रुनुका पनि यस्ता छन् फाइदा !

गोपाल ढकाल

जन्मनासाथ मानिसले पहिलो प्रतिक्रिया वा व्यवहारस्वरूप रुने गर्छ । मानिसको पहिलो भाषा नै रुवाइ हो । गर्भभित्रको वातारण तथा जीवनशैली र जन्मेपछिको बाहिरी वातावरण एवम् जीवनशैली फरक पर्दा हुने कठिनाइ समायोजनको प्रक्रियामा बच्चा रुन्छ ।

आमाको गर्भमा हुँदा शिशु आफैंले नाकबाट सास फेर्नु पर्दैन । नवजात शिशु जन्मनेबित्तिकै रोएन भने चिमोटेर वा प्याट–प्याट पिटेर भए पनि रुवाउने प्रयास गरिन्छ । यसले श्वास–प्रश्वास प्रक्रियालाई सहज बनाउँछ । बच्चाले रुँदा गहिरो सास लिन्छ ।

सुख–दुःख दुबै अवस्थामा मान्छे रुन्छ । तर, मान्छे बढीजसो भावनात्मक चोट पर्दा नै रुने गर्छ । हाँसो, खुसी, क्रोध, निराशा, लज्जा, घृणा, मायाजस्तै रुनु पनि एक प्रकारको भावना वा सम्वेग हो र मन नै भावनाको स्रोत हो । भावना शरीरभित्रको रासायनिक प्रतिक्रिया हो ।

सबै भावनाको नियन्त्रण र सञ्चालन दिमागले गर्छ । मस्तिष्कको बीच भाग, लिम्बिक सिस्टमले सबै प्रकारका भावनाहरू नियन्त्रणमा राखी परिचालन गर्ने काम गर्छ । अरु भावनाहरू जस्तै रुनु पनि मन र मस्तिष्कसँग सम्बन्धित क्रियाकलाप हो । भावनाहरू विशेषगरी अनुहारमार्फत व्यक्त हुन्छन् ।

रुवाइ नै मानवजातिको पहिलो भाषा भएकाले नवजात शिशुले भोक लाग्दा, डर लाग्दा, असजिलो हुँदा, एक्लो हुँदा, आवश्कता पूरा नहुँदा रोएर आफ्ना समस्या व्यक्त गरिरहेको हुन्छ । उसले बिस्तारै इसारा गर्न र क्रमशः बोल्न सिक्दै गएपछि भने रुवाइ कम हुँदै जान्छ । मनमा चोट पर्दा सबै उमेरसमूहका व्यक्ति दुःखी हुने र रुने गर्दछन् । व्यक्ति, उमेर र परिवेशअनुसार रुवाइका प्रकृति भने फरक–फरक हुन सक्छन् । कोही सुँक–सुँक गरेर रोला, कोही भने डाँको छाडेर रोला !

हरेक पटक आउने आँशु एकै प्रकारका हुँदैनन्; यसमा पनि रासायनिक अन्तर पाइन्छ । दुःख र भावनात्मक चोट पर्दा निस्कने आसु (सम्वेगात्मक आँशु), आँखामा धुलो, कसिङ्गर पर्दा निस्कने आँसु (आँखाको पानी) र आँखालाई ब्याक्टेरियाबाट बचाउन तथा सुख्खा हुनबाट रोक्न अश्रुग्रन्थीबाट निस्कने आँशु फरक–फरक तत्व हुन् ।

कहिलेकहीं फिल्म हेर्दा, उपन्यास, कथा आदि पढ्दा या गीत सुन्दा पनि हामी रुने गर्छाैं । काल्पनिक नै भए पनि कथा र पात्रमा डुब्दा हाम्रो मस्तिष्कको दायाँ गोलाद्र्ध बढी सक्रिय हुन थाल्छ, जुन भावनासँग सम्बन्धित हुन्छ । यसले गर्दा भावनामा डुबेर हामी रुने गर्छाैं । तर, बायाँ गोलाद्र्ध अरु बेलाभन्दा कम सक्रिय हुन्छ, जुन तर्क तथा तथ्यसँग सम्बन्धित हुन्छ ।

मानिस रुनुका पछाडि धेरै कारण हुन सक्दछन् । जस्तो– भावनात्मक चोट लाग्दा, मनमा पीर पर्दा, तनाव हुँदा, निराश हुँदा, बिछोड तथा आफन्तसँग छुट्टिनु पर्दा, शारीरिक चोटपटक लाग्दा, शारीरिक दुखाइ, सोचेजस्तो परिणाम नआउँदा, असफल हुँदा, अप्रत्यासित सफलता वा खुसीको समाचार सुन्दा, कसैले गाली, दुव्र्यवहार, हेला, अपमान, आरोप तथा लान्छना लगाउँदा, अत्यधिक रिस उठ्दा, पछुतो हुँदा आफ्नो गल्ती महसुस हुँदा, विछोडपछिको मिलन हुँदा, अरुको पीडा देख्दा–सुन्दा, कसैले आफूप्रति सहानुभुति राख्दा, कामको मूल्याङ्न गर्दा, प्रशंसा गर्दा, माया गर्दा आदि अवस्थामा मानिस रुने गर्छ ।

