भुङ्ग्रोमा पोलिँदै पृथ्वी: जलवायु परिवर्तनका दुष्परिणाम
कृष्णप्रसाद भुसालब्रह्माण्डमा एक मात्र जीवित ग्रह भनेकै पृथ्वी हो । करोडौं वर्ष अघिदेखि अनुकूलित वातावरणमा जीव र वनस्पतिको क्रमिक विकास हुँदै आएर नै आज हामीले देखे–भोगेको संसार बनेको हो ।
सृष्टिचक्रको आफ्नै सन्तुलित, सनातन र गतिशील नियममा नै पृथ्वीमा चलिरहेका हावापानीको चक्र, तापमानको परिवर्तन, पर्यावरणीय सञ्जालको अन्तर्सम्बन्धजस्ता प्राकृतिक प्रणलीहरूलाई हामी (मान्छे) ले खल्बल्याउँदै आएका छौं । यिनै मानवीय क्रियाकलापको परिणामस्वरूप पछिल्ला केही दशक यता बढ्दै गएको अप्राकृतिक जलवायु परिवर्तन (बढ्दो तापक्रम) र यसको असर पृथ्वीमा सबभन्दा ठूलो पर्यावरणीय चुनौती बनेको छ । कार्बनलगायत हरितगृह ग्यास उत्सर्जनलाई तीव्र पारेर हामीले नै पृथ्वीलाई जलवायु परिवर्तनबाट सिर्जित सङ्कटहरूको भुमरीमा धकेलिरहेका छौं ।
अझ चिन्ताको कुरा त के छ भने जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बृद्धिका पछाडि ‘आधुनिक’ युगका ‘सचेत’ र ‘ज्ञानी’ गनिने/ठानिने ‘विकसित’ राष्ट्रहरूका मान्छे नै सबभन्दा बढी र मुख्यरूपले जिम्मेवार छन् । विडम्बनाको कुराचाहिँ के छ भने जलवायु परविर्तनको सबभन्दा बढी असर या दुष्प्रभावचाहिँ नेपालजस्ता हिमाली र माल्दिभ्सजस्ता समुद्र तटीय क्षेत्रका देशहरूमा परिरहेको छ । यसर्थ, जलवायु परिवर्तन र त्यसले पार्ने दुष्प्रभाव नेपालजस्ता देशहरूका लागि ‘नखाएको विष’ हो ।
विश्वतापमान वृद्धिको अहिलेको गति र विस्तार पछिल्ला दुई हजार वर्षयताकै उच्च रहेको अनुसन्धानमूलक लेखहरूको निष्कर्ष छ । अहिलेको तापमान वृद्धिदर पहिले मापन गरिएका कुनै पनि दरहरूभन्दा बढी पाइएको छ । पछिल्लो शताब्दीमा भएको तापक्रम वृद्धिको मात्रालाई ‘लिट्टिल आइस एज’ जस्ता चर्चित ऐतिहासिक घटनासँग पनि तुलना गर्न नसकिने अनुसन्धाताहरूको भनाइ छ । सन् २५० देखि ४०० सम्मको ‘रोमन वार्म पिरियड’ मा युरोपमा असामान्य खालको गर्मी देखापरेको थियो भने सन् १३०० ताकादेखिको ‘लिट्टिल आइस एज’ मा भने तापक्रममा असामान्य रूपले कमी आएको थियो । ती घटनाहरूलाई पृथ्वीमा कयौं पटक विभिन्न शताब्दीमा तातो र चिसो बढेका प्रमाणहरूका रूपमा लिइन्छ ।
