घरमै बनाउनोस् यी मिठा परिकार

आरबी बुढाथोकी

चिकन अचार

आवश्यक सामग्री

बोनलेस चिकन– आधा केजी, तोरीको तेल– ४० एमएल, मेथी– आधा चिया चम्चा, अदुवा– १५ ग्राम, लसुन– २० ग्राम, सुकेको खुर्सानी– ६ वटा, सोप– एक चिया चम्चा, तोरीको दाना– एक चिया चम्चा, नुन– स्वादअनुसार, जिरा (गेडा)– ७ ग्राम, धनिया(गेडा)– १० ग्राम, इम्ली या कगतीको रस– २५ एमएल, भेनेगर– ७ एमएल, मरिचको दाना– एक चिया चम्चा ।

बनाउने तरिका

सर्वप्रथम चिकनलाई डाइस या स्ट्रिप कटमा काट्ने । त्यसपछि नुन, बेसार र कागती मोलेर तातेको तोरीको तेलमा मजाले (खौरो हुनेगरी) भुट्ने । ब्राउन कलरको हुनासाथ झाँजरले छानेर एक साइडमा राख्ने ।

अर्को सुख्खा प्यानमा सुकेको डल्ले खुर्सानी, मरिच, धनिया, जिरा, मेथी, तोरी, टिमुर हालेर फ्राई गर्ने । त्यसलाई हल्का चिसो हुन दिएपछि सिलौटो या ब्ल्यान्डरमा पिस्ने र एक साइडमा राख्ने ।

तातेको तोरीको तेलमा मसिनो गरी काटेको अदुवा–लसुन फुराउने र ब्राउन हुनासाथ हिट कम गर्ने । त्यसपछि पिसेको मसला हालेर केहीबेर पकाउने अनि रोस्ट गरेको चिकन हालेर चलाउने ।

अब यो चिसो हुनासाथ भिनेगर, कागतीको रस र इम्लीको झोल हालेर मिक्स गर्ने । त्यसपछि यसलाई हावा नछिर्ने सुख्खा सिसीमा हालेर कोठाको सामान्य तापक्रममा राख्ने । यही विधिबाट कुखुराको मासुको मात्र नभई बफ, टर्की, बङ्गुर, अस्ट्रिच, खसी, झिँगे माछा इत्यादिको समेत अचार बनाउन सकिन्छ ।

यसलाई तीनदेखि छ महिनासम्म उपभोग गर्न सकिन्छ । चिकन अचारलाई उक्त सिसीबाट निकालेर उपभोग गर्दा सुख्खा र सफा काठ या स्टिलको चम्चा प्रयोग गर्नुपर्छ ।

०००

टर्कीको छोइला (नेवारी शैलीको)

आवश्यक सामग्री

हड्डी नभएको टर्कीको मासु– आधा केजी, सुकेको खुर्सानी– ४ देखि ६ वटा, अदुवा– १५ ग्राम, लसुन– ३० ग्राम, तोरीको तेल– १५ एमएल (या ३ चिया चम्चा), मेथी– आधा चिया चम्चा, टिमुरको धुलो– आधा चिया चम्चा, हिमाली नुन– स्वादअनुसार, पोलेको गोलभेंडा– ३ वटा, हरियो लसुन– २ पोटी, धनिया– आधा मुठा, बेसार– आधा चिया चम्चा, टिमुरको तेल– २ थोपा ।

बनाउने तरिका

काटेको टर्कीलाई थोरै नुन र बेसार हालेर डाइस या स्ट्रिपमा हल्का बफ्याउने र छान्ने । त्यसपछि केहीबेर सुख्खा गरेर प्यान या ग्रिलरमा राम्ररी डाम्ने र एक साइड लगाएर केहीबेर त्यत्तिकै राख्ने । अब सुख्खा प्यानमा सुकेको खुर्सानी र टिमुरलाई भुटेर एक साइडमा राख्ने ।

त्यसपछि लसुनको केस्रा छुट्याउने र बोक्रासहित पोल्ने, अदुवालाई पनि बोक्रासहित आगोको ज्वालामा पोल्ने र दुवैलाई पखाल्ने । त्यसपछि स–साना गोलभेंडालाई पनि पोलेर निकाल्ने ।

अब भुटेको तोरीको तेलमा पोलेको लसुन, पोलेको खुर्सानी, टिमुर र गोलभेंडालाई सिलौटो या ब्ल्यान्डरमा मजाले पिस्ने । यसरी बनेको मसलालाई ‘छोइला मसला’ पनि भनिन्छ । (गोलभेंडा नहाली पिस्ने हो भने यो मसलालाई लामो समयसम्म प्रयोग गर्न पनि सकिन्छ ।)

मसला तयार पारिसकेपछि डामेको टर्कीको मासुमा हिमाली नुन र छोइला मसला हालेर मजाले मुछ्ने । त्यसपछि तोरीको तेलमा मेथी र बेसार झान्ने । अन्तमा, काटेको हरियो लसुन र धनिया हालेपछि नेवारी शैलीको टर्कीको छोइला तयार भयो ।

यसलाई स्न्याक्स या खाजाका रूपमा ताइचिन चिउरासँग खान सकिन्छ । यो विधिबाट टर्कीको मात्र नभई चिकन, मटन, हाँस, पनीर, तोफु, मस्यौरा, निउँरो, च्याउ, माछा, झिँगे माछा, कालिज, अस्ट्रिचलगायतको पनि छोइला बनाउन सकिन्छ ।

०००

हेल्दी इम्युन जुस

आवश्यक सामग्री

चुकन्दर– १५० ग्राम, फुजी स्याउ– २५० ग्राम, गाजर– ३०० ग्राम, तुलसी– सानो मुठा, कागतीको रस– २ चिया चम्चा, कालो मरिचको धुलो– १ पिन्च, कालो नुन– स्वादअनुसार ।

बनाउने तरिका

माथि उल्लेखित सामग्रीमध्ये स्याउ, चुकन्दर र गाजरलाई राम्ररी सफा गरेर स–साना चाना पारी काट्ने । ती चानाहरूमा तुलसी समेत मिसाएर जुसर या ब्ल्यान्डरमा पेल्ने ।

त्यसपछि छानेर कागतीको रस, मरिचको धुलो र स्वादअनुसार कालो नुन हालेपछि इम्युन जुस तयार भयो । चुकन्दर र गाजरलाई ताछेर जुस निकालिएको भए छान्नु पनि पर्दैन ।

यो जुस दिनहुँ बिहान एक गिलास पिउनाले रोग प्रतिरोधात्मक शक्ति धेरै हदसम्म वृद्धि हुन्छ । युवा– युवतीले ३५० देखि ४०० एमएलसम्म र बालबालिका या वृद्ध–वृद्धाले २५० देखि ३०० एमएलसम्म यो जुस पिउनु उत्तम मानिन्छ । यही तरिका अपनाएर सुन्तला, किबी, मौसम, भोगटे, पाइनापल, वाटरमेलन, पपैयाको पनि जुस तयार पारी स्वाद फेर्दै पिउन सकिन्छ ।