रुवाइका फाइदा

जब मनको पीर–ब्यथाले सहज निकास पाउँदैन, तब कोही रुन्छ । पीर–दुःखमा प्रायः सबैलाई रुन मन लाग्छ । तर, सामाजिक परिवेश र वातावरणका कारण निर्धक्कसँग रुने अवसर नमिल्न पनि सक्छ । पीडालाई दबाएर राख्नु, व्यक्त नगर्नुभन्दा मन खोलेर रुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

हाम्रो समाजमा भने पीर पोख्न रोएकालाई नरोऊ भनेर सम्झाउने, अझ केटा मान्छेलाई त झन् ‘छोरा मान्छे भएर रुनुहुन्न’ भन्ने, रुनुलाई कमजोरी ठान्दै कमजोर मन भएको व्यक्तिका रूपमा हेर्ने गरिन्छ । यसो गर्नु राम्रो होइन ।

भन्ने गरिन्छ– ‘मनको पीर आँशुले बगाएर लैजान्छ ।’ साँच्चै नै रुवाइपछि मान्छेमा मन हल्का र सफा हुने, तनाव कम हुने, रिस कम हुने, मुड राम्रो हुने, आनन्दानुभूति हुने, सोच सकारात्मक हुने, टाउको तथा शरीरको दुखाइ कम हुनेजस्ता फाइदा हुन्छन् । तनाव, दुःख, पीडा हुँदा शरीरमा उत्पन्न भएका विकारहरू आँशुमार्फत बाहिर निस्कन्छन् । ठूलै मानसिक चोट पर्दा पनि कोहीरुन सकेन वा पाएन भने पछि उसमा मानसिक रोग देखा पर्ने सम्भावना हुन्छ ।

रोएपछि अरुको सहानुभूति पाउने, मद्दत प्राप्त गर्ने, आफूतिर अरुको ध्यानाकर्षण हुने मौका मिल्छ । रुवाइ भनेको दुःख–पीडा व्यक्त गर्ने अमूर्त भाषा पनि हो; यो सबैले बुझ्दछन् । जो रुन लजाउँदैन, ऊ मानसिकरूपमा बलियो हुन्छ । सजिलैसँग रुने व्यक्ति अरुसँग भावना पोख्न डराउदैन ।

रुवाइ : एक प्रकारको थेरापी

रुवाइलाई एक प्रकारको थेरापीका रूपमा समेत लिइन्छ । रुँदा आँशुसँगै मस्तिष्कबाट इन्डोर्फिन नामक हर्मन निस्कन्छ, जसबाट मन हल्का हुनुका साथै आनन्दानुभूति हुन थाल्छ र तनाव कम हुनुका साथै मन शान्त एवम् हलुका हुन्छ । रुँदा मस्तिष्कको लिम्बिक सिस्टमको कार्यमा कमी आउँछ, जसले गर्दा आरामको महसुस हुन्छ ।

रुवाइलाई ‘नेचुरल पेनकिलर’ पनि मानिन्छ । तर, स–साना कुरामा पनि तनाव लिनु, चित्त दुखाउनु, बढी इमोसनल हुनु र रोइहाल्नुचाहिँ राम्रो होइन । यो प्रवृत्तिले भने दिमागमा नकारात्मक असर पार्न सक्छ । धेरै रुने व्यक्ति खुसी हुन सक्दैन र गलत बानीको विकास हुन पनि सक्दछ ।

भनिन्छ, महिलाको मन कमलो हुन्छ, त्यसैले धेरै रुने गर्छन् । अध्ययनबाट पनि महिला पुरुषभन्दा चार गुणा बढी रुने गरेको देखिएको छ । यसो हुनुका पछाडि महिलामा प्रोलैक्टिन नामक हर्मन हुन्छ, जसले रुन प्ररित गर्छ । व्यक्ति भावुक हुँदा इन्डोक्राइन सिस्टमले आँखाको क्षेत्रमा हर्मन निकाल्न थाल्दछ, जुन आँसुका रूपमा आँखामा रसाउन थाल्दछ ।

मनमा चोट परेको व्यक्तिलाई रुनका लागि प्रोत्साहित गर्नुपर्छ; रुनबाट रोक्नु हुँदैन । तर, आफ्नो कुरा लाद्न वा स्वार्थ पूरा गर्न रुवाइलाई नै अस्त्रका रूपमा प्रयोग गर्ने केटाकेटी, महिला आदिलाई भने यस्तो गर्न निरुत्साहित गर्नुपर्छ ।