वैज्ञानिकहरूले विगत दुई हजार वर्षदेखिका सात सय प्रतिनिधि अभिलेखहरूको विस्तृत अध्यन गर्दा विश्वस्तरमै अहिलेको जस्तो जलवायु परिवर्तनका घटनाहरू पहिले कहिल्यै नभएको निष्कर्ष निकालेका छन् । सन् ९५० देखि १२५० सम्मको ‘मिडिएबल वार्म पिरियड’ मा पृथ्वीको ४० प्रतिशत भागमा मात्र तापक्रम वृद्धि भएको थियो भने अन्य अवस्थामा तापमान परिवर्तन खास स्थानविशेषमा मात्र थियो । तर, अहिलेको तापक्रम वृद्धि र यसको प्रत्यक्ष–परोक्ष असरले भने पृथ्वीको अधिकाङ्श भागलाई नै प्रभावित तुल्याएको छ; समग्रमा भन्नुपर्दा सिङ्गै पृथ्वी नै प्रभावित छ ।
पृथ्वीको बढ्दो तापमान कम गर्ने उपायहरू अवलम्वन गर्न कारक देशहरू सहमत नभइरहँदा केही दशकमै हाम्रो हिमाली भेग (हिन्दकुश हिमालय क्षेत्र) ले ठूलो मार खेप्न बाध्य हुने चेतावनी विज्ञहरूले दिएका छन । पृथ्वीको तापमानलाई चालु शताब्दीको अन्त्यसम्ममा १.५ डिग्रीमा सीमित राख्ने अहिलेको विश्वव्यापी बहसमा कतिपय ‘ठूला’ र ‘विकसित’ राष्ट्रहरू नै सहमत छैनन् । यदि यो प्रतिबद्धता कार्यावन्यन भएकै खण्डमा समेत हाम्रो हिन्दकुश (हिमालय क्षेत्र) को तापक्रम वृद्धि दुई डिग्री सेल्सियसभन्दा बढी नै रहने विभिन्न अध्ययनहरूले देखाएका छन् । हिमालय क्षेत्रसँग झण्डै १.९ अर्ब मानिसको पानी, अन्न र ऊर्जाको सम्बन्ध जोडिएको भए तापनि यस भेगमा जलवायु परिवर्तनले पु¥याएका बहुपक्षीय असरहरूको अध्यन र त्यसको निराकरणका उपायहरूबारे ध्यान दिइएको छैन । खासमा संसारकै एकदमै समवेदनशील यस भूभाग र यहाँको जैविक विविधता उपेक्षित हुँदै आएको छ । पृथ्वीका दुई ध्रुवपछि सबैभन्दा बढी हिउँ हुने हिन्दकुश क्षेत्रलाई पृथ्वीको तेस्रो ध्रुव समेत भनिन्छ । दस प्रमुख एसियाली नदी प्रणाली हिन्दकुश हिमालबाटै सुरु हुन्छन् । विश्व तापमानमा एक डिग्री सेल्सियस मात्र वृद्धि हुँदा पनि यस हिमाली क्षेत्रमा एक दशमलव आठ डिग्रीसम्म तापक्रम बढेको तथ्य पछिल्लो अध्ययनले देखाएको छ । त्यसैले पनि भन्न सकिन्छ, हामी अत्यन्तै जोखिममा छौं ।
विश्वव्यापीरूपमै आम समस्या र बहुसरोकारको विषय बन्दै गइरहेको जलवायु परिवर्तन र यसले निम्त्याएका विपत्तिहरूप्रति ‘विकसित’ देशहरू पटक्कै गम्भीर बनेका देखिँदैनन् । ती देशहरूको आडम्बर, गैरजिम्मेवारी, विज्ञानप्रतिको अविश्वास, राजनीतिक दाउपेच वा तिनको व्यापारिक स्वार्थ जेसुकै भए तापनि मार भने विश्व समुदायले खेपिरहेको छ । हालैका वर्षहरूमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्सरकारी प्यानल (आईपीसीसी) ले विश्व तापमानको औषत वृद्धिदरलाई सन् २१०० सम्ममा १.५ डिग्रीभित्रै सीमित राख्नुपर्ने बताएको छ । तर, त्यसका निम्ति आवश्यक कदमहरू भने चालिएका छैनन् । यही दरमा कार्बन उत्सर्जन हुँदै गयो भने सन् २१०० सम्ममा ताममान बृद्धि ५.५ डिग्रीसम्म पुग्न सक्दछ, जसको परिणाम अत्यन्तै भयावह हुने कुरा सहजै आँकलन गर्न सकिन्छ ।
बढ्दो पर्यावरणीय सङ्कटको पछिल्लो उदारणका रूपमा ‘अमेजन’ जङ्गलमा भएको आगलागीलाई लिन सकिन्छ । विश्वकै सबभन्दा विशालमध्येको एक ब्राजिलको अमेजन रेनफरेस्टमा पछिल्ला वर्षहरूमा अत्यन्त ठूलो डढेलो लाग्ने गरेको छ । उक्त डढेलोका कारण हरितगृह ग्यास उत्सर्जन झनै बढ्नुका साथै लाखौं जीवजन्तुहरू समेत मारिएका छन् । र, त्यसले जलवायु परिवर्तनका क्षेत्रमा अझ बढी चिन्ता बढाइदिएको छ । अमेजन वन क्षेत्रले ठूलो परिमाणको अक्सिजन दिने भएकाले त्यसलाई ‘पृथ्वीको फोक्सो’ का रूपमा लिइन्छ । अमेजन जङ्गलको क्षेत्रफल करिव ५५ लाख वर्गकिलोमिटर छ । यस जङ्गल क्षेत्रमा साना–ठूला हजारौं नदीनाला छन् । अत्यधिक वर्षा समेत हुने यस वन क्षेत्रलाई जैविक विविधताका दृष्टिले पृथ्वीकै अद्भूत र अनुपम उपहार मानिन्छ । तर, डढेलोले त्यहाँका लाखौं दुर्लभ जनावर र वनस्पतिलाई खरानी बनाइरहेको छ । यस्तो विषम परिस्थितिको नियन्त्रणमा समेत विश्वका ‘शक्तिशाली’ देशहरू ऐक्यबद्धता, हातेमालो र सहयोगमा जुट्नुको सट्टा आरोप–प्रत्यारोपमा लागेका छन् र त्यसलाई समेत राजनीतिक विषय बनाइरहेका छन् ।
‘विकास’ का नाममा नेपालमा पनि हरितगृह ग्यासको उत्सर्जन र प्राकृतिक सम्पदाहरूको दोहन र विनास अनियन्त्रितरूपमा बढ्दो छ । पछिल्ला वर्षहरूमा मुलुकभर लागेका सयौं डढेलो, मनाङ र मुस्ताङमा परेका ‘आरीघोप्टे वर्षा’ र मेलम्ची–हेलम्बुमा आइरहेको अप्रत्याशित बाढीपहिरो आदिलाई कुनै न कुनै रूपमा जलवायु परिवर्तनको दुष्प्रभाव नै मान्नु पर्दछ । ‘यो त केवल खतराको घन्टी मात्र हो,’ विज्ञहरू भन्छन– ‘भविष्यमा अझ डरलाग्दा दिनहरूको सामना गर्न त बाँकी नै छ ।’
विश्व तापमान वृद्धिलाई कम गर्न त्यसको कारक राष्ट्रहरू सहमत भएनन् भने भविष्यमा हामीले समेत अझ भयावह परिस्थितिको सामना गर्न बाध्य हुनुपर्ने निश्चित छ । जलवायु परिवर्तनको विरोध र अनुकूलनका पक्षमा ध्यान दिँदै आगामी दिनमा व्यहोर्नुपर्ने जलवायुजन्य हानि–नोक्सानीबाट जोगिन हामीले पनि विश्वजगत्सामु आवाज बुलन्द गर्नुपर्छ । विश्व ताममान वृद्धि रोक्ने पहिलो कामका रूपमा कार्बन उत्सर्जनको मात्रा घटाउनुपर्छ । हरितगृह ग्यास उत्सर्जनमा चीन पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा छन् भने नेपालजस्ता अल्पविकसित देशको भूमिका नगन्य छ । ‘विकसित’ तथा उदीयमान राष्ट्रहरूले पृथ्वी र यसको जीवन तथा मानव समुदायलाई जोगाउने युगीन जिम्मेवारी पूरा गर्न गम्भीर बन्नैपर्छ ।
विश्वस्तरको मात्रालाई हेर्दा कार्बन उत्सर्जनमा नेपालको खासै भूमिका नभए तापनि पछिल्लो समय यसको मात्रा दुई गुणा बढेर गएको यथार्थताप्रति भने ध्यान दिनैपर्छ । जलवायु परिवर्तनका कारण भोग्नुपरेका अप्ठ्यारासित जुध्न मात्र होइन, संसारमाझ आफ्नो आवाज बलियो बनाउन पनि बढ्दो कार्बन उत्सर्जनलाई हामीले रोक्नुपर्छ । उत्सर्जित कार्बन शोषणका लागि वनजङ्गल जोगाउनुपर्छ, हरियाली कायम राख्दै अझ बढाउन ध्यान दिनुपर्छ ।
पृथ्वी र जीवन जोगाउने अभियानमा सरकारको मात्र होइन, नागरिकको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । दैनिक क्रियाकलापदेखि उद्योग–कलकारखाना सञ्चालनसम्ममा पनि कार्बन उत्सर्जन कम हुने उपाय अवलम्बन गर्नुपर्छ । कार्बन उत्सर्जनमा उल्लेख्य भूमिका खेल्ने जीवाष्म इन्धन (पेट्रोलियम पदार्थ) मा आधारित ऊर्जाको खपत घटाउँदै स्वच्छ वैकल्पिक ऊर्जा प्रयोगका उपायहरू रोज्नुपर्छ ।
००० ००० ०००
(व्यक्तिगतरूपमा भन्नुपर्दा मैले सन् २०१३ देखि इन्धन पेट्रोलियम पदार्थले चल्ने कुनै पनि सवारी साधन नकिन्ने र नचलाउने निर्णय गरी सन् २०१८ देखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र समेत नवीकरण गराउन छाडिदिएको छु ।)
तर, बिडम्वना ! विद्युतीय सवारी साधन अझै सहज र भइसकेका छैनन् र हाम्रो पहुँचमा आइसकेका छैनन् । इच्छाशक्ति हुँदाहुँदै पनि व्यवहारमा कति अप्ठ्यारो छ भन्ने कुरा यसै उदाहरणले समेत देखाउँछ । सरकारले सन् २०३० सम्ममा दुईपाङ्ग्रेसहित सबै निजी सवारी साधनको बिक्रीमा विद्युतीय गाडीको हिस्सा ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । विद्युतीय चारपाङ्ग्रे सार्वजनिक सवारी साधनको बिक्री ६० प्रतिशत पुर्याउने भनेको छ । तर, यसको कार्यावन्यन भने नीतिअनुरूप भइरहेको देखिँदैन । प्रकृतिले नै हामीलाई प्रशस्त जलस्रोत र विद्युत् उत्पादनको सम्भाव्यता उपलब्ध गराए तापनि यसको पहिचान र सदुपयोग गर्न सकिरहेका छैनौं ।
आफैंले निम्त्याएको तीव्र तापमान वृद्धि र जलवायु परिवर्तनले पृथ्वीको दिगो जीवनमा नै प्रश्न उठाउन थालेको अवस्थामा सचेत हुनैपर्छ । हामी सबैले आफ्नो व्यवहार परिवर्तन गर्नैपर्छ र आवाज पनि बुलन्द गर्दै जानुपर्छ किनकि यसको दुष्परिणाम भनेको अन्ततः मानवजातिको अन्त्य नै हो ।