‘गुमनाम’ रोग ‘लाइम डिजिज’

डा. शेरबहादुर पुन

‘बोरेलिया बर्कडोरफेरी’ नामक ब्याक्टेरियाका कारण ‘लाइम डिजिज’ हुन्छ । सङ्क्रमित कीर्नाको टोकाइबाट यो रोग लाग्दछ ।

अमेरिकामा सबैभन्दा बढी देखिने कीटजन्य रोग हो, लाइम डिजिज । यो रोग युरोपमा पनि प्रशस्तै देखिने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि केही मात्रामा लाइम डिजिज रिपोर्ट (पुष्टि) भएको छ ।

सन् २०१७ मा पहिलो पटक नेपालमा पनि यो पङ्क्तिकारले लाइम डिजिजका बिरामी फेला पारेको थियो । कीर्नाले टोकेमा लाइम डिजिज पो हो कि भनेर नेपाल आउनेमध्ये कतिपय पर्यटकहरू आत्तिने गरेका पाइन्छन् ।

समयमै पत्ता लगाएर बेलैमा उपचार नगरिए यो रोगका कारण स्नायु, मुटु, जोर्नीलगायतसँग सम्बन्धित समस्याहरू देखिन्छन् । यस्ता समस्या लिएर केही पीडितहरू सम्बधित विशेषज्ञकहाँ पुग्ने गरेका देखिन्छन् । लाइम डिजिजबारे नेपालमा खासै खोजीनीति नहुने भएकाले सङ्क्रमितहरू रोगको जानकारीविनै आफ्नो समस्या लिएर विशेषज्ञहरूकहाँ पुगिरहेका भेटिन्छन् ।

चिह्न वा लक्षणहरू

लाइम रोगको सक्रमण भएको तीनदेखि तीस दिनसम्ममा विभिन्न चिह्न वा लक्षणहरू देखिन थाल्छन् । सुरुआतमा यसका लक्षण पनि फ्लुसँग मिल्दाजुल्दा नै देखिन्छन् ।

यो रोगको सङ्क्रमण भएका बेला ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, शरीरका जोर्नी दुख्ने, थकाई लाग्ने, माङ्शपेशी दुख्ने तथा छालामा गोलाकार आकृतिको डाबर देखिनेजस्ता चिह्नहरू देखा पर्दछन् ।

त्यस्ता डाबरहरू दुख्ने तथा चिलाउने गर्दैनन्, तिनले हल्का तातो मात्र महसुस गराउँछन् । डाबर आएपछि क्रमशः विस्तारित भएर पनि जान सक्छ । करिव असी प्रतिशत सङ्क्रमितमा यसखाले गोलाकार डाबर देखिने गरेको पाइन्छ ।

परीक्षण र उपचार

‘एलाइजा र वेस्टर्न ब्लड टेस्ट’ गरी लाइम डिजिज पत्ता लगाउन सकिन्छ । यी जाँचहरू नेपालमा नियमित नहुने भएकाले पनि लाइम डिजिजको अवस्था के छ भनेर यकिन गर्न सकिएको छैन । परीक्षण र सही पहिचान नहुँदा बिरामीलाई नसर्ने दीर्घ रोगहरूले च्यापिरहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

समयमै उपचार गरेमा लाइम डिजिज चाँडै नै निको हुन्छ । ‘डोक्सिसाइक्लिन’ नामक एन्टिबायोटिक लाइम डिजिजको उपचारका निम्ति उपयुक्त मानिन्छ । उपचार गर्न ढिलो भएर शरीरका विभिन्न अङ्गहरू प्रभावित भइसकेको अवस्थामा भने यसका अतिरिक्त थप केही दिन ‘सेफत्रियजोन’ नामक औषधि दिनुपर्ने हुन्छ । न्युरो लाइम, मुटु तथा जोर्नीमा लाइम डिजिजको जटिलता देखिए सो औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

पोस्ट ट्रिटमेन्ट लाइम डिजिज

समान्यतया दुईदेखि चार हप्ताको उपचारपछि लाइम डिजिज निको हुन्छ । कतिपय सङ्क्रमितमा भने औषधिको पूरा डोज सकिइसकेपछि पनि अति नै थकित हुने, शरीर दुख्ने, बिर्सने अर्थात् स्मरण शक्तिमा ह्रास आउनेजस्ता समस्या हुन्छन् । यस्ता लक्षण छ महिनाभन्दा बढी समयसम्म पनि देखिन सक्छन् ।

उपचार सफल भइसकेपछि पनि देखापर्ने यस्ता समस्याहरूको अवस्थालाई पोस्ट ट्रिटमेन्ट लाइम डिजिज भनिन्छ । एसियामै पहिलो पटक नेपालमा यो समस्या यसै पङ्क्तिकारले पत्ता लगाएर अनुसन्धान–आलेखमार्फत प्रकाशित गरेको थियो ।

बच्ने उपाय

लाइम डिजिजबाट बच्ने मुख्य उपाय भनेकै कीर्नाको टोकाइबाट बच्नु हो । यो आठखुट्टे ‘आइसोड टिक’ बाट हुने लाइम डिजिजका केसहरू अमेरिकामा जेठ, असार तथा साउनतिर बढी देखिने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

नेपालमा भने यो रोग अझैसम्म पनि ‘गुमनाम’ नै भएकाले कुन महिनामा बढी देखापर्छ भन्ने कुनै तथ्याङ्क छैन । कीर्नाले विशेषतः काखीमुनि, कानमा, कम्मरमा, खुट्टामा टोक्ने गरेको पाइन्छ । कीर्ना सहजै देख्न नसकिने भएकाले कतिबेला टोक्यो भन्ने नै सहज अनुमान गर्न सकिँदैन ।

कीर्नो टाँसिएको चौबीस घन्टाभन्दा कम समयमै निकाल्न सकिए लाइम डिजिजको सङ्क्रमण हुने सम्भावना धेरै कम हुन्छ । कीर्नो विशेषतः झाडी, घाँस, बगैंचाजस्ता ठाउँमा हुने भएकाले त्यस्ता ठाउँमा जाँदा सतर्कता अपनाउनु जरुरी हुन्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल,
टेकूको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्