चिसोमा फुल्ने सुन्दर फूल र न्यानोपनको अनुभूति
अनिता सुनुवारजाडो याममा पनि गार्डेन तथा गमलामा ढकमक्क मौसमी फूल फुलाएर घर तथा वातावरण सजाउन सकिन्छ । जाडो याममा फुलाउन सकिने धेरै किसिमका मौसमी फूल हुन्छन् । गर्मी यामका मौसमी फूल रोप्ने मौसम सकिएसँगै जाडो यामका फूल रोपेर सुन्दर फुलाउन सकिन्छ । चिसो सिरेटोमा बगैंचा तथा गमलामा ढकमक्क फूल फुलाएर न्यानोपनको अनन्दानुभूति गर्न सकिन्छ ।
जाडो धेरै छिप्पिएपछि कतिपय मौसमी फूलका बिरुवा हुर्काउन कठिन हुने भएकाले जाडो याममा रोपिने फूलका बिरुवा सामान्यतः असोजदेखि मङ्सिरको अन्त्यसम्ममा उत्पादन गरिसक्नु उचित हुन्छ । जाडो यामका मौसमी फूललाई सामान्यतः असोजदेखि वैशाखसम्म फुलाउन सकिन्छ ।
काठमाडौं उपत्यकाजस्तो भीडभाड र धुलो–धुवाँको चाप बढी भएको सहरमा त झन् गमला तथा गार्डेनमा रोपेर सजाइने फूलले थकान तथा तनाव कम गर्न सघाउँछ । गार्डेनमा ढकमक्क फूल फूल्दा मन प्रफुल्लित हुन्छ र मानिसको सिर्जनात्मकता बढ्दछ ।
यी हुन् जाडोमा फुल्ने फूल
डेन्थस, पिटुनिया, प्यान्जी, भ्यागुते (इटरनेम), भर्विना, सिनेरिया, गजिनिया, क्यालेन्डुला, रेनुक्स, कार्नेसन, डेजी, प्रिमुला आदि जाडो याममा फुल्ने लोकप्रिय मौसमी फूल हुन् । यी फूललाई जाडो मौसममा आकर्षक तथा सुन्दर ढङ्गले फुलाउन सकिन्छ । यी फूल सामान्यतः बिरुवा रोपेको दुई महिनापछि फुल्न थाल्दछन् र फूलेपछि पनि राम्रै टिक्छन् ।
जाडो याममा फुल्ने यी फूलका बोट होचा हुन्छन् भने फूलचाहिँ बहुरङ्गी हुन्छन् । यी फूललाई नेपालका सबैजसो क्षेत्रमा फुलाउन सकिन्छ । यद्यपि धेरै नै चिसो हुने हिमाली क्षेत्रमा भने फुलाउन कठिन हुन्छ । त्यसैले हिमाली क्षेत्रमा यी फूल असोज–कात्तिकमै फुलाउनु उचित हुन्छ । अर्थात्, हिउँ पर्ने स्थानमा यी फूल फुलाउनु छ भने हिउँ पर्ने मौसम सुरु हुनुअघि नै फुलाउनु उचित हुन्छ ।
धेरै चिसो एवम् तुसारो तथा हिउँ पर्ने ठाउँमा रोपिएको फूलको बोटलाई राति सेतो पारदर्शी प्लास्टिकको ओत दिनुपर्छ; बिरुवालाई तुसारो तथा हिउँले नभेट्ने ठाउँमा राख्नुपर्छ । धेरै चिसो हुँदा र धेरै शीत पर्दा प्लास्टिक, पराल या खरजस्ता वस्तुको छहारी दिएर ले बिरुवालाई शीतबाट बचाउनुपर्छ ।
सुन्दर फूल फुलाउन स्वच्छ वातावरण
जाडो याममा रोप्नका लागि फूलका बिरुवा उत्पादन गर्ने क्रममा ब्याडमा बिऊ हाल्दादेखि नै निकै ध्यान पुर्याउनुपर्छ । जाडो यामको फाइदा पनि छ, त्यो के हो भने यो याममा उत्पादन हुने फूलका बिरुवामा गर्मी याममा जस्तो रोग लाग्ने चिन्ता त्यति धेरै हुँदैन । यसैले गर्दा जाडो यामका फूल राम्ररी फुलाउन सकिन्छ । जाडो याममा वर्षात् हुने अर्थात् पानी पर्ने सम्भावना पनि कम हुने भएकाले फूल बिग्रने सम्भावना पनि कम नै हुन्छ ।
चाहे गर्मी यामका होऊन् या जाडो यामका नै किन नहोऊन्, सुन्दर फूल फुलाउनका लागि सफा हावापानी र मलजल त मिलेकै हुनुपर्छ । र, फूलका जातअनुसारको वातावरण पनि अनुकूल नै हुनुपर्छ । जाडो याममा फुल्ने मौसमी फूलका लागि जाडो मौसम नै प्रिय हुन्छ किनकि यो नै यसको उपयुक्त मौसम हो । जाडो मौसममा फुल्ने फूलका बिरुवामा अलिक धेरै नै जाडो सहन सक्ने क्षमता हुन्छ ।
राम्रो फुलाउन राम्रै स्याहार
जाडो यामका फूल फुलाउनका लागि रुख–बिरुवाका कुहिएका पत्करको मल नै उचित हुन्छ । पत्करको मलमा बिरुवा रोप्दा एकातिर राम्रो मल पुग्छ भने अर्कोतर्फ जरा फैलन कमलो हुने भएकाले बिरुवा बढ्न पनि सहज हुन्छ । थप मल आवश्यक पर्दा भने कम्पोस्ट मल नै प्रयोग गर्नु उचित हुन्छ । विशेषगरी जाडो यामका फूलको बिरुवाका लागि गाईको मल, पिना मल आदि नै उचित हुन्छ ।
बिरुवाको वरिपरि हल्का खनेर पिना मल हालेपछि माटाले छोप्नुपर्छ । यसो गर्दा गन्हाउने समस्या हुँदैन । गाईको मल भने छ महिना पुरानो प्रयोग गर्नु उचित हुन्छ । हाइब्रिड प्रजातिका फूलको बिरुवामा प्रतिबोट दुई चम्चाजति पिना मल हाल्न सकिन्छ भने एक मुठ्ठीभन्दा बढी गाईको मल हाल्न सकिन्छ । बिरुवाको फेदैमा भने कहिल्यै मल हाल्नु हुँदैन, बिरुवाको वरिपरि खनेर हाल्नुपर्छ । जाडो यामका हाइब्रिड मौसमी फूलको बोटमा महिनामा एक पटक मल हाल्नु आवश्यक हुन्छ ।
चिसो धेरै भएको अवस्थामा यी फूलका बिरुवामा धेरै पानी हाल्नु हुँदैन । तर, बाहिरबाट हेर्दा चिसोजस्तो देखिए पनि बिरुवाको जरामा भने पानी सुकेको हुन सक्छ, यसप्रति भने ध्यान पुर्याउनुपर्छ । बिरुवाका निम्ति चिस्यान (जरा वरिपरि पानीको मात्रा) ठीक छ कि छैन भनेर थाहा पाउन माटोमा औंलाले जाँच गर्न सकिन्छ । बिरुवा रोपेको माटामा दुई इन्चसम्मको गहिराइमा चिसो छ भने जरा सुख्खा नभएको बुझ्न सकिन्छ । दुई इन्चभन्दा तल चिसो छैन भने बिरुवाको जरामा पर्याप्त पानी छैन भनेर बुझ्नुपर्छ ।
बिरुवाको जरामा चिस्यान कम भएको पत्ता लागेपछि राम्ररी पानी हाल्नुपर्छ । माटो सुख्खा हुने बेलाबारे विचार पुर्याउँदै पटक–पटक पानी हाल्नुपर्छ । पानी धेरै हाल्दा पनि जरा सुकेर बिरुवा मर्न सक्छ, यसप्रति ध्यान दिनु आवश्यक छ । जेहोस्, सुन्दर फूल फुलाउनका लागि बिरुवाको स्याहार–सुसारमा त राम्रैसँग ध्यान पुर्याउनैपर्छ ।