गोदावरी फूलको मनमोहक सौन्दर्य
अनिता सुनुवारसुन्दरतम फूलहरूमध्येको एक हो– गोदावरी । नेपाली वातावरण तथा हावापानीमा यो फूललाई राम्रैसँग फुलाउन सकिन्छ । अङ्ग्रेजीमा ‘मुम्स’ वा ‘क्रिसान्थस’ का नामले चिनिने गोदावरी पनि लोकप्रिय फूलकै एउटा प्रजाति हो ।
नेपालमा यो फूल असोजदेखि मङ्सिर महिनासम्म राम्ररी फुल्छ । गोदावरीलाई गमला तथा गार्डेनमा रोपेर ढकमक्क फुलाउन सकिन्छ । सजावटका लागि निकै प्रसिद्ध फूल हो गोदावरी ।
गोदावरी फुलाउनका पत्कर मल नै उपयुक्त हुन्छ । यसमा पिना, गाईको गोबर तथा कम्पोस्टजस्ता मलहरू पनि प्रयोग गर्न सकिन्छ । पत्कर मल तथा गाईको गोबरबाट उत्पादित मल नै गोदावरीका निम्ति सर्वाधिक उपयुक्त हुन्छ ।
गोदावरी फूललाई ‘कट फ्लावर’ का रूपमा सजाउँदा यसलाई सामान्यतया एक सातासम्म नओइलाउने गरी राख्न सकिन्छ । गोदावरी रोपेपछि यसलाई फुलाउन करिव तीन महिना कुर्नुपर्छ ।
प्रजातिअनुसार गोदावरीका कुनै बोटमा होचोमै फुलाउन सकिन्छ भने कुनै चाहिँ अग्ला बोटहरू हुन्छन् । अग्लो प्रजातिका गोदावरीका बोट ढल्न सक्ने भएकाले यसलाई मसिना कप्टेराको सपोर्ट दिनुपर्ने हुन्छ ।
गोदावरी फूललाई थोरै सङ्ख्यामा तर ठूलठूला थुँगा फुलाउनका लागि कोपिला लाग्न थाल्नासाथ नै केही ठूला थुँगा मात्रै राखेर ससाना कोपिला चुँडिदिनुपर्छ । मसिनो फुल्ने जातका गोदावरीको भने कोपिला चुँड्नु आवश्यक हुँदैन । मिलेको आकारमा ढकमक्क फुलाउनका लागि जथाभावी लागेका कोपिला चुँड्नु नै राम्रो हुन्छ ।
गोदावरीमा सामान्यतयाः ‘लाई’ कीरा लाग्न सक्छ । ‘लाई’ लागेमा प्राकृतिक किसिमको विषादी प्रयोग गर्न सकिन्छ । सयपत्रीमा जस्तै गोदावरी फूलमा पनि फुलिसकेपछि थुँगामा पर्ने गरी पानी हाल्नु हुँदैन । थुँगामा पानी हालेमा फूल चाँडै कुहिने तथा झर्ने समस्या हुन्छ ।
पानी हाल्दा फेदमा वरीपरी घुमाएर हाल्नुपर्छ । गोदावरीलाई सकेसम्म राम्रैसँग घाम लाग्ने ठाउँमा रोप्नुपर्छ । चिसो ठाउँमा रोपेमा कुहिने तथा ‘लाई’ लाग्ने र फुल्न नै कठिन हुनेजस्ता समस्या हुन सक्छन् ।
गोदावरीका बोट यसको प्रजातिअनुसार ६ इन्चदेखि ३ फिटसम्मका हुन्छन् । गोदावरी फूलका १५ हजारभन्दा बढी प्रजाति रहेको अध्ययनहरूले देखाएका छन् । औषधीय गुण समेत हुने भएकाले गोदावरीलाई विभिन्न स्वास्थ्य समस्याको समाधानका निम्ति समेत प्रयोग गर्ने गरेको पाइन्छ । यो पनि एक किसिमको वनस्पति नै हो ।