पानीमाथिको सहर, भेनिस घुम्ने रहर
डा. डीबी सुनुवार
नोभेम्बर महिनाको चिसो सिरेटोले सेकिरहेको छ । पानीमाथिको सहर, इटालीको भेनिस । बिहानीपखको सूर्यको रश्मिले चुम्दैछ । पानीमाथिको यही सहरको यात्रामा छु म आज ।
विश्वका धेरै वैज्ञानिक तथा दार्शनिकहरूकै साधना केन्द्र हो भेनिस । कलाकार तथा सिर्जनात्मक काम गर्ने व्यक्तिहरू इटालीको भेनिसमा रमाउन रुचाउने गरेको पाइन्छ । कला–सिर्जनाका लागि प्रसिद्ध मानिन्छ यो सहर ।
भेनिस सहर ‘नहरको सहर’ का रूपमा समेत चिनिन्छ । पानीमा तैरिइरहेको सहरका रूपमा समेत यो सहर परिचित छ ।
ओहोरदोहोर पुल र डुङ्गाबाटै
सुुन्दर घरहरू पानीमा तैरिइरहेका जस्ता देखिन्छन् । सामुद्रिक नहरमा तैरिइरहेका सुन्दर भवनहरू देख्दा लाग्छ– पानीमाथि पनि घरहरू कसरी अडिएर बसेका होलान् ! तर, अडिएका छन् । तैरिइरहेजस्तै देखिन्छन् । नहरैनहरमा छन् घरहरू ।
सानो सहर भेनिसमा एक सय सतहत्तर वटा सामुद्रिक नहर छन् । भेनिसमा धेरै नै छन् पुलहरू । एउटा घरबाट अर्कोमा पुग्न समेत पुलकै सहायता लिनुपर्छ । साना–ठूला गरी चार सयभन्दा बढी पुलहरू छन् भेनिसमा । तीमध्ये सत्तरी वटाभन्दा बढी पुल त व्यक्तिगत तवरमै बनाइएका छन् ।
पुलबाहेक एउटा घरबाट अर्को घरसम्म पुग्न डुङ्गा चढ्नुपर्छ । यहाँ साना–ठूला गरेर चार सयभन्दा बढी डुङ्गा रहेको बताइन्छ । यहाँको यातायातको प्रमुख साधन भनेकै डुङ्गा हो ।
मर्चेन्ट अफ भेनिस
भेनिस सहरलाई व्यापारको उद्गमस्थलका रूपमा समेत लिइन्छ । विलियम सेक्सपियरको पुस्तक ‘मर्चेन्ट अफ भेनिस’ बाट समेत पुष्टि हुन्छ, भेनिस सहर व्यापारिक ‘हब’ हो भन्ने कुरा ।
सन् १६३८ मा संसारकै सबैभन्दा पहिले क्यासिनो खेलको सुरुआत समेत भेनिस सहरबाटै भएको मानिन्छ । भेनिस सहरमा नै संसारकै सबैभन्दा पहिले (सन् १६४६ मा) महिलाले अध्ययन गरी ‘ग्र्याजुयसन’ हासिल गरेको बताइन्छ । इटालिको भेनिसमा ५० वर्षयता दैनिक ६० हजार पर्यटकहरू घुम्न पुग्ने गरेका छन् ।
‘जिससका चेला’ को सहर
धार्मिक तथा आध्यात्मिकरूपमा समेत महत्वपूर्ण मानिन्छ भेनिस सहर । भेनिसलाई ‘जिससका चेला’ को सहरका रूपमा लिइन्छ । जिसस क्राइस्टलाई क्रुसमा टाँगेर मारिएको घटनापछि जिससका बाह्रजना चेला संसारभर फैलिए ।
तीमध्येका एकजना भेनिसमा पनि पुगे । भेनिस पुगेका तिनै चेला ‘सेन्ट मार्क’ का नामले चिनिए । क्रिश्चियन धर्ममा आस्था राख्नेहरूका लागि आस्थाका पुञ्ज हुन् सेन्ट मार्क ।
भेनिसमा स्थानीयवासीहरूले व्यापार फैलाइरहेका थिए । तर, चर्चहरूमार्फत ‘सेन्ट मार्क’ ले भने भेनिस सहर व्यापारिक क्षेत्रभन्दा पनि ‘सुसमाचार’ फैलाउने आध्यात्मिक केन्द्र हो भन्ने हिसाबले चित्रित गराइदिए । त्यसयता भेनिस क्रिश्चियन धर्मावलम्बीहरूको आध्यात्मिक केन्द्रका रूपमा समेत चिनिँदै आएको छ ।
एक पटक त यो सहर पानीमा पूरै डुबेको समेत तथ्य भेटिएको छ । बाह्रौं शताब्दीमा पूरै सहर नै डुबेपछि इटाली सरकारले ‘सेन्ट मार्क स्क्वायर’ भनेर क्राइस्टका तिनै चेलाको नामबाट उक्त सहरको नामकरण गर्यो ।
भेनिस सहरमा ‘मर्कुस’ को चिहान छ । सोही चिहानमाथि चर्च स्थापना गरिएको छ ।
उक्त चर्चलाई ‘सेन्ट मार्क चर्च’ भनिन्छ, जहाँ ९८.६ मिटर अग्लो घन्टी राखिएको छ । सो घन्टीलाई संसारकै सबैभन्दा अग्लो घन्टीका रूपमा लिइन्छ ।
‘हाउ एभर बिलिभ्स एण्ड ब्याकटाइज विल बी सेभ्ड बट हु इभर डज नट बिलभ विल बी कन्डेम्ड, दियरफोर ह्वाटेभर यु आस्क फर इन अ प्रेयर बिलिभ द्याट यु ह्याभ रिसिभ इट एन्ड इट विल दी योर्स ।’
सुन्दर भेनिसको रोमाञ्चक यात्रा
प्रसङ्ग भेनिसकै छ । यात्रा भेनिस सहरमा अघि बढिरहेको छ । चिटिक्क परेको क्विन बोट अर्थात् डुङ्गामा करिव ५० जना चढेका छौं । डुङ्गा चढेर पानीमाथि तैरिँदै भेनिस सहर जाँदैछु ।
यात्रा जति अघि बढिरहेको छ, पानीको छाल र हावाको बेग पनि त्यत्तिकै छ । पानीको छाल र हावाको बेगका बीच डुङ्गाबाट म पनि फोटो स्न्याप लिइरहेको छु । पानीको छाल फुरुरू गर्दै मुखैसम्म आइपुगेको छ ।
आहा ! क्या स्वर्गको अनुभूति । सुन्दर नगरी भेनिसको यात्राले मन कम्ति प्रफुल्लित छैन । गाइड अमान्डाले डुङ्गामा नै हामीलाई भेनिसको ऐतिहासिकता, धार्मिक तथा व्यावसायिक र कला–संस्कृतिलगायतका बारेमा बताइरहेकी छन् ।
डुङ्गामा रहेका धेरैजसो व्यक्तिहरू फोटो तथा भिडियो कैद गर्नमै मस्त छन् । म भने गाइडसँग धार्मिक तथा ऐतिहासिकलगायतका विषयमा रुचिपूर्वक सुनिरहेको छु । मलाई सानैदेखि ऐतिहासिक तथा नयाँ–नयाँ र धर्मिकलगायतका तथ्यहरूमा डुब्न रुचि हुन्थ्यो । आज गाइडसँग पनि यस्तै ऐतिहासिक विषयमा रुचिपूर्वक धेरै कुराहरू सुनिरहेको छ ।
संसार घुम्ने पर्यटकहरूले भेनिस नघुमे यात्रा नै अपूरो हुने भनाइ छ । यतिखेर भने डुङ्गाबाट उत्रेर मेरा पाइलाहरू भेनिस सहरमा परिसकेका छन् । सर्वप्रथम म भेनिसस्थित ‘ग्राण्ड क्यानल’ घुम्दैछु ।
निकै सुन्दर यो क्यानलबारे उस्तै सुन्दरी गाइड आमन्डाले ब्रिफिङ गर्दैछिन् । उनले ब्रिफिङ गरिरहेको समयमा छोटो कपाल भएकी उनको रेसमी पछ्यौरा हावाले फुरफुर उडाइरहेको छ । त्यो दृश्यले मेरो मलाई थप रोमाञ्चित तुल्याइरहेको छ ।
यहाँका वाइन एन्ड डाइन, सिसा तथा सुनका मालसामान र गरगहना बनाउने फ्याक्ट्रीले मलाई व्यावसायिक ऊर्जा मिलेको छ । विशाल ‘सेन्ट मार्क स्क्वायर’ मा बसेर ‘सेन्ट मार्क चर्च’ अगाडिको भव्यतम् कलाकृतिमा रमाउँदाको आनन्द नै बेग्लै !
आहा ! क्या आनन्दको सास फेर्न पाइयो । यहाँका खाने कुरा कति व्यवस्थित, कति सफा र कति मिठा ! बस्नका लागि त यो ठाउँ ‘स्वर्ग! नै पो छ । तर, हामी भने फर्किइहाल्नु पर्ने छ । फर्कन हतार छ ।
सुन्दर नगरी भेनिस छाडेर फर्कंदै छु । सुन्दरी गाइड आमन्डाले बिदाइको हात हल्लाइन् । बाई–बाई आमन्डा ! बाई–बाई भेनिस !