त उद्धारकर्ताको जरुरत पर्दछ ।
उद्धारकार्यमा खट्ने प्राथमिक उद्धार टोलीले समन्वयात्मकरूपमा कुशल तरिकाले उद्धार कार्य सम्पन्न गर्नुपर्छ । घाइतेको स्वास्थ्य जटिलताका आधारमा प्राथमिकता निर्धारण गरी उद्धार गर्ने टिमले नै औषधोपचारको व्यवस्थापन गरिदिन सक्नुपर्छ । नजिकै कुनै स्वास्थ्य संस्था छ या छैन, छ भने त्यहाँ के–कस्ता सेवा उपलब्ध छन् भन्ने जानकारी समेत उद्धारकर्तामा हुनुपर्छ । र, त्यहीअनुसार समन्वय गरेर एम्बुलेन्स व्यवस्थापन गरी बिरामीलाई पठाउनुपर्छ ।
प्राथमिक उद्धारमा खट्ने टिमसँग नजिकका अस्पताल, स्वास्थ्य संस्था तथा उपलब्ध सेवाबारेका विवरणहरू हुनु आवश्यक हुन्छ । यदि घाइतेलाई तत्काल आवश्यक सेवा नजिकै उपलब्ध छन् भने नजिककै स्वास्थ्य संस्थालाई प्राथमिकता दिनुपर्छ र घाइतेलाई तत्काल आवश्यक सेवा नजिकै उपलब्ध नभएमा समय बर्बाद हुन नदिई टाढैको अस्पतालमा भए पनि यथासिघ्र ‘रेफर’ गरिहाल्नुपर्छ ।
उद्धारमा ढिलाइ, कुन स्वास्थ्य संस्थामा पठाउने भनी निक्र्याेल गर्न ढिलाइ, स्वास्थ्य केन्द्रमा पुग्न ढिलाइ र पुगिसकेपछि पनि उपचार सुरु गर्न हुने ढिलाइका कारण दुर्घटनाका घाइतेको स्वास्थ्यमा बढी क्षति पुग्दछ र मृत्युसम्म हुन सक्ने जोखिम बढ्दछ । अतः यस्ता विषयमा निकै चनाखो भई तुरुन्तै निर्णय लिन सक्नुपर्छ । यसका निम्ति समेत उद्धार एवम् प्राथमिक उपचारमा खट्ने टिमसँग पूर्वतयारीको आवश्यकता पर्दछ ।
सम्भावित दुर्घटनास्थल, ठूला सडक र राजमार्ग क्षेत्रमा प्राथमिक तहकै भए पनि उपचारको व्यवस्थापन गर्नु सरकारको आधारभूत जिम्मेवारी हो । त्यस्ता स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारलगत्तै मुख्य उपचारका निम्ति विभिन्न क्षेत्रमा ‘हब’ तथा ‘स्याटेलाइट’ अस्पतालहरूको व्यवस्थापन गर्नु सरकारको अर्को मुख्य जिम्मेवरी हो ।
तर, नेपालमा यस्ता केन्द्रको व्यवस्थापन गर्ने प्रयास गरिएको पाइँदैन । उद्धार टिममा स्वास्थ्कर्मी, सुरक्षाकर्मी, स्थानीय स्वयम्सेवक, जनप्रतिनिधिहरूलगायतको समन्वययात्मक भूमिका एवम् सहभागिता हुन सक्नु अर्को महत्वपूर्ण पक्ष हो